बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सगरमाथामा जाम होइन, लाम भएको हो : समितिको प्रतिवेदन (पूर्णपाठसहित)

बुधबार, २९ साउन २०७६, १६ : ४९
बुधबार, २९ साउन २०७६

काठमाडौं–नेपालको पर्वतीय पर्यटनको सुधार गर्न गठित सुझाव समितिले गएको सिजनमा सगरमाथामा जाम नभएको प्रतिवेदन दिएको छ । 

समितिले बुधबार पर्यटनमन्त्री योगेश भट्टराईलाई बुझाएको ५९ पृष्ठ लामो प्रतिवेदनमा गएको सिजनमा सगरमाथामा ट्राफिक जाम भएको नभइ लाम मात्रै भएको प्रतिवेदन दिएको हो । 

जथाभावी आरोहणको स्वीकृति दिएर सगरमाथामा जाम भएको आरोपको समेत समितिले खण्डन गरेको छ । मौसममा आएको खराबीका कारण पहिले नै जानुपर्ने आरोही र मे २२ तथा २३ का लागि तय भएका आरोपी पनि एकैदिन आरोहणमा निस्कँदा सगरमाथामा जाम नभएर लाम मात्रै भएको समितिले प्रतिवेदन दिएको छ । 

समितिले प्रतिवेदनमा यस्तो भनेको छ, ‘गएको मे २१ मा सगरमाथामा अत्याधिक आरोही पुगेको कुरा सत्य हो । तर त्यही दिनका लागि विभागले धेरैलाई अनुमति दिएको होइन । प्रतिकुल मौसमका कारण पहिले नै पुग्नुपर्ने आरोही पुग्न नसकेको र २२ मे मा जानुपर्ने केही आरोही पनि मे २१ मै सगरमाथा आरोहण गरेकाले मे २१ र २२ मा गरी २ सय २३ जना आरोहीले सगरमाथाको आरोहण गरेका छन् ।’ समितिको प्रतिवेदनमा उल्लेख छ । उक्त दिन १ जनामात्रै आरोहीको मृत्यु भएको समितिको प्रतिवेदनमा जनाइएको छ । 

त्यसैगरी मे २३ मा मौसममा एकाएक परिवर्तन आएको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ । उक्त दिन ३ जना आरोहीको मृत्यु भएको थियो । आरोही कमजोर हुनु, आकस्मिकरुपमा मुर्छा पर्नु र हाई अल्टिच्युडका कारण पनि आरोहीको मृत्यु भएको समितिको प्रतिवेदनमा उल्लेख गरिएको छ । 

मे २२ र २३ मा लाम हुनुको कारण फानी आँधी
गएको मे २२ र २३ मा सगरमाथामा आरोहीको लाम बढ्नुको कारण फानी आँधी भएको पनि प्रतिवेदनमा उल्लेख छ । समितिले दिएको प्रतिवेदनको सारांश अनुसार फानी आँधीका कारण मौसममा आएको परिवर्तनले पहिले नै तय भएका आरोहीहरुले यात्रा गर्न नपाउनु, मौसम प्रतिकुल हुनु र आरोहीले समेत आकस्मिकरुपमा आफ्नो योजना परिवर्तन गरी चाँडै सगरमाथाको आरोहणमा निस्कनु नै हो । 

फिल्डमा नजाने सम्पर्क अधिकृत भविष्यका लागि अयोग्य
यसैगरी यसवर्षको सगरमाथा आरोहणका क्रममा पर्यटन विभागले ३७ जना सम्पर्क अधिकृत खटाएकामा २३ जना सम्पर्क अधिकृत मात्रै सगरमाथा बेस क्याम्पमा पुगेको पनि उल्लेख गरिएको छ ।
 आफ्नो जिम्मेवारी पूरा नगरेका सम्पर्क अधिकृतहरु भविष्यका लागि अयोग्य गराउन पनि समितिले आफ्नो प्रतिवेदनमा भनेको छ । 

मन्त्रीले भने- सगरमाथा सुरक्षित छ
समितिको प्रतिवेदन बुझेलगत्तै पर्यटनमन्त्री योगेश भट्टराईले यसपटक सगरमाथामा जाम नभई लाम मात्रै भएको भन्दै मौसमका कारण यस्तो भएको बताए । 

विभिन्न सञ्चारमाध्यमले आफू अनुकुल ब्याख्या गरेको भन्दै मन्त्री भट्टराईले सबै मानिस एकैपटक आरोहण गर्न खोज्दा लाम बढेको भएपनि लामको कारण कसैको मृत्यु नभएको जिकिर गरे । 

यसवर्ष सगरमाथा आरोहणका क्रममा ८ जनाको मृत्यु भएको र एकजना हराइरहेका छन् । यद्यपि मृत्युको कारण भनेको आरोहीले जबरजस्ती गरेर सगरमाथा चढ्न खोज्नु, स्वस्थ नभइकन पनि चुचुरोमा पुग्ने अपेक्षा राख्नु कारक रहेको उनले बताए ।

अब सगरमाथा आरोहण गर्दा सक्षम रहेको मेडिकल रिपोर्ट पेश गर्नुपर्ने व्यवस्था गर्ने, मौसमको सही तथ्याङ्क राख्ने र सम्पर्क माध्यम राम्रो बनाउने पनि मन्त्री भट्टराईले बताए ।

फिल्डमा नगएर भत्ता मात्रै बुझ्ने सम्पर्क अधिकृतहरुलाई अयोग्य घोषणा गरिसकिएको बताउँदै अब सक्षम र जिम्मेवार व्यक्तिलाई मात्रै सम्पर्क अधिकृत तोकी पठाउने व्यवस्था मिलाउने पनि उनले बताए । 
हेर्नुहोस् प्रतिवेदनको पूर्णपाठ
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप