१७ परिवार डेढ महिनादेखि टहरामा, दैनिकी कष्टकर
-रवीन्द्र काफ्ले
पाँचथर । ८४ वर्षीय नरबहादुर राई राम्रोसँग देख्न र सुन्न सक्दैनन् । तर असार १० गते राती अकस्मात जमिन हल्लिएको थाहा पाए । छोरा बुहारीले अत्तालिँदै उनलाई घर बाहिर निकाले । बोक्दै घिसार्दै माथि डाँडासम्म पु¥याए । डेढ महिनादेखि त्यही डाँडामा त्रीपालमुनि राईले दिन काटिरहेका छन् ।
बुहारी जसमाया ससुरा नरबहादुर विरामी परिरहेका कारण त्रीपालमुनिको दैनिकी अत्यन्तै कष्टकर भएको बताउँछिन् । ‘विरामी भएर फत्रक–फत्रक हुनुहुन्छ । जंगलको वीचमा बस्नु परेको छ,’ जसमायाले भनिन्, ‘घर फर्किएर बस्न सक्ने अवस्था छैन । हामीलाई सरकारले जहाँ लैजान्छ, त्यहीँ जान्छौँ ।’ बारी र गोठ बगाएको तथा घरलाई पहिरोले घेरेका कारण घर फर्किन सक्ने अवस्था नरहेको जसमायाको भनाई छ ।
एक हप्ताअघि सदरमुकाम फिदिममा उपचार गराएर घर फर्किएकी पदममाया राईको घर गोठ सबै पहिरोले बगायो । पत्थरिया र सुगर रोगका कारण विरामी उहाँ डेढ महिनादेखि त्रीपालमुनि बस्नुपर्दा आफूलाई स्वास्थ्य समस्याले सताएको वताउँछिन् ।
‘रोगी छु । त्यहीँमाथि चिसोमा जंगलको वीचमा कष्टकर जीवन विताउनु परेको छ,’ पदममायाले भनिन्, ‘हामीलाई सरकारले जहाँ लगेर भएपनि राखिदेओस् । हामी यहाँ बसिरहन सक्दैनौँ । घर फर्किने अवस्था पनि छैन ।’
जसमाया र पदममाया जस्तै पाँचथरको याङवरक गाँउपालिका वडा नं. २ फलैंचाको चिङ्मा र सेपी बस्तीका १७ परिवारका ४१ जना अहिले कष्टकर दैनिकी गुजार्न बाध्य छन । गत असार १० गते राती गएको पहिरोका कारण घरमा बस्न सक्ने अवस्था नभएपछि उनीहरु चिङ्मा बस्तीभन्दा माथि जंगलको वीचमा रहेको समथर ठाँउमा त्रीपालमुनि बसोबास गर्दै आएका छन् ।
जिल्लाकै दुर्गम मानिएको यो वस्तीमा जताततै पहिरो गएपछि स्थानीयले घर छोडेका हुन । विस्थापित भई टहरामा बस्दै आएका चन्द्रबहादुर राई अब कहाँ जाने ? के पेशा ब्यवसाय गरेर परिवार पाल्ने भन्ने चिन्तामा रहेको बताउँछन् । ‘अलिअलि भएको बारी र अलैंची बगान पहिरोले बगायो । घर फर्कौँ ठूलो पानी पर्दा पहिरो बग्न थालिहाल्छ । अन्यत्र कहाँ गएर बस्ने ?’ चन्द्रबहादुरले भने ।
पहिरोबाट विस्थापित भएका १७ परिवार नेपाल रेडक्रस सोसाइटी र याङवरक गाँउपालिकाले उपलब्ध गराएको त्रीपालमुनि बसिरहेका छन । ‘४५ दिन वित्यो । दिनँहुजसो पानी पर्छ । राहत र घरको अन्नपात तथा सम्पत्तिले तेल चामल किनेर खादैछौँ । थाहा छैन कति दिन यसरी विताउनुपर्ने हो ?’ आगामी दिन अनिश्चित देखेपछि निराशा ब्यक्त गर्दै विस्थापित धनमाया राईले भनिन् ।
उक्त स्थानमा बसिरहन समस्या रहेको, तर तत्कालै अन्यत्र सार्न सकिने अवस्था समेत नहुँदा आफूहरुले स्थानीयलाई आश्वस्त पार्न समेत नसकेको याङवरक गाँउपालिका वडा नं. २ का वडा सदस्य प्रेमकुमार राईको भनाई छ । ‘तत्कालै अन्यत्र सार्न सकिने अवस्था छैन । यहाँ रहिरहँदा झनै समस्या आउँछ । हिँउद लाग्दैछ । चिसो बढिरहेको छ,’ वडा सदस्य राईले भने, ‘त्रीपालमुनि बच्चा र वृद्धवृद्धालाई राख्दा अझै समस्या बढ्ला भन्ने पीर छ ।’
पुस्तौँदेखि सोही स्थानमा बसोबास गर्दै आएका वयोवृद्ध नरबहादुर राई बुढेसकालमा घरै नरहला भन्ने नसकेको वताउँछन् । ‘८४ वर्षको भएँ । तर यसरी विपत् आइपर्ला भन्ने सोचेको थिइन् । अब सरकारले हेर्ला कि ?’ वयोवृद्ध नरबहादुरले भने ।
चिङ्माबाट पहिरो छिचोलेर बालबालिका पठन–पाठनका लागि नारायणी माध्यमिक विद्यालय वेतेनी आउनुपर्छ । कक्षा तीनसम्म बढाई हुने चिङ्मामा रहेको कृष्ण आधारभूत विद्यालयको खेलमैदान पहिरोले पुरेको छ । पानी नपरेको दिन बच्चाहरुलाई विद्यालय पठाउने गरेको पहिरोबाट विस्थापित धनमाया राईको भनाई छ ।
‘पानी प¥योभने यहीँ टहरामा राख्छौँ । पारी गाँउमा राख्ने ठाँउ हुँदा उतै पनि राख्छौँ,’ धनमाया राईले भनिन्, ‘नानीहरुलाई स्कुल पठाउन पनि आतेस् छ । साँझमा फर्किएर आइपुग्छन् कि आइपुग्दैनन् भनेर डराउनु परेको छ ।’
दुर्गम भेगको वस्ती पहिरोले छियाछिया हुँदा स्थानीयले ठूलो समस्या ब्यहोर्नु परिरहेको वडा सदस्य प्रेमकुमार राईको भनाई छ । समस्या समाधानका लागि गाँउपालिकामा कुरा उठाउनु वडाध्यक्षसहित आफूहरुको दैनिकी बनेको वडा सदस्य राई सुनाउँछन् । पहिरोबाट एक घरमा पूर्ण क्षति भएपनि अरु परिवार समेत गाँउमा बस्न सक्ने अवस्था नरहेको उनको भनाई छ ।
एकीकृत वस्तीका लागि थालियो पहल
याङवरक गाँउपालिकाका अध्यक्ष लेखनाथ घिमिरेले पहिरोबाट विस्थापित स्थानीयलाई एकीकृत वस्ती निर्माण गरी पुनस्र्थापना गर्ने योजना अघि सारिएको जानकारी दिए । अध्यक्ष घिमिरेका अनुसार गाँउपालिकाको वडा नं. १ का वडाध्यक्ष मोहनकुमार ढुङ्गेलको संयोजकत्वमा वडा नं. २ का वडाध्यक्ष देउकुमार योङहाङ र सीमा प्रशासन कार्यालयका प्रमुख विनोदकुमार चौहान सदस्य रहेको जग्गा खोजी समिति बनाइएको छ ।
समितिले वडा नं. १ को च्याङथापू बजारको ठीक माथि रहेको साँगाडाँडा वा वडा नं. २ को नारायणी माध्यमिक विद्यालय वेतेनीको माथिल्लो पट्टी रहेको खाली जग्गामा एकीकृत वस्ती निर्माणका लागि जग्गा लिन पहल थालेको छ ।
वडाध्यक्ष ढुङ्गेलले वेतेनीमा उपयुक्त जग्गा भेटिएको र जग्गाधनीसँग कुराकानी भइरहेको जानकारी दिए । ‘आधा जग्गा चलनचल्तीको मूल्यमा खरिद गर्ने र बाँकी जग्गा दान माग्ने प्रस्ताव अघि बढाएका छौँ,’ वडाध्यक्ष ढुङ्गेलले भने, ‘यहाँ वस्ती बसाउन सकियो भने चिङ्मामा जग्गा जमिन हुनेहरुलाई खेती लगाउन समेत नजिक पर्छ ।’
गाँउपालिका अध्यक्ष घिमिरेले वेतेनीमा १३ रोपनी जग्गा भेटिएको र सोही जग्गामा आकर्षक एकीकृत वस्ती निर्माणको प्रयत्न थालिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी जग्गा व्यक्तिको नाममा गर्ने अमिनविरुद्ध आरोपपत्र दायर
-
गाउँपालिका उपाध्यक्ष र तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
गर्मीमा चिसो पानी पिउनु स्वास्थ्यका लागि हानिकारक छ ?
-
क्रोएसियामा राजदूतावास स्थापनाको माग गर्दै परराष्ट्रमन्त्रीलाई ज्ञापन पत्र
-
एकल र साझा अधिकार सूचीमा रहेका कानुनहरू तीनै तहका सरकारले छिटो बनाउनुपर्छ : मन्त्री श्रेष्ठ
-
तस्बिरमा हेर्नुहोस् पूर्वाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोह