मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

नेकपा महासचिवको प्रश्न : अब गुट बनाउने कि पार्टी ?

'माधव कमरेड जस्तो नेताले फरक मत लेख्नु आवश्यक थिएन'
बुधबार, ०४ भदौ २०७६, १६ : ०४
बुधबार, ०४ भदौ २०७६

प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली सिङ्गापुर र नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुबईबाट फर्केपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का आन्तरिक काम नाटकीय रुपमा फटाफट अगाडि बढे । पार्टी एकता घोषणा गरेको १५ महिनापछि नेकपाले एकीकरणका सबै काम करिब करिब टुंगिएको छ । शुक्रबार र आइतबार बसेको सचिवालय बैठकले कार्यविभाजनका काम टुंगाउँदै केही नयाँ निर्णय समेत गर्यो । जसले नेकपाको शक्ति समिकरणमानै एकाएक फेरबदल आयो । विधानले नचिनेको उपाध्यक्ष पद सिर्जना गरेर त्यसमा वामदेव गौतमलाई प्रस्ताव गर्र्यो । र, अर्को महत्त्वपूर्ण तेस्रो वरियतमा रहेका माधवकुमार नेपाल चौथौ वरियता र चौथो वरियतामा रहेका झलनाथ खनाललाई तेस्रो वरियतामा राख्ने निर्णय गर्यो । यो निर्णयसँगै नेता नेपाल असन्तुष्ट बनेका छन् । र, केही जनवर्गीय संगठनका इन्चार्जमा समेत उनको असहमति छ । जसले गर्दा नेकपाकोे विवाद प्रष्टै देखिएको छ । एकीकरणका काम टुंगिएपछि अव नेकपाले कसरी अगाडि बढ्छ ? वरिष्ठ नेताको लिखित रुपमा दर्ज भएका असन्तुष्टि कसरी हल गर्छ ? र, आगामी दिनमा विवाद कसरी हल हुन्छ ? लगायतका विषयमा नेकपाका महासचिव विष्णु पौडेलसँग रातोपाटीका लागि रोहित दाहालले गरेको कुराकानीको सम्पादित अंश :
 

तपाईंं पार्टीमा कसरी शक्तिशाली हुनुहुन्छ/भइरहनु भएको छ ?

म आफूलाई शक्तिशाली ठान्दिनँ । म पार्टीको साधारण कार्यकर्ता हुँ । पार्टीको उद्देश्य, आदर्श बोकेर हिँड्ने सदस्य हुँ ।

तपाईं त्यो भन्नुहुन्छ तर यत्रो शक्तिशाली पार्टीको महसचिव पद अन्य नेताहरुलाई पछाडि पार्दै हात पार्नुभयो ?

मैले महासचिव पदका लागि इच्छा जाहेर गरेको र पहल गरेको होइन । परिस्थितिले पार्टीले मलाई जिम्मेवारी दियो । म यो जिम्मेवारी बहन गर्ने कोसिस गरिराखेको छु ।

पार्टीमा जो शक्तिशाली भनिएका नेताहरु छन्, यी सबै नेताहरुलाई सन्तुलन मिलाएर, नेताहरुलाई खुशी पारेर लैजाने सूत्र त कठिन थियो होला होइन ?

यो त्यस्तो विषय होइन । हामीले हाम्रो आन्दोलनलाई एकताबद्ध गरेका छौँ आज । आधारभूत रूपमा नेपालको कम्युनिस्ट आन्दोलन एकताबद्ध भएको छ । केही धार केही प्रवृत्तिहरु जो अलग छन्, तिनीहरुलाई पनि एकताबद्ध गर्ने कोशिस हाम्रो छ । त्यसलाई पनि अगाडि बढाउनुपर्छ । एकता प्रक्रिया अगाडि बढाउँदा कस्ता अभिव्यक्तिले एकअर्काको भावनामा ठेस पुग्छ ? कस्ता क्रियाकलापले समझदारीमा प्रतिकुलता सिर्जना गर्छ भन्ने पक्षलाई ख्याल गरिनुपर्छ । परस्परमा सम्मान र परस्परमा विश्वासका लागि एउटा जिम्मेवार पहल गरिनुपर्छ । त्यसो हुँदा दूरीलाई निकटतामा बदल्न, असमझदारीलाई समझदारीमा बदल्न, विमतिलाई सहमतिमा बदल्न त्यसखालको अनुकुलता सिर्जना हुन्छ र हामी अगाडि बढ्न सक्छौँ ।

नेपाल कम्युनिस्ट पार्टीको फरक–फरक धारमा रहेका हामीहरु अलग छँदा एक अर्काकाबारेमा निकै तिखो र तीतो ढङ्गले लडेका पनि हाँै । त्यो ठाउँबाट आज हामी एकताको विन्दुमा आइपुगेका छाँै । यहाँ आउनुको अर्थ हाम्रा केही साझा निष्कर्ष छन्, मुख्यरूपले हामी साझा ठाउँमा आइपुगेका छौँ ।

सैद्धान्तिक रूपमा, कार्यक्रमिक रूपमा, उद्देश्यका दृष्टिकोणले, आदर्शका दृष्टिकोणले एउटा साझा निष्कर्षमा आइपुगेका छौँ । त्यो साझा निष्कर्षलाई केन्द्रभागमा राखेर आपसका सम्बन्ध परिभाषित गर्दा विपत्तिलाई पन्छाउन र सहमतिका साथ अगाडि बढ्न सकिन्छ भन्ने मेरो बुझाइ हो ।

यसमा सबै नेताहरुलाई मिलाउन सक्ने क्षमता, ल्याकत तपाईंमा छन् भन्दा अन्यथा हुँदैन नि ?

त्यो म दाबी गर्दिनँ ।

त्यो क्षमता नभएको भए तपाईं आज यो पदमा हुनुहुने थिएन होला नि त ?

यसको जवाफ मैले दिइसकेको छु । परिस्थितिले, पार्टीले जिम्मेवारी दियो, मैले बहन गर्ने कोसिस गरिरहेको छु ।

पार्टी विधानमै नभएको पद सिर्जना गरेर महासचिव तपाईंलाई दिएपछि त्यो पद अनुमोदन गर्न विधानै संशोधन गरियो भनेपछि विष्णु पौडेल कति शक्तिशाली भन्ने त हो नि ?

तपाईंले भनेको एउटा सच्चाइ के हो भने सुरुमा विधान मस्यौदा गर्दा महासचिवको पद प्रवन्ध गरिएको थिएन । तर हामी जुन दिन पार्टी एकताको औपचारिक घोषणा गर्यो, जुन बैठकबाट हामीले औपचारिक रूपमा विधान पारित गर्यौँ, २०७५ जेठ ३ गते, जुन विधान हामीले निर्वाचन आयोगसमक्ष प्रस्तुत गर्यौँ, त्यो विधानमा अध्यक्ष र महासचिव पदको प्रवन्ध थियो ।

अहिले एकीकरण प्रक्रियामा जाँदा कुनै नेतालाई ‘इन’ कसैलाई ‘आउट’ गर्ने काम भयो भनिएको पनि छ नि ! जस्तो, एकता घोषणा गर्दा माधव नेपाललाई वरिष्ठ नेताको पहिलो मर्यादाक्रममा ल्याइयो, अहिले फेरि त्यसमा झलनाथ खनालाई ल्याइयो ।

सबैलाई इन गरिएको छ । मैले के देख्छु भने स्वाभाविक रूपमा मर्यादाक्रमको प्रश्न उठेको थियो । जेठ ३ गते पार्टी एकता सम्पन्न गरिरहँदा हामीले दुई अध्यक्ष त्यसपछि दुई वरिष्ठ नेता लगायत अरू सचिवालय सदस्यको प्रवन्ध गरेको हो । त्यतिबेला वरिष्ठको मर्यादामा पहिलो नम्बरमा माधव नेपाल र दोस्रोमा झलनाथ खनाल रहने गरी हामीले निर्णय गरेकै हो । तर त्यो निर्णय सँगसँगै झलनाथ खनालले गम्भीर असन्तुष्टि राख्दै आउनुभएको हो । हामीले ठीक छ, उपयुक्त समयमै छलफल गरौँला, अहिलेलाई यसरी नै जाऊँ भनेर त्यो खालको प्रयास गर्दै आएका हाँै । यसबारे बीचबीचमा छलफल भएको पनि हो । बारम्बार यो विषय उठेपछि टुङ्गोमा पुग्नुपर्ने परिस्थिति निर्माण भयो । टुङ्गोमा पुर्याउने गरी छलफल हामी गर्दै थियौँ । छलफल गर्ने क्रममा सर्वसम्मत रूपले, यसमा कसैको पनि विमति छैन ।


तर माधव नेपालले त असन्तुष्टि जनाउनुभएको छ ?

माधव कमरेडले यो निर्णयमा विमति राख्नुभएको छैन । आइतबार मात्रै यस विषयमा निर्णय भएको हो, सचिवालयबाट । वरिष्ठ नेताको मर्यादाक्रमका सन्दर्भमा कमरेड माधव नेपालको विमति छैन ।

पहिला एउटा निर्णय, पछि अर्को निर्णय गर्दा वरिष्ठ नेताको मानमर्दन गर्ने काम त भयो नि हैन र ?

त्यस्तो हैन । अघि तपाईंले ‘इन र आउट’को कुरा गर्दै हुनुहुन्थ्यो नि, हामी कसैलाई आउट गरेका छैनौँ । ‘इन’ मात्रै गरेका छौँ ।

अलि मान मर्दन त भयो नि हैन ?

स्वाभाविक रूपमा हिजो तेस्रो नम्बरको बरियतामा रहनु भएका नेता आज चौथो बरियतामा रहने परिस्थिति भयो । यो परिस्थिति त्यति कसैलाई पनि सहज लाग्ने कुरा हैन । व्यक्तिगत रूपमा मलाई सोध्नु हुन्छ भने मेरा लागि पनि सहज लाग्ने कुरा होइन । कुनै एक नेताको मान सम्मानमा प्रतिकुल प्रभाव पर्ने परिस्थिति नबनोस् भन्ने कुरामा हामीले हेक्का राख्नुपर्छ । तर यो विषय पार्टी सचिवालयमा निरन्तर रूपमा उठिरह्यो । यस विषयमा छलफल गरेर हामी निष्कर्षमा पुगाँै न त भनेर छलफल प्रवेश गर्यौँ, त्यहाँ सर्वसम्मत रूपमा, सहमतिका साथ, वरियतालाई सच्याउने, झलनाथ खनाल तेस्रो बरियतामा र माधव नेपाल चौथो बरियतामा रहने गरी निर्णय गर्यौँ । यो सर्वसहमतिका साथ गर्यौँ ।

नेकपाले बारम्बार किन विधान उल्लङ्घन गर्छ ? उदाहरणका लागि उपाध्यक्ष पद विधानमै छैन । त्यो पदका लागि वा नेताको व्यवस्थापनका लागि फेरि अर्को बैठक बसेर विधान संशोधन गर्नुपर्ने अवस्था आयो ?

यसलाई उल्लङ्घन भनिदैन । उपाध्यक्ष पद सिर्जना गर्ने सचिवालयको सर्वसम्मत प्रस्ताव हो । यो प्रस्ताव बमोजिम निर्णयको प्रक्रिया अगाडि बढाउँछाँै । सम्बन्धित अधिकार प्राप्त निकायहरुले विधान संशोधन गर्छन् । सम्बन्धित अधिकार निकायहरुले यो प्रस्ताव माथि छलफल गर्छन् र निर्णय गर्छन् । मेरो विश्वास सचिवालयले गरेको यो प्रस्ताव विधान संशोधन गर्ने, विधानमा उपाध्यक्ष पद सिर्जना गर्ने र उपाध्यक्षमा कमरेड वामदेव गौतमलाई निर्वाचित गर्न स्थायी कमिटी र केन्द्रीय कमिटीले सर्वसम्मत रूपमा गर्नेछ ।

त्यसो भए यदि स्थायी कमिटी र केन्द्रीय कमिटीले यो प्रस्ताव अस्वीकार गर्यो भने वामदेव गौतम उपाध्यक्ष नबन्ने सम्भावना पनि रह्यो नि हैन ?

तपाईंले परिस्थिति, घटना, सन्दर्भभन्दा बाहिर रहेर प्रश्न सोध्नुभयो । मैले आजको नेकपालाई जसरी बुझेको छु, तपाईंले सोध्नु भएको प्रश्न त्यस रूपमा प्रकट हुने कुनै सम्भावना नै छैन । मैले अघि पनि भने अधिकार प्राप्त निकायले विधान संशोधन गर्छ । त्यो निकायले सचिवालयको यो प्रस्तावलाई स्वीकार गर्दै कमरेड वामदेव गौतमलाई उपाध्यक्ष सर्वसहमत रूपमा निर्वाचित गर्छ, मेरो विश्वास त्यो छ ।

*****

एउटा पद सिर्जना गरियो । एउटै पदमा एउटै व्यक्ति रहन्छ । एउटा प्रधानमन्त्री पदको प्रवन्ध गरिन्छ । एउटै व्यक्ति प्रधानमन्त्री हुन्छ । यसको मतलब अरू कुनै व्यक्ति प्रधानमन्त्रीका लागि योग्य भएनन् भन्ने त्यसको अर्थ लाग्छ र ? अथवा प्रधानमन्त्री बन्न योग्य भएका सबै व्यक्ति प्रधानमन्त्री हुन सम्भव छ र ? राष्ट्रपतिका निम्ति योग्यता पुगेका मानिस सबै राष्ट्रपति बन्न सक्छन् र ? पार्टी अध्यक्ष बन्न योग्यता पुगेका नेताहरु सबै अध्यक्ष बन्न सक्नुहुन्छ र ?

*****

चार चार जना उपाध्यक्ष थिए तर अहिले एक जनालाई टपक्क टिपेर उपाध्यक्ष किन त ?

चार जना उपाध्यक्ष हुनुहुथ्यो । त्यो नेकपा एमाले तर्फको कुरा गर्नुभयो तपाईंले । अहिले हामी नेकपाको कुरा गरिरहेका छौँ । अहिले हामीले बनाएको पार्टी एमाले पनि होइन माओवादी केन्द्र पनि होइन । यो नेकपा हो र नेकपा निर्माणको प्रक्रियमा छाँै हामी । अहिले हामीले सिर्जना गरेको उपाध्यक्षको पद नेकपाको हो ।

जो पूर्वएमालेबाटै पर्नुभयो ?

पूर्वएमालेबाट भन्दा पनि कमरेड वामदेव गौतम नेपाको कम्युनिस्ट आन्दोलनमा, लोकतान्त्रिक आन्दोलनमा, देशभक्तिपूर्ण आन्दोलनमा, विकास, निर्माण र समृद्धिको आन्दोलनमा स्थापित व्यक्तित्व हो ।

*****

नेपाल कम्युनिस्ट पार्टी एमालेमा लामो समय नेतृत्वमा रहेर काम गर्नुभएको नेता हो माधव कमरेड । उहाँले हाम्रो आन्दोलनमा महत्त्वपूर्ण योगदान गर्नुभएको छ । उहाँ सम्मानित नेता हो नि । जो साथीहरु हुनुहुन्छ, सबै उहाँको मातहतमा रहेका काम गरेका साथीहरु हुन्/हाँै । उहाँको मातहतमा रहेर निर्देशन पालन गरेका साथीहरुमध्ये कसैको पक्ष वा कसैको विपक्षमा उहाँजस्तो नेताले फरक मत लेख्नु आवश्यक हुँदैन । 

*****

यसको मतलब युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र भीम रावलको योग्यता पुगेन नेकपाको उपाध्यक्ष हुनलाई ?

तपाईंले योग्यता पुग्यो पुगेन भनेर कसरी विश्लेषण गर्नुहुन्छ ? एउटा पद सिर्जना गरियो । एउटै पदमा एउटै व्यक्ति रहन्छ । एउटा प्रधानमन्त्री पदको प्रवन्ध गरिन्छ । एउटै व्यक्ति प्रधानमन्त्री हुन्छ । यसको मतलब अरू कुनै व्यक्ति प्रधानमन्त्रीका लागि योग्य भएनन् भन्ने त्यसको अर्थ लाग्छ र ? अथवा प्रधानमन्त्री बन्न योग्य भएका सबै व्यक्ति प्रधानमन्त्री हुन सम्भव छ र ? राष्ट्रपतिका निम्ति योग्यता पुगेका मानिस सबै राष्ट्रपति बन्न सक्छन् र ? पार्टी अध्यक्ष बन्न योग्यता पुगेका नेताहरु सबै अध्यक्ष बन्न सक्नुहुन्छ र ? त्यो सम्भव हुँदैन । हामीले एउटा पद सिर्जना गर्ने प्रस्ताव अगाडि बढाएका छाँै । यस पदका निम्ति कमरेड वामदेव गौतम योग्य नेता हो ।

तपाईं बोल्दा अरू नेताको चित्त नदुखाउने गरी बोल्नु हुन्छ । अघि पनि भन्नुभयो माधव नेपालको बरियता घट्दा मलाई पनि सहज लागेको छैन भनेर । तर अहिले अरू तीन उपाध्यक्षका हकमा सहज लाग्यो तपाईंलाई ?

अहिले हामीले एउटा पद सिर्जना गर्यौँ– उपाध्यक्ष । त्यसका निमित्त वामदेव गौतम सबैभन्दा उपयुक्त पात्र हो ।

तपाईं धेरै पार्टीकै कुरा मात्रै बोल्नुहुन्छ । गुट उपगुटको कुरा बोल्नुहुन्न । त्यसकारण तपाईंको भनाइ पार्टीको आधिकारिक भनाइ जस्तो लाग्छ । तर त्यहाँभित्र त गुट छ नि । माधव नेपालले त्यसै नोट अफ डिसेन्ट लेख्नुभएको छैन होला ।

माधव कमरेडले केही कुरामा असहमति छ भन्नुभएको छ । हामी जीवन्त पार्टी हाँै । लोकतान्त्रिक विधिका साथ सञ्चालित पार्टी हाँै । त्यस कारण हामीकहाँ उन्नत किसिमको अभिव्यक्ति स्वतन्त्रता छ । लागेको कुरा भन्न पाइन्छ । निर्णयमा सहमति वा असहमति राख्न पाइन्छ । असहमति दर्ज गर्न पाइन्छ । आफ्नो मतको पक्षमा कमिटी र पार्टी पङ्क्तिको विश्वास जित्न पाइन्छ । त्यस प्रकारको अभ्यासमा अभ्यस्त पार्टी हो नेपाल कम्युनिस्ट पार्टी । त्यसकारणले कतिपय निर्णयमा चित्त बुझेन भने म फरक मत राख्छु भन्ने अधिकार हामी सबैलाई छ । त्यो अधिकार कमरेड माधव नेपाललाई त झन् नहुने कुरै भएन । उहाँले यो कुरा भन्नुभएको छ । तर हामीले आग्रह के गरेका छाँै भने कुनै त्यस्तो सैद्धान्तिक प्रश्न भए, नीतिकको प्रश्न, विचारको प्रश्न भए, यो सिद्धान्त, यो विचार, यो नीतिले गर्दा हाम्रो आन्दोलनमा धेरै ठूलो क्षति पुग्छ भने त्यस्ता विषयमा असहमति राख्नु वा विमति राख्नु आफ्नो कन्भिक्सनको आधारमा फरक मत राख्नु स्वाभाविक कुरा हो । तर व्यक्तिको प्रश्नमा अथवा कसैको भयो कसैको भएन भन्ने कुरा, व्यक्तिको मूल्याङ्कनका कुरामा फरक मत राख्न आवश्यक हुँदैन भन्ने हाम्रो, मेरो पनि आग्रह हो । तर नेपाल कम्युनिस्ट पार्टी एमालेमा लामो समय नेतृत्वमा रहेर काम गर्नुभएको नेता हो माधव कमरेड । उहाँले हाम्रो आन्दोलनमा महत्त्वपूर्ण योगदान गर्नुभएको छ । उहाँ सम्मानित नेता हो नि । जो साथीहरु हुनुहुन्छ, सबै उहाँको मातहतमा रहेका काम गरेका साथीहरु हुन्/हाँै । उहाँको मातहतमा रहेर निर्देशन पालन गरेका साथीहरुमध्ये कसैको पक्ष वा कसैको विपक्षमा उहाँजस्तो नेताले फरक मत लेख्नु आवश्यक हुँदैन । 

यो कुरा अध्यक्षहरुलाई लागू हुन्छ कि हुँदैन ? अध्यक्षहरुले व्यक्तिका नाम ल्याउने, माधव नेपालको बरियता पनि घटाउने र उहाँका टिमका भनिएका मान्छेलाई पनि कहीँ ठाउँ नदिएपछि चित्त दुखेको हो कि ?

अध्यक्षलगायत सबैको हकमा लागू हुन्छ । हाम्रो टिमको अभ्यास, मैले सबै ठाउँमा भन्ने गरेको छु, आज पनि भन्छु । दुईवटा चिज सँगै जाँदैन । गुट र पार्टी सँगै जाँदैन । हरेक नेताका सामुन्नेमा, हरेक कार्यकर्ताका सामुन्ने दुई विकल्प छ, गुट बनाउने कि पार्टी बनाउने । गुट बनाउने बाटो हिँड्नुभयो भने पार्टी विगार्ने काम गरिरहनुभएको छ । पार्टी बनाउने बाटोमा हिँडिरहुनु भएको छ भने गुट विगार्ने काम गरिरहनुभएको छ । गुट र पार्टी विपरीत हुन् । यी दुईवटाको सधैँ सेवा गर्न सम्भव हुँदैन । गुटको सेवा गर्नेले पार्टीको अहित गर्छ, पार्टीको सेवा गर्नेले गुटको अहित गर्छ । त्यसकारण हामी सबैले पार्टी रोज्ने कि गुट रोज्ने भन्ने प्रश्न जब हाम्रो सामुन्य आउँछ नि त्यतिबेला पार्टी रोज्नु पर्छ । एमाले भित्रको सन्दर्भ २०७५ जेठ ३ भन्दा अगाडिको सन्दर्भ हो त्यो । अब त नेकपा भइसक्याँै । फरक फरक ठाउँमा रहेका पार्टी एकताबद्ध भएर एउटा पार्टी बनेका छाँै भने हामीले हिजो एमाले कालका सहमति असहमति, अन्तरविरोधलाई सम्झना गरेर त्यसद्वारा निर्देशित हुने हो र ?

*****

मैले भनिसके सबैमा लागू हुन्छ । अहिले गुट हैन पार्टीको हितलाई केन्द्रमा राखेर हिँड्नुपर्छ । मैले भन्ने गर्छु मेरो मान्छे भन्ने हो भने को हो त मेरो मान्छे ? त्यसो भए त भित्तामा टाँस्नु पर्यो, मेरो मान्छे भनेर ।

*****

यो कुरा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीलाई लागू हुन्छ कि हुँदैन ?

मैले भनिसके सबैमा लागू हुन्छ । अहिले गुट हैन पार्टीको हितलाई केन्द्रमा राखेर हिँड्नुपर्छ । मैले भन्ने गर्छु मेरो मान्छे भन्ने हो भने को हो त मेरो मान्छे ? त्यसो भए त भित्तामा टाँस्नु पर्यो, मेरो मान्छे भनेर । त्यसकारण पार्टीका नेता कार्यकर्तालाई मेरो मान्छे बनाउन दिनु भएन उनीहरुलाई पार्टीको मान्छे हुन दिन पर्यो । पार्टीको नेता रहन दिन पर्यो, पार्टीको कार्यकर्ता रहन दिन पर्यो र पार्टीको सदस्य रहन दिनु पर्यो । पार्टीको नेता, कार्यकर्ता, सदस्य चाहिँ मेरो मान्छे हुन्छ ?

पार्टीमा सबैभन्दा धेरै गुटबन्दी गर्ने अध्यक्ष केपी ओली भनिन्छ त अहिले ?

प्रधानमन्त्रीका बारेमा जे भन्नुभयो त्यो मलाई भन्दा तपाईंलाई थाहा छ कि हिजो आधार नभएको आरोप मान्छेले जो लगाउने गर्छन्, तपाईंले यहाँ स्मरण मात्रै गर्नुभएको हो । यसमा तपाईंलाई पनि विश्वास छैन ।

तपाईंले जेजे भने पनि कुरा व्यक्तिकै आउँछ । माधव नेपालले तीन जना नेताहरुलाई सचिवालयमा लग्नुपर्छ भन्नुभएको छ । त्यो पूरा हुन्छ ?

बैठकमा औपचारिक रूपमै छलफल होला, सचिवालय कत्रो बनाउने ? कुन मेकानिजमले के निर्णय गर्ने त्यसमा छलफल होला । एकताको विशिष्ट कालखण्डमा विशिष्ट प्रकारको अभ्यास गरेका छाँै । जति धेरै सङ्गठनात्मक तह हुन्छ, त्यो पार्टी त्यति नै अटोक्रिएटिभ हुन्छ । विशिष्ट परिस्थितिले गर्दा अहिले हामीले सचिवालय, स्थायी कमिटी बनाएका छाँै । पोलिटब्युरो बनाउने विधानमा प्रबन्ध छ । त्यो गठन हुन बाँकी छ ।

प्रसङ्ग निस्किहाल्यो, पोलिटब्युरो गठन हुन्छ वा हुँदैन ? किनकि केन्द्रीय सदस्यको कार्यविभाजन लगभग भइ पनि सकेको छ । यसबारे यथार्थ भनिदिनुस् न ?

कार्यविभाजन र पोलिटब्युरो एकअर्कासँग जोडिएका पनि हुन् । तर छुट्टिनै नसक्ने गरी जोडिएका पनि होइनन् । कार्यविभाजनका लागि पोलिटब्युरो अनिवार्य थियो भन्ने होइन । अनिवार्य थियो भने हामी कार्यविभाजन गर्न नै सक्दैनथ्यौँ ।

पोलिटब्युरो गठन हुन्छ कि हुँदैन ?

विधानमा प्रवन्ध छ । कामका लागि आवश्यक पर्यो भने बन्न सक्छ ।

नेकपामा त विधानमा प्रवन्ध भएका संरचना नबन्ने, नभएका बन्ने देखिएको छ त ?

विधानमा प्रवन्ध नगरी हामी कुनै पनि काम गर्दैनौँ । तपाईंको सङ्केत वामदेव कमरेडको सन्दर्भमा होला । यो सचिवालयले सर्वसहमतिका साथ अगाडि सारेको प्रस्ताव हो । यो प्रस्तावसँग दुईवटा कुरा गाँसिएको छ । एउटा, हामी विधान संशोधन गर्छौँ । र उपाध्यक्षको पदमा कमरेड वामदेव गौतमलाई निर्वाचित गर्ने प्रस्ताव लैजान्छाँै । विधान र व्यवहारका बीचमा द्वन्द्वात्मक सम्बन्ध हुन्छ । व्यवहारका अनुभवले विधान समृद्ध हुँदै जान्छ । विधानले व्यवहारलाई पनि सुधार्दै लैजान्छ ।

वामदेव गौतम बीचमा प्रधानमन्त्री केपी ओलीबाट टाढा टाढा पुग्नुभएको थियो । यसअघि खासै नदेखिने उहाँ पछिल्लो समय प्रधानमन्त्री सिङ्गापुर भ्रमणबाट फर्किंदा एरपोर्टमा स्वागत गर्न देखिनुभयो । प्रधानमन्त्रीका विरुद्ध स्थायी कमिटीमा छुट्टै प्रतिवेदनदेखि, छुट्टै भेलादेखि सार्वजनिक अभिव्यक्तिसम्म थिए वामदेव गौतमका, अहिले कसरी मिलाइदिनु भयो ?

त्यस्तो होइन उहाँ प्रधानमन्त्रीका औपचारिक भ्रमण हुँदा उपत्यकामा भएसम्म अनुकुल हँुदा उहाँ जानुभएको छ । यो पहिलो पटक जानुभएको भन्ने कुरा होइन । मानवीय दृष्टिकोणले पनि हेरिन्छ नि । स्वास्थ्य उपचार गरेर फर्किनु भयो प्रधानमन्त्री, त्यहाँ खुसी व्यक्त गर्न जाँदैन मानिस ? त्यति निर्दयी, त्यति कठोर हुनुपर्छ ? हाम्रो अपेक्षा यो हो ? यस कोणबाट यस्ता फेब्रिकोटेट समाचारहरु सम्प्रेषित भए नि मानौँ वामदेव गौतमले एरपोर्टमा गएर ठूलो अपराध गर्नुभयो ! वामदेव गौतमलाई दण्डित गर्नुपर्छ भन्या खालको जस्तो गरियो । यो अत्यन्त दुःख लाग्छ के ।

*****

म स्पष्ट गर्छु । उपाध्यक्ष पदको सिर्जना उहाँको आवश्यकताले गरेको होइन । हाम्रो आन्दोलनको आवश्यकताले गरेको हो ।

*****

प्रधानमन्त्री केपी ओली र वामदेव गौतमलाई तपाईंले मिलाइदिनुभयो ? यो सत्य हो ?

त्यो पनि होइन । कमरेड वामदेव गौतम हाम्रो पार्टीमा सदस्यता प्राप्त गरेको मितिको हिसाबले, आन्दोलनमा भूमिगत भएको हिसाबले, जोखिमपूर्ण जिम्मेवारी सम्पन्न गरेको हिसाबले पार्टी निर्माणमा कष्टकर जिम्मेवारीहरु प्रभावकारी ढङ्गले सम्पन्न गरेको लगायत हरेक हिसाबले टेस्टेड लिडर हो । लिडरहरु बीचको सम्बन्ध विचारले, परिस्थितिको विश्लेणले, राष्ट्रिय आवश्यकताले सम्बन्धहरु परिभाषित हुन्छन् । त्यो कसैले जोडिदिएर जोडिने, टुटाइदिएर टुटिने होइन ।

त्यो कुरा त हिजो महाधिवेशनमा पछि गरिदिएको भए वामदेव गौतम यति चिढिनु हुन्थेन होला नि ?

वामदेव गौतमका सन्दर्भमा जुन ढङ्गले चर्चा गर्न खोजिन्छ, उहाँ कुनै पदसँग जोडिएर सोच्ने मान्छे होइन । उपाध्यक्ष त हिजै उहाँ भइसक्नु भएको हो नि । म स्पष्ट गर्छु । उपाध्यक्ष पदको सिर्जना उहाँको आवश्यकताले गरेको होइन । हाम्रो आन्दोलनको आवश्यकताले गरेको हो ।

हिजो निर्वाचित पार्टी महासचिवलाई पछाडि पारेर तपाईं एकीकृत पार्टीको महासचिव बनेपछि ईश्वर पोखरेलसँगको सम्बन्ध अलि चिसिएको थियो भन्ने पनि थियो । अहिले स्कुल विभागको प्रमुख बनाइदिनुभयो भनेपछि अब सम्बन्ध राम्रो भयो होइन ?

कमरेड ईश्वर पोखरेललाई मैले २०४३ साल अझै भन्दा ०३६ सालतिर चिनेको । त्यतिबेला रूपन्देहीमा पार्टी केन्द्रीय कमिटीको बैठक बसिरहेको थियो । म त्यतिबेला पार्टीको होलटाइमर क्याटर मात्र थिएँ । त्यो केन्द्रीय कमिटीको बैठक व्यवस्थापन गर्ने काममा म खटिएको थिएँ । त्यतिबेला मैले तेजतरार युवा नेताका रूपमा देखँे । पछि पार्टी कामको सिलसिलामा ०४३ सालतिर उहाँ लुम्बिनी अञ्चलको पार्टी प्रमुख भएर जानुभयो । उहाँ कमिटीको प्रमुख हुनुभयो । म त्यो कमिटीको सदस्य भएँ । उहाँको नेतृत्वमा केही वर्ष हामीले सँगै काम गर्न मौका पायौँ । त्यसपछि हामी केन्द्रीय कमिटीमा रहँदै आएपछि लामो समय सहकार्य गर्दै आएका छाँै । ईश्वर पोखरेल आफ्नो योग्यताले, निष्ठा र निरन्तरताले निर्माण भएको व्यक्तित्व हो । यो सत्य हो कि नवौँ, आठौँ महाधिवेशनबाट महासचिवमा निर्वाचित हुनुभएको हो । आठौँ महाधिवेशनमा उहाँ महासचिवमा निर्वाचित हुँदा म सचिवमा निर्वाचित भएको थिए । नवौँमा उहाँ फेरि महासचिवमा निर्वाचित हुनुभयो म उपमहासचिवमा निर्वाचित भएँ । उहाँको प्रत्यक्ष मातहतमा रहेर काम गरेको सुखद् अनुभव मसँग छ । उहाँले योग्यतापूर्वक आफ्नो मातहतका साथीहरुलाई लिड गर्ने क्षमता राख्नुहुन्छ । त्यसअर्थमा ईश्वर पोखरेललाई कृपा गरेर स्कुल विभागको प्रमुख दिइयो भनेर म बुझ्दिन । पार्टी स्कुल राम्रोसँग हाँक्न सक्ने क्षमता उहाँमा छ ।

तपाईंले जति मीठा कुरा गरे पनि उहाँको बारेमा प्रष्ट त छ नि । उहाँ हिजो महासचिव दुई पटक भएको मान्छे पार्टी अध्यक्षका लागि, प्रधानमन्त्रीका लागि लडाइँ गर्नुपर्ने हो त । एउटा विभागको प्रमुख गर्नका लागि मरिहत्ते गर्नुपर्ने के थियो ? उहाँको प्रतिस्पर्धीले त भन्नुभयो कि पार्टी नै फुट्ला जस्तो भयो र मैले छोडिदिएँ भनेर ?

त्यस्तो प्रसङ्ग त मैले सुनेको छैन, पार्टी नै फुट्ने अवस्था भयो भनेर । प्रष्ट के हो भने कार्यसम्पादनको तरिका हरकसैले आफ्नो रुचिभित्र पर्न सक्छ । हामीले कार्यविभाजन गर्दा के कुरामा ध्यान दिन्छाँै भने सकेसम्म व्यक्तिको रुचि र पार्टी कामको आवश्यकतालाई सकेसम्म मिलाउने कोसिस गर्छौं । यदि व्यक्तिको रुचि र पार्टीको आवश्यकता मिलेन भने त्यतिबेला पार्टीको आवश्यकतालाई प्राथमिकता दिन्छाँै । म यो जिम्मेवारी समाल्छु भन्ने कुरालाई अन्यथा लिन हुँदैन ।

तर अहिले केपी ओली, प्रचण्ड, झलनाथ खनाल, ईश्वर पोखरेल, विष्णु पौडेललगायत एक ठाउँमा माधव नेपाल एक ठाउँमा हुने स्थिति किन आयो ?

हैन, हामी नौ जना नै एक ठाउँमा छाँै । कमरेड माधव नेपालाई अलग गरेर चित्रण गर्ने, उहाँ एक्लिएको र उहाँलाई एक्लाउन खोजिएको भनेर कतिपय टिप्पणीहरु आइरहेका छन् । त्यसमा सच्याइको थोपो पनि छैन । म दाबीका साथ भन्छु । म दोहोर्याएर भन्छु हामी नौ जना एक ठाउँमा छाँै ।

अब फरक प्रसङ्ग, मन्त्रीमण्डल पुनर्गठन कहिले हुन्छ ?

सम्भवतः प्रधानमन्त्री सिङ्गापुरबाट फर्किएपछि त्यसबारेमा केही गृहकार्य गर्नुभएको छ होला । लाग्ला केही दिन तर धेरै लामो समय लाग्ला भन्ने लाग्दैन मलाई ।

प्रधानमन्त्रीको स्वास्थ्य कस्तो छ ?

राम्रो छ । अस्ति फलोअपमा गएर आउनुभयो । डाक्टरले केही दिनको अन्तरालमा फेरि फलोअपमा आउन भनेका छन् । उहाँ जानुहुन्छ । उहाँको स्वास्थ्य राम्रो छ । स्वास्थ्यको बारेमा जे जस्ता अनुमान र टिप्पणीहरु भएका थिए, उहाँको उपस्थिति र प्रस्तुतिले स्वास्थ्यको स्थिति के हो भन्ने जाहेर गरिसकेको छ ।

आगामी दिनमा नेकपा अब कसरी अगाडि बढ्छ ?

हाम्रा सामुन्नेमा दुईवटा कार्यसूची छन् । एउटा, केन्द्रीय तहमा सम्पन्न भएको एकतालाई आधारभूत तहसम्म सम्पन्न गर्न केही बढी समय लियाँै । यद्यपि यो त्यति सहज र सरल विषय थिएन । योबीचमा हाम्रो पार्टी केन्द्रीकृत र योजना अनुरूप परिचालित हुन पाएको छैन । अब हामी पार्टी परिचालनको योजना लिएर जान्छाँै । यो भनेको केन्द्रीय अध्यक्षदेखि पार्टीको कान्छो सदस्यसम्मको अभियान । यो अभियानमा सरिक भएर काम गर्ने हिसाबले पार्टीका कमिटीलाई परिचालित गर्ने, सदस्यहरुलाई परिचालित गर्ने र पार्टी जनताका माझ जाने । जनताका गुनासा, आलोचना, समस्या सुन्ने र त्यो समाधानका लागि अगुवाइ गर्ने हिसाबले पार्टी पङ्क्तिलाई परिचालन गर्ने अभियान लिएर आउँछाँै । दोस्रो, पार्टीका विभिन्न कमिटीको अधिवेशन सम्पन्न गर्दै, महाधिवेशन सम्पन्न गर्दै पार्टीको महाधिवेशनको तयारीतर्फ लाग्छाँै ।

महाधिवेशन तोकिएकै मितिमा हुन सम्भव छ ?

तीन महिनामा सक्ने भनिएको एकताको काम करिब करिब १५ महिना लगायाँै । यसले के देखाउँछ भने सम्भवतः महाधिवेशन केही सर्छ कि भन्ने देखाउँछ । तर हाम्रो कोसिस तोकिएकै समयमा महाधिवेश गर्ने कुरामा ध्यान जान्छ । त्यसतर्फ प्रयास गर्छौं, पहिलो कुरा ।

दोस्रो, हामी अहिले सरकारमा छाँै । सरकारको नेतृत्व गरिरहेका छाँै । सरकारको नेतृत्वको मैले कुरा सङ्घीय सरकारको मात्रै कुरा गरेको छैन । ६ वटा प्रदेशको अधिकांश तहमा नेकपा नेतृत्वको सरकार छ । यो सरकार जनताको सेवाका निम्ति, राष्ट्रको उन्नति प्रगति प्रति समर्पित सरकार हो भन्ने कुरालाई अझै नयाँ उचाइबाट पुनः पुष्टि गरेर जानुपर्ने आवश्यकता छ । सरकारको कामलाई अझ प्रभावकारी बनाएर जानुपर्ने आवश्यकता छ । जस्तो कि सरकारको पहिलो वर्ष र सङ्घीयतामा आइपुगेको हुँदा संविधानको रक्षा, संविधानको कार्यान्वयन, संविधानले परिकल्पना गरेका अधिकारहरु, मौलिकलाई सुनिश्चितता गर्ने हिसाबले गर्नुपर्ने कानुनी प्रवन्ध जस्ता कामहरुमा लाग्नुपर्दा पहिलो वर्ष आधार वर्षको रूपमा रह्यो । आउने वर्ष तीव्र आर्थिक विकासको वर्षको रूपमा यो समयलाई सदुपयोग गर्न चाहन्छाँै । सरकारको प्रभावकारी काम, नतिजामुखी कामतर्फ हामी केन्द्रित हुन्छाँै ।

सामाजिक सञ्जालबाट तपाईंलाई एउटा प्रश्न सोध्न आग्रह आएको थियो । मन्त्रीमण्डल पुनर्गठन हुँदैछ भन्ने छ । विष्णु पौडेल मन्त्री हुनुहुन्छ कि हुँदैन सोधिदिनुस् कृपया भन्ने थियो । तपाईं बन्दै हुनुहुन्छ मन्त्री ?

विष्णु पौडेललाई पार्टीले जे जिम्मेवारी दिएको छ, त्यो जिम्मेवारी सफलतापूर्वक बहन गर्ने कुरामा केन्द्रित छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रोहित दाहाल
रोहित दाहाल
लेखकबाट थप