बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

गत बर्ष ७.०५ प्रतिशतको आर्थिक बृद्धि, अर्थविद भन्छन्– यो राम्रो संकेत हो

बुधबार, २९ साउन २०७६, १७ : १०
बुधबार, २९ साउन २०७६

काठमाडौं- गतवर्ष (२०७५/०७६) नेपालको आर्थिक बृद्धिदर ७.०५ प्रतिशत पुगेको प्रारम्भिक अनुमान अर्थमन्त्रालयले सार्वजनिक गरेको छ । दोहोरो अंकको आर्थिक बृद्धिदरको लक्ष्य लिएको सरकारको लक्ष्य भेट्टयाउने संकेत गत वर्षको आर्थिक बृद्धिले देखाएको छ ।

अघिल्लो बर्ष  २०७४/७५ मा ६.३ प्रतिशतको आर्थिक बृद्धि गरेको देशलाई अहिलेको आर्थिक बृद्धिले खुसी बनाएको छ । भूकम्पपछि देशको आर्थिक बृद्धि आशालाग्दो अवस्थामा अघि बढेको छ । भूकम्पलगतै अघोषित भारतीय नाकाबन्दीका कारण ०.२ प्रतिशत मात्र आर्थिक बृद्धि भएको थियो । 

त्यसपछि लगातार तेस्रेपटक  सुखद आर्थिक बृद्धिको अवस्थामा नेपाल रहेको छ । भूकम्पपछिको पुनर्निर्माणले गति लिँदा र विकासका गतिविधि अघि बढ्दा देशले अपेक्षित आर्थिक बृद्धिदर हासिल गर्न सकेको अर्थमन्त्रालयले बताएको छ । 

विगत पाँच वर्षमा सबैभन्दा बढी आर्थिक वर्ष २०७३/०७४ मा ७.७४ प्रतिशत आर्थिक बृद्धि भएको थियो ।  गतवर्ष सरकारले सात प्रतिशतको आर्थिक बृद्धि हासिल गर्ने अनुमान गरेको थियो । 

पाँच वर्षको आर्थिक बृद्धिदर

राजस्व संकलन २२.६१ प्रतिशतले बृद्धि

अर्थमन्त्रालयले गत आर्थिक बर्षको तुलनामा २२.६१ प्रतिशतले राजस्व संकलनमा बृद्धि भएको छ । ८ खर्ब ६० अर्ब रुपैयाँ राजस्व संकलन गर्ने संशोधित अनुमान रहेकोमा ८ खर्ब ५९ अर्ब ५९ करोड रुपैयाँ राजस्व संकलन गरेको प्रारम्भिक अनुमान अर्थ मन्त्रालयले सार्वजिनक गरेको हो । 

सरकारको कूल बजेट १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख मध्ये संशोधित  लक्ष्य १२ खर्ब ६ अर्ब रहेकोमा चालूतर्फ सात खर्ब ८३ अर्ब, पूँजीगत तर्फ २ खर्ब ७३ अर्ब  र वित्तिय व्यवस्थातर्फ १ खर्ब ५२ अर्ब रहेको छ ।

 यो आर्थिक बृद्धि साढे ८ प्रतिशत आर्थिक बृद्धिको लागि राम्रो संकेत हो: अर्थविद आचार्य

अर्थविद केशवप्रसाद आचार्यले अहिलेको अािर्थक बृद्धिले राम्रो संकेत गरेको बताए । उनले भने, ‘सरकारले साढे ८ प्रतिशतको आर्थिक बृद्धि हासिल गर्ने लक्ष्य लिएको छ । गत वर्षको आर्थिक बृद्धिले चालू बर्ष पनि राम्रो आर्थिक बृद्धि हुने संकेत गरेको छ । यसलाई जोगाउँदै अझै बढी आर्थिक बृद्धि गर्न नीजि क्षेत्र र सरकार मिलेर नीजि क्षेत्रलाई कार्यान्वयनमा लैजानुपर्छ ।’

उनले सरकारले औद्योगिक उत्पादन र कृषि उत्पादनमा जोड दिँदै अगाडी बढ्न पनि सरकारलाई सुझाव दिए ।  अर्का अर्थविद् दीपेन्द्रबहादुर क्षेत्रीले अहिलेको प्रारम्भिक अनुमान सकारात्मक भएको  बताउँछन् । यसले नेपालमा लगानी गर्ने वातावरण बन्दै गएको र नीजि क्षेत्र लगानीप्रति उतसाहित भएकाले सात प्रतिशत माथिको आर्थिक बृद्धि सम्भव भएको उनले बताए । 

यद्यपि देशमा अहिले व्यापार घाटा पनि उत्तिकै भएको तर आर्थिक गतिविधि बढेकाले माग बढी भएर व्यापार घाटा बढेको हुनसक्ने क्षेत्रीको तर्क छ । विगतका कमी कमजोरीलाई सुधारे आर्थिक बर्षको सुरुवात देखिनै जिम्मेवारीपूर्वक काम गरे साढे ८ प्रतिशतको आर्थिक बृद्धि असम्भव नरहेको क्षेत्री बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप