मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

‘जुन दिन एकीकरणको घोषणा हुन्छ त्यसको भोलिपल्ट हामी सरकार छाड्छौँ’

हामीलाई विश्वास छ – संविधान संशोधन हुन्छ, नत्र फेरि आन्दोलन हुन्छ
आइतबार, ०१ भदौ २०७६, १० : १८
आइतबार, ०१ भदौ २०७६

समाजवादी पार्टी अहिले सरकार र सदन दुवैमा कमजोर देखिएको टिप्पणीहरु भइरहेका छन् । संविधान संशोधनका लागि सरकारमा गएका समाजवादी पार्टी अहिले त्यसको चर्चा गर्न समेत छाडेको छ । सदनमा समेत लाल आयोग, रेशम चौधरी, लोकसेवा आयोगलगायतका विषयमा बोल्न छाडेको जस्ता टिप्पणी हुन थालेको छ । अहिले आएर एकजना सांसदले राजीनामा पनि दिएका छन् । प्रस्तुत छ यिनै विषयमा समाजवादी पार्टीका केन्द्रीय सदस्य एवम् संसदीय दलका प्रमुख सचेतक उमाशंकर अरगरियासँग रातोपाटीले गरेको कुराकानीः

नयाँ शक्ति र संघीय समाजवादी पार्टी, नेपालबीच एकीकरण भएको चार महिनाभन्दा बढी भइसक्यो पार्टीभित्रको समायोजन कहाँ पुग्यो ?

–दुई दलबीच एकीकरण गरेर दल दर्ता गराएका छौँ । प्रमाणपत्र भने आउन बाँकी छ । केन्द्रीय समितिमा समायोजन भइसकेको छ । कतिपय संगठनको जिम्मेवारी बाँडफाँड पनि भइसकेको छ । एक र तीन नम्बर प्रदेश बाहेक अरु प्रदेशको समायोजन पनि सम्पन्न भइसकेको छ । प्रदेशको टुङ्गो लागेपछि जिल्ला तथा स्थानीय तहको समायोजन पनि हुन्छ ।

चार महिना बितिसक्दा पनि किन टुङ्गो नलागेको होला ?

–पार्टी एकीकरण भएको चार महिना मात्र भएको छ भन्नु न बरु । चार महिनामा समायोजनका धेरै काम पुरा भइसकेका छन् । बाँकी रहेका कुरा पनि एक–दुई हप्तामा टुङ्गिने छ । अरु दलहरुको हेर्नुभयो भने एकीकरण भएको वर्षौँ भइसकेको छ तर समायोजन पूरा सकेको छैन । समाजवादी पार्टी नै यस्तो पार्टी हो कि जसले चार महिना नबित्दै समायोजनका अधिकांश कामहरु सकाएको छ ।

*****

एकजना मात्र सांसद छ त्यो पार्टीमा । तर पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराई प्रतिष्ठित नेता हुनुहुन्छ । देशका प्रधानमन्त्री भइसक्नु भएका व्यक्ति हुनुहुन्छ । उहाँले आफ्नो कार्यकालमा गर्नुभएको कामको बारेमा अहिले पनि देशमा चर्चा हुने गरेको छ । अर्थात् देशभरि नै उहाँलाई सम्मानको नजरले हेरेको छ । त्यो आधारमा हामीले उहाँलाई सिनियर मानेको छौँ । उहाँलाई एक नम्बरको मान्यता दिएका छौँ ।

*****

प्रदेश १ र ३ र केही जनवर्गीय संगठनमा कुरा मिलेको छैन, त्यसका लागि पटक–पटक बैठक पनि बस्यो । समस्या कहाँ हो ?

–समायोजनका लागि कार्यदल पनि बनेको छ । कार्यदलले दिएको प्रतिवेदनका आधारमा नै धेरै ठाउँको समायोजन टुङ्गो लागेको छ । जहाँ अलकति समस्या छ, त्यहाँ अध्यक्षद्वयले मिलाउने कुरा भएको छ । दुवैजना अध्यक्षको व्यस्तताका कारण केही ढिलाइ भएको हुनसक्छ तर अब चाँडै नै टुङ्गो लाग्छ । भदौ ११ गतेका लागि पदाधिकारीको बैठक बोलाइएको छ । त्यसअघि नै सारा समायोजन टुङ्गो लगाउने कुराकानी भएको छ ।

एकीकरणपछि दुई पार्टीको समायोजन के मापदण्डको आधारमा भइरहेको छ ?

–लिखित मापदण्ड केही छैन तर जहाँ समायोजनको कुरा हुन्छ त्यहाँ वरिष्ठता, लगनशीलता, योगदान र कार्य कुशलतलाई हेरिन्छ । नयाँ शक्ति पार्टी एउटा सानो पार्टी हो । एकजना मात्र सांसद छ त्यो पार्टीमा । तर पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराई प्रतिष्ठित नेता हुनुहुन्छ । देशका प्रधानमन्त्री भइसक्नु भएका व्यक्ति हुनुहुन्छ । उहाँले आफ्नो कार्यकालमा गर्नुभएको कामको बारेमा अहिले पनि देशमा चर्चा हुने गरेको छ । अर्थात् देशभरि नै उहाँलाई सम्मानको नजरले हेरेको छ । त्यो आधारमा हामीले उहाँलाई सिनियर मानेको छौँ । उहाँलाई एक नम्बरको मान्यता दिएका छौँ । पार्टी ठूलो वा सानो भएर केही हुँदैन ।  

अहिलेको समायोजनामा नयाँ शक्ति हावी भयो भनेर अशोक राई समूहका नेताहरु सन्तुष्ट छैनन् भन्ने कुरा बाहिर आएको छ, के यो सही हो ?

–होइन, यो सही होइन । अशोक राईको कुरा गर्नुहुन्छ भने उहाँ सबैभन्दा सालिन, भद्र र पार्टीप्रति प्रतिबद्ध नेता हुनुुहुन्छ । उहाँ यसरी गुटबन्दी गर्नुहुन्छ र विरोध गर्नुहुन्छ जस्तो लाग्दैन । हो, पार्टी एकीकरणमा सबैलाई चित्त नबुझेको होला । तल्लो तहमा केही असन्तुष्टिहरु होला तर उच्च तहमा त्यस्तो कुनै असन्तुष्टि छैन । अहिलेसम्म पार्टीमा त्यस्तो केही देखापरेको छैन । उहाँले एकीकरणकै दिन आफ्नो मन्तव्यमा भन्नुभएको थियो कि सानो–सानो नदी बनेर ठूलो नदी बन्छ, ठूलो नदीहरु मिलेर समुन्द्र बन्छ । अर्थात् यी साना साना दलहरु मिलाएर ठूलो पार्टी बनाउन सकिन्छ । अब उहाँ तीनजना मिलेर ठूलो पार्टी बनाउनु हुन्छ र त्यो दिशामा पार्टीमा हिँडिसक्नु भएको छ ।

संसदीय दलको बैठक नबसेको छ महिनाभन्दा बढी भइसक्यो । किन ?

–विधिवत रुपमा संसदीय दलको बैठक बसेको छैन तर आवश्यक परेको बेलामा बैठकहरु बसिरहेका हुन्छन् । संसद भवनमा कहिलेकाहीँ बसेर आइपरेका विषयमा छलफल भइ नै रहेको छ । संसदीय दलको कार्यालयमा अध्यक्षज्यू आएपछि उपलब्ध भएका संसदहरुसँग छलफल गर्नुहुन्छ । आवश्यक निर्देशन पनि दिनुहुन्छ तर औपचारिक तथा विधिवत बैठक बसेको छैन । नयाँ शक्तिसँग एकीकरण भएको कारणले अब एकीकृत रुपमै संसदीय दलको बैठक बोलाउने कुरा भएको छ । भदौ १ गतेका लागि संसदीय दलको बैठक बोलाइएको छ ।

संसदीय दलमा नयाँ शक्तिलाई कसरी समायोजन हुँदैछ ?

–नयाँ शक्तिमा एकजना सांसद छ । डा.बाबुराम भट्टराई नै सांसद हुनुहुन्छ । पार्टीमा उहाँ वरिष्ठ अध्यक्ष नै हुनुहुन्छ । सायद संसदीय दलमा उहाँले केही दावी गर्नुभएको छैन । पार्टीमा अध्यक्ष उपेन्द्र यादव अहिले संसदीय दलका नेता हुनुहुन्छ । र, उहाँ दलकै नेताको नातामा पार्टीको नेतृत्व गर्दै सरकारमा सहभागी हुनुभएको छ । त्यही भएर अहिले संसदीय दलको नेता पनि उहाँ नै रहनुहुन्छ जस्तो मलाई लाग्छ ।

*****

मिडियामा आइसकेको कुरा हो । चारजना अध्यक्ष रहनेछन् । त्यसमा महन्थ ठाकुर पहिलो नम्बरको नेता रहनु हुन्छ भने त्यसपछि डा.बाबुराम भट्टराई, उपेन्द्र यादव र राजेन्द्र महतो रहनुहुनेछ । त्यसपछि सह–अध्यक्षको एउटा टीम हुन्छ । जुन दिन एकीकरणको घोषणा हुन्छ त्यसको भोलिपल्ट हामी सरकार छाड्छौँ । त्यसका बारेमा पनि कुराकानी भइरहेको छ ।

*****

राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टीबीच एकीकरणको चर्चा अन्तिम चरणमा पुगेको चर्चा मिडियामा हुने गरेका छ । वास्तवमा एकीकरणको कुरा कहाँ पुगेको हो ?

–एकीकरण कुरा आन्तरिक रुपमा धेरै अगाडि बढिसकेको छ । नेताहरुको बीचमा कुराकानी भइ नै रहेको छ । केही दिनमा टुङ्गो लाग्छ होला । राजपा नेपालका अध्यक्षमण्डलकै बीचमा कुरा मिलिरहेको छैन । राजपा नेपालबाट नै ठोस रुपमा कुरा आइरहेको छैन ।

भन्नाले कुन मोडालिटीमा हुँदैछ एकीकरण ?

–मिडियामा आइसकेको कुरा हो । चारजना अध्यक्ष रहनेछन् । त्यसमा महन्थ ठाकुर पहिलो नम्बरको नेता रहनु हुन्छ भने त्यसपछि डा.बाबुराम भट्टराई, उपेन्द्र यादव र राजेन्द्र महतो रहनुहुनेछ । त्यसपछि सह–अध्यक्षको एउटा टीम हुन्छ । जुन दिन एकीकरणको घोषणा हुन्छ त्यसको भोलिपल्ट हामी सरकार छाड्छौँ । त्यसका बारेमा पनि कुराकानी भइरहेको छ ।

यो एकीकरणको कुरा तीव्र रुपमा अगाडि बढिरहेको छ भने कात्तिकमा हुने समाजवादी पार्टीको महाधिवेशन पनि नहुने देखियो होइन ?

–हो, यदि राजपा नेपालसँगको एकीकरण हुने कन्फर्म भयो भने महाधिवेशनलाई सार्ने कुरा हुनसक्छ । एकीकरण भयो भने एकताको महाधिवेशन गराउन सजिलो हुन्छ । उता, नयाँ शक्तिसँग एकीकरण भइसकेकोपछि  समायोजनमा समय लाग्ने हुनसक्छ त्यसको लागि पनि महाधिवेशन सर्न सकिने सम्भावना रहेको छ । यद्यपि त्यसको बारेमा ठोस निर्णय भएको छैन ।

राजपा नेपालसँग एकीकरण गर्न किन यति समय लागिरहेको छ ? राजपा नेपालमा रहेका विभिन्न दलसँग विगत १० वर्षदेखि एकीकरणका लागि प्रयास भएको हो । अहिले पनि हुन्छ कि हुँदैन ठेगान छैन, किन ?

–राजपा नेपालमा रहेका सद्भावना पार्टी, तमलोपासँग एकीकरण गर्ने प्रयास भएको थियो । तर त्यो बेलाको अवस्थामा सम्भव भएन । त्यतिबेला मधेशमा थुप्रै दल थिए । सबै धुवीकृत हुँदै अहिले दुईटा पार्टीमा सिमित भएका छन् । अहिले यी दुई दलको बीचमा एकीकरणका लागि प्रयास भइरहेको छ । हेरौँ नतिजा राम्रै आउला भन्ने अपेक्षा गर्न सकिन्छ ।

*****

पहिलो कुरा त जुन सरकारका प्रधानमन्त्री संघीयता स्वीकार गर्न तयार थिएनन्, संविधान संशोधनको नाम पनि सुन्न तयार थिएनन् उनलाई संघीयता स्वीकार गर्न लगाएर संविधान संशोधन गर्ने सहमतिमा हस्ताक्षर गराएका छौँ ।

*****

समाजवादी पार्टी जुन उद्देश्यका साथ सरकार र सदनमा गएको छ त्यसमा कमजोर देखिएको आलोचना भइरहेको छ यस्तो किन ?

–समाजवादी पार्टी कहीँ कमजोर छैन । सदन र सरकार दुवैमा आफ्नो कुरा जबर्जस्त रुपमा राखिरहेको छ । सबभन्दा पहिला त हामी कुर्सीको लोभले सरकारमा गएका छैनौँ । केही माग पूरा गराउनकै लागि हामी त्यहाँ गएका हौँ ।

पहिलो कुरा त जुन सरकारका प्रधानमन्त्री संघीयता स्वीकार गर्न तयार थिएनन्, संविधान संशोधनको नाम पनि सुन्न तयार थिएनन् उनलाई संघीयता स्वीकार गर्न लगाएर संविधान संशोधन गर्ने सहमतिमा हस्ताक्षर गराएका छौँ । समाजवादी पाटीको त्यो नै सबभन्दा ठूलो उपलब्धी हो । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि हालतमा संविधान संशोधन हुँदैन भन्नुहुन्थ्यो तर समाजवादी पार्टीसँग छलफल गरेर संविधान संशोधन गर्न तयार हुनुभयो । त्यही सहमति पत्रमा हस्ताक्षर गरेको कारण आज सबैले प्रधानमन्त्रीमाथि संविधान संशोधनका लागि दबाब दिन पाएका छन् ।

कम्युनिस्ट सरकारलाई हामीले सहयोग नगरेपनि उसले सबै काम गर्न सक्थ्यो तर दुई तिहाई नपुगेको कारण संविधान संशोधनमा बाहना बनाउन सक्थ्यो, त्यही भएर हामीले सरकालाई समर्थन गरेका हौँ । केपी ओलीलाई यो बोल्ने मौका हामी दिएनौँ कि हामीसँग दुई तिहाई छैन । अहिले पनि हामीलाई विश्वास छ कि संविधान संशोधन हुन्छ । संविधान संशोधन भएन भने हामी सरकारबाट बाहिरिएर सरकारकै विरुद्धमा आन्दोलन गर्छौँ ।

संविधान संशोधन गर्ने कुरा त धेरै पहिलादेखि भन्दै आउनु भएको छ तर यो हुन्छ त्यो भन्न सक्नु हुन्छ ?

–हामीले सरकारलाई दबाब दिइरहेका छौँ कि संविधान संशोधन चाँडै होस् । तर अहिले कानुन निर्माणका विभिन्न विधेयकहरुमा काम भइरहेका हुनाले हामीले दबाब दिएका छैनौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि भन्नुभएको छ कि संविधान संशोधनका कतिपय मुद्दा यही कानुन निर्माणको क्रममा समाधान हुन्छ । बरु कानुन निर्माणका लागि बनिरहेको विधेयकलाई कसरी राम्रो बनाउन सकिन्छ, चित्त नबुझेको कुरामा संशोधनहरु हाल्नुस् । सर्वस्वीकार्य बनाउनुस् भन्नुभएको छ । त्यसैमा हामी लागेका छौँ । अहिले आइरहेका विधेयकमा जहाँ चित्त बुझ्दैन त्यहाँ सशोधन हालिरहेका छौँ । कतिपय संशोधन पास पनि गराएका छौँ । हामीले संशोधन हाल्दा कतिपयले भन्छन् कि सत्तारुढ दल भएर यसरी संशोधन हाल्न मिल्दैन तर हामी भन्छौँ, गलत विधेयक आएको छ भने त्यसमा हामी संशोधन हाल्छौँ, चाहे त्यो जनुसकै दलको सरकार होस् । विधेयकका कारणले पनि संविधानमा धेरै कुराको सुधार हुने अपेक्षा लिएका छौँ । यद्यपि संविधान संशोधनको एजेण्डा हामीले छाडेका छैनौँ । यदि क्याविनेटमा हाम्रो उपस्थिति नभएको भए हामी १७ जना सांसदले के गर्न सक्थ्यौँ संसदमा । हाम्रो अध्यक्ष क्याविनेटमा भएको कारणले नै विधेयकको बारेमा थाहा हुन्छ । त्यहाँ बोल्नुपर्ने कुरा त्यहीँ बोल्नु हुन्छ । यदि संसदमा बोल्नु पर्ने कुरा हुन्छ भने हामीलाई बोलाएर विधेयकको बारेमा ब्रिफ गर्नुहुन्छ । यदि सरकारमा नभएको भए हामीले त्यो विधेयकको बारेमा एकैचोटी सदनमै जानकारी पाउथ्यौँ र अध्ययन नै नगरिकन हामीले बोल्नुपर्ने अवस्था हुन्थ्यो । र, त्यतिकै पास हुन्थ्यो । तर क्याविनेटमा भएको कारणले हामीलाई फाइदा भइरहेको छ ।

*****

सिके राउतसँग हाम्रो पार्टीको कुनै कुरा भएको छैन र त्यो हुन पनि सक्दैन । यदि पार्टीले सूर्यनारायणलाई राजीनामा दिन लगाएको भए अहिलेसम्म किन स्वीकृत भएन त ?

*****

 संविधान संशोधनका लागि पार्टीले के गरिरहेको छ त ?

–संविधान संशोधनको कुरा गर्नुहुन्छ भने संविधानमा संघीयता उल्लेख गरिएको छ । संघीयता, धर्मनिरपेक्षता लगायतका धेरै कुरा संविधानमा उल्लेख गरिएको छ । यद्यपि, मधेशी, शिल्पी, अल्पसंख्यक, आदिवासी जनजातिका लागि संविधानले बेइमानी गरेको छ । त्यसका लागि हामीले अवाज उठाइ नै रहेका छौँ । ती बुँदाहरुलाई हामीले सच्याउन भनेका छौँ ।

तपाईंले संविधानमा धेरै कुरा राम्रा पनि छन् भन्नुभएको छ । तर तपाईंकै पार्टीका अध्यक्ष उपेन्द्र यादवले संविधानलाई रद्दीको टोकरीमा फ्याँकेर पुनर्लेखन गर्नुपर्ने भन्नुभएको थियो, त्यो किन ?

–जतिबेला संविधान पास भयो त्यतिबेला हामीले संविधानलाई अध्ययन गर्ने मौका पाएका थिएनौँ । हतार हतारमा संविधान निर्माण गर्ने काम भएको थियो । संविधानको कुरा गर्ने हो भने त्यसमा संसरकै उत्कृष्ट शब्दहरु राखिएका छन् । शब्द चयनहरु राम्रा गरिएका छन् । मधेशी, आदिवासी जनजातिले पाउने अधिकारका कुराहरु छाडेर अरु अरु कुरालाई विशेष प्राथमिकता दिएको छ ता कि सबै त्यसैमा अल्झेर बसोस् । संविधानमा गाँस, बास, कपासको कुरा गरेको छ । औषधी उपचारको कुरा गरेको छ । अवास बनाइ दिने कुरा गरेको छ । यस्ता पपुलर थुप्रै कुरा संविधानमै व्यवस्था गरेको छ तर मुख्य अधिकारका कुरामा ध्यान दिएको छैन । अवस्था यस्तो भयो कि जसले संविधान बनाएको छ, उही नै यसमा फँसेको छ । केपी ओली प्रधानमन्त्रीको शपथ लिनेमा यही संविधानका कारण समस्या भएको थियो । राष्ट्रपतिको चुनावमा पनि यही संविधानका कारण समस्या उत्पन्न भएको थियो । अर्थात् संविधान निर्माणमा समस्या छ भने कुरा सत्तापक्षले पनि पटक–पटक महसुस गरेको छ । त्यसैले संविधान संशोधन गर्नुको विकल्प छैन ।

प्रतिनिधिसभामा लाल आयोगको प्रतिवेदन र रेशम चौधरीको रिहाइको बारेमा समाजवादी पार्टीले प्रभावकारी रुपमा किन बोलेको छैन ?

–समाजवादी पार्टीका सांसदहरु पटक–पटक बोलेको छन् । मैले स्वयम् धेरै पटक बोलेको छु । लाल आयोगको प्रतिवेदन मधेशी तथा थरुहट आन्दोलनसँग सम्बन्धित भएको कारणले नबोल्ने कुरै हुँदैन । राजपा नेपाल र काँग्रेसले सदन अवरोध गर्ने बेला पनि लाल आयोगको प्रतिवेदन सार्वजनिक हुनुपर्छ भनि मैले कुरा उठाएकै हो । सभामुखले सरकारको नाममा दुई पटक रुलिङ गरेको छ । मैले कहिले सार्वजनिक गर्ने त्यसको समय नै तोक्नुपर्छ भनेर माग गरेको थिएँ । रेशम चौधरीको बारेमा पनि सदनमा बोलेकै छु ।

सिके राउतलाई ल्याउनका लागि सूर्यनारायण यादवलाई प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिन लगाएको हो पार्टीले ?

–होइन, अहिले जति पनि कुरा बाहिर आइरहेका छन् ती सबै हावादारी कुरा हुन् । सिके राउतसँग हाम्रो पार्टीको कुनै कुरा भएको छैन र त्यो हुन पनि सक्दैन । यदि पार्टीले सूर्यनारायणलाई राजीनामा दिन लगाएको भए अहिलेसम्म किन स्वीकृत भएन त ? राजीनामा दिन लगाएको भए त्यतिबेलै स्वीकृत भइसक्थ्यो । तर अहिलेसम्म स्वीकृत भएको छैन । यसैबाट बुझ्नुस् कि कुरा के हो । हामीले अझै पनि उहाँलाई राजीनामा फिर्ता लिन भनिरहेका छौँ । सायद फिर्ता लिनुहुन्छ । उहाँ आफ्नो स्वास्थ्यको कारण देखाउँदै राजीनामा दिनुभएको छ । तैपनि हामीले उहाँसँग कुरा गरिरहेका छौँ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप