शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अस्ट्रेलियाली चर्चमा यौनकाण्डः कार्डिनल जर्ज पेल दोषी ठहर

बुधबार, ०४ भदौ २०७६, १४ : ०६
बुधबार, ०४ भदौ २०७६

मेलबोर्न– अस्ट्रेलियाली एक पुनरावेदन अदालतले बुधबार कार्डिनल जर्ज पेलमाथिको बालयौन दुराचारको सजायलाई पुनः सदर गरेको छ । अदालतको उक्त आदेशपछि अदालत परिसरबाहिर भेला भएका पीडित र उनीहरुका समर्थकले खुशी व्यक्त गरेका थिए ।

गत वर्ष डिसेम्बरमा तल्लो अदालतको सर्वसम्मत निर्णयका आधारमा कार्डिनल जर्ज दोषी ठहर गरिएका थिए । क्याथोलिक धर्मगुरु पोप फ्रान्सिसका पूर्व अर्थमन्त्री समेत रहेका कार्डिनल जर्जले दुई दशकअघि मेलबोर्नस्थित सेन्ट प्याट्रिक क्याथेड्रलमा रहँदा दुई जना १३ वर्षीय बालकमाथि यौन शोषण गरेको पुष्टी भएको थियो । 

भिक्टोरिया पुनरावेदन अदालतका न्यायाधीशको २–१ को निर्णयबाट कार्डिनल जर्जले गरेको पुनरावेदन अस्वीकार गरेको हो । पेलका कानुन व्यवसायीले अब अदालतको आदेशका बारेमा अध्ययन गरी उच्च अदालतमा पुनरावेदन गर्ने बताएका छन् ।

कार्डिनल जर्जका प्रवक्ता काट्रिना लीले अदालतको आदेशबाट कार्डिनल जर्ज निःसन्देह दुःखी भएको बताए । भ्याटिकनले पनि कार्डिनल जर्जको बालयौन शोषणका बारेमा अलग्गै अनुसन्धान गरिरहेको छ । कार्डिनल जर्जले भने आफू निर्दोष रहेको बताउँदै आएका छन् ।

अस्ट्रेलियाली क्याथोलिक बिसप सम्मेलनले पनि कानुनका दृष्टिबाट सबै अस्ट्रेलियाली नागरिक समान रहेको बताउँदै अदालतको आदेशलाई स्वीकार गर्ने जनाएको छ ।  मेलबोर्नका मुख्य पादरी पिटर कोमेन्सोलीले एक विज्ञप्ति प्रकाशन गरी आफूले अदालतको आदेशलाई स्वीकार गर्ने र अरुलाई पनि त्यस्तै गर्न आग्रह गरेका छन् । 

गत मार्चमा ७८ वर्षीय कार्डिनल जर्जलाई छ वर्षको कारावासको सजाय दिइएको थियो । उनी अब पोप फ्रान्सिसको कार्डिनल परिषद् वा भ्याटिकनको अधिकारीका रुपमा रहन पाउने छैनन् । 

अस्ट्रेलियाली प्रधानमन्त्री स्कट मरिसनले पनि अदालतको आदेशलगत्तै जर्जलाई यसअघि अस्ट्रेलिया सरकारले प्रदान गरेको सर्वोच्च पदक ‘अर्डर अफ अस्ट्रेलिया’ को पदक खोस्ने बताएका छन् ।  क्याथोलिक गिर्जाघरहरुमा विश्वभर नै यौन शोषणका खबर आएसँगै पोप फ्रान्सिसमाथि गिर्जाघरहरुको सुधारका बारेमा चर्को दबाब आएको छ । –एपी/photo-CNN
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप