शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मधेसको विकासमा पहाडको समृद्धि जोडिएको छ : अध्यक्ष प्रचण्ड

सोमबार, ०२ भदौ २०७६, २३ : ०७
सोमबार, ०२ भदौ २०७६

धनुषा-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधामन्त्री  पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसको विकास र समृद्धिलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन् । धनुषाको बरमझियामा आज आयोजित शहीद रामवृक्ष यादवको स्मृति सभालाई सम्बोधन गर्दै अध्यक्ष  दाहालले मधेसको विकासमै पहाडको पनि समृद्धि जोडिएको बताए ।

अध्यक्ष दाहालले मधेसका जनताले त्याग र बलिदानअनुसार प्रतिफल पाउन नसकेको बताउँदै भने, ‘‘प्रदेश २ मा भ्रष्टाचार बढेको, सुशासन नभएको र जनताले दुःख पाएको भन्ने सुनेको छु । यस्ता कमजोरी हुन नदिन प्रदेश सरकार बढी क्रियाशील र उत्तरदायी बन्नुपर्दछ ।’’ उनले केही समयअघि प्रदेश नं २ का मुख्यमन्त्रीसहितको टोलीसँग प्रधानमन्त्री निवास बालुवाटारमा तराई मधेशका जनता कसरी खुशी हुन्छन् भन्ने विषयमा छलफल भएको पनि उल्लेख गरे । 

मधेशमा वर्षेनी हुने गरेको बाढीको क्षति, सुक्दै गएको जलाधार, आगलागी, डुबानको समस्या हटाउन गुरुयोजना आवश्यक रहेको बताउँदै भने, ‘‘यी सबै समस्याको दीर्घकालीन समाधान खोज्नुपर्छ । चुरेको संरक्षणको गुरुयोजना तयार गरी कार्यान्वयन नगरेसम्म तराईलाई जोगाउन सकिन्न ।’’ उनले समृद्धि र विकासको प्याकेजसहित प्रधानमन्त्री केपी शर्मा ओलीसँगै आफू छिट्टै मधेसमा आउने पनि बताए । अध्यक्ष दाहालले जनता आवास, जनताको तटबन्ध, रेलमार्ग, हुलाकी मार्ग, द्रुत मार्ग, निजगढ अन्तर्राष्ट्रिय विमानस्थललगायतका परियोजनाले मधेस–तराईले विकासमा फड्को मार्ने बताए । उनले मधेससँग शुरुदेखि नै आफ्नो भावना जोडिएको बताउँदै दोस्रो संविधानसभामा सिरहाबाट चुनाव जितेर प्रधानमन्त्री पनि बनेको प्रसङ्ग उल्लेख गरे ।

शहीद रामवृक्ष यादव तत्कालीन नेकपा (एकता केन्द्र) का पोलिटब्यूरो सदस्य थिए । विसं २०५१ भदौ २ मा धनुषाको बरमझियामा उनको हत्या भएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप