नगरकोटमा वन अतिक्रमणः गरिबको टहरोमात्र होइन, धनीको होटल पनि भत्काउ
भक्तपुर– आइतबार बिहान नगरकोट भट्टृेडाँडामा सयौंको संख्यामा नेपाल प्रहरी र शसस्त्र प्रहरी देखिए । ठुलो संख्यामा सुरक्षाकर्मीको उपस्थितीसँगै स्थानीयहरुको मनमा एक प्रकारको त्रास उत्पन्न भयो । जिल्ला वन कार्यालय भक्तपुरको नेतृत्वमा चाँगुनारायण नगरपालिकाको टोली सुरक्षाकर्मीसहित वन र सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाईएका घर टहरा भत्काउन पुग्यो । पटक–पटकको सूचनाले वन र सार्वजनिक जग्गा अतिक्रमण गरेर घर टहरा बनाउनेलाई भत्काउने समय सीमा तोकिएपनि त्यो पुरा नभएपछि एक्सनमा जान परेको नगरपालिकाको भनाई छ ।
केही दिनयता संगठित रुपमा नै नगरपालिकाको अभियानलाई रोक्ने प्रयास भएकोले आइतबार नगरकोट क्षेत्रमा अतिक्रमण गरेर बनाइएका घर टहरा भत्काउने कार्यको थालनी गर्नुपरेको नगरपालिका स्रोत बताउँछ । वन कार्यालय भक्तपुर र चागुनारायण नगरपालिकाले वडा नम्बर ६ स्थित नगरकोटमा वनक्षेत्र अतिक्रमण गरेर बनाएका घरटहरा भत्काएको हो ।
यसअघि नगरपालिका र वन कार्यालयले वन क्षेत्रमा बनाएका भौतिक संरचना हटाउन सूचना जारी गरेका थिए । भक्तपुरको चाँगुनारायण र काभ्रेको मण्डनदेउपुरमा गरी करिब तीनसय घरटहरा वन क्षेत्र अतिक्रमण गरेर बनाइएको छ ।
पहिलो चरणमा केही घरटहरा भत्काएको चाँगुनारायण नगरपालिकाले दोस्रो चरणमा आइतबार करिब तीन दर्जन अतिक्रमण गरेर बनाएका संरचना भत्काएको हो । वन क्षेत्रमा अवैध रुपमा निर्माण गरी सञ्चालन भएको २० वटा व्यवसायिक घरटहरा एक महिना अगाडि नगरपालिकाले भत्काएको थियो । चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले नगरकोटलाई आर्कषक पर्यटकीय गन्तव्य बनाउन यो अभियानको थालनी गरिएको बताए । मिश्रका अनुसार अब नगरकोटमा पर्यटकीय बसपार्क, सार्वजनिक शौचालय, पार्कलगायतका संरचनाहरुको निर्माण गरिने छ ।
व्यवसायीले वन क्षेत्र अतिक्रमण गरी घरटहरा बनाएको, व्यवसाय दर्ता नगरेको र कर समेत छलि गर्दै आएको भन्दै स्थानीयले अवैध घरटहरा भत्काउन माग गर्दै आएका थिए । ‘यहाँका घरटहरा हटाउन १० वर्ष अघिदेखि नै निर्णय भएपनि कार्यान्वयन नभएको र अहिले नगरपालिकाले त्यसलाई कार्यान्वयन गरेको हुँ,’ मिश्रले भने ।
नेपाली कांग्रेस, राप्रपा, नेमकिपा र वैद्य नेतृत्व माओवादी समूहले भने वन क्षेत्रमा अवैध बनेका घरटहराहरु भत्काउन नहुने भन्दै नगरपालिकाको कदमको विरोध गर्दै आएका थिए ।
‘गरिबको टहरोमात्र होइन, धनीको होटल पनि भत्काउ’
डोजर लगाएर भौतिक संरचना भत्काउँदा केही अवरोध गरेका नगरकोटका स्थानीयहरुले गरिबका साना टहरा र घरमात्र होइन धनीहरुले वन मिचेर बनाएका होटल, पार्किङ्ग र पर्खालसमेत भत्काउनुपर्ने माग राखेका छन् । उनीहरुले दुईचार हजार कमाएर जिविका चलाउँदै आउनेको बास उखेल्ने तर वन र सार्वजनिक जग्गा मिचर होटल चलाउँदै करोडौं कमाउनेलाई केही नगरेको भन्दै गुनासो पाखेका थिए ।
उता नगरकोटको धेरै होटल क्षेत्र भएको मण्डनदेउपुर नगरपालिकाले भने यस विषयमा केही प्रतिक्रिया दिएको छैन् । मण्डनदेउपुर नगरपालिकाको वडा नम्बर २ मा निर्मित धेरै होटलहरुले सडक मापदण्ड, वन सार्वजनिक जग्गा अतिक्रमण गरेर होटल, पार्किङ्ग र पर्खाल बनाएका भएपनि जनप्रतिनिधि मौन जस्तै छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौंमा बिम्स्टेकको तेस्रो कृषिमन्त्रीस्तरीय बैठक सम्पन्न
-
२७ टन बराबर राहत सामग्री लिएर नेपाली टोली म्यान्मार प्रस्थान
-
लुम्बिनी कप महिला फुटबल प्रतियोगितामा आठ टोली
-
बझाङमा चट्याङ लागेर एक वृद्धाको मृत्यु, पहिरोले सडक अवरुद्ध
-
निर्माण व्यवसायीलाई राष्ट्र बैंकको राहत, बैंकको ब्याज भुक्तानीमा सहजीकरण
-
धोबीखोला करिडोर पीडितको प्रदर्शन