शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जुनेदको हत्यापछि यसरी खुल्यो सरकारी जग्गा किर्तेको पोल

सरकारी जग्गा किर्ते गरी व्यक्तिका नाममा पुराउने उपसचिवसहित २३ जना थुनामा
शुक्रबार, २४ साउन २०७६, ०९ : ५५
शुक्रबार, २४ साउन २०७६

मदन ढुङ्गाना/सुजन पन्त

सरकारी कागजात किर्ते गरी सरकारी जग्गा व्यक्तिको नाममा पुर्याएको अभियोगमा थप ४ जना सरकारी अधिकृत पुर्पक्षका लागि जेल चलान भएका छन् ।

जिल्ला अदालत बाँकेमा बिहीबार भएको थुनछेक बहसपछि जिल्ला मालपोत कार्यालय बाँकेका तत्कालीन प्रमुख मालपोत अधिकृत दीर्घराज पोखरेलसहित अन्य ३ जना अधिकृतलाई पनि पुर्पक्षका लागि थुनामा पठाएको हो । तत्कालीन प्रमुख मालपोत अधिकृतसहित थुनामा पुग्ने अन्य मालपोत अधिकृतहरुमा हेमराज शर्मा, कृष्णप्रसाद ज्ञवाली र अशोककुमार भट्टराई रहेका छन् ।

मङ्गलबार विशेष अदालत परिसरबाट पक्राउ परेका ७ जना कर्मचारीमध्ये नायब सुब्बा रविन्द्र थापा, खरिदार किशोरकुमार रिजाल र कार्यालय सहयोगी सूर्यप्रसाद उपाध्याय भने जनही १ लाख धरौटीमा रिहा भएका छन् । योसँगै अपहरण गरी कर्तव्य ज्यान तथा सरकारी कागजात किर्ते मुद्दामा हालसम्म जिल्ला हदालत बाँकेले २३ जनालाई पुर्पक्षका लागि थुनामा पठाएको छ भने ६ जना धरौटीमा रिहा भएका छन् । सरकारी कागजात किर्तेमा मुख्य जिम्मेवार भनिएका खरिदार कुलानन्द राउत भने अझै फरार रहेका छन् ।

सरकारी जग्गाको श्रेष्ता र मोठ नै परिवर्तन गरी सरकारी जग्गा व्यक्तिको नाममा पुर्याई राज्यलाई हानी नोक्सानी पुराएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गएको जेठ ३० गते बिहिबार २८ जना सरकारी कर्मचारी तथा मतियारविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको थियो ।

त्यसैगरी जिल्ला अदालत बाँकेमा पनि यी कर्मचारीहरु विरुद्ध सरकारी कागजात किर्तेको मुद्दा चलिरहेको थियो ।


जिल्लामा उपस्थित नभएपछि उनीहरुविरुद्ध पक्राउ पुर्जीसमेत जारी भएको जिल्ला अदालत बाँकेले जनाएको छ ।

तर मङ्गलबार विशेष अदालत काठमाडौँमा तारेख बुझ्न आएका ७ जनालाई जिल्ला प्रहरी कार्यालय बाँकेर अपराध महाशाखाको संयुक्त टोलीले नियन्त्रणमा लिएको थियो ।

बिहीबार जिल्ला अदालत बाँकेमा भएको थुनछेक बहसमा उपसचिव दीर्घबहादुर पोखरेल, अधिकृतहरु हेमराज शर्मा, कृष्णप्रसाद ज्ञवाली र अशोककुमार भट्टराई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । यसअघि नै यही मुद्दामा १९ जना कर्मचारी तथा सहयोगी पुर्पक्षका लागि थुनामा रहेका छन् भने ३ जना धरौटीमा रिहा भएका थिए ।

जिल्ला अदालत बाँकेले यसअघि नै १९ जना सरकारी कर्मचारी तथा दलालहरुलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । जिल्ला अदालत बाँकेले बाँकेका मालपोत अधिकृत पुष्पा श्रेष्ठ, नायव सुब्बाहरु रुद्र बहादुर देवकोटा, टंकप्रसाद शर्मा, राम बहादुर खड्का र मान बहादुर केसी, कम्प्यूटर अपरेटर यज्ञश्वर वली, खरिदार सुशील रिजाल र कार्यालय सहयोगी अन्तराम चौधरीलाई पुर्पक्षका लागि थुनामा राखेको थियो ।

त्यसैगरी जिल्ला अदालत बाँकेले बर्दियाका तत्कालीन प्रमुख मालपोत अधिकृत कृष्ण प्रसाद ज्ञवाली, मालपोत अधिकृत राम कुमार रोका, नायव सुब्बाहरु कृष्णलाल शर्मा, खरिदारहरु भुमिराज पोखरेल, किशोर कुमार रिजाल, कम्प्यूटर अपरेटर (करार) लक्ष्मी मल्ललाई पुर्पक्षका लागि थुनामा राखेको थियो ।

सरकारी जग्गा किर्ते गरी व्यक्तिको नाममा बनाउनेमा कौशल भन्ने खैरूल हसन अन्सारी, हसरतुन निसा अन्सारी, लाली मल्ल, बिरू भन्ने बृहस्पति खड्का र पप्पु धोवीलाई समेत जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राखेको थियो ।

यसरी गरियो सरकारी कागजात किर्ते

बाँके र बर्दिया जिल्लाका विभिन्न स्थानमा रहेका जग्गाहरु लेखापढी सहयोगीको सहायतमा खरिदार कुलानन्द राउतको प्रमुख संलग्नतामा व्यक्तिको नाममा नामसारी गरिएको थियो ।

खरिदार कुलानन्द राउतले मालपोत कार्यालयमा रहेको श्रेष्ता र मोठ नै होटलमा लगि पाना च्यातेर नयाँ पानामा नयाँ जग्गाधनी खडा गरी टाँस्ने गरेका थिए । तर उक्त जग्गाकाण्डका एक व्यक्ति जुनेद अन्सारीको हत्या भएपछि मात्रै सरकारी जग्गा किर्तेको पर्दाफास भएको थियो ।

*****

जुनेदको हत्या कसले र किन गर्यो भन्दै प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गर्दा सरकारी जग्गा किर्ते घटनासँग जुनेदको हत्या जोडिएको पत्ता लागेको प्रहरीको भनाई छ ।

*****

 

यसरी भयो जुनेदको हत्या र सरकारी कागजात किर्तेको पर्दाफास

भारत उत्तर प्रदेश घर भई नेपालगञ्ज–१६ जयसपुरमा डेरा गरि बस्ने जुनेद अन्सारी २०७५ माघ २१ गते साँझबाट बेपत्ता भए । बेपत्ता भएसँगै जुनेदको परिवारले खोजीकार्य सुरु गर्यो ।

प्रहरीले पनि जुनेदको खोजी जारी नै राख्यो । तर करिब एक सातासम्म पनि जुनेदबारे कुनै जानकारी आउन सकेन । यसबीचमा जुनेदको अन्तिम कुराकानी जुनेदकै विजनेश पार्टनर खैरुल हसन अन्सारीसँग भएको कल डिटेल्स रिपोर्ट (सिडिआर)मा देखियो । यद्यपि खैरुलले पनि जुनेदबारे आफूलाई कुनै जानकारी नभएको र आफूले पनि जुनेदलाई खोजिरहेको बतायो । खैरुल नियमित जसो प्रहरी कार्यालयमा गएर जुनेदबारे जानकारी लिइरहन्थे ।

यता भारतीय प्रहरीले माघ २२ गते नै उत्तर प्रदेशको बहराइच जिल्लाको नबावगञ्जमा एक युवाको शव एउटा हात र एउटा गोडा काटी पेट्रोल छर्केर आगो लगाएको अवस्थामा भेट्टाइसकेको थियो । यद्यपि नेपाल प्रहरी भने यस विषयमा अन्जान नै थियो ।

शवबारे भारतमा कुनै सूचना नआएपछि भारतीय प्रहरीले नेपाल प्रहरीसँग समन्वय गर्यो ।

नेपाल प्रहरीले शवबारे बुझ्दा थाहा भयो उक्त शव हराइरहेका जुनेद अन्सारीकै थियो । उनकी श्रीमतीले आफ्नो पतिको शव पहिचान गरिन् । माघको २७ गते बल्ल जुनेदको अपहरणपछि हत्या भएको पुष्टी भयो ।  

वेपत्ता भएका जुदेनको अपहरणपछि हत्या कसले किन गर्यो ? भन्ने विषयमा प्रहरीले विभन्न कोणबाट अनुसन्धान थाल्यो । जुनेदको अपहरणपछि हत्या भएको भन्दै जिल्ला प्रहरी कार्यालय बाँकेले अनुसन्धान थालेको थियो ।

जुनेदको हत्यापछि मात्रै सरकारी जग्गा किर्तेको घटना बाहिर आयो

जुनेदको हत्या कसले र किन गर्यो भन्दै प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गर्दा सरकारी जग्गा किर्ते घटनासँग जुनेदको हत्या जोडिएको पत्ता लागेको प्रहरीको भनाई छ ।

खैरुल हसन अन्सारी र जुनेद अन्सारी जग्गा दलालीको पार्टनर थिए । उनीहरु जग्गा किनबेच गरी नाफा कमाउने गर्दथे । मालपोत कार्यालयका कर्मचारीसँग पनि उनीहरुको राम्रो सम्बन्ध थियो ।

मालपोतका कर्मचारीहरुलाई पैसा दिएर मालपोतको सक्कली मोठहरु समेत उनीहरुले निकाल्ने गरेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ । मालपोत कार्यालयबाट निकालेको मोठ सिधै कुनै होटलमा लगेर जति सरकारी जग्गा देखिएको हुन्छ तिनको पाना च्यात्दै आफन्तका नाममा नक्कली जग्गाधनी प्रमाणपत्र र श्रेष्ता तथा मोठ बनाउने गरेको प्रहरीको अनुसन्धानले देखायो ।

जुनेद हत्याको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतका अनुसार उनीहरुले फोटो टाँसेर कागजमा लेख्नुपर्ने जति सबै लेखेर त्यो मोठमा आफ्नो आफन्तको नाम राख्ने गर्दथे ।

कहाँ–कहाँको जग्गा आफन्तको नाममा पुर्याए ?

सरकारी कागज किर्ते कसरी भयो भन्ने कुरामा फरेन्सिक रिपोर्ट नै आइसकेको छ । २०२४ सालमा तयार भएको मोठमा भएका अक्षर खैरुल हसन अन्सारी अन्सारीको अक्षरसँग मिल्छ भनेर ल्याब रिपोर्ट आइसकेको प्रहरी बताउँछ ।

बाँकेको साविकको कारकाँदो वडा नं. ७ को कित्ता नं. २१० को ५ कठ्ठा १३ धुर, सिक्टा सिँचाई आयोजनाको कम्पाउण्ड भित्रको जग्गा समेत ९ महिना पहिलेनै खैरूलले सरकारी जग्गा किर्ते गरि आफ्नी आमा हसरतुन निसा अन्सारीको नाममा जग्गा धनी श्रेस्ता कायम गरिसकेको खुल्न आयो ।

त्यसैगरी खैरुलले आफ्नी आमाको नाममा बर्दियाको न्युलापुरको साविक वडा नम्बर ७ क को कित्ता नम्बर १९१, ९ ख को कित्ता न्म्बर ६,७,८, ५१, ६१ र ६३ पनि आफ्नै आमाको नाममा ल्याएको पाइयो ।

यता नेपालगञ्जको कित्ता नम्बर १४ को जग्गा भने भारतीय नागरिक जुनेद अन्सारीको सासु लाली मल्लको नाममा ल्याइएको थियो ।

त्यस्तै नेपालगञ्जको हनुमान गौशालाको ५ कठ्ठा जग्गा पनि खैरुलले आफ्नी आमाको नाममा पास गरेको भेटियो । 

खैरुल हसन अन्सारीले नेपाल सरकारको नाममा भएको जग्गा सरकारी कर्मचारीहरुको मिलेमतोमा आफ्नो आमाको फोटो टाँसेर नक्कली श्रेष्ता कायम गर्ने गरेको अनुसन्धानमा संलग्न ती प्रहरी अधिकृत बताउँछन् ।

खैरुल तथा जुनेदले बाँके तथा बर्दियाका सरकारी कर्मचारीसँग मिलेमतो गरी उक्त सरकारी जग्गाजमिन व्यक्तिको नाममा ल्याएका थिए ।

तर जग्गामा कुरा नमिलेपछि नामसारी भएको करिब १ वर्षपछि नै खैरुल र जुनेदबीच विवाद सुरु भयो ।

*****

हत्यापछि प्रहरीले जुनेदको मोबाइलको कल डिटेल्स रिपोर्ट अर्थात् सिडिआर हेरेको थियो । सिडिआर रिपोर्टमा जुनेदको अन्तिम सम्वाद र लोकेशन नेपालगन्जको चारबाहिनी चोक देखाएको थियो । त्यसपछि जुनेदको मोबाइलको स्वीच अफ भएको अनुसन्धानमा संलग्न एक अधिकारी बताउँछन् । त्यो समयमा खैरुलको मोबाइल पनि त्यहीँ नै रहेको देखाएको थियो ।

*****

कुरा नमिलेपछि...

आर्थिक लेनदेन तथा जग्गाको स्वामित्वका विषयमा कुरा नमिलेपछि खैरुल हसन अन्सारीले रातारात जुनेदको अपहरण गरेर हत्या गर्ने योजना बनाउँछन् ।

माघको तेस्रो साता खैरुलले नेपालका ३ जना र भारतका २ जना व्यक्तिहरुलाई विभिन्न प्रलोभनमा पारेर ७ लाख खर्च गरेर जुनेदको अपहरणपछि हत्या गर्ने योजना बनाए । ती अपहरणकारीसँग मिलेर खैरुलले नेपालगञ्जको चार बाहिनी चोकबाट माघ २१ गते साँझ जुनेदलाई बोलाएर अपहरण गरेका थिए । खैरूलले फोन गरेर जुनेदलाई डाकी अपहरणपछि भारतको नबावगञ्ज लगेर हत्या गरेका थिए । जुनेदको एउटा हात र एउटा गोडा काटी पछि पेट्रोल छर्केर आगो लगाएर हत्या गरेका थिए ।

यसरी समातियो हत्यारा

हत्यापछि प्रहरीले जुनेदको मोबाइलको कल डिटेल्स रिपोर्ट अर्थात् सिडिआर हेरेको थियो । सिडिआर रिपोर्टमा जुनेदको अन्तिम सम्वाद र लोकेशन नेपालगन्जको चारबाहिनी चोक देखाएको थियो । त्यसपछि जुनेदको मोबाइलको स्वीच अफ भएको अनुसन्धानमा संलग्न एक अधिकारी बताउँछन् । त्यो समयमा खैरुलको मोबाइल पनि त्यहीँ नै रहेको देखाएको थियो ।

जुनेदको मोबाइल स्वीच अफ हुनुभन्दा अगाडि खैरुल हसन अन्सारीले प्रयोग गरिरहेको ३ वटा सिममा जुनेदले कुराकानी गरेका थिए । तर त्यसको केही समयपछि खैरुलको पनि मोबाइल अफ भएको थियो । र, अर्को दिनको बिहान २ बजे मात्रै खैरुलको मोबाइल नेपालगञ्ज आएर स्वीच अन गरिएको थियो ।

घटना तथा तथ्यले जुनेदको अपहरणमा खैरुलको संलग्नता देखाएपनि प्रमाण नहुँदा खैरुललाई हिरासतमा लिन सकेको थिएन ।

तर जब भारतीय प्रहरीले जुनेदको शवबारे जानकारी दियो र शवको पहिचान भयो, तब बाँके प्रहरीले खोजी गर्दा खैरुल फरार भए ।

प्रहरीले व्यापक खोजी गरेपनि उनी मोबाइलको स्वीच अफ गरेर फरार भए ।

प्रेमिकाको कोठामा पक्राउ परे खैरुल

मोबाइलको स्वीच अफ गरेर फरार भएपनि प्रहरीले खैरुलमाथि निगरानी भने राखिरहेको थियो । मोबाइल छाडेपनि खैरुलले चढ्ने गरेको मोटरसाइकल भने छाडेका थिएनन् । त्यही मोटरसाइकलको माध्यमबाट खैरुल प्रहरीको फन्दामा परे ।

चैत १, २०७५ ।

नेपालगञ्जको बसपार्कबाट भित्र जाने रोडमा पुष्पलाल चोक छ । त्यो चोकबाट पनि भित्रको एक घरको बाहिर राती ११ बजे खैरुलको मोटरसाइकल पार्क गरिरहेको अवस्थामा एक अनुसन्धान अधिकृतले देखेका थिए । खैरुलको खोजीमा हिँडेका उनी एक्लै थिए । यद्यपि उनी खैरुल बाहिर आएमा पक्रने तयारीका साथ उनलाई कुरिरहे ।

खासमा मोटरसाइकल पार्किङ गरिएको स्थान खैरुलको प्रेमिकाको कोठा नजिकै थियो । तर राती एकजना मात्रै प्रहरी अधिकारी केटीको कोठामा जानु उचित नहुने भन्दै उनी खैरुललाई कुरेर बसिरहे । बिहान ५ः३० सम्म पनि खैरुल बाहिर नआएपछि उनले आफूभन्दा सिनियर प्रहरी अधिकृतलाई फिल्डमा बोलाए ।

अनि बिहान ६ बजे प्रहरी इन्सपेक्टरसहित अनुसन्धान अधिकृत खैरुलकी प्रेमिकाको कोठामा पुगे । ढोका फोडेर भित्र छिर्दा खैरुल आफ्नी प्रेमिकालाई अंगालो हालेर सुतिरहेकै अवस्थामा पक्राउ परे ।

पक्राउ परेपनि सुरुमा खैरुलले अपराध स्वीकार गर्नै चाहेनन् । बरु मानसिक बिरामी बनेको नाटक गर्न थाले । अनुसन्धानमा संलग्न एक प्रहरीका अनुसार प्रहरीले अपराध कबुल्ने ‘नयाँ उपाय’ (प्रहरीको तरिका गोप्य राखिएको छ) निकालेपछि बल्ल खैरुलले आफ्नो अपराध स्वीकार गरे ।

आफूले किन र कसरी जुनेदको हत्या गरे भन्नेदेखि हत्यामा कस कसको संलग्नता छ भनेर सबै खुलाइदिए ।

त्यही क्रममा खैरुलले मालपोत कार्यालयका कर्मचारीहरुले कसरी सरकारी जग्गा किर्ते गर्नमा सहयोग गरे र को कोले कति कति रकम खाए भनेर बयान दिएपछि खैरुलकै बयानका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २८ जना सरकारी कर्मचारी तथा दलालहरुलाई भ्रष्टाचारको मुद्दा दायर गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप