बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

तारादेवी र पुकार स्ट्रङ्गेस्ट खेलाडी

बिहीबार, ३० साउन २०७६, १६ : ३९
बिहीबार, ३० साउन २०७६

काठमाडौं– नेपाल पुलिस क्लबकी तारादेवी पुन र त्रिभुवन आर्मी क्लबका पुकार गुरुङ तेस्रो सुनिललाल जोशी स्मृति राष्ट्रिय भारोत्तोलन प्रतियोगिताको स्ट्रङ्गेस्ट खेलाडी घोषित भएका छन् । तारा महिला र पुकार पुरुषतर्फ स्ट्रङ्गेस्ट चुनिएका हुन् । दुवैले स्ट्रङ्गेस्ट ब्यालेटसहित १० हजार रुपैयाँ पुरस्कार पाए ।

यसैगरी पुरुषतर्फ बेष्ट लिफ्टरमा सिनियरमा पुलिसका विकास थापा र जुनियरमा प्रकाश केसी तथा महिलातर्फ पुलिसकी संगिता राई र जुनियरमा सञ्जु चौधरी घोषित भए । उदियमान खेलाडीमा पुरुषतर्फ बाँकेका तुषार बुढामगर तथा महिलामा बर्दियाका नन्दा थापामगर घोषित भए । 

प्रतियोगिताको पुरुष १०९ केजी माथिको तौलमा स्ट्रङ्गेस्ट खेलाडी आर्मीका पुकारले तीनै विधामा राष्ट्रिय किर्तिमान कायम गरे । उनले आठौ राष्ट्रिय खेलकुदमा राखेको स्नाचमा १२६ केजीमा सुधार गर्दै १२७ केजी र क्लिन एन्ड जर्कमा १५० केजीमा सुधार गर्दै १५१ केजी भार बहनका साथ कुलमा पनि २७६ बाट २७८ केजीका साथ कीर्तिमान राखेका हुन् । दोस्रो स्थानमा रहेका नेपाल पुलिसका राजिव महर्जनले ९५ स्नाचमा, ११७ क्लिनमा गरि कुलमा २१२ केजी उचाले ।

१०९ केजी तौलमा सिनियरमा पुलिसका सन्देश गुरुङले स्नाचमा १०६, क्लिनमा १३५ गरि कुल २४१ भार बहन गरे । उनले स्नाचमा आफ्नै नाममा रहेको १०० केजी तौलमा सुधार गर्दै १०६ केजी भार उचालेका थिए । जुनियरतर्फ कञ्चनपुरका सागर भण्डारीले क्लिन एण्ड जर्क र कुलमा किर्तिमान बनाए । उनले क्लिनमा सन्देशको नाममा रहेको १३८ केजीलाई उछिन्दै १४७ केजी र कुलमा सन्देशकै नाममा रहेको २३८ केजीलाई उछिन्दै २४७ केजीका साथ किर्तिमान राखेका हुन् । सारगले स्नाचमा १०५ केजी भार बहन गरे ।

१०२ केजीमा कञ्चनपुरका सुभाष उपाध्यायले तीनै विधामा किर्तिमान राखे । स्नाचमा १०३, क्लिनमा १३० र कुलमा २३३ केजी उचाले । यस अघि सागर भण्डारीले आठौंमा स्नाचमा १०२, क्लिनमा १२२ र कुलमा २२४ को किर्तिमान राखेका थिए । दोस्रो स्थानमा रोशन विकले ७०, १०० र १७० को भार बहन गरे ।

९६ केजी तौलमा नेपाल पुलिसका गगन चन्दले स्नाचमा ९८, क्लिनमा १३० र कुलमा २३८ गरि स्वर्ण, पुलिसकै श्रीकृष्ण महर्जनले स्नाचमा ९०, क्लिनमा १० र कुलमा १९८ केजीका साथ रजत तथा एपिएफका देवेन्द्र विकले स्नाचमा ८५, क्लिनमा १०७ र कुलमा १९२ केजीका साथ कास्य पाए ।

प्रतियोगितामा पुरुषतर्फ २४ र महिलातर्फ २३ राष्ट्रिय किर्तिमा कायम भएका छन् । राष्ट्रिय किर्तिमान कायम गर्ने खेलाडीहरुले एक हजार रुपैयाँ प्राप्त गरे । उदियमान तथा बेस्ट लिफ्टरले प्रमाणपत्र र ट्रफी प्राप्त गरे । तीन दिन प्रतियोगितामा तीन विभागीय टोली, जिल्ला र क्लबका गरी १०० खेलाडीले ४० स्वर्ण पदकका लागि प्रतिस्पर्धा गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप