केन्द्रीय संस्करण
समाचार

कलात्मक परम्परागत वास्तुकलासहित यस्तो बन्दैछ नयाँ सङ्घीय संसद भवन (भिडियो)

person explore access_timeसाउन २३, २०७६ chat_bubble_outline0
शम्भु दंगाल

रातोपाटी

सरकारले ३ वर्षभित्र सम्पन्न गर्ने गरी सङ्घीय संसद भवन निर्माणको प्रक्रिया अघि बढाएको छ । सहरी विकास तथा भवन निर्माण विभागले संसद् भवन निर्माणका १७ वटा बोलपत्रको प्राविधिक मूल्याङ्कन गरिरहेको बताएको छ । सिंहदरबारस्थित पुतली बगँैचामा कलात्मक परम्परागत मल्लकालीन वास्तुकलामा संसद् भवन निर्माण गरिने भवन निर्माण विभागका सिनियर डिभिजनल इन्जिनियर प्रकीर्ण तुलाधरले जानकारी दिए । 

३ वर्षमा निर्माण सकिने योजना राखिएको सङ्घीय संसद् भवनको कुल लागत भ्याटबाहेक ७ अर्ब अनुमान गरिएको छ । यो आर्थिक वर्षमा २ अर्ब रुपैयाँ छुट्याइएको छ । पुतली बगैँचाको १ सय ७३ रोपनी ८ जना जमिनमा भन्ने सङ्घीय संसद् भवनअन्तर्गतका सम्पूर्ण कार्यालय, हल रहनेछन् ।

संसद् भवन परिसरभित्र यस्तो हुनेछ भवन तथा पूर्वाधार

सङ्घीय संसद् भवन परिसरभित्र ११ वटा विभिन्न प्रकारका भवन तथा पूर्वाधार रहनेगरी डिजाइन गरिएको छ ।

भवनको दायाँ भागमा राष्ट्रियसभा र बायाँ भागमा प्रतिनिधि सभाको भवन रहनेछ । संसद् भवनमा प्रतिनिधिसभा भवन, राष्ट्रिय सभा भवन, कमन लबी, अति विशिष्ट व्यक्तिको कार्यालय भवन, पुस्तकालय, सङ्ग्राहालय, संसदीय दलको कार्यालय भवन, संसदीय समितिको भवन, चमेना गृह, प्रेस तथा छपाइ भवन र ७ सयवटा सवारी साधन पार्किङ र सुरक्षाकर्मीको भवन रहनेछन् ।

सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गत विशेष भवन निर्माण एकाईका संयोजक प्रकीर्ण तुलाधरका अनुसार संसद् भवन निर्माणको गुरुयोजनालाई भवन क्षेत्र, खुला हरियाली क्षेत्र, पार्किङ क्षेत्र र सडक पूर्वाधार क्षेत्र गरी ४ भागमा बाँढिएको छ । पुतली बगँैचाको १ सय ७३ रोपनीको २७ प्रतिशत भाग भवनले, ४५ प्रतिशत खुल्ला हरियाली क्षेत्र र बाँकी सडक पूर्वाधार र पानीको फोहोरा सजावटले लिने छ ।

दक्षिणतर्फ मूल ढोका रहने संसद् भवनमा सांसदहरुको प्रवेशका लागि उत्तरतर्फ ढोका बनाइने, दक्षिण पूर्वमा कर्मचारी तथा सर्वसाधारण प्रवेश गर्ने गेट रहने र आधुनिक सुरक्षा प्रविधिबाट जाँच गरेर मात्र प्रवेशको व्यवस्था हुने तुलाधरले जानकारी दिए ।

प्रतिनिधि सभामा ९ सय जना अट्ने, राष्ट्रिय सभामा ६ सय अट्ने

नयाँ संसद् भवनमा प्रतिनिधि तथा राष्ट्रिय सभाका दुई हलमा झन्डै १५ सय जना अट्ने क्षमताको सिट हुनेछ । प्रतिनिधि सभामा ४ सय जना संसादहरु अट्ने भुइँतलामा ठूलो हल हुनेछ । जसमा दर्शक, पत्रकार र आगन्तुक पाहुना ३ सय जना अट्ने बाल्कोनी हल र २ सय जना अट्ने सुरक्षा हल हुनेछ । यस्तै सभामुख कक्ष, पत्रकार सम्मेलन कक्ष, विशिष्ट अधिकारी बस्ने कक्ष  र प्राविधिक कक्ष रहनेछ ।

यता राष्ट्रिय सभामा १ सय जना सांसद अट्ने ठूलो हल, २ सय जना अट्ने बाल्कोनी हल, ३ सय जना अट्ने सुरक्षाकर्मीको हलका साथै स्टुडियो, भिडियो कन्ट्रोल लगायतका प्राविधिक कक्ष, राष्ट्रिसभाका अध्यक्षको कक्ष लगायतका संरचना रहनेछ ।

मुख्य संसद् भवनको दायाँतिर ३ तलाको संसद् सचिवालयको भवनमा बैठक कक्ष, तालिम हलका साथै प्राविधिक कक्ष रहनेछन् ।

राष्ट्रिय सभा भवनको उत्तरतिर अतिविशिष्ट व्यक्तिहरुका लागि भवनको डिजाइन गरिएको छ । ४ तलाको यो भवनमा प्रधानमन्त्रीको कार्यकक्ष, राष्ट्रिय सभाको सभाकक्ष र उपाध्यक्षको कार्यकक्ष तथा बैठक हलको व्यवस्था  हुनेछ ।

संसद् भवनमा ४ तलाको पुस्तकालय र २ तलाको चमेना गृह हुनेछ । भुइँ तलाको चमेनागृहमा सर्वसाधारण र माथिल्लो तलाको चमेनागृह भने सांसदहरुका लागि मात्र छुट्याइएको छ ।

यस्तै संसद् भवनको बायाँतर्फ उत्तरकुनामा राजनीतिक दलका लागि संसदीय दलको कार्यालयका लागि भवन रहनेछ । ५ तलाको यो भवनमा पार्टी कार्यालयका लागि चाहिने विभिन्न कक्षहरुका साथै बैठक कक्ष, शिशु स्याहार केन्द्र समेत रहनेछ ।

यस्तै ७ सय ५० वटा सवारीसाधन एकै पटक पार्किङ गर्न सकिने छुट्टै पार्किङ भवनको डिजाइन गरिएको छ ।

यसअघि संयुक्त सभाका लागि छुट्टै हल बनाउनेगरी डिजाइन तयार पारिएपनि खर्च बढ्ने भएपछि प्रधानमन्त्री केपी शर्मा आलीले प्रतिनिधि सभामा नै संयुक्त सभाका अट्नेगरी निर्माण गर्न सुझाव दिएको तुलाधरले बताए । सुरुमा अन्डरग्राउन्ड पार्किङको डिजाइन गरिए पनि सुरक्षाको कारण देखाउँदै त्यसलाई हटाइएको थियो ।

संसद्को आफ्नै भवन नहुँदा नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई वार्षिक  १५ करोड भाडा बुझाएर प्रतिनिधि सभा र राष्ट्रिय सभा सञ्चालन भइरहेको छ । 

चण्डी दल गुल्मलाई सिंहदरबारमै व्यवस्थापन

संसद भवन बनाउका लागि तय गरिएको पुतली बगैचामा नेपाली सेनाको चण्डी दल गण छ । सिंहदरबार सुरक्षाका लागि राखिएको सो गणको कसरी व्यवस्थान गर्ने भन्ने बारेमा भने कुनै योजना बनाईको छैन । विशेष भवन निर्माण इकाईका संयोजक प्रकिर्ण तुलाधरले भने रक्षा मन्त्रालयको आसपासको खाली ठाउँमा सो गणका लागि व्यवस्थापन गर्न सकिने बताए । यता नेपाली सेनाका प्रवक्ता विज्ञान देव पाण्डेले भने सिंहदरबार सुरक्षाका लागि सेनाको गणका लागि व्यवस्थापन हुनुपर्ने बताए ।

उनले सिंहदरबार सुरक्षाको लागि सेना आवश्यक पर्ने सरकारले पनि महसुस गरेकोले कहाँ व्यवस्थापन गर्ने भन्ने बारेमा कुरा भइरहेको उल्लेख गरे । उनले भने–‘सिंहदरबार सुरक्षामा सेना चाहिन्छ भन्नेमा मुख्य सचिव लगायतका पक्षहरु सहमत हुनुहुन्छ, यसको कसरी व्यवस्थापन गर्ने भन्ने बारेमा छलफल भइरहेको छ ।’

भिडियो :

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...