मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

किन भयो प्रधानमन्त्री ओली र माधव नेपालबीच वालुवाटारमा चर्काचर्की ?

बुधबार, २९ साउन २०७६, १३ : ०८
बुधबार, २९ साउन २०७६

काठमाडौँ । प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच फेरि विवाद भएको छ ।

मङ्गलबार वालुवाटारमा पूर्व एमालेका शीर्ष नेताहरुको अनौपचारिक बैठक बसेको थियो । बैठकको एजेण्डा थियो, आफ्नो भागमा परेका विभाग र जनवर्गीय संगठनको इन्चार्जमा सहमति जुटाउने । तर, जनवर्गीय संगठनको इन्चार्ज अर्थात् व्यक्तिबारे छलफल चल्दै गर्दा अध्यक्ष ओली र नेता नेपालबीचमा विवाद भयो । सोही बिषयलाई लिएर केहीबेर बैठकमा चर्काचर्कीनै भयो । दुई नेता चर्काचर्की गर्दा अन्य नेता भने मौन बसेका थिए ।

बैठकमा सहभागि एक नेता भन्छन्, ‘पूर्व एमालेको भागमा परेका विभाग, जनवर्गीय संगठनको इन्चार्जबारे छलफल गर्न प्रधानमन्त्रीले वालुवाटार बोलाउनु भएको थियो । त्यही क्रममा जनवर्गीय संगठनको इन्चार्जलाई लिएर दुई कमरेडबीचमा कुरा मिलेन । केहीबेर चर्काचर्कीनै भयो र छलफल निष्कर्षविहीन बन्यो ।’

बैठक निष्कर्षविहीन बनेपछि प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग अब कसरी जाने भनेर छलफल गर्ने उनी निकट केही नेताहरुलाई बताएका थिए ।


प्रधानमन्त्रीको सोही निर्णय अनुसार बुधबार अध्यक्षद्वयबीचमा वालुवाटारमा छलफल भएको थियो । छलफल पछि बुधबार बस्ने भनेको सचिवालय बैठक बिहिबारका लागि सारिएको छ । यसैगरी आज नै(बुधबार) पूर्व एमालेका नेताहरुबीचमा फेरी छलफल हुने भएको छ ।

नेकपामा ३३ विभाग (नीति प्रतिष्ठान सहित) छन् । यस्तै २२ जनवर्गीय संगठनको इन्चार्ज पनि तोकिने छन् । जनवर्गीय संगठनका इन्चार्जमा पूर्व एमाले र पूर्व माओवादीबीच भागबन्डा भएको छ ।

यस्तै पूर्व एमालेको भागमा १८ (नीति प्रतिष्ठान सहित) र पूर्व माओवादीको भागमा १४ विभागको नेतृत्व गर्ने सहमति यसअघिनै भैसकेको छ ।

तर, स्कूल विभाग कस्को भागमा भन्नेबारे विवाद कायमै छ । १८ विभागको नेतृत्वबारे पूर्व एमालेका नेताबीचमा यसअघिनै करिव करिव सहमति भैसकेको छ ।

यस्तै नेकपामा स्कूल विभागबारे पनि विवाद कायमै छ । स्कूल विभाग कसले लिने भन्नेबारेमा अध्यक्षद्वयबीचमा समेत विवाद भएको छ । प्रधानमन्त्री ओली स्कूल विभाग नेता पोखरेललाई दिने अडानमा छन् भने प्रचण्ड नारायणकाजी श्रेष्ठको हकमा कुरा मिल्न नसके अध्यक्षद्वय मातहतमा राख्नुपर्ने अडानमा छन् ।

स्कूल विभागको जिम्मेवारी नेता पोखरेललाई दिने वा नदिने भन्नेबारे पूर्व एमालेका नेताहरुबीचमै पनि विवाद छ । वरिष्ठ नेताद्वय नेपाल, झलनाथ खनाल स्कूल विभाग नेता पोखरेललाई दिन नहुने पक्षमा छन् । तर, प्रधानमन्त्री ओली, महासचिव विष्णु पौडेल नेता पोखरेललाई विभागको प्रमुख दिनुपर्ने अडानमा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप