विवाह मण्डपमा ६३ जनाको हत्या, दुलहाले यसरी सम्झिए त्यो दिन

शनिबार अफगानिस्तानको काबुलमा आयोजित एक विवाह समारोहमा आत्मघाती हमला भएको थियो । उक्त हमलापछि आफ्नो सबै आशा निराशामा परिणत भएको दुलहाले बताएका छन् ।
टोलो न्यूजलाई दिएको अन्तरवार्तामा मिरवाइज इल्मीले हमलामा आफू सौभाग्यले बचेको तर मारिएका ६३ मध्ये उनीहरुका दाजुभाइ र आफन्त समावेश भएको बताएका छन् ।
हमलामा करिब १८० जना घाइते भएका छन् । हमलाको जिम्मेवारी चरमपन्थी समूह इस्लामिक स्टेटले लिएका छन् ।
देशका राष्ट्रपति अशरफ गनीले यसलाई ‘बर्बर’ हमलाको संज्ञा दिएका छन् र तालिबानमाथि उनीहरुले चरमपन्थीहरुलाई मञ्च प्रदान गरिरहेको आरोप लगाएका छन् ।
यता अमेरिकासँग शान्ति वार्ता गरिरहेको तालिबानले यो हमलाको आलोचना गरेको छ ।
मिरवाइज इल्मीले एक अन्तरवार्तामा विवाहको दिन आफू निकै खुसी भएको र उनको विवाहका सरिक हुनका लागि निकै टाढाबाट आफन्त आएको बताए । उनका अनुसार विवाहको हल खचाखच भरिएको थियो, सबैजना नाचजान, रमाइलोमा व्यस्त थिए तर विवाह सुरु भएको केही घण्टामा नै शवको खात लागेको थियो ।
उनले भने, ‘मेरो परिवार र दुलही अहिले पनि स्तब्ध छन् । उनीहरु कुरा गर्ने स्थितीमा पनि छैनन् । मेरी दुलही त बस्दाबस्दै बेहोस हुन्छिन् ।’
‘मेरो सबै आशा टुटेको छ । मैले आफ्नो भाइ गुमाएको छु । केही घण्टाभित्र मेरा साथीभाइ र थुप्रै आफन्तको मृत्यु भयो । म जीवनमा अब कहिले खुुसी हुन सक्दिनँ ।’
‘अब मैले सायद कहिले पनि प्रार्थनामा जान सक्ने हिम्मत बटुल्न सक्दिनँ । म निकै थाकेको महसुस गर्छु । मलाई राम्रोसँग थाहा छ कि हामी अफगानीका लागि यो पीडा अन्तिम होइन । हामीले अझै पनि कति दुःख झेल्नुपर्ने हो ।’
दुलहीका पिताले मिडियासँगको कुराकानीमा शनिबार भएको उक्त हमलामा उनको परिवारका १४ जनाको हत्या भएको जानकारी दिए ।
के भएको थियो विवाहको दिन ?
इस्लामिक स्टेटले एक बयान जारी गर्दै उनको लडाकूले एउटा स्थानमा जम्मा भएका मानिसहरुबीच आफूलाई उडाएको जानकारी दिए । त्यसपछि जब आपतकालीन सेवा पुग्यो तब ‘बिस्फोटकले भरिएको गाडी लिएर त्यहाँ बिस्फोट गरियो । ’
यो बिस्फोट जुन जिल्लामा भयो त्यहाँ बहुसंख्यक शिया मुसलमान बस्छन् ।
अफगानिस्तान र पाकिस्तानमा तालिबान र इस्लामिक स्टेटको सुन्नी मुसलमान लडाकू, अल्पसंख्यक शिया हजरा मुसलमानमाथि हमला गरिरहेका छन् ।
विवाहमा समावेश भएका एक पाहुना २३ वर्षका मुनिर अहमद अहिले अस्पतालमा छन् । उनका एक भाइ पर्ने पनि हमलामा मारिएको उनले बताए ।
समाचार एजेन्सी एएफपीले उनको भनाई उद्धृत गर्दै भने, ‘जतिबेला बिस्फोट भएको थियो त्यतिबेला विवाहमा आएका पाहुना नाचिरहेका थिए र खुसी मनाइरहेका थिए ।’
‘बिस्फोटपछि त्यहाँ भागदौड सुरु भयो । हरेक तर्फबाट चिच्याउने र रुने आवाज आइरहेको थियो । मानिसहरु आफन्तलाई खोजिरहेका थिए ।’
अफगानिस्तानमा धेरैजसो विवाह एउटा निकै ठूलो हलमा हुन्छ जहाँ पुरुष र महिलालाई छुट्टाछुट्टै बस्ने व्यवस्था मिलाइएको हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका र युक्रेन खनिज सम्झौताका लागि सहमत, ट्रम्पले जेलेन्स्कीलाई किन बोलाए वाशिंटन ?
-
पाशुपत क्षेत्र नेपालमा रहनु समस्त हिन्दूका लागि गौरवको विषय : राष्ट्रपति पौडेल
-
महाशिवरात्रिको दिन आज कसलाई कति लाभ ? हेरौँ राशिफल
-
आज महाशिवरात्रि पर्व, पशुपतिनाथमा चार प्रहरमा चार पूजा
-
आज विदेशी मुद्रा कसको मूल्य कति ?
-
कोपा डेल’रे : बार्सिलोना र एटलेटिकोबीच कडा टक्कर, ४–४ बराबरीमा टुंगियो खेल