केन्द्रीय संस्करण

क्रान्तिमै सकियो सिङ्गो परिवार

person explore access_timeभदौ २, २०७६ chat_bubble_outline0
तस्बिर : बौधमाया यादव

जनकपुर । रामवृक्ष यादवको जन्म तत्कालीन जनकपुर अञ्चल धनुषा जिल्लाको बरमझिया गाविसमा वि.सं. २००३ मा भएको हो । यो अहिले प्रदेश नम्बर २ धनुषा जिल्ला गणेशमान चारनाथ नगरपालिकामा पर्छ । उनकी आमा सम्पैत देवी र बुबा रामलखन यादव सामान्य किसान थिए ।

रामवृक्षले २०२२ सालमा एसएलसी परीक्षा उत्तीर्ण गरे । वीरगञ्ज ठाकुरराम बहुमुखी क्याम्पसबाट प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेर आफ्नै गाउँमा रहेको प्राथमिकता तहको विद्यालयमा प्रधानाध्यापक भई जागिर खाए । २०२२ सालमा नै रामकुमारी यादवसँग उनको विवाह भयो । केही वर्षको अन्तरालमा ४ छोरी र एक छोरासमेतको जन्म भयो ।

घरपरिवार, विद्यालय हुँदै राजनीतिमा प्रवेश गरेका उनी वि.सं. २०२९ सालमा नेकपा (चौम) को सम्पर्कमा पुगे । २०३० सालमा मजदुर आन्दोलनमा सक्रिय भूमिका खेल्दै सिरहा, धनुषा, सर्लाही, महोत्तरी लगायत तराईका विभिन्न जिल्लामा सक्रियताका साथ राजनीति गरे । उनको यस्तो सक्रिय भूमिकाले शान्ति सुरक्षामा खलल पर्याएको भन्दै तत्कालीन राज्यले उनलाई जेल सजाय दियो । रामवृक्ष यादवका कारण  बरमझिया गाउँका सम्पूर्ण नागरिक तत्कालीन प्रशासनबाट पीडित थिए । २०३० कात्तिकमा जेलमुक्त भएपछि नेकपा (चौम)ले उनको कामबाट प्रभावित भएर २०३१ मा पार्टीको सक्रिय सदस्यता पाए ।

तत्कालीन सरकारले कम्युनिस्ट पार्टीसँगको संलग्नता थाहा पाएपछि उनलाई जागिरबाट निष्काशन गरिदियो । २०३५ माघमा बरमझियामा सामन्त र मजदुरबीच आन्दोलन हुँदा पुनः पक्राउ परे पनि जनताले पुलिसबाट जबरजस्ती फुत्काएका थिए । २०३५ साल कात्तिकमा सिन्धुलीको रघुनाथ कोइराला हत्याकाण्डमा तत्कालीन सरकारको मिलोमतोमा जबरजस्ती फसाइएको थियो । राजनीतिक पृष्ठभूमिका आधारमा राजकाज अपराध अन्तर्गत २०३५ पुस १ देखि २०३७ वैशाख ५ सम्म जेल हालियो ।  पछि राजबन्दी रिहाइमा छुटे । बहुदलको हार र निर्दलको जितपछि रामवृक्ष यादवको घर तोडफोड भयो । उनको लाखौं सम्पत्ति लुटियो । त्यस लुटपाटमा सोभित यादव, बिसुनदेव यादव, दयाराम यादव, सन्तोषी यादव, दामोदर यादव, इद्रिस मियाँ लगायतको सम्पत्ति लुटिएको थियो । यसपछि रामवृक्ष यादव भूमिगत हुन बाध्य हुनुपरेको थियो ।

०३९/०४० सालतिर जुडीको ज्यान मार्ने मुद्दामा षडयन्त्रपूर्ण ढङ्गले तत्कालीन प्रशासनले उनलाई फसाएको थियो । २०४० साउनमा विष खाएर गाउँमा एक व्यक्ति मर्दा त्यसमा पनि तत्कालीन प्रशासनले उनललाई नै फसाएको थियो । प्रशासनले उनको खुट्टासमेत भाँचिदिएको थियो ।उनको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको थियो । त्यहीँबाबाट उपचाररत अवस्थाबाटै जनता र पार्टीको सहयोगमा भाग्न सफल भएका थिए । 
२०४१ सालमा भएको पाँचौँ महाधिवेशनपछि पार्टी विभाजन हुँदा उनी  नेकपा (मसाल) को केन्द्रीय सदस्यको जिम्मेवारी पाए । षडयन्त्रपूर्ण ढङ्गले २०४५ साल जेठ देखि २०४८ सालसम्म कर्तव्यज्यान मुद्दाअन्तर्गत जेलमा परेका थिए । उनलाई वि.सं. २०५१ भाद्र १ गते संयुक्त जनमोर्चा नेपालले आह्वान गरेको नेपाल बन्दलाई जनकपुरबाट सफल पारेर फर्किंदै थिए । सोही क्रममा  २०५१ भाद्र २ गते तत्कालीन शाही सेना तथा प्रहरीले नेपाली काँग्रेसको इसारामा षड्यन्त्रपूर्वक उनको हत्या भयो ।

यसरी मारिए शेखर यादव
रामवृक्ष यादव र रामकुमारी यादवको कोखबाट २०३५ मा बरमझिया गाउँमा जन्मिएका शेखर यादवले  २०५५ सालमा एसएलसी उत्तीर्ण गरे । विद्यार्थी जीवनदेखि नै पिता जस्तै तीक्ष्ण बुद्धिका थिए । उनी पार्टी र क्रान्तिप्रति आफ्ना आमा बुबाझैँ दृढ र प्रतिबद्ध थिए । उनले तत्कालीन धनुषा जिल्ला पार्टीमा देखापरेको पलायनवादको विरुद्ध कठोर सङ्घर्ष चलाए । पार्टी र क्रान्ति छाडेर भाग्नेहरू विरुद्ध दृढतापूर्वक अभियान नै चलाएको उनकी दिदी बौधमाया यादव बताउँछिन् । उनले पिताको आदर्श विचारलाई शिरोपर गरी अघि बढेका थिए ।

उनी न्यायपूर्ण आन्दोलनमा क्रियाशील रहेका बखत २०५८ साल पुस १४ गते भारतको दरभङ्गाबाट उपचार गराई जिल्ला फर्किने क्रममा पक्राउ परेका थिए । भारतको जयनगरबाट दिनको ११ बजे भारतीय र नेपाली प्रहरी टोलीद्वारा पक्राउ गरी जयनगरकै थानामा राति १२ बजेसम्म राखिएको थियो । त्यसपछि नेपाल–भारतको सीमावर्ती क्षेत्र धनुषाको इनर्वामा भारतीय पक्षले नेपाली पक्षको प्रहरीलाई सुपुर्दगी गरेको थियो । सुपुर्दगी गरिएका शेखर यादवलाई धनुषाको खजुरी थानामा २ घन्टासम्म  राखे । शेखर यादवलाई थुनुवाबाट निकाली तत्कालीन नेपाली सेनाले निर्ममतापूर्वक हत्या गरेको थियो ।

सिलिन्डर विस्फोटनका शिकार भइन् रामकुमारी
वि.सं. २००७ मा सिरहा कल्याणपुरको बंगठिया गाउँमा सुब्बा यादव र भोक्सिनी यादवको कोखबाट रामकुमारीको जन्म भएको थियो ।

रामकुमारी यादवले रामवृक्ष यादवलाई जीवनभर साथ र सहयोग गरिन् । उनी पञ्चायती तानाशाही व्यवस्थाविरुद्ध निरन्तर सङ्घर्ष गरिरहने क्रममा पटक पटक गिरफ्तारीमा परिन् । हिरासतमा रहँदा उनले आफ्ना ४ वटी छोरी बोधमाया, कल्याणी, सुधा, सुनिता र छोरा शेखर यादव तथा सासू सम्पैतदेवी लगायतलाई हेरचाह गर्नेदेखि लिएर स्थानीयस्तरका पार्टीको काममा लागेकी थिइन् । साथै जेलमा रहेका रामवृक्ष यादवलाई निरन्तर हौसला र प्रेरणा प्रदान गरिरहिन् ।

रामवृक्ष यादवलाई डकैत, ज्यान मार्ने र राजकाज अपराध मुद्दा लाग्दा पनि त्यसको परवाह नै नगरी रामकुमारी यादवले आफ्नो पति रामवृक्षको आदर्श र निष्ठालाई कहिले पनि झुक्न दिएनन् । घरमा अभाव, विपन्नता र समस्याहरू आउँदासमेत विचलित नभई असल आमाका रूपमा आफ्ना लालाबालाको हेरचाह गरिन् । आफ्ना सन्तानलाई गरिबी र अभावसँग निरन्तर जुध्न सिकाइरहिन् ।

वि.सं. २०५१ भाद्र २ गते पति रामवृक्ष यादवको हत्या हुँदा उनी मुर्छित भइन् । तर आफ्नो दुःखपीडालाई शक्तिमा रूपान्तरण गरिन् । वि.सं. २०५८ पुस १४ गते एक मात्र छोरा शेखर यादवको समेत हत्या भयो । २०५९ सालमा छोरीज्वाइँ डम्बर यादवको हत्या भयो । निरन्तर हत्या र वेदनासँग जुद्धाजुद्धै उनले सङ्घर्षलाई  निरन्तरता दिइरहँदा रामकुमारीका देवरहरू रामसागर, हरि र रामजुलुमको पनि तत्कालीन शाही सेनाले हत्या गरे ।
जनयुद्धमा समेत कटिबद्ध भएर लागेका रामवृक्ष यादवको परिवारले क्षति बेहोरेको थियो । जनयुद्धमा होमिदा विभिन्न अवरोह आरोह र सङ्घर्षहरूलाई अहिले उनका छोरीहरूले पछ्याइरहेका छिन् ।

उनी त्याग, तपस्या, सरलता र सादगीको नमुना थिइन् । उनी अखिल नेपाल महिला सङ्घ क्रान्तिकारी केन्द्रीय सदस्य, संयुक्त जनमोर्चा नेपाल केन्द्रीय सदस्य, मधेसी राष्ट्रिय मुक्ति मोर्चा केन्द्रीय संयोजक, संयुक्त राष्ट्रिय जनआन्दोलन संयोजन समितिका केन्द्रीय उपाध्यक्ष र एकीकृत नेकपा माओवादीको केन्द्रीय सल्लाहकार सदस्यको जिम्मेदारी सम्हालेकी थिइन् । उनी अन्तरिम संविधानसभा सदस्य र २०६४ को पहिलो संविधान सभाको निर्वाचन धनुषा क्षेत्र नं ६ बाट संविधानसभाको सदस्यमा प्रत्यक्षबाट निर्वाचित भएकी थिइन् ।

२०६७ साल साउन २८ गते बिहान ३ बजे सिलिन्डरको ग्यास लिक भएपछि आगोले डढेर घाइते भइन् । उनलाई उपचारका लागि भारतको सफ्दरगञ्ज अस्पताल लगियो पनि २९ गते निधन भएको थियो । तत्कालीन एकीकृत नेकपा माओवादीले रामकुमारी यादवलाई मरणोपरान्त सम्मानस्वरूप ‘मधेस की माता’ सम्मानले विभूषित गरेको छ ।

जनयुद्धको आरम्भकालमा आन्तरिक तयारीमा रहेका माड्साहेब रामवृक्ष यादवलाई तत्कालीन नेपाली काँग्रेसको सरकारले हत्या गर्यो । तर पनि उनीहरू चुप लागेर बसेनन् । रामवृक्षका पूरा परिवारलाई वर्गीय सङ्घर्षको चपेटामा परे । तत्कालीन सरकार र शाही सेनाले रामवृक्षका भाइ, सन्तान र ज्वाइँ समेतको हत्या गरिदिए । यसरी एउटा सिङ्गो परिवार जनयुद्धमै समाहित भयो ।

अहिले पनि रामवृक्ष र रामकुमारीका छोरीहरू बौधमाया, सुनिता लगायतकाहरू नेकपामै सक्रियातापूर्वक लागेका छन् । सानैदेखि देखेको र सिकेको कम्युनिस्ट राजनीतिबाट ओतप्रोत भएर पनि होला आमाबुबाको सपना साकार पार्न निरन्तर पदचाप पछ्याइरहेकी छन् ।
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...