शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ब्राहसिंगेको पेशी सोमबार,  विभागले माग्यो ‘भ्याकेट’

आइतबार, ०१ भदौ २०७६, १५ : ५६
आइतबार, ०१ भदौ २०७६

काठमाडौँ । चितवनको दारेचोकमा रहेको ‘याक ब्रिविङ कम्पनी प्रा.लि.’ र उद्योग विभागबीचको विवाद उच्च अदालत पाटनमा पुगेको छ । 

उच्च अदालत पाटनमा याक ब्रिविङले उद्योग विभागलाई विपक्षी बनाउँदै गत जेठ १४ गते दिएको रिट निवेदनमा जेठ २९ गते उच्च अदालत पाटनले उद्योग विभागको जेठ २ को निर्णय, सो सँग सम्बन्धित विभागको पत्र तथा आन्तरिक राजश्व विभागको जेठ १२ को पत्र कार्यान्वयन नगर्नु÷नगराउनु भनेर दिएको अन्तरिम आदेश खारेजीको माग गर्दै उद्योग विभागले भ्याकेट माग गर्दै जवाफ दर्ज गरेको थियो ।

‘भ्याकेटबारे भदौ १ गतेलाई पेशी तोकिएको छ,’ विभागका कानुन अधिकृत टंक महतले रातोपाटीलाई जानकारी दिए । उनले अन्तरिम आदेश खारेजको माग गर्दै गत असार १९ गते भ्याकेटको माग गर्दै निवेदन दिएको बताए ।

‘उपरोक्त आधार र कारणबाट औधोगिक व्यवसाय ऐन, २०७३ बमोजिम एक वर्षअघि नै अर्थात २०७५ असार ३१ मा स्वतः खारेज भइसकेको याक ब्रिविङ कम्पनी प्रा.लि. उद्योगले सोही ऐनको दफा ३ समेतको आधारमा व्यवसायीक उत्पादन गर्न नपाउने स्पष्ट कानुनी व्यवस्था रहेको छ,’ विभागका महानिर्देशक विनोदप्रकाश सिंहले भने, ‘कानुनी व्यवस्था अनुसार विभागबाट भएको निर्णय कार्यान्वयन नगर्नु÷नगराउनु भनी अन्तरिम आदेश जारी गर्न मिल्ने होइन ।’

के छ भ्याकेटमा ?

श्री उच्च अदालत पाटन, ललितपुरमा चढाएको
लिखित जवाफ 
मार्फतः उच्च सरकारी वकिलको कार्यालय पाटन, ललितपुर
रिट निवेदन नं.०७५-wo–०927
  

उद्योग विभागका तर्फवाट ऐ. का महानिर्देशक विनोद प्रकाश सिंह  लिखित जवाफ प्रस्तुतकर्ता विरुद्ध
याक ब्रिविङ कम्पनीको तर्फबाट अभिषेक श्रेष्ठ  प्रत्यर्थी

                         
मुद्दाः–उत्प्रेषणयुक्त परमादेश ।

रिट निवेदकले यस उद्योग विभाग समेतलाई विपक्षी बनाई सम्मानित अदालत समक्ष दिनु भएको सम्बत् २०७५ सालको मुद्घा नं. 075-wo-०927 को रिट निवेदनमा यसमा के कसो भएको हो ? निवेदकको माग बमोजिमको आदेश किन जारी हुनु नपर्ने हो ? आदेश प्राप्त भएको मितिले १५ दिनभित्र उच्च सरकारी वकील कार्यालय पाटन, ललितपुर मार्फत लिखित जवाफ पठाउनु भन्ने आदेश सहितको सूचना यस विभागमा मिति २०७6।०2।२३ मा प्राप्त भएकोमा विभागको कार्य व्यस्तताले गर्दा म्याद गुज्रन गई उच्च अदालत नियमावली, २०७३ को नियम ४९ बमोजिम गुज्रेको म्याद थाम्ने सम्बन्धमा छुट्टै निवेदन दिई थाम्ने म्यादभित्रै निम्न बमोजिमको लिखित जवाफ पेश गरेको छु । 

१.     विपक्षीको माग दावीका सम्बन्धमा विपक्षीको निवेदनपत्र र मिसिलसंलग्न कागजातबाट थाहा जानकारी हुने नै हुँदा प्रस्तुत निवेदनमा उल्लेख गरिएको छैन । याक व्रिविङ कम्पनी प्रा.लि. मिति २०७२/९/२७ मा उद्योग दर्ता भएको र दर्ता गर्दाको शर्त नं. ८ मा दर्ता भएको १ वर्ष भित्र उद्योग स्थापना गरी संचालन नगरेमा विभागले दर्ता तथा अनुमति खारेज गर्न सक्ने, कुनै कारणवस सो अवधिभित्र संचालन हुन नसकेमा विभागबाट म्याद थपको स्वीकृत लिनु पर्ने शर्त उल्लेख भएको थियो । तोकिएको अवधिमा उद्योग संचालन हुन नसकेकाले उद्योगको प्रगति विवरण र भावी कार्यनीति सहित विपक्षी उद्योग विभागमा म्याद थपका लागि निवेदन दिएको थियो । तर उद्योग विभागले निवेदकको उद्योग तोकिएको अवधि एक बर्षभित्र संचालनमा नआएको तथा संचालन म्याद थप नभएको भनी आन्तरिक राजश्व विभागमा पत्र लेखेकोमा सोही पत्रका आधारमा आन्तरिक राजश्व विभागबाट मिति २०७६/२/१२ उत्पादन इजाजत नदिने गरी भएको निर्णय कार्यान्वयन नगर्नु, नगराउनु भनी विपक्षीहरुको नाममा परमादेशको आदेश जारी गरी पाउँ भन्ने रिट निवेदन माग दावी रहेकोमा सम्मानित उच्च अदालत पाटनबाट मिति २०७६।०२।२९ मा उद्योग विभागको मिति २०७६।२।१० को निर्णय, सोसंग सम्बन्धित सोही मितिको विभागको पत्र तथा आन्तरिक राजश्व विभागको मिति २०७६।२।१२ को पत्र कार्यान्वयन नगर्नु नगराउनु अनतरिम आदेश जारी गर्न तथा सो सम्बन्धि निर्णय बदर गर्न उत्प्रेषणको आदेश माग गरेको देखिन्छ ।  

२.     प्रस्तुत रिट निवेदन देहायका कानूनी व्यवस्था र तथ्यगत विवरण समेतका आधारमा खारेज भागी भएको हुँदा खारेज गरी पाउन निम्न अनुसारको लिखितजवाफ पेस गरिएको छु । 

क)       निवेदकको याक ब्रिविङ प्रा.लि. उद्योग मिति २०७२।९।२७ मा दर्ता भएको र दर्ता गर्दाको सर्त वमोजिम उक्त उद्योगको संचालन प्रारम्भ गर्ने अवधि १ वर्ष अर्थात मिति २०७३।९।२६ सम्म रहेकोमा सो अवधिमा उद्योग संचालन हुन नसकेको भनि २ वर्ष सम्म उद्योगको अनुमति तथा उद्योग संचालन म्याद थप गर्नका लागि मिति २०७४।३।१९ मा यस विभागमा निवेदन दिइएकोमा सो सम्बन्धमा कारवाही हुदाँ उद्योग दर्ता प्रमाणपत्रको शर्तमा उल्लेखित संचालन म्याद अवधि भित्र उद्योग संचालन वा व्यवसायी उत्पादन वा कारोबार प्रारम्भ गरेको नदेखिएको साथै औद्योगिक व्यवसाय ऐन, २०७३ अनुसार तोकिएको समयभित्र उद्योग संचालन गर्न म्याद थप समेतको स्वीकृति लिएको नदेखिदाँ औद्योगिक व्यवसाय ऐन,२०७३ को दफा ८ को उपदफा (५) वमोजिम त्यस उद्योगको दर्ता प्रमाणपत्र स्वत रद्द भएको भनी यस विभागबाट मिति २०७५।३।३१ मा निर्णय भएको र सो निर्णयको जानकारी रिट निवेदक याक ब्रिविङ प्रा.लि. लाई सोही मितिमा गराई सकिएको छ । प्रचलित औद्योगिक व्यवसाय ऐन,२०७३ को दफा ८ मा रहेको उद्योगको म्याद थप सम्बन्धी व्यवस्था र आपुर्ति वाणिज्य तथा उपभोक्ता हित समितिको मिति २०७२।६।१२ गतेको मदिरा उद्योगको उद्घेश्य थप र क्षमता विस्तार बाहेक नयाँ उद्योगको दर्ता नर्गनु नराउनु भनी भएको निर्देशन समेतका आधारमा निवेदकको उद्योगको म्याद थप नगरिएको अवस्थामा उक्त निर्णय भएको ११ एघार महिना पछि रिट निवेदकले उद्योगको संचालन म्याद खारेज नभएको भनि लिइएको दावी कानून र तर्क सम्मत छैन ।

ख)          निवेदक कम्पनीले मिति २०७५।१२।०४ मा ट्रेडमार्क प्रमाणपत्र लिएकोबाट पनि संचालन म्याद रहेको दावी लिएको देखिन्छ । पेटेन्ट डिजायन ट्रेडमार्क ऐन, २०२२ को खण्ड (ग) वमोजिम ट्रेडमार्क कुनै व्यक्ति, फर्म वा कम्पनीले लिन सक्ने देखिन्छ । बाह्रसिंगे ट्रेडमार्क याक बिव्रिङ कम्पनी प्रा.लि. वन्दीपुर ५ तनहुँले लिएको देखिएबाट उक्त ट्रेडमार्क उद्यगको नामबाट नभई प्रा.लि. का नामबाट लिएको देखिन्छ । यसर्थ कम्पनी प्रा.लि.ले ट्रेडमार्क दर्ता प्रमाणपत्र प्राप्त गरेको आधारमा मात्र सो कम्पनी अन्तगर्तको उद्योगको संचालन म्याद कायमै रहेको भन्ने दावी सत्य नरहेको र ट्रेडमार्क दर्ता प्रमाणपत्रको अवधि बाँकी रहेका आधारमा मात्र उद्योगको संचालन म्याद कायम रहने वा गुज्रिसकेको संचालन म्याद थपिने भनी लिएको रिट निवेदन दावी कानून सम्मत छैन ।ट्रेडमार्क प्रमाणपत्र पेटेण्ट डिजायन र ट्रेडमार्क ऐन,२०२२ बमोजिम जारी गरिने र सोको सात सात बर्षमा नविकरण गरिन्छ । तर ट्रेडमार्कको  दर्ता वा नविकरण गर्दा उद्योग दर्ता रहे नरहेको, उद्योग संचालनमा रहे नरहेको भन्ने विषयले कुनै अर्थ राख्दैन । उद्योग संचालन गर्न त्यस्तो उद्योगको नाममा ट्रेडमार्क दर्ता भई प्रमाण पत्र प्राप्त गरेकै हुनु पर्छ भन्ने छैन । साविक व्यवस्था अनुसार आन्तरिक राजस्व विभागले मदिरा उत्पादन गर्न उद्योगले ट्रेडमार्क दर्ता प्रक्रियामा रहेको पत्रका आधारमा मिदरा उत्पादन गर्न दिई रहेको हुँदा उद्योग संचालन गर्न ट्रेडमार्क दर्ता प्रमाणपत्र आवश्यक पर्ने अवस्था थिएन र निवेदकले उद्योगको म्याद थपका लागि दिएको निवेदनमा ट्रेडमार्क नभएका कारण उद्योग संचालन गर्न नसकेको भनी म्याद थप गर्न माग गरेको अवस्था समेत देखिदैन । 

 


ग)         रिट निवेदकको नाममा दर्ता रहेको याक ब्रिविङ कम्पनी प्रा.लि. ले उद्योग दर्ता गर्दा उद्योग दर्ता प्रमाणपत्रमा उल्लेखित शर्त वमोजिम तोकिएको अवधिभित्र उद्योग संचालन वा आफ्नो व्यवसायीक उत्पादन वा कारोबार प्रारम्भ नगरेको र संचालन म्याद समेत थप नभएका कारण औद्योगिक व्यवसाय ऐन, २०७३ को दफा ८ को उपदफा (५) वमोजिम उक्त उद्योगको दर्ता प्रमाणपत्र स्वत: रद्द भई  सकेको अवस्थामा त्यस्तो कानून वमोजिम स्वत खारेज भएका उद्योगले औद्योगिक व्यवसाय ऐन, २०७३ को दफा ३ वमोजिम उद्योगको स्थापना र संचालन गर्न वा गराउन सक्ने कानूनी व्यवस्था रहेको देखिदैन  । यसरी कानून बमोजिम स्वत खारेज भएका वा दर्ता कायम नै नभएका उद्योगले उद्योग संचालन गर्न पाउने हो भने उद्योग दर्ता गर्ने, संचालन अवधि तोक्ने तथा संचालन अवधि थप गर्ने वा नगर्ने सम्बन्धमा भएका कानूनी व्यवस्था र उद्योग विभाग, औद्योगिक प्रवर्द्घन बोर्डको कुनै औचित्य र आवश्यकता नै रहदैन ।

घ)    निवेदकले याक ब्रिविङ प्रा.लि. उद्योग मिति २०७२।९।२७ मा दर्ता गरेको र दर्ता गर्दाको सर्त वमोजिम सो उद्योगको संचालन प्रारम्भ गर्ने अवधि १ वर्ष अर्थात मिति २०७३।९।२६ सम्म रहेकोमा सो म्यादभित्र उद्योग संचालन हुन नसकेको तथा दर्ता प्रमाणपत्रमा तोकिएको म्याद थप नभई समाप्त भइ औद्योगिक व्यवसाय ऐन, २०७३ को दफा ८ को उपदफा (५) वमोजिम उक्त उद्योगको दर्ता प्रमाणपत्र मिति २०७३।९।२७ बाट नै स्वत: रद्द भई  सकेको हुदा उक्त अवधिमा रद्द भई  सकेको उद्योगले व्यवसाय संचालन गर्न पाउनु पर्छ भनी झण्डै साढे तीन वर्ष पश्चात सम्मानित अदालतमा रिट निवेदन दिएको विलम्बको सिद्घान्तको आधारमा समेत खारेजभागी छ, खारेज गरी पाउ ।

ङ)      उपरोक्त आधार र कारणबाट औद्योगिक व्यवसाय ऐन, २०७३ वमोजिम एक वर्ष अगाडी अर्थात मिति २०७५।३।३१ मा स्वत खारेज भैसकेको याक ब्रिविङ कम्पनी प्रा.लि. उद्योगले सोही ऐनको दफा ३ समेतको आधारमा व्यवसायीक उत्पादन गर्न नपाउने स्पष्ट कानूनी व्यवस्था रहेको छ । प्रस्तुत कानूनी व्यवस्था अनुसार यस विभागबाट भएको निर्णय कार्यान्वयन नगर्नु नगराउनु भनी अन्तरिम आदेश जारी गर्न मिल्ने होइन । उक्त कानूनी व्यवस्था विपरित हुने गरि सम्मानित उच्च अदालत पाटनबाट मिति २०७६।२।२९ मा उद्योग विभागको मिति २०७६।२।१० को निर्णय सो संग सम्बन्धित सोही मितिको विभागको पत्र तथा आन्तरिक राजश्व विभागको मिति २०७६।२।१२ को पत्र कार्यान्वयन नगर्नु नगराउनु भनी दिएको रिट निवेदन खारेज गरिपाउँ ।

३.    प्रस्तुत मुद्दाको सुनुवाईको क्रममा उपस्थित हुनु हुने सरकारी वकीलको बहस जिकीर समेतलाई यस निवेदनको अभिन्न अंग मानी पाउँ।

४.    अतः माथि उल्लिखित बुँदा र प्रमाणको आधारमा प्रस्तुत रिट निवेदन खारेज गरि पाउँन सम्मानित उच्च अदालत पाटन समक्ष सादर अनुरोध गर्दछु ।


                      
    लिखितजवाफ प्रस्तुतकर्ता

    विनोद प्रकाश सिंह
    महानिर्देशक
    उद्योग विभाग त्रिपुरेश्वर, काठमाण्डौ

ईति सम्बत् २०७६ साल असाढ १९  गते रोज ५ शुभम् ।

किन भयो याक ब्रिविङको दर्ता खारेज ?

मापदण्डअनुसार सञ्चालन नभएपछि उद्योग विभागले याक ब्रिविङ प्रा.लि. उद्योगको दर्ता खारेज गरेको हो । बियर उत्पादन गर्ने उदेश्यले २०६९ साल पुस १९ गते औद्योगिक प्रवद्र्धन बोर्डबाट ‘याक ब्रिविङ कम्पनी प्रा.लि.’ ले अनुमतिपत्र लिएको थियो । 

अनुमतिपत्रको आधारमा ३ बर्षभित्र व्यवसायिक उत्पादन (२०७३ पुस २७ गतेभित्र) सञ्चालन गरिसक्नुपर्ने भएपनि नगरेपछि विभागले दर्ता खारेज गरेको हो ।

स्वतः खारेज भइसकेको उद्योगको दर्ता थमौती गर्न भन्दै याकले २०७४ असार १० गते म्याद थप्न विभागलाई पत्र पठायो । त्यसयता लगातार म्याद थप्न दवाव दिएको याकले अन्तत भित्रभत्रै उत्पादन समेत गरिरहेको थियो ।

यो थाहा पाएपछि उद्योग विभागले २०७५ साल असार २६ गते उद्योग दर्ता खारेजीको औपचारिक निर्णय गरेर उद्योगलाई पठायो ।

तर, विभागले पठाएको उक्त निर्णयको पत्र उद्योगका कर्मचारीहरुले बुझेको रेकर्ड भने विभागमा उपलव्ध छैन ।

‘औद्योगिक व्यवसाय ऐन २०७३ अनुसार तोकिएको समयभित्र उद्योग सञ्चालन गर्न म्याद थप र स्वीकृति नलिएको देखिँदा सोही ऐनको दफा ८ को उपदफा ५ बमोजिम दर्ता प्रमाण रद्द गरेको हो,’ उद्योग विभागले उच्च अदालत पाटनलाई लेखेको जवाफमा भनिएको छ ।

प्रभावित पार्न चलखेल

यो मुद्दा अदालतमा पुगिसकेपनि निर्णय आफ्नो पक्षमा पार्न उद्योग सञ्चालकहरु विभिन्न शक्तिकेन्द्र धाउन थालेका छन् ।

त्यसका लागि उद्योग सञ्चालकहरु अभिषेक श्रेष्ठ, रवि केसी, मिनराज भुषाल र प्रकाश धमलाले सत्तारुढ दलका शीर्ष नेतालाई भेटेर आफ्नो पक्षमा निर्णय गराइदिन गुहार मागेका हुन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप