सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

भारतीय विदेशमन्त्री जयशंकर नेपाल आउँदै, यस्तो छ कार्यक्रम तालिका

शनिबार, २५ साउन २०७६, १९ : ०३
शनिबार, २५ साउन २०७६

काठमाडौँ । भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल आउने भएका छन् । उनी भदौ ४  गते विहान एयर इण्डियाबाट नेपाल आउन लागेका हुन् । 

नेपाल–भारत संयुक्त आयोगको बैठकमा भाग लिन आउन लागेका मन्त्री जयशंकर नेपालमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरालाई छुट्टाछुट्टै भेट्ने कार्यक्रम रहेको छ । 
भदौ ४ गते आयोगको बैठकपछि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मन्त्री जयशंकरलाई दिवा भोज दिनेछन् । त्यसपछि विदेशमन्त्रीले उच्चस्तरीय भेटघाट गर्ने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।  

नेपालस्थित भारतीय दुतावासले सोहीदिन रात्री भोज दिनेछ । जसमा प्रमुख राजनीतिक दलका शीर्षस्थ नेतालाई बोलाएको छ । त्यहाँ सामूहिक तथा एक्लाएक्लै भेटघाट हुने बताइएको छ । उनी भदौ ५ गते विहानै भारत फर्किने कार्यक्रम रहेको भारतीय दूतावास स्रोतले जनाएको छ । 

एस जयशंकर विदेशमन्त्री भएलगत्तै नेपाल भ्रमणमा आउने कार्यक्रम भएपनि नेपालमा तरकारीमा विषादी परीक्षण, आइफा अवार्ड र क्लिन फिडलगायतको विवाद चलिरहेको कारण कार्यक्रम रद्ध गरेको थियो । 

भारतीय रअ का प्रमुख सामन्त गोयल नेपाल आएर फर्केपछि भारतका लागि नेपाली राजदूत निलम्बन आचार्यले विदेश मन्त्री जयशंकरलाई भेटेका थिए । राजदूत आचार्यले भेटेपछि विदेशमन्त्री जयशंकरको नेपाल आउने तय भएको हो । 

संविधान निर्माणको बेला विदेश सचिवको रुपमा नेपाल आएर एस जयशंकरले शीर्षस्थ नेतालाई भेटेर संविधान निर्माण कार्य केही दिनलाई स्थगित गरी सबैको सहमतिमा निर्माण गर्न सुझाव दिएका थिए । 

उनको सुझावलाई स्वीकार गर्दै दुई दिनका लागि संविधान निर्माणका कार्यलाई स्थगित गर्दै आन्दोलनकारी पक्षलाई वार्ताका लागि आह्वान गरेका थिए । तर, त्यो दुई दिनमा एकपटक पनि वार्ता भएन । 

खाली हात भारत फर्केका जयशंकरका कारण नेपालमाथि नाकाबन्दी लागेको चर्चा यहाँ चलेको थियो । त्यसले गर्दा पनि नेपाली जनता जयशंकरप्रति सकारात्मक देखिएनन् । 

यद्यपी अहिले परस्थिति फेरिएको छ । दुई देशबीचमा सम्बन्ध सुधार भएको छ । एक अर्काको देशमा उच्चस्तरीय भ्रमणहरु भएको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप