केन्द्रीय संस्करण

कर्णालीमा राष्ट्रहित विपरित सम्झौता गरेको भन्दै सरकारको चर्को आलोचना

person explore access_timeभदौ २, २०७६ chat_bubble_outline0
file photo

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका नेताहरुले माथिल्लो कर्णाली जलविद्युत् परियोजनामा राष्ट्रहित विपरित सम्झौता गरेको भन्दै सरकारको चर्को आलोचना गरेका छन् ।  पुष्पलाल मित्रता केन्द्रले सोमबार राजधानीमा गरेको माथिल्लो कर्णाली र बुढी गण्डकी परियोजनामा राष्ट्रहितको संरक्षण सम्बन्धी बहसमा बोल्दै नेताहरुले सरकारले राष्ट्रिय स्वाधिनतामाथि नै खेलवाड गर्ने काम गरेको धारणा राखेका हुन् ।

टाट पल्टिएको भारतीय कम्पनी जिएमआरलाई माथिल्लो कर्णाली जलविद्युत् परियोजनाको निर्माण सम्झौता नेपालको अहितमा रहेको भन्दै उनीहरुले जिएमआरलाई म्याद थप नगर्न सुझाएका छन् । नेकपा नेता भीम रावलले जिएमआरले नेपाललाई जुनसुकै जरिवाना गराउन सक्ने गरि राज्य तल परेर निर्माण सम्झौता गरिएको दाबी गरे ।

वरिष्ठ नेता झलनाथ खनालले राष्ट्रियतालाई कमजोर पार्ने कुनै पनि योजना समर्थन गर्न नसकिने भन्दै माथिल्लो कर्णाली जलविद्युत् परियोजनाका बारेमा उठेका सम्पूर्ण प्रश्नको सरकारले जवाफ दिनुपर्ने बताए । उनले सानालाई कारवाही र ठुला तथा विदेशी कम्पनीलाई छुट दिने विषय आफुहरुलाई स्वीकार्य नहुने भन्दै उनले यससम्बन्धमा सरकार हुनुपर्ने धारणा राखे । 

कार्यक्रममा देशभक्त गणतान्त्रिक मोर्चाका संयोजक सिपी गजुरेलले जिएमआरलाई म्याद थप गरियो भने त्यस विरुद्ध नेपाली जनता आन्दोलनमा उत्रने चेतावनी दिए । उनले राष्ट्रिय स्वाधिनतामाथि खेलवाड गर्ने काम नगर्न सरकारलाई सचेत गराए ।

उनले वर्तमान सरकारले कम्युनिष्ट शब्दलाई नै बदनाम गर्ने काम गरेको आरोप पनि लगाए । सरकारमा रहेका नेताहरबाट राजनीतिक समस्या समाधान भयो भन्ने अभिव्यक्ति आएकोमा आपत्ति जनाउँदै उनले राजनीतिक परिर्वतनका लागि अझै अर्को आन्दोलन र क्रान्ति आवश्कय रहेको दाबी गरे ।

माथिल्लो कर्णाली बचाऔं राष्ट्रिय अभियानका अध्यक्ष भरतबहादुर शाहीले माथिल्लो कर्णाली परियोजना निर्माणको जिम्म जिएमआरलाई दिनु नेपाल र नेपालीका लागि दूर्भाग्य र राष्ट्रघात भएको बताए । नेपालका राष्ट्रिय गौरवका आयोजनाहरुमध्ये  माथिल्लो कर्णाली जलविद्युत् परियोजनाका नेपालसँगै भारत र बंगलादेशको पनि चासो रहदै आएको छ ।

 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...