केन्द्रीय संस्करण

जनैपूर्णिमा, राखी र गुन्हु पुन्ही : राष्ट्रिय पर्व गुण

person explore access_timeसाउन ३०, २०७६ chat_bubble_outline0

-रमेश भट्टराई ‘सहृदयी’ 

    एकजना अनन्य मित्रले भन्नुभयो– ‘हैन सरकारले यो बहुएकताको पर्वमा किन बिदा दिनु उचित मानेन ? बिदा त दिनुपथ्र्यो नि ।’ दुई चार जनाले सही थपेर आआफ्ना तर्क राखे । तर, मनले यसका विषयमा गहिरिन हुटहुटी लगायो । 
  

 एक त यो राखी पर्व हिन्दू धर्मावलम्बी र मूलतः मधेस, पहाड सबैतिर व्यापक रहेको पर्व । अर्कोतिर जनैपूर्णिमा जब कि ८० प्रतिशतभन्दा बढी त हिन्दू सम्प्रदायका मानिसको चाड हो । नेवारी समुदायले गुन्हु पुन्ही भनेर मनाउने दिन पनि हो । उता प्रदेश दुई, सुदूरपश्चिम प्रदेश लगायत अन्य प्रदेशका केही गाउँपालिकाले पनि बिदा दिने घोषणा गरेछ । अब जनताले आवश्यकता महसुस गरेको अनि बहुजातिगत सम्बन्ध र एकताको चुरो भेट्टाएको महसुस भयो । तब मलाई पनि लाग्यो बहुएकताका हिसाबमा, मेला र भेला हुने अर्थमा, आर्थिक, सामाजिक, सांस्कृतिक विकासका अर्थमा पनि यो पर्व त राष्ट्रिय पर्व बन्न योग्य रहेको देखिन्छ ।   
ऋषि तर्पणी/रक्षा बन्धन
    बहुजातिगत अनेकताभित्र एकताको भावलाई नेपाली शिरताजले चाडपर्वसँग नातो गाँस्छ । बहुआयामिक धारमा मनाइने पर्वहरू मध्येकै एक हो– श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने जनै पूर्णिमा । यो पर्वलाई ‘ऋषि तर्पणी’, ‘रक्षा बन्धन’ वा रक्षासूत्र पर्वका नामले पनि चिन्ने गर्छन् । वर्णाश्रमका केही विषय जोडिए पनि यसले आज विभेद गरेको छैन । बरु कडा नियममा बस्नुपर्ने बाध्यताको डोरो कसिदिएको छ । शास्त्रीय मान्यतामा तागाधारी (ब्राह्मण, क्षत्री, वैश्य) ले वर्षदिन वेद पढ्नुपर्ने र त्यसको साङ्गे (समापन) गर्ने दिनलाई जनै पूर्णिमाका रूपमा मानिन्छ ।

यसो भनिरहँदा यो पर्वले रक्षाबन्धनका लागि अब नेपालीपनामा आत्मीय भावनालाई सम्बोधन गरिरहेको छ । यो पर्वले मठ, मन्दिर वरपर जनै लगाउनेहरूले स्नान गरी निर्मित जनै (यज्ञोपवित) लाई सप्तऋषिसहित ब्रह्मा, विष्णु, महेश्वरको पूजा गरेपश्चात् मन्त्रेर धारण गर्नुपर्ने वा नयाँ जनै लाउनुपर्ने परम्परालाई आजसम्म आत्मसात गर्दै आएको छ ।

हरेक पर्वसँग कारण र अर्थ हुन्छन् । यो नेपाली संस्कृतिको सबल र सुन्दर सार हो । यी विषयलाई एउटै र सङ्कुचित आँखाले होइन, गर्व र विश्लेषणको आँखाले हेर्ने बानी पनि बसाल्नुपर्छ । हिजो केही विभेदकारी मान्यता अवश्य थिए तर आज विभेद त कम भयो । साथमा हाम्रा वैज्ञानिक पर्व, पर्वसँग जोडिएका रहस्य, औषधी विज्ञान र तार्किक मूल्यरूपी धरोहर मासिए । हामी जात र वर्गका नाउँमा मात्र लड्दै छौँ । तर हाम्रो परम्परा राम्रो परम्परा भन्ने आधुनिक तर आज अनुकूल भएर बाँच्न जानिरहेका छैनौँ । पछि कुनै पुस्ताले हामी सबैलाई यसका दोषी भन्ने नै छ ।  
 

   वास्तवमा जनैलाई ब्रह्मसूत्र अर्थात् वेद कर्म गर्न दिइने अधिकारको प्रमाण मानिन्छ । यस दिनलाई ‘अध्यायोपाकर्म’ वा ‘वेदोपाकर्म’ अथवा ‘वेदारम्भ कर्म’ गर्ने दिन मानिन्छ । धार्मिक कथनअनुसार यसै दिनमा महर्षि याज्ञवल्क्यले आदित्य ब्रह्म (सूर्य) बाट वेद प्राप्त गरेका थिए । यसैकारण यो दिनलाई ‘वेद जयन्ती’का रूपमा पनि मनाइन्छ । तर, यही ब्रह्मसूत्रलाई हामी एउटा डोरो मात्र मान्छौँ । एक दिनलाई लाइदिन्छौँ । भोलिपल्ट भट्टितिर पस्न रोक्छ भन्ने तर्क राख्छौँ– नयाँ पुस्ताले पर्वको मूल्य नबुझ्दा अनैतिकताले आजको समाज विकराल र कलुषित बन्दै छ । यसमा कसले कति गर्व गर्ला तर अनैतिकताको बेसुरे गाडीलाई भ्रमले डोर्याइरहेको छ ।

    यसै दिनमा सप्तऋषि तथा पितृहरूको नाममा तिल, कुशसहित तर्पण दिइने भएकाले यो पर्वलाई ‘ऋषि तर्पणी’ वा ‘श्रावणी’ पनि भनिन्छ । सत्य युगमा दानवहरूले खेदाइएका देवगणलाई बचाउन गुरु वृहस्पतिले रक्षाबन्धन (डोरो) बाट दानवराजा बलिलाई बाँधेका थिए । सोही प्रसङ्गअनुसार सो डोरोले रक्षा गर्ने जनविश्वास रहिआएको छ । पौराणिक इतिहासअनुसार इन्द्रदेवलाई दैत्य राजा वृत्तासुरले १२ वर्षसम्म युद्ध गरेर उनको राज्य वैभव आफ्नो हातमा पारेको थियो । राक्षसहरूले आफ्नो आसुरी शक्तिद्वारा युद्धमा परास्त गरेपछि इन्द्रदेवले संस्कार र अधिकारहित नतमस्तक भएर आफ्नो प्राण जोगाउँदै जङ्गल – जङ्गल घुमिरहनु पर्यो ।

अशान्त भएका इन्द्रले राक्षस वृत्तासुरसँग अन्तिम युद्ध गर्ने निर्णय गरेपछि देवताका गुरु वृहस्पतिले विजयको कामना गरी श्रावण मासको शुक्ल पूर्णिमाको दिनमा शुभ मुहूर्त पारेर रक्षाबन्धन बाँधी इन्द्रलाई शक्ति प्रदान गरेका थिए । त्यसपछि उनकी पत्नी इन्द्राणीले भगवान्लाई साक्षी राखेर पवित्रताको प्रतीक रक्षासूत्र इन्द्रदेवलाई बाँधिदिइन् । त्यसैको प्रभावले उनले त्यो दानवी चरित्रलाई समाप्त पारेर पुनः आफ्नो राज्य वैभव प्राप्त गरे । यसर्थ दानवी शक्तिबाट सुरक्षित रहन रक्षाबन्धन अथवा राखी बाँध्ने गरिन्छ । अर्थात् कुकर्म र कुबुद्धिबाट जोगाउने शक्ति आफ्नै घरका सदस्य त्यसमा पनि चेली हुन् भन्ने सन्देशलाई बोकेको पारिवारिक सहचार्यको भावलाई बोध गर्न सकिन्छ ।
 

   विशेष गरेर ब्राह्मणहरूले यजमानलाई, दिदीबहिनीहरूले दाजुभाइलाई पवित्र धागो बाँधेर मनाइने रक्षाबन्धन पर्वको धार्मिक, आध्यात्मिक, सांस्कृतिक वा पौराणिक इतिहासले छुट्टै सामाजिक सम्बन्धको महŒवलाई बोक्छ । धेरैजसो स्थानहरूमा विधिपूर्वक मन्त्रेर तयार पारेको डोरो बाँधिमाग्नेको भीड लाग्छ । विशेष पूजा वा कर्मकाण्डीय शुभ–कार्यहरूमा समेत पण्डितहरूद्वारा यजमानलाई तिलक लगाएर रक्षाबन्धन बाँध्ने संस्कृति बसेको छ । यसबाट सद्भावलाई विकास गरिरहेको छ ।

यसको प्रभावले शुद्ध, श्रेष्ठ र पवित्र विचार उत्पन्न हुने जनविश्वास छ । जीवनलाई सद्मार्गबाट चल्न प्रेरित गराउने यो पर्वले समाजमा कलङ्कित पार्ने कुबुद्धिबाट अलगिने सद्प्रेरणा दिन्छ । दाजुभाइमा सबै नारीहरू दिदीबहिनीको भावनाले सम्मान गर्ने भावना विकास गराउने रक्षाबन्धन पर्वले सामाजिक मर्यादालाई जीवन्त बनाउने शिक्षा दिन्छ । स्नेह भाव, सात्विक विचारको सम्बन्ध स्थापित गराएर पवित्र वातावरण बनाउने यो पर्वले वर्तमान समाजमा हराउँदै गइरहेको भ्रातृत्व र मानवताको सम्बन्धलाई मजबुत बनाएर एक आदर्श र अनुशासित समुदायमा बाँच्न सिकाउँछ । हिन्दू नारीहरूद्वारा शत्रुबाट बच्न, दीर्घायु र आपतकालीन समयमा दाजुभाइको भलाइको भावना राखेर यो पर्वमा भेटघाट तथा शुभकामना दिने गरिन्छ । 

जनै संरचना
    ब्राह्मणबाट मन्त्र उच्चारण गरेर यज्ञोपवित वा जनै धारण गर्ने हिन्दू सनातनका मान्यतामा यसको छुट्टै मूल्य रहेको पाइन्छ । जनैमा भएका ९ डोरा, ३ शिखाहरूले ईश्वरीय ज्ञान, जीवनचक्रबारे वास्तविक रहस्य बुझ्न मद्दत पुग्छ । ब्रह्मसूत्र वा जनैमा रहेका एउटाका ३ डोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा अर्को शिखाका ३ डोरालाई कर्म, उपासना र ज्ञानका प्रतीकहरूको योग मानिन्छ । यसमा गणितीय मान्यता अनुसार ५४ सरा धागोद्वारा ब्रह्म गाँठो बनाइएको हुन्छ ।

यजमानहरू गुरुद्वारा मन्त्रेर मात्र जनै लगाउँछन् । नियमअनुसार तागाधारीहरू अघिल्लै दिनदेखि चोखोनितो गरेर एक छाक खाएर त्यस दिन  प्रातः पोखरी, ताल, नदी वा धारामा गई गाईको गोबर, दतिवन, खरानी आदिद्वारा स्नान गरी पूजा आराधना गरेपश्चात् मात्र जनै धारण गर्ने गर्छन् । आयुर्वेदिक हिसाबमा यो कार्यले शारीरिक स्पूmर्ति प्रदान गराउँछ । आरोग्यता दिलाउँछ । 
    

श्रावण शुक्ल पूर्णिमाका दिन जनै मन्त्रेर धारण गरिने भएकाले यो दिनलाई जनै पूर्णिमा भनिएको हो । एक पटक मन्त्रेको जनैलाई वर्षदिनसम्मका लागि मात्र योग्य मानिन्छ । गतसाल मन्त्रिएको तर नलगाई राखिएका पुराना जनैलाई पनि पुनर्ताजगी गर्नुपर्ने मान्यता छ तर यस दिन नमन्त्रेको जनैलाई शुद्ध मानिदैन । जनै मूलतः क्षत्री ब्राह्मण जातिका लागि शुभ (पूजा, पाठ, यज्ञ आदि) तथा अशुभ 
(मरिमराउ, श्राद्ध, पितृ तरणतारण) दुवै खाले कार्यमा अनिवार्य प्रयोग गर्ने चिज हो । धारण नगरिएका जनैलाई कर्मकाण्डमा पुनः प्रयोग गरिरहने चलन छ ।

    विभिन्न जातिका व्रतबन्ध गर्ने आआफ्नै मान्यता र प्रक्रिया छन् । तागाधारीहरूका लागि एक पटक व्रतबन्ध गरिसकेपछि जीवनभर जनै धारण गरी गुरुद्वारा प्राप्त गरिएको मन्त्रलाई जीवनभर जप गर्नुपर्ने शास्त्रीय मान्यता हो । वास्तवमा गायत्री मन्त्रोच्चारण गर्नु भनेको हृदयमा स्थित ईश्वरीय चिन्तनमा एकाग्र हुनु हो । यसबाट मन्त्रशक्ति प्राप्त हुने, सुविचार, यशादि प्राप्त हुन् तथा सङ्कट कम हुने विश्वास गर्ने गरिन्छ तर आजभोलिका युवामा यो परम्परा लोप भई विकृत सोच र व्यवहार झाँगिँदै जाँदा मद्यपान, धूमपान, अनैतिकता पनि नबढेको भन्न सकिने अवस्था छैन । 
  

 मूलतः पश्चिमी सभ्यताका राम्राभन्दा पनि छाडापनाले सुसंस्कारलाई तिरस्कार गर्ने कुबुद्धि बढेको छ । हाम्रा संस्कारलाई गाली गरेर बड्डेमा महँगो खर्च गराउने केक काट्ने र पश्चिमापनामा रम्ने परम्पराको बडप्पनमा हामी अन्धा बनिसकेका छौँ । हाम्रोले बत्ती बाल, उज्यालोलाई प्रेम गर भनिरहँदा हामी बत्ती निभाएर जन्मदिवसलाई भद्दा र उल्टो बनाइरहेका छौँ । वास्तवमा ब्रह्मत्व प्राप्ति गरेका र ब्रह्मज्ञानको बोध गर्ने आधारबाट यज्ञका लागि पवित्र मानिने पहिचान कायम हुन नसक्दा पनि यो विद्या र परम्परामा दाग लागेको भान हुन्छ । हुन त परम्परा अपरिवर्तनशील हुन सक्दैन तर नामेट भयो भने भन्ने भय चाहिँ अवश्य पनि छ ।

राखीपर्व        
    विशेष गरेर तराई क्षेत्रमा दिदीबहिनीले सुस्वास्थ्य, उत्तरोत्तर प्रगतिको कामना गर्दै दाजुभाइको नाडीमा ‘राखी’ बाँध्ने गरेकाले यसलाई ‘राखी बाँध्ने पर्व’समेत भन्ने गरेको पाइन्छ । विशेष गरेर दिदी बहिनीले दाजुभाइलाई हातमा राखी बाँधी अपशकुन नपरोस् भनी रक्षाबन्धनकै प्रतिमाका रूपमा प्रतीकात्मक सूत्रबन्धन बाँध्ने चलन छ । मूलतः तराई भेगमा प्रचलित यो राखी बाँध्ने चलनले पहाडी क्षेत्रमासमेत प्रभाव जमाइसकेको छ । यसले सबै वर्ग र जातिलाई समेटेको छ । शास्त्र कथनअनुसार यमदूतले आफ्नी बहिनी यमुनासँग राखी बाँध्ने क्रममा ‘जसले यस पवित्रताको प्रतीक राखी बाँध्छ ऊ यमदूतको सजाय वा भयबाट मुक्त हुन्छ’, भनेको हुनाले राखी बाँध्ने परम्परा बसिआएको पाइन्छ । त्यस्तै गरेर यस दिन बाँधिएको हातको डोरोलाई लक्ष्मीपूजाको दिन फुकाएर गाईको पुच्छरमा बाँध्ने गरिन्छ । यो कार्यले मृत्युपछि वैतरणी नामको नदी पार गर्न गौ माताले सहयोग गर्ने विश्वास गरिन्छ । सिद्धार्थ गौतम बुद्धले आजकै दिनमा काम शक्तिमाथि विजय प्राप्त गरेको मान्यता अनुरूप बौद्ध धर्मावलम्बीहरू विभिन्न तीर्थमा गई तीर्थाटन गर्ने गर्छन् । 

गुन्हु पुन्ही
    नेवारी समुदायमा भने यस पर्वलाई ‘गुन्हु पुन्ही’ वा ‘क्वाटी खाने पर्व’को नामले मनाइन्छ । यो दिनमा विभिन्न खाले आवाजबाट वर्षा र खेतीको कामको जानकारी दिने तथा गठेमङ्गलका दिन नरभक्षी घण्टासुरलाई बाटो भुलाएर धापमा जाकिदिएकाले भ्यागुताको पूजा गर्ने चलन छ । यसै दिनमा चना, मास, भटमास, केराउ, मुग, सिमी, बोडीलगायतका नौथरीका गेडागुडीलाई भिजाई टुसा उमारिएको र एकैठाउँमा पकाएर बनाइएको पौष्टिक तŒवयुक्त ‘क्वाँटी’ खाने चलन छ । किसानी कामधन्दाबाट रोपाइँ सकेर शरीरको थकान मेटाउन तथा शरीरमा रोग नलाग्ने, पेट सफा पार्ने तथा वर्षा र चिसोका कारण तापसञ्चार गर्ने खाद्यपरिकारले वैज्ञानिक आधारलाई शिरोधार्य गरेको छ । यसका साथै विभिन्न जाति र सन्दर्भअनुसार कजरी पूर्णिमा, अवनि अवित्तम, नरियल पूर्णिमाजस्ता नामले पनि यो पर्वलाई चिन्ने गरेको बहुआयामिक अर्थबोध रहेको छ ।

सामाजिक मर्यादा
    हामी प्रविधिमैत्री बन्दै गए पनि आध्यात्मिक सुख र जीवनको रहस्यसँग एकत्व भावना र एकले अर्काको संस्कृतिलाई सम्मान गर्दै अघि बढ्यौँ भने नेपाल स्वर्ग समान रहेछ । चाडपर्वले सद्भाव र सहकार्यमा सामाजिक भाइचारालाई कायम गर्ने, सामाजिक मर्यादा र गुढ गाँसिएका विषय हुँदा रहेछन् । फलतः नैतिक आचरणले स्थायित्व पाउँछ त्यहाँ शान्ति स्थापना हुन्छ ।

शारीरिक रक्षा, स्वधर्म रक्षा, नारीको सम्मान, असत्य र अज्ञानताबाट टाढा रहने आदर्श नैतिकता, पारिवारिक सम्बन्ध स्थापना, संस्कृति सुरक्षा, प्रकृतिको रक्षा र पूजा गर्ने जस्ता महानतालाई रक्षाबन्धन पर्वले साथमा सिकाएको छ । नारी सम्मान तथा भाइचारा र बन्धुत्वलाई जोगाएको छ । अतः यो पवित्रता र आत्मरक्षाको बन्धनको पर्वलाई राष्ट्रिय रूपमा मान्यता दिइनु धर्मनिरपेक्षताको विपरीत देखिन्न । विजय उत्सवको पर्वका रूपमा मनाइने रक्षाबन्धनले जीवनको तनावमय बन्धनलाई होइन जीवनको सारलाई पनि बोध गर्दै आत्म संयमता र मर्यादाको प्रतीकलाई इङ्गित गर्छ । विकृत सोचलाई त्यागेर समाजमा अनुशासन, नैतिकता र मर्यादाले जिउन सिकाउने जनैपूर्णिमा, रक्षाबन्धन, क्वाँटी खाने पर्वले यो दिनलाई पावन एकताको बहुसांस्कृतिक मूल्यलाई एकसाथ तुनेका छन् । 
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...