बिहीबार, १० माघ २०८१
ताजा लोकप्रिय

क्यान्सर अस्पतालमा अनियमितताको आरोपसहित ज्ञापनपत्र

बुधबार, २९ साउन २०७६, २२ : १६
बुधबार, २९ साउन २०७६

काठमाडौं-भक्तपुर क्यान्सर अस्पतालमा अनियमितता भएको दावीसहित त्यसलाई रोक्न माग गर्दै भक्तपुर नगरपालिका वडा नं १ देखि १० सम्मका वडावासीले आज भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिलाई ज्ञापनपत्र बुझाएका छन् ।

नगरवासीले अस्पतालमा भ्रष्टाचार भएको आरोप लगाउँदै त्यसलाई रोकेर अस्पताल सञ्चालनमा भूमिका निर्वाह गर्न नगरप्रमुख प्रजापतिलाई ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्र बुझेपछि नगरप्रमुख प्रजापतिले क्यान्सर अस्पताल कुनै निजी व्यक्तिले खोलेको नभई सार्वजनिक हितमा स्थापना भएको र त्यसका लागि नगरपालिकाले जग्गा प्रदान गरेको बताए । उनले नगरवासीको न्यायोचित मागप्रति आफू गम्भीर हुने बताए । 

ज्ञापनपत्र बुझेलगत्तै नगरप्रमुख सुवालको नेतृत्वमा जनप्रतिनिधिसहितको टोली तत्कालै भक्तपुर क्यान्सर अस्पताल दूधपाटीको स्थलगत अवलोकन गरेको छ । नगरप्रमुख प्रजापतिले अस्पतालमा भइरहेको गलत कामका बारेमा व्यवस्थापन समितिका पदाधिकारीसँग जानकारी लिन खोज्दा कोहीपनि नगरप्रमुखको सम्पर्कमै नआएको प्रजापतिले बताए । 

नगरप्रमुख प्रजापतिले अस्पतालका मेडिकल डाइरेक्टर ऋषिकेशनारायण श्रेष्ठसँग भ्रष्टाचारसम्बन्धी आरोपका बारेमा जानकारी लिँदै यसबारेमा नगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको बताए । 

अस्पतालको स्थापनाकालदेखि नगरपालिका अस्पताल व्यवस्थापन समितिको सदस्य भए पनि कुनै पनि बैठकमा नगरपालिकालाई सहभागी नगराउनुमा आपत्ति जनाउँदै उनले भक्तपुर क्यान्सर अस्पतालले देशैभरिको रोगीको उपचार गरिरहेको र यसको निरन्तर सञ्चालनको लागि आवश्यक पहल गर्न सकारात्मक रहेको बताए ।

मेडिकल डाइरेक्टर ऋषिकेशनारायण श्रेष्ठले भक्तपुर क्यान्सर अस्पतालमा भएको आर्थिक अनियमिताबारेमा सत्यतथ्य छानविन गरिदिन आग्रहसमेत गरे । उनले अस्पताल व्यवस्थितरुपमा सञ्चालन गर्न तथा बिरामी सर्वसाधारणको उपचार सेवामा प्रभावकारिता ल्याउन नगरपालिकाको उपस्थिति हुनुपर्नेमा जोड दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप