शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

स्मार्ट बन्ने अभ्यास: पोखरा नगर बसमा ई-टिकेटिङ

बिहीबार, ०५ भदौ २०७६, १७ : ०१
बिहीबार, ०५ भदौ २०७६

पोखरा– तपाईं पोखरा महानगरभित्र चल्ने नगर बस चढ्नुभयो भने सहचालकले पैसा तिरेको बिल दिन्छन् आजकाल । मेट्रो कार्ड भए त कार्डबाटै तिर्न पाइन्छ ।  ‘हाम्रो रहर, प्रविधिमैत्री पोखरा सहर’ भन्ने स्लोगनसहित पोखराका नगर बसले ई –टिकेटिङ (विद्युतिय टिकट प्रणाली) सुरु गरेका छन् । भदौ १ देखि आशिंक रुपमा सुरु भएको ई– टिकेटिङ वैशाख १ बाटै सुरु गर्ने महानगरको योजना थियो ।  

चार महिना ढिलो गरि सुरु भएको ई– टिकेटिङ पूर्ण रुपमा कार्यान्यनमा आउन भने अझै बाँकी छ । तर, पोखरा महानगरले स्मार्ट बन्ने अभ्यास थालिसकेको छ । महानगरमा ८ सय हाराहारीमा नगर बस चल्छन् । सबै नगरबसमा यो सिस्टम लागू गर्ने बताइएपनि ४ सय बसमा मात्र यो सिस्टम सुरु भएको छ । अरु बसमा पनि सुरु गर्दै लैजाने महानगर बताउँछ । 

ई– टिकेटिङ स्किमअन्र्तगत १ सय रुपैयाँ धरौटी राखेर महानगरले अहिले मेट्रो कार्ड बाँडिरहेको छ । सेवाग्राहीले मेट्रो कार्डसँगै धरौटी रकम बराबरकै ब्यालेन्स पनि पाउँछन् । महानगरकाअनुसार पछि कार्ड फिर्ता गर्दा धरौटी बापतको रकम पनि फिर्ता पाइने छ । मेट्रो कार्डलाई बस भाडा तिर्न मात्र नभई अन्य व्यापारिक प्रयोजनका सामान लगायत कर तिर्न पनि सकिने कार्डको रुपमा प्रयोगमा ल्याउने योजनामा महानगर छ । 

तर, कतिपय यात्रुलाई भने ई–टिकेटिङ के हो ? थाहै छैन । यो सिस्टमबारे जानकारी नपाउँदा यसको प्रभावकारिता पनि न्यून देखिएको छ । ढिलै भएपनि पोखरा महानगरमा ई–टिकेटिङ सिस्टम (मेट्रो कार्ड) लागू गरेको छ । पहिलो चरणमा छोटो दूरीका यातायातमा लागू गरिएको यो सिस्टम पछि लामा दूरीमा पनि लागू गर्ने योजनामा महानगर छ । महानगरलाई प्रविधि मैत्री बनाउने पोखरा महानगरको नीति अनुसार यात्रुवाहक यातायातमा कार्ड सिस्टम लागू गरिएको हो । 

अझै पनि यात्रुको हातहातमा मेट्रो कार्ड पुगिसकेको छैन । महानगर कार्यालय, वडा कार्यालय, यातायात कम्पनी, ओम डेभलपमेन्ट बैंंकका शाखाबाट वितरण भई रहेको मेट्रो कार्डबारे कतिपय नगरबासी भने बेखबर जस्तै छन् । नगरबसमा लेखनाथ हिँडेकी माया पैसा तिरेपछि बिल पाउँदा जिल्लै परेको बताउँछिन् । ‘मलाई त के हो–के हो ? थाहै थिएन,’ उनले भनिन्, ‘गाडी भाडा तिर्दा पनि बिल पाउन सुरु भैसकेछ ।’ महानगर प्रविधिमैत्री बन्दै गएकोमा खुसी लागेको उनले सुनाइन् । 

कार्ड नलिएका यात्रुलाई कार्ड लिन बसका सहचालक नै सुझाउँछन् । नगदै तिर्नेलाई पनि बिल दिन्छन् । नयाँ प्रयोग भएकाले मेसिन ह्याङ हुने समस्या भने टाउको दुखाई हुने गरेको सहचालकका गुनासो छन् । बगर– रातोडाँडा रुटमा चल्ने नगर बसका सहचालक टिका लामिछाने भन्छन्, ‘सेवाग्राही पनि हतारमा हुन्छ । छिटो छिटो गरौं भन्यो कहिलेकाही त मेसिनै ह्यागं भैदिन्छ ।’

वैशाखको पहिलो हप्ताबाट सञ्चालनमा आउनेगरी पोखरा महानगरपालिका र एन.क्लाउड कम्पनीबीच सम्झौता भएको सिस्टममा बैंकिङ पार्टनरको ओम डेभलपमेन्ट बैंंक छनोट भएको थियो । तर, निर्धारित समयमा प्राविधिक तयारी पुरा नहुदा मेट्रो काड लागू हुन ४ महिना ढिलो भयो । त्यो पनि किस्ता किस्तामा । 

प्राविधिक कारणले पोखराका सबै बसहरुमा भदौ १ गतेदेखि  इ–टिकेटिङ लागू गर्न नसकिएको महानगरले जनाएको छ । भदौ महिनालाई परीक्षण महिनाको रुपमा लिने र आवश्यक सुझावका आधारमा थप सुधार गरिने महानगरले जनाएको छ । महानगरका सूचना अधिकारी गंगालाल अधिकारीका अनुसार ग्रामिण भेगमा तत्कालै सुरु गर्न गाह्रो हुने भएकाले पनि यो महिना परीक्षणका रुपमा लिइएको हो । ‘यो महिना परीक्षण नै हो,’ उनले भने,  ‘महानगरका ग्रामीण भेगमा अहिले नै सुरु गर्न पनि अलि गाह्रो छ ।’

ई– टिकेटिङ जडान नगर्ने, मेट्रो कार्ड नलिने दुबैलाई कारबाही गर्ने महानगरको योजना छ । यो सिस्टमा जडान नगर्ने बस खारेजनै गर्ने सम्मको जरिवाना महानगरले तोकेको छ । ‘यात्रुहरुलाई त के कारबाही गर्ने ?’ सूचना अधिकारी गंगालालले भने, ‘यो सिस्टम सुरु नगर्ने बसको रुट नै खारेज गरिन्छ । यात्रुलाई त यसको प्रयोग र फाइदाबारे जानकारी दिएर छोडिन्छ ।’ महानगरले ई टिकेटिङको प्रभाव चेकजाँचको लागि टोली नै खटाउने योजना बनाएको छ । टोलीले नगर भित्र चल्ने बसमा ई–टिकेटिङको प्रभावकारिता चेकजाँच गर्ने उनले सुुनाए । 

एक सय रुपैयाँमा खरिद गरिएको कार्ड अवश्यकता अनुसार १ हजारसम्म रिचार्ज गर्न सकिन्छ । बसका सह–चालक या ओम डेभलपमेन्ट बैंकका शाखा कार्यालयबाट कार्ड रिचार्ज गर्न सकिने छ ।  कार्ड बनाउने र वितरणको जिम्मा ओम डेभ्लपमेन्ट बैंकले लिएको हो । ३ लाखसम्म कार्ड वितरण गर्ने योजना बैंकको छ । पहिलो चरणमा १० हजार कार्ड वितरण गरिने महानगरले जनाएको छ ।   यात्रुलाई सहज यात्रा साथै आर्थिक पारदर्शिता, प्रविधिमैत्री सहर बनाउनका लागि यो सिस्टम सुरु गरेको महानगरको भनाई छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप