बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कविता : हामी बेवकुफ

शनिबार, २५ साउन २०७६, १२ : ३४
शनिबार, २५ साउन २०७६

गुलेली कोसैले उठाइरहेछ

बेहिसाब

हामीलाई च्यापिरहेछ

कोसैलाई आघात पुर्याउन

हावामा हामीलाई हुर्याइरहेछ

जरुर

कोसैको स्वार्थ पूर्तिका निम्ति

कोसैलाई नोक्सान पुर्याउन

माध्यम बनाइएका

हामी मट्याङ्ग्राहरु हौँ

हामी बेवकुफहरु हौँ ।

हामी

कोसैको चाप्लुसीको साधन

चम्चाहरु हौँ

हामी कोसैको मनोरञ्जनको साधन

गुच्चाहरु हौँ

हामी कोसैलाई कोसैले कसरी हेर्छ ?

हेर्ने साधन चस्माहरु हौँ,

हामी साधनभन्दा बढ्ता केही होइनौँ

अझ

अस्थायी परिवार नियोजनको साधन

जो एकचोटि प्रयोग हुन्छ

र फालिन्छ डस्टबिनमा लगेर ।

झुटको स्वाभिमान ढाकाटोपीलाई

सगरमाथा सम्झेर

सधैँ अभिमान फहराउने

हामी बोक्रे भलादमीहरु हौँ,

आशङ्काको गहिरो कपमा भरिएको

खाउ खाउ लाग्ने चिया देखेर

वरिपरि घुम्ने

घुम्दा घुम्दै त्यही चियामा परेर

अझ डुबेर मर्ने

हामी जाबो माखाहरु हौँ

हामी बेवकुफहरु हौँ

धेरै देख्यौँ हामीले

सधैँ भरी मुठ्ठीभरका सात आठ जना

नेताहरु सत्ताको वरिपरि घुमेको,

उत्पीडित शोषित सर्वहराको

खोल ओढेको,

पद र शक्तिका नाममा नैतिकता

छाडी लडेको,

सङ्गठनका अक्षेता अर्पिएर

बेथितिको डम्फु बजेको

जताततै राजनीतिक

भागबन्डा बढेको,

कोसैको गल्ती र सीमित स्वार्थले

देश बन्धक बनेको,

हो देखिरह्यौँ

भ्रष्ट, दलाल, सत्ता लिप्साहरु

एक हुँदै हँुदै गएको

तर पनि हामी कहिल्यै

एक हुन सकेनौँ,

अन्धाले हात्ती छामे जस्तै

छामी रह्यौं अनेक व्यवस्थालाई

र बेहिसाब रुमल्लिरह्यौँ

आरोप प्रत्यारोपमा,

चाहिने काममा समेत

एक हुन नसक्ने

हामी बुज्रुकहरु हौँ

हामी बेवकुफहरु हौं ।

हिँड्नेहरु हिँडिरहे

भ्रष्टाचार गर्दागर्दै

थाकेर हिँडे

पाकेर हिँडे

झोलामा देश र

खल्तीमा मन्त्री राखेर हिँडे,

पाइलै पिच्छे

पैसा छापेर हिँडे,

तर आफ्नो आम्दानीले

किनेको चुरोट सल्काउन

तिनैको लाइटर सापटी माग्ने

हामी बेवकुफहरु हौँ,

तिनैले पिलाएको प्रलोभनको

रक्सीमा मातेर

आफ्नै मित्रलाई गाली गर्ने

हामी बेवकुफहरु हौँ,

हामी कर्मकाण्डीहरु हौँ

हामी पुरातनवादीहरु हौँ

हिजोको छातालाई

आजको प्यारासुट सम्झिएर

बेहिसाब भञ्ज्याङमा हम्फाल्नेहरु हौँ

जरुर

एकलाई मन पराएर

प्रेम प्रस्ताव अर्कैलाई राख्ने

हामी धोकेबाजहरु हौँ

मन एकलाई पराएर

भोट अर्कैलाई हाल्ने

हामी निकम्माहरु हौँ

हामी बेकम्माहरु हौँ

हामी आजका जनताहरु हौं

हामी बेवकुफहरु हौँ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. अच्युतशाली घिमिरे
डा. अच्युतशाली घिमिरे
लेखकबाट थप