मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

सिंहदरबारभित्रै कर्मचारीले आत्महत्या गरेपछि जे देखियो (भिडियो)

मङ्गलबार, ०३ भदौ २०७६, १८ : ४८
मङ्गलबार, ०३ भदौ २०७६

काठमाडौं– मंगलबार बिहान ११ बजेपछि सिंहदरबारभित्र पुगेका कर्मचारी, सर्वसाधरण धेरैजसोको ध्यान राष्ट्रिय योजना आयोगतर्फ सोझियो । कार्यालय बाहिर सानो भीड थियो भने सुरक्षाकर्मीहरु तैनाथ थिए । जहाँ सोही कार्यालयमा काम गर्ने एक कर्मचारीको शव फेला परेको थियो । देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबार भित्रको महत्वपूर्ण कार्यालयमा शव फेला परेको भनेपछि धेरैजसो आश्चर्यचकित भएर आयोगको परिसरमा भेला भइरहेका थिए । 

यसरी मृत भेटिएका व्यक्ति थिए सोही कार्यालयमा स्टोरकिपरको रुपमा काम गर्ने झन्डै ५० बर्ष हाराहारीका नायव सुब्बा बच्चुराम केसी ।  आयोगमा यसरी कर्मचारीको मृत्यु भएपछि विभिन्न मन्त्रालयका कर्मचारीहरु तथा केही सांसद पनि घटनास्थल पुगेका थिए । केसीको शव फेला परेपछि उनका परिवारका सदस्यलाई पनि घटनास्थल लगिएको थियो । 

सरसफाईका क्रममा एक कार्यालय सहयोगीले उनको शव फेला पारेपछि प्रहरीले सो क्षेत्र आफ्नो नियन्त्रणमा लियो र अनुसन्धान थाल्यो । ५ घण्टापछि प्रहरीले उनको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगेको छ । 

सबैसँग मिलनसार रहेको र कार्यालयको कामका लागि जुनसुकै बेला पनि खटेर काम गर्ने उनका सहकर्मीहरुले बताए । मृतक केसीका परिवारमा बुवा आमा श्रीमतीसहित १ छोरा र १ छोरी रहेका छन् । उनले विगतमा लामो समय राजदरबारमा राजपरिवारको निकट भएर काम गरेको उनका सहकर्मीहरुले बताए ।

यस्तो थियो घटनास्थलको अवस्था 

घटनास्थलमा मिडिया तथा अन्य व्यक्तिहरुलाई प्रवेश निषेध गरिएको थियो । घटनास्थल पुगेर फर्किएका नेपाली कांग्रेसका सांसद राजन केसीले मृतकको सबनिर केराको बोक्रा तथा विषादीको धुलो देखेको बताए । उनले वान्ता गरेको अवस्थामा कार्यालयको हलमा शव देखेको उल्लेख गरे । 

आयोगको कार्यालयको दोश्रो तलाको हलमा उनले आत्महत्या गरेका थिए । घट्नास्थलबाट प्रहरीले सुसाइट नोट समेत बरामद गरेको छ । जसमा उनले आफ्नै कारणले आत्महत्या गरेको र त्यसको अर्को अर्थ लगाई कसैलाई दोष नदिन आग्रह गरेको बताइएको छ । 

प्रहरी निरीक्षक भोजराज पाण्डेले घटनास्थलको मुचुल्का उठाएर त्रिवि शिक्षण अस्पताल पठाइएको र घटनाबारे अनुसन्धान सुरु भएको जानकारी गरे ।  मृतक केसी हिँजो साँझ ५ बजेर २१ मिनेटमा कार्यालयबाट बाहिरिएको र राती पुन कार्यालयमा प्रवेश गरेको सिसिटिभी फुटेजमा देखिएको बताइको छ । 

सहिद घोषणा गर्न आफन्तको माग 

घटनास्थल राष्ट्रिय योजना आयोग पुगेका मृतक केसीका आफन्तले घटनाबाट आफूहरु स्तब्ध बनेको बताएका छन् । उनका एक आफन्त राम केसीले घटनाबारे राम्रोसँग छानविन गर्न माग गरे । उनले घटनामा कोही दोषी छ भने उसलाई कारवाही गर्नुपर्ने यदि आफैंले आत्महत्या गरेको हो भने परिवालाई क्षतिपूर्ति र उनका एक छोरा र एक छोरीलाई राज्यले रोजगारीको व्यवस्था गर्न माग गरे । 

उनले यस्तो विपतको घडीमा एकजना मन्त्री पनि भेट्न नआएकोमा आक्रोश पोख्दै मृतकलाई सहिद घोषणा गर्न माग गरे ।  मृतक केसी राष्ट्रिय योजना आयोगमा स्टोरकिपरको भूमिकामा काम गर्दै आइरहेका थिए । 

केसीले आत्महत्या गर्नुको कारण भने अहिलेसम्म खुलेको छैन । 


हेर्नुहोस भिडियो : 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप