शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

शंकाको घेरामा कलङ्की गोलीकाण्ड : कसले चलायो एम–१६ वा इन्सास राइफलबाट गोली ?

गोली चलेकै हो कि नाटक गरेको ?
सोमबार, २७ साउन २०७६, ११ : ४५
सोमबार, २७ साउन २०७६

काठमाडौँ । गएको साउन १३ गते राती ९ बजेतिर कलङ्कीस्थित एकजना हाइड्रोपावर इञ्जिनियरको घरमा गोली चलेको समाचार भाइरल बन्यो ।

कलङ्कीस्थित इञ्जिनियर डा. विष्णु शर्माको घरमा गोली चलेको समाचार बाहिर आएपछि महानगरीय प्रहरी वृत्त टेकु, अपराध महाशाखा लगायतका प्रहरीले घटनाबारे अनुसन्धान सुरु गर्यो ।

इञ्जिनियर विष्णु शर्माको घरको माथिल्लो तलाको झ्याल फुटेको र जाली खापाबाट गोली भित्र छिरेको देखियो । प्रहरीले घटनास्थलबाट गोलीको खोकासमेत बरामद गर्यो ।

घटनामा पीडित भनिएको विष्णु शर्माको कुरा पत्याउने हो भने उनको घरको तेस्रो तल्लामा रहेको एउटा कोठालाई लक्षित गरेर गोली हानिएको थियो र गोली हान्नेको उद्धेश्य उनको वा परिवारको सदस्यको हत्या गर्नु नै थियो ।

शर्माका अनुसार जब उक्त कोठाको बत्ती बल्यो, त्यसको करिब ५ मिनेटमै गोली हानिएको थियो । गोली लागेपछि उनको झ्यालको सिसा फुट्यो भने जाली खापा बाङ्गिएर गोली भित्रसम्म पुग्यो ।

जुन दिन र समय गोली चल्यो, त्यतिबेला उक्त कोठामा उनकी कक्षा १२ मा अध्ययनरत छोरी मात्रै थिइन् ।

तर ‘भाग्य’ले साथ दिएकाले उनलाई केही भएन र प्रहरीलाई खबर गरियो ।

साउन १३ गते राती गोली चलेपछि साउन १४ गते प्रहरीले नजिकको घरहरुमा खानतलासी गर्यो । खानतलासीका क्रममा साउन १४ गते बिहान विष्णु शर्माकै छिमेकी शोभाकर खनाल पक्राउ परे ।

खानतलासीका क्रममा प्रहरीले खनालको घरबाट १२ बोर र २२ बोरको दुई थान राइफल बरामद गर्यो । राइफल बरामद भएसँगै घटनामा खनालकै संलग्नता हुन सक्ने भन्दै प्रहरीले उनलाई नियन्त्रणमा लियो ।

खनालको घरमा दुई थान राइफल भएपनि उक्त राइफल लाइसेन्स लिएर राखिएको थियो र त्यसमा लाग्ने स्वीकृतप्राप्त ५० थान गोली पनि प्रहरीले बरामद गरेको थियो । यद्यपि खनालले पनि आफ्नो घरमा बन्दुक भएपनि आफूले गोली नचलाएको जिकिर गरिरहे ।

प्रहरीले गोलीको खोका र बन्दुकसमेत प्रहरीको केन्द्रीय विधिविज्ञान प्रयोगशालामा पठायो ।

तर प्रयोगशालाले उक्त गोली यी दुई हतियारबाट नचलेको रिपोर्ट दियो । त्यसभन्दा बढी यी हतियार बिगत लामो समयदेखि नपढ्केको रिपोर्ट पनि सार्वजनिक भयो । विधिविज्ञान प्रयोगशालाले रिपोर्ट दिएलगत्तै शोभाकर खनाल हिरासतबाट छुटे ।

खनाल हिरासतबाट छुटेपछि पीडित भनिएका विष्णु शर्माले भने गोली शोभाकरले नै चलाएको भन्दै उनमाथि थप छानबिन हुनुपर्ने प्रस्ताव राखे । यद्यपि कुनै प्रमाण नपाएको प्रहरीले ‘बिनाकारण’ कुनै व्यक्तिलाई हिरासतमा राख्न नमिल्ने भन्दै निगरानीमा मात्रै राख्यो ।

गोली एम–१६ वा इन्सासको भएको पुष्टि

विष्णु शर्माको घरमा भेटिएको गोली शोभाकरको घरमा भेटिएको राइफलको नभएको पुष्टि भएपनि कुन राइफलबाट चलेको हो भन्ने पुष्टि भएको थिएन । तर केही दिनअघि मात्रै प्रहरीको केन्द्रीय विधिविज्ञान प्रयोगशालाले शर्माको घरमा भेटिएको गोली एम सिक्सिटिन वा इन्सास राइफलबाट चलेको रिपोर्ट दियो ।

प्रहरीको विधिविज्ञान प्रयोगशालाको रिपोर्टअनुसार विष्णुको घरमा भेटिएको गोली ५ दशमलब ५६ एमएमको गोली हो । उक्त गोली एम–१६ वा इन्सास हतियारमा मात्रै लाग्छ ।

यी दुई हतियारमध्ये एम १६ राइफल नेपाली सेनाले मात्रे प्रयोग गर्दै आइरहेको छ भने इन्सास राइफल भने सेना, सशस्त्र प्रहरी र जनपद प्रहरीसँग पनि रहेको छ । यस्तै केही थान यस्ता हतियार विप्लव नेतृत्वको नेकपासँग पनि भएको प्रहरीको दाबी छ ।

यद्यपि यो घटनामा विप्लव समूहको कुनै संलग्नता नभएको प्रहरीको दाबी छ । किनभने कुनै व्यक्ति विशेषको घरमा गोली हान्न विप्लव समूहले यस्तो अत्याधुनिक हतियार बोकेर नआउने अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले रातोपाटीलाई बताए ।

सुरक्षा फौजसँग मात्रै हुने हतियारबाट कसले चलायो गोली ?

विष्णु शर्माको घरमा भेटिएको गोलीको खोकाको ल्याब रिपोर्टले उक्त गोली एम सिक्सटिन ९ः ज्ञट० वा इन्सास राइफलबाट चलेको पुष्टि भएको छ । नेपालमा एम सिक्सिटिन हतियार नेपाली सेनासँग मात्रै रहेको छ भने इन्सास राइफल भने सशस्त्र प्रहरी वा जनपद प्रहरीसँग पनि रहेको छ ।

प्रहरीको निष्कर्षचाहिँ यो गोली एम सिक्सिटिन राइफलबाटै चलेको भन्ने छ । के त्यसो भए विष्णु शर्माको घरमा सेनाले नै गोली चलाएको हो त ?

विष्णुको घरमा सेनाले गोली चलाउनुपर्ने कुनै कारण छैन । न त शर्माको घर वरिपरि सेनाको कुनै ब्यारेक वा गतिविधि हुने स्थान नै छ । त्यसकारण उक्त गोली सेनाबाट चलेको होइन भन्नेमा प्रहरी पुगेको छ ।

फेरि सेनाले नचलाएको भए यो गोली कसले किन चलायो त भन्ने सवाल पनि उठेको छ । सशस्त्र वा जनपद प्रहरीले पनि अहिले इन्सास हतियार बोकेरै फिल्डमा हिँडेको देख्न मुश्किल नै पर्छ । त्यसकारण सुरक्षाफौजले नै गोली चलाएको हो भन्ने प्रमाण वा आशंका प्रहरीसँग छैन ।

एम १६ को गोली ३ किलोमिटर टाढा पुग्न सक्छ

विष्णुको घरमा भेटिएको गोलीको खोका यदि एम १६ हतियारबाटै चलेको हो भने यो गोलीको फायर रेञ्ज (गोली पुग्ने क्षमता) ३ हजार ६ सय मिटर अर्थात् ३ दशमलब ६ किलोमिटर टाढासम्म पुग्न सक्छ ।

यदि यो गोली इन्सास राइफलबाट चलेको हो भनेपनि यो राइफलबाट गोली चल्दा कम्तिमा पनि ४ सय मिटर टाढासम्म पूर्ण क्षति पुराउन सक्छ । यो गोलीको क्षमता ७ सय मिटरसमम रहेपनि ४ सय मिटरसम्म यसले पूर्ण क्षति पुराउन सक्छ ।

आरोपितको घरबाट पीडितको घरको दुरी जम्मा ४० मिटर

अहिले पीडित भनिएका विष्णु शर्माले आरोप लगाएका व्यक्ति शोभाकर खनालको घरको दुरी जम्मा ४० मिटरको छ । विष्णुको घरमा गोली हानेको भनेको वा गोली लागेको ‘एङ्गल’ हेर्दा उक्त गोली शोभाकरकै घरको तेस्रो तल्लाको किचनको झ्यालबाट चलेको जस्तो देखिन्छ । तर यदि उक्त गोली शोभाकरकै घरबाट चलेको हो भने झ्यालको सीसा मात्रै फोर्दैन, जाली खापा र कम्तीमा एउटा भित्तो पुरै छेड्न सक्छ । तर झ्यालको सिसा फोडेर गोली बांगिएर जाली खापाबाट भित्र मात्रै छिर्नुले गोली शोभाकरकै घरको झ्यालबाट हानेको पुष्टि हुने कुनै आधार छैन ।

शोभाकरको घरमा बन्दुक रहेको कुरा विष्णुलाई थाहा थियो

त्यसो त गोली चलेको भन्दै विष्णुले प्रहरीलाई खबर गरेलगत्तै पुगेको प्रहरीलाई विष्णुले शोभाकरले नै गोली चलाएको आरोप लगाएका थिए । राती ११ बजे शोभाकरको घरमा प्रहरी पुगेपनि मध्यरातमा शोभाकरको परिवारले उनीहरुहरुलाई भित्र छिर्न दिएनन् । विष्णुले भने शोभाकरको घरमा बन्दुक रहेको र तिनले नै गोली चलाएको आरोप लगाएका थिए । भोलिपल्ट बिहान खानतलासी गर्दा शोभाकरको घरमा दुई थान बन्दुक पनि भेटिएको थियो ।

विष्णु र शोभाकरबीच विवाद थियो

खासमा गोली प्रकरणमा विष्णुले शोभारकरलाई नै आरोप लगाउनुको कारण विष्णु र शोभाकरबीच जग्गाको विवाद थियो । शोभाकरले जग्गा किन्दा विष्णुलाई थाहा नै नदिई विष्णुको घरसँगैको जग्गा किनेका थिए भने शोभाकरले विष्णुकै जग्गा मुनीबाट ढलको निकास पनि लगेका थिए । यही विषयमा उनीहरुबीच लामो समयदेखि विवाद बढिरहेको थियो ।

गोली चलेको कसैले सुनेनन्

विष्णुको घरमा गोलीको खोका नै भेटिएपछि प्रहरीले नजिकका विभिन्न व्यक्तिसँग सोधपुछसमेत गरेको थियो । तर सोधपुछका क्रममा कसैले पनि गोली चलेको आवज सुनेको बयान दिएनन् । यतिसम्म कि प्रहरीलाई दिएको बयानमा स्वयम् विष्णुप्रसाद शर्माले पनि गोली चलेको आवाज नसुनेके प्रतिक्रिया दिएका छन् । न कोठामा रहेकी उनकी छोरीले गोली चलेको आवाज सुनेको बारे बताइन् । यति यति ठूलो हतियारबाट ‘चलेको’ गोलीको आवाज किन कसैले सुनेनन् भन्ने सवाल पनि यतिबेला उठिरहेको छ ।

साँच्चै गोली चलेको हो कि नाटक मात्रै ?

प्रहरीको अध्ययन र अनुसन्धानले त्यहाँ गोली चलेको कुनै प्रमाण भेटिएको छैन । तर विष्णुको घरको सिसा फुटेको छ भने जाली भखापामा पनि प्वाल परेको छ । तर गोलीले जति दुरी कायम गर्नुपर्ने हो त्यति दुरी कायम गर्न सकेको छैन ।

विष्णुमाथि कुनै व्यक्ति विशेषले गोली नै हान्न सक्ने त्यस्तो कुनै डर, त्रास, धम्की वा कारण पनि छैन । त्यसकारण पनि कलङ्की गोली प्रकरणले प्रहरीलाई हैरानी मात्रै दिएको छ ।

यतिबेला प्रहरीले नयाँ ढङ्गले अनुसन्धान सुरु गरेको छ । खासमा उक्त गोली चलेको नभई कतै कसैले ल्याएर नियतवश राखेको त होइन ? कसैलाई फसाउन र दुःख दिनकै लागि कसैले यो नाटक गरिरहेको त छैन ? होइन भने प्रहरीले यति धेरै मिहिनेत गर्दा पनि किन अपराधी पत्ता लाग्न सकिरहेको छैन त ?

यस विषयमा कुरा गर्दा महानगरीय प्रहरी वृत्त कालिमाटीका प्रमुख डिएसपी देवेन्द्र बहादुर पाल भने यस विषयमा अनुसन्धान भइरहेको बताउँछन् । यद्यपि गोलीको खोकाको परीक्षण गर्दा बरामद गरिएको हतियारबाट नचलेको पुष्टि भएको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप