बुधबार, २१ कात्तिक २०८१
ताजा लोकप्रिय

तीजका विकृति कसरी हटाउने ?

शुक्रबार, ३१ साउन २०७६, ११ : ५५
शुक्रबार, ३१ साउन २०७६

-मुना पौडेल

डा. दुर्गा पोख्रेल जो नेपालको बालबालिका तथा महिला मन्त्री पनि हुनुहुन्थ्यो । एक पटक उहाँको बारेमा लेख पढ्ने मौका पाएकी थिएँ । जसले मलाई आजसम्म पनि नेपाली महिलाको बारेमा सोच्न बाध्य बनाउँछ ।

संसारको प्रतिष्ठित हार्वड विश्वविद्यालयमा उहाँले पढ्ने क्रममा एकजना प्रोफेसरले विश्वमा एउटा देश छ जहाँका महिलाहरु आफ्नो नामसमेत भन्न सक्दैनन् भनेर भनेको सुन्दा म पनि त्यही देशको महिला हुँ भनेर आफ्नो परिचय दिएको रोचक प्रसङ्ग उक्त लेखमा उद्धृत गरिएको  थियो । डा. दुर्गा पोख्रेल जस्ता प्रभावशाली महिलाहरू हामीकहाँ नगन्य मात्रामा भए पनि हाम्रो देशमा अझै पनि कैयौँ महिलाहरु छन् जसले आफ्नो नाम पनि निर्धक्क भएर भन्न सक्ने अवस्थामा छैनन् । यो तीतो यथार्थ हो । अर्काेतर्फ फेसबुकमा दिन रात सेल्फी राख्न सक्ने जमातहरुलाई हेरेर नेपालका महिलाको अवस्थालाई विश्लेषण गरियो भने वर्तमान अवस्थामा समान रूपमा सबैमा लागू हुन सक्दैन ।

नेपाली महिलाहरुको महान् पर्व तीज नजिकिँदै छ । तीजको महिमाका बारेमा हामी सबै जानकार नै छौँ । त्यसैले यसका बारेमा चर्चा गरिरहनुपर्छ जस्तो मलाई लाग्दैन । तीज मनाउने क्रममा नेपाली हिन्दू महिलाहरु एकआपसमा सँगै बसेर दर खाने निउँमा भेटघाट गर्छन । साथै दुःखसुख बाँढ्ने अनुभव साटासाट गर्ने माध्यम यसै पर्वलाई बनाउँदै पनि आएका छन् । हिजो मादल र थप्पडीको सहायताले गाइने तीजका भाकाहरु, समयको परिवर्तन सँगसँगै मादल र थप्पडीभन्दा माथि उक्लिएर आधुनिक प्रविधिमा लयबद्ध हुँदै तीज भाका अब माइतीका डाँडाकाँडाबाट रेस्टुरेन्ट र पार्टी प्यालेससम्म आइपुगेका छन् । 

यही तीज मनाउने र दर खाने सन्दर्भमा सांस्कृतिक कार्यक्रमका नाममा हुने ध्वनि प्रदूषण तथा होटल र पार्टी प्यालेसमा हुने दर खाने लगायतका खर्चिला कार्यक्रमले तीजको मौलिकता माथि प्रश्न उठेको छ । होटल तथा पार्टी प्यालेसमा दर खाने, भेटघाट गर्ने, गरगहना प्रदर्शन गर्ने, साङ्गीतिक कार्यक्रम गर्ने नाममा ध्वनि प्रदूषण गराउने जस्ता असामाजिक क्रियाकलाप नगर्न अपिल आएको छ । यसप्रति  कुनै ठूलो विरोध वा समर्थन होइन । तीज मनाउने क्रममा देखिएका विकृति र विसङ्गतिलाई सचेत प्रयत्न र चेतनाद्वारा  हटाउँदै क्रमशः नियमित र व्यवस्थित गर्दै जान सकिने कुरा छ । यसै पर्वलाई मध्यनजर गर्दै विभिन्न तवरबाट निर्देशनात्मक आदेश आउँदा आम महिलाहरुमा ठेस पुग्न गएको कुरा सहज अनुमान लगाउन सकिन्छ ।

तीज मनाउने र दर खाने कार्यक्रमले अरू कुनै पनि धर्म संस्कृति भाषा वा सम्प्रदायलाई असर गरेको छ वा छैन ? सार्वजनिक शान्ति सुरक्षा अमन चैयन खलल पार्ने क्रियाकलाप हुन पुग्ने देखिन्छ वा देखिँदैन ? यी र यस्ता विषयमा राज्य संयन्त्रको चासो जानु स्वाभाविकै हो । तर राज्यको सार्वजनिक हित विपरीत बाहेक प्रत्येक व्यक्तिले आफ्नो गच्छे अनुसार धर्म भाषा संस्कृति र पर्वको संरक्षण र संवद्र्धन गर्न पाउनु यसमा रमाउन पाउनु उसको मौलिक हक नै हो ।

कसैले आफ्नो आर्थिक हैसियतभन्दा बढी सामाजिक व्यवहार प्रर्दशन गरेमा त्यस्ता व्यक्ति कानुनले नै निगरानी राख्न सक्ने व्यवस्था छ । तर हिन्दू संस्कृति र परम्परालाई जोगाइराख्ने धरोहरको रूपमा रहेको नेपाली नारीको महान पर्व तीजलाई नै मध्यनजर राख्दै छुट्टै अपिलबाट आग्रह गरिरहनु आवश्यकता होइन । सद्भाव प्रेम र सहिष्णुता कायम गर्नका लागि हाम्रा धर्म संस्कृति र पर्वहरुको मौलिकता संरक्षण गर्दै समाजिक शान्ति सुरक्षा र अमनचयनलाई समेत विचार गरी कानुनी शासनको सम्मान र प्रवद्र्धन गर्नु हामी सबैको कर्तव्यभित्र पर्न आउँछ ।

तीजका सबल र राम्रा पक्ष धेरै छन् । जसले हाम्रो सामाजिक संरचनालाई बलियो बनाइराख्न सहयोग गरिरहेकामा हामी जानकार नै छौँ । तीजमा हुने साङ्गीतिक कार्यक्रमले मात्र ध्वनि प्रदूषण गराउने गरेको हो र ? प्रचलित वातावरण संरक्षण ऐन, २०७५ मा नागरिकको स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हकलाई सुनिश्चित गर्दै वातावरण तथा ध्वनि प्रदूषण लगायतका प्रदूषणहरुलाई नियन्त्रण गर्ने कानुनी प्रावधान राखेको पाइन्छ । यसरी ऐनमा नै व्यवस्था गरिएको कुरालाई हाइलाइट गर्दै छुट्टै किसिमको निर्देशन तथा अपिल आउनुलाई अन्यथा नलिए पनि तीजका अवसरमा बजाइने गीत र सङ्गीतभन्दा डरलाग्दा ध्वनि प्रदूषणबाट हामी अपरिचित पनि छैनौँ ।

अझै पनि कैयौँ दिदीबहिनीका लागि तीजमा छम छमी नाच्नु वर्षभरि भोग्नुपर्ने र भोगिएका दुःख विसर्जन गर्नु हो । यसको सहायताले महिला सशक्तीकरण हुँदै जानेछ । साथै अनुभव आदान प्रदान गर्दा राष्ट्र निर्माणमा नै सहयोग पुग्न जाने हुन्छ ।

यसलाई हामी सबैले हृदयङ्गम गर्नु अपरिहार्य छ । हाम्रा दिदीबहिनीहरु राजनीतिक र सामाजिक हिसाबमा धेरै ठगिएका छन् । नेपाली महिलाहरु पुरातनवादी सामाजिक रुग्ण मानसिकताको शिकार भइरहेका छन् । यसबाट उम्कन तीजमा देखिएका विकृति र विसङ्गतिको बहिष्कार गर्दै वर्षको एक दिन खुलेर नाच्ने मात्र हैन, हरेक दिन आफ्नो हिसाबले बाँच्न सक्नुपर्छ । यही भावना र क्षमताको विकास गरौ । सबैमा तीजको शुभकामना ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप