पवन चाम्लिङको पार्टीबाट १० विधायक भाजपामा प्रवेश, २५ वर्ष शासन गरेको पार्टी पत्तासाफ हुने स्थितिमा

एजेन्सी । सिक्किमको राजनीतिमा मंगलबार ठूलो उथलपुथल देखियो । अढाई दशकसम्म सिक्किममा शासन गरेको पवन चामिलिङको पार्टी सिक्किम डेमोक्रेटिक फ्रन्ट(एसडीएफ)का १० विधायक भाजपामा प्रवेश गरे ।
मंगलबार नयाँ दिल्लीको भाजपा मुख्यालयमा महासचिव राम माधवको उपस्थितिमा एसडीएफका १० विधायक भाजपामा प्रवेश गरेका हुन् ।
भाजपा प्रवेश गर्नेहरुमा पाँच पटकका विधायक दोर्जी छिरिङ लेप्चाका अतिरिक्त डीआर थापा, कर्मा सोनेम लेप्चा, केबी आय, टीटी भूटिया, फरमन्ती तामाङ, पिन्टो नामग्याल लेप्चा, राम कुमारी थापा आदी छन् ।
विधायकलाई पार्टीमा स्वगत गरेपछि पत्रकारसँगको कुराकानीमा भाजपा महासचिव राम माधवले भने, ‘पछिल्लो २५ वर्षदेखि सिक्किममा शासन गरिरहेको एसडीएफले यस पटक विधानसभा चुनावमा १५ सिटमात्र हासिल गरेको थियो । तीमध्य दुई विधायक अलग अलग सिटबाट विजयी भएका थिए । तीमध्य १० विधायक भाजपामा सामेल हुने निर्णय लिएका छन् ।’
यसमा भाजपा अध्यक्ष अमित शाह र कार्यकारी अध्यक्ष जेपी नड्डाको महत्वपूर्ण भूमिका रहेको राम माधवले बताए । सिक्किमको विधानसभामा आफ्नो विधायकको संख्या बढेपछि अब भाजपाले प्रभावकारी भूमिका निभाउने माधवले बताए ।
एसडीएफका तर्फबाट भाजपा सामेल भएका वरिष्ठ विधायक दोर्जी छिरिङ लेप्चाले भने ,‘ आज १० विधायक भाजपामा सामेल भए । यसको लागि हामी पुरा टिमको तर्फबाट प्रधानमन्त्री नरेन्द्र मोदी, भाजपा अध्यक्ष अमित शाह, पार्टीको कार्यकारी अध्यक्ष जेपी नड्डा प्रति आभार प्रकट गर्छौं ।’
लेप्चाले भाजपाको ‘एक्ट इस्ट नीति’ निक्कै प्रभावकारी भएको र युवाले यसलाई स्वीकारेको पनि बताए । ‘हामी सिक्किममा भाजपाको स्थिति थप बलियो बनाउन पुरा मेहनत गर्नेछन् ,’ लेप्चाले भने ।
पवन कुमार चामलिङको पार्टी अढाई दशकसम्म सिक्किमको सत्तामा रहेकोमा पछिल्लो विधानसभा निर्वाचनमा हार वेहोर्नुपर्यो । ३२ सिटको सिक्किस विधानसभामा सिक्किम क्रान्तकारी मोर्चाले १७ सिटका साथ बहुमत प्राप्त गर्यो । मोर्चका नेता प्रेम सिंह तामाङ अहिले सिक्किमका मुख्यमन्त्री पदमा छन् ।