शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

राष्टियसभा अध्यक्ष तिमल्सिना मिडियादेखि दिक्क ! (भिडियो)

बुधबार, २९ साउन २०७६, १८ : ५९
बुधबार, २९ साउन २०७६

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले सञ्चारमाध्यमले राष्ट्रियसभाका गतिविधिलाई कम प्राथमिकता दिएको बताएका छन् । नेपाल पत्रकार महासंघले बुधबार काठमाडौंमा गरेको मिडिया र राष्ट्रिय सभाबीचको अन्तरसंवाद कार्यक्रममा बोल्दै उनले प्रतिनिधिसभाको एउटा समितिको बैठकमा को सांसदले के बोले भन्ने सम्मको समाचार आउने भएपनि राष्ट्रियसभाले महत्वपूर्ण विधेयक पास गर्दा पनि समाचार नआउने गरेको उल्लेख गरे । 

टेलिभिजनहरुले सामाचार प्रसारण गर्दा पनि पुरानो भिडियो राखेर समाचार दिने गरेको उनको गुनासो छ । उनले भने– ‘टिभिमा चित्र पनि पुरानो आउँछ । आजको बैठकमा म यो टोपी लगाएर गएको छु भने समाचार आउँदा दुई चारदिन अघि लगाएको टोपीको भिडियो आउँछ । सञ्चारमाध्यमले राष्ट्रियसभालाई कति महत्व दिएको छ, यसबारेमा यहाँहरुको पनि ध्यान जाओस् ।’

पत्रकार महासंघले राष्ट्रियसभामा दर्ता भएको मिडिया काउन्सिल विधेयकबारे राष्ट्रियसभाका अध्यक्ष, सचिव तथा विषयगत समितिका सभापतिलाई ध्यानाकर्षण गर्न गरिएको कार्यक्रममा अध्यक्ष तिमल्सिनाले यसरी मिडियाको पनि ध्यानाकर्षण गराएका हुन् ।

एउटाले छापेको समाचार अर्कोले छाप्ने कस्तो पत्रकारिता हो र ? कार्यक्रममा बोल्दै अध्यक्ष तिमल्सिनाले पत्रकार बन्न के–के गुण चाहिन्छ भन्दै प्रश्न समेत गरे । उनले केही नेता, सांसद, मन्त्रीले नराम्रो गर्दा सबैलाई एउटै घानमा हालेर यिनीहरु यस्तै हुन् भनेर सबैको तेजोबध गर्ने काम गर्दा निष्ठा, त्याग गरेका असल मान्छेलाई चित्त दुखेजस्तै पत्रकारिता क्षेत्रमा पनि निहित स्वार्थ भएकाहरुका कारण खोज पत्रकारिता गर्नेलाई एउटै रुपमा हेर्ने भन्दै प्रश्न गरे । 

उनले पत्रकार कस्तो हुने, समाचार कस्तो हुने भन्नेमा ध्यान दिन आग्रह गर्दै पत्रकारले स्वनियममा बस्ने भनिरहेका बेला अनलाइनमा आउने समाचारलाई कसरी लिने भन्दै जिज्ञासा राखे । उनले भने– ‘कान्तिपुरले, अन्नपूर्णपोष्टले वा कुनैले समाचार छाप्यो, उसले छाप्यो भने सबै अनलाइनले त्यही छाप्ने ? त्यो गर्न पाइन्छ ? उसले आफ्नो समाचार उत्पादन गर्नुप¥यो नि । सबै अर्काले छापेको सामाचार हालेको छ त्यो कस्तो खालको न्यूज हो ? म पत्रकार कहिले पनि भइन तर त्यस्तो पत्रकारिता हो जस्तो मलाई लाग्दैन ।’

उनले समाचारको सत्यतामा ध्यान दिन आग्रह गरे । उनले एउटै समाचारले ड्यामेज गर्ने भन्दै सचेत रहन आग्रह गरे ।  उनले पत्रकार महासंघले उठाएको मिडिया काउन्सिल बिधेयकप्रति राष्ट्रियसभा सचेत रहेको बताउँदै यसबारे सञ्चारमन्त्री गोकुल बास्कोटासँग छलफल गरेको बताए ।

उनले मन्त्री पनि राष्ट्रियसभाले भनेका कुरामा सकारात्मक भएर अलि छलफल गरेर मात्र यो विधेयकलाई अगाडि बढाउने कुरामा सहमत भएको उल्लेख गरे । उनले भने– ‘यो विधेयकको बुँदा बुँदामा, अक्षर–अक्षरमा छलफल गरेर जान सकिन्छ । यो शेसनमा यसलाई प्रवेश गराउने र हिउँदे अधिवेशनमा पास गरेर लैजान सकिन्छ ।’ कार्यक्रममा मिडियासँग सम्बन्धित तथा कानुन निर्माणमा भूमिका खेल्नेहरुले आफ्नो विचार राखेका थिए । 
हेर्नुहोस् भिडियोः 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप