बालकृष्ण डंगोल पक्राउ प्रकरण : विदेशीलाई बच्चा बेचेबापत ८ हजार पाउन्ड 'डिमान्ड'

काठमाडौं । बुधबार बिहान नेपाल बाल मन्दिरका निर्देशक बालकृष्ण डंगोल बालबालिका बेचविखनको आरोपमा पक्राउ परेका छन् । डंगोललाई महानगरीय प्रहरी परिसर काठमाडौंको विशेष टोलीले नक्सालस्थित बाल मन्दिरको गेटअगाडिबाट पक्राउ गरेको हो ।
डंगोल पक्राउ परेको पुष्टि गर्दै परिसरका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले नेपालको सबैभन्दा पुरानो बाल संगठन (बाल मन्दिर) मातहत ४ सय भन्दा बढी बालबालिकहरु रेखदेखमा रहेको जानकारी दिए ।
बाल मन्दिर जस्तो पवित्र संस्थाको निर्देशक तहमा रहेका डंगोल २०६० सालदेखि उपनिर्देशक हैसियतमा थिए भने अहिले निर्देशकको हैसियतमा कार्यरत थिए ।
डंगोलले एउटा भर्खरै जन्मेको बच्चालाई ब्रिटिश नागरिक डोना स्मिथलाई बिक्री गरेको प्रहरीको अनुसन्धानबाट खुल्न आएको डीएसपी बोगटीले बताए ।
डीएसपी बोगटीले भने, ‘डंगोलले कपिलवस्तुकी विवाह नभएको आमाबाट जन्मिएको बच्चा डोना स्मिथलाई बेचेको पाइएको छ ।’
डंगोलले २८ जुलाई अर्थात साउन १२ गते ३६ वर्षीया ब्रिटिश नागरिक डोना स्मिथलाई बच्चा बेचेको पाइएकाे उनकाे भनाई छ ।
डंगोलले बच्चा कानुनअनुसार आफ्नो बनाउन मिल्छ भन्दै ब्रिटिश नागरिक स्मिथलाई बेचेको पाइएको डीएसपी बोगटीले बताए । बोगटीले भने, ‘बच्चा एडप्ट गर्न आवश्यक सम्पूर्ण कागजातहरु म मिलाईदिन्छु भन्दै डंगोलले सम्पूर्ण कागजातहरु पनि तयार पारेको पाइएको छ ।’
बच्चा एडप्टको कागजात तयार पारेबापत डंगोलले ब्रिटिश नागरिक डोना स्मिथसँग ८ हजार पाउन्ड डिमान्ड गरेको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ । जसमध्ये नेपाली ४ लाख चाहिँ हात पारिसकेकाे प्रहरीको भनाई छ ।
डंगोलले बच्चा एडप्टको आवश्यक पर्ने सम्पूर्ण डकुमेन्टहरु तयार पारेपछि ती डकुमेन्टहरुसहित स्मिथले बच्चालाई ब्रिटिश दूतावासमा लगेर यो मेरो बच्चा भन्दै ‘अन्नाबेला लक्ष्मी श्रेष्ठ स्मिथ’को नाम दिइएको पाइएको छ ।
१२ दिनको बच्चाको ब्रिटिश पासपोर्ट पनि बनाइएको छ ।
यसरी पोल खुल्यो
साउन २२ गते बिहानतिर डोना स्मिथ ती बच्चासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्छिन् । स्मिथ आफ्नै देश जाने तयारीका साथ विमानस्थल पुगेकी हुन्छिन् ।
उनीहरु इमिग्रेसनमा पुगेपछि चेकजाँच सुरु हुन्छ । चेकजाँचको क्रममा इमिग्रेसनवालालाई शंका लाग्छ । शंका लाग्नुको कारण ‘कालो कपाल भएको बच्चा’ ब्रिटिश नागरिकको कसरी ?
लगत्तै घटनाबारे माथिल्लो तहसम्म खबर पुग्छ । र, तत्कालै घटनाबारे विमानस्थल प्रहरीलाई पनि जानकारी गराइन्छ । सो बच्चा डोना स्मिथको कोखबाट जन्मिएको हो वा होइन भनेर छानबिन गर्न भन्दै काठमाडौं प्रहरीलाई जिम्मा लगाइन्छ ।
प्रवक्ता बोगटीले भने, ‘त्यसपछि हामीले लगातार अनुसन्धान गर्यौं । अनुसन्धानको क्रममा यो बच्चा बाल मन्दिरका निर्देशक बालकृष्ण डंगोलले मोटो रकम लिएर आवश्यक डकुमेन्टहरु बनाएर ब्रिटिश पठाउन लागिएको पाइयो ।’
स्मरणीय के छ भने नेपालमा विदेशी नागरिकहरुले नेपाली बच्चाहरु एडप्ट गर्न प्रतिबन्ध छ । यस्तो अवस्थामा पनि डंगोलले सबै प्रबन्ध मिलाएर ब्रिटिश नागरिकलाई भर्खर जन्मेको बच्चा बेचेको विल्कुलै नयाँ घटना रहेको बोगटी बताउँछन् ।
सोही आधारमा डंगोललाई आज बिहान ११ बजे पक्राउ गरिएको डीएसपी बोगटीले बताए । पक्राउ परेका डंगोललाई जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
बच्चा काठमाडौंस्थित एक बर्थिङ सेन्टरमा जन्मिएको देखिन्छ ।
बर्थिङ सेन्टर र बाल मन्दिरको बीचमा चाहिँ समन्वय भएको पाइएको प्रहरीको भनाई छ । सबै बर्थिङ सेन्टरले जन्मिएका बच्चाहरु बाल मन्दिरलाई जिम्मा लगाउने गर्छन् ।
पहिल्यैदेखिको सेटिङ
बाल मन्दिरले बर्थिङ सेन्टरमा बच्चा जन्मिँदैछ भन्ने थाहा पाएपछि विदेशीसँग सम्पर्क राख्ने गरेको पाइएको छ । त्यसपछि विदेशीहरु समय मिलाएर नेपाल आउने गर्छन् । अनि त्यो बच्चा मेरो हो भनेर एडप्ट गर्छन् । सँगसँगै डकुमेन्टहरु बनाएर विदेशी पासपोर्ट नै बनाएर लुकाईछिपाई आफ्नो देशमा लैजान्छन् ।
विमानस्थलमा सामान्य चेकजाँच
बच्चा एडप्टको डकुमेन्टहरु तयार भएपछि एयरपोर्टमा पनि त्यति चेकजाँच नहुने गरेको विमानस्थलमा कार्यरत एक प्रहरी अधिकृतले बताए । ती अधिकृतका अनुसार विमानस्थलमा बच्चाको टाउकोको कभर गराइन्छ तर, सबै चेकजाँच त गराइन्न ।
आफ्नै बच्चा भएको स्मिथको दावी
यता डोना स्मिथले आफ्नै कोखबाट जन्मिएको बच्चा हो भन्दै दावी गरेको प्रहरीले जनाएको छ । जन्मदर्ता, मेडिकल रिपोर्ट, ब्रिटिश दूतावासमा रजिष्टे«शन र पासपोर्ट समेत बनाएर लैजाने क्रममा थिइन् स्मिथ ।
‘बच्चा एडप्ट गर्न पाइदैन भन्ने थाहा थिएन’
नेपालको कानुनमा बच्चा एडप्ट गर्न पाइदैँन भन्ने कुरा आफूलाई थाहा नभएको स्मिथले प्रहरीसमक्ष बताएकी छन् ।
डोना स्मिथ इमिग्रेसनबाट चेकजाँचको क्रममा साउन २२ गते पक्राउ परेकी हुन् । सामान्य सोधपुछ गर्न पुगेको बेला आफू पक्राउ परेको स्मिथको भनाई छ ।
डोना स्मिथ बच्चा जन्मिएको भन्दा २ दिनअघि (जुलाई २६) मा नेपाल आएकी हुन् । त्यसअघि स्मिथ डेढ महिनाअघि नेपाल आएर डंगोलसँग सम्पर्क गरेरले समन्वय गरेको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ ।
पछिल्लो भेटको क्रममा डंगोलले स्मिथलाई बच्चा जन्मने बित्तिकै खबर गर्ने जानकारी गराएको समेत पाइएको छ ।
डोना स्मिथ ललितपुरको महालक्ष्मी नगरपालिका हरिसिद्धीका एक नेपालीसँग लिभिङ टुगेदरमा लण्डनमा बस्दै आएकी थिइन् । राती नेपालीकै कारण स्मिथको डंगोलसँग चिनजान भएको पाइएको छ ।
ती नेपालीलाई स्मिथले एउटा सानो बच्चा चाहियो भनेर आग्रह गरेपछि अनि उनले स्मिथलाई डंगोलसँग चिनजान गराइदिएको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भीम रावलको प्रश्न : महेश बस्नेत र पूर्णबहादुरको कुराको छानबिन हुनुपर्दैन ?
-
मनमोहन स्मृति क्रिकेट : त्रिभुवन आर्मी फाइनलमा
-
खुल्न थाले सामुदायिक विद्यालय
-
सन्तोषीको लन्डन म्याराथनमा नयाँ कीर्तिमान, सन्तोष गिनिज वर्ल्ड रेकर्डमा दर्ता
-
एकताको महाधिवेशन सफल बनाउन सघाउनु सरकारको पनि दायित्व हो : शर्मा
-
शिक्षक आन्दोलनले देशलाई पछाडि धकेल्छ : अध्यक्ष बिजुक्छे