बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पुनः सल्बलाउँदै सुन तस्कर : १२ दिनमा २१ केजी सुन जफत

बिहीबार, २३ साउन २०७६, ११ : २६
बिहीबार, २३ साउन २०७६

काठमाडौँ । केही दिनयता उच्च नयाँ रेकर्ड बनाएको सुनको मूल्य लगातार बढेसँगै केही समययता ठूलो परिणाममा पनि लगातार सुन जफत भइरहेको छ । बिहीबार सुनको मूल्य ७० हजार पुगेको छ ।

प्रहरीका अनुसार दिनहुँ ठूलो मात्रामा लगातार सुन जफत भइरहेको बेला १२ दिनमा २१ केजी सुन जफत भएको हो । गोरखाबाट १६ केजी, थानकोटबाट १ केजी र विमानस्थलबाट ४ केजी सुन बरामद भएको हो ।

गोरखाको धार्चे गाउँपालिका–३, खोर्लाबेसीनेरको ओडारमा लुकाइराखेको अवस्थामा साउन ९ गते प्रहरीले १६ किलो सुन बरामद गरेको थियो । उक्त सुन तिब्बती बजारबाट अवैध रूपमा भित्र्याइएको प्रहरीको भनाइ छ ।

बोराले बेरेर झोला र सलले बाँधी ढुङ्गामुनि लुकाइराखेको अवस्थामा सुन भेटिएको थियो । उक्त सुन आठ करोड ९१ लाख रुपैयाँ बराबरको छ ।

२९ दिनदेखि सम्पर्कविहीन रहेका धार्चे गाउँपालिका–१, हुल्चोकस्थित यात्रुबगरका खच्चड व्यवसायी धनकमल गुरुङले उक्त स्थानमा सुन लुकाएर राखेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ । प्रहरीले गुरुङलाई एक दिनअघि नै काठमाडौँबाट पक्राउ गरेको थियो ।

यस्तै अवैध रुपमा लुकाई छिपाई काठमाडौँ ल्याएको १ किलो सुन साउन १६ गते महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले जफत गर्यो । सुनसँगै रसुवा जिल्ला गोसाईंकुण्ड गाउँपालिका वडा थुमान १ घर भएका वर्ष ३२ का पेम्बा डुन्दुप तामाङ पक्राउ परे ।

विशेष सूचनाका आधारमा रसुवाबाट काठमाडौँतर्फ आउँदै गरेका बा ९० प २७३६ नम्बरको मोटरसाइकलमा गोप्य सूचनाको आधारमा चेकजाँच गर्दा १ केजी सुन जफत भएको थियो ।

१ किलो सुनको विष्कुटलाई चार टुक्रा पारेर ल्याएको थियो । तामाङ रसुवा हुँदै सुन कम्बरमा बोकी काठमाडौँ आउँदै गरेको प्रहरीलाई पहिला नै सूचना आएको थियो ।

त्यस्तै साउन २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ४ केजी अवैध सुनसहित चिनियाँ नागरिक पक्राउ परेका छन् । २३ वर्षीय चिनियाँ नागरिक ली निङ ज पक्राउ परेका हुन् ।

आइतबार राति हङकङबाट १०ः५० बजे काठमाडौँ ओर्लिएका ली निङ जको साथमा रहेको झोलाबाट एक केजीका चारवटा सुनको बिस्कुट लुकाएर राखिएको अवस्थामा विमानस्थल भन्सारले पक्राउ गरेको हो ।

आर्थिक वर्षमा १०७ किलो सुन जफत

प्रहरीले आर्थिक वर्ष ०७५/०७६ मा १०७ किलो ९९९.७७ ग्राम सुन जफत गरेको छ । सुन जफतबाट ३६ करोड ५५ लाख ४१ हजार ८४१ राजस्व असुली गरेको प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विश्वराज पोखरेलले जानकारी दिए ।

आर्थिक वर्ष ०७५/०७६ को तुलनामा ०७४/०७५ मा ७२ केजी सुन जफत भएको प्रहरी तथ्याङ्कमा उल्लेख छ । जसमा ९० जना पक्राउ परेका छन् ।

पछिल्लो ४ वर्षमा नेपाल प्रहरीको सक्रियतामा लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा ४४५ केजी ९९९.७७ ग्राम अवैध सुन जफत भएको छ । अवैध सुन तस्करीमा ३८८ जना पक्राउ परेका छन् ।

नेपाल प्रहरीको तथ्याङ्कलाई हेर्ने हो भने २०७२/०७३ मा ६८ केजी, ०७३/०७४ मा ९१ केजी जफत भएको छ । जसमा क्रमशः १०६  जना र ८३ जना पक्राउ परेको प्रहरी तथ्याङ्कमा उल्लेख छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशबाट आउने यात्रुले भन्सार छुट पाउनेभन्दा बढी ल्याएका सुन कडाइका साथ जफत गर्न थालिएको प्रहरीको भनाइ छ ।

विदेशबाट नेपाल आउने नेपालीले ५० ग्रामसम्म सुन ल्याउन पाउने नियम रहेको प्रवक्ता पोखरेलले रातोपाटीलाई जानकारी दिए । प्रवक्ता पोखरेलले भने, ‘थप २०० ग्राम भन्सार तिरेर पनि ल्याउन सकिन्छ ।’

सुराकी दिनेलाई ५ लाख

अवैध सुन ओसारपोसार भइरहेको सूचना पाउनेबित्तिकै प्रहरीलाई खबर गरेर उक्त सुन जफत भएको खण्डमा सुराकी दिनेलाई ५ लाख भन्दा बढी नबढाई दिने नियम रहेको प्रवक्ता पोखरेलले बताए । उनले भने, ‘यदि सानो मात्रामा सुन जफत भएको खण्डमा सुनको तौल हेरेर कमिसन दिने नियम छ ।’

सुन कहाँ जान्छ ?

सुराकीमार्फत् जफत भएको सुन कहाँ जान्छ ? यो सबैका लागि चासोको विषय छ । नेपाल प्रहरीका प्रवक्ता पोखरेल भन्छन्, ‘सुराकीमार्फत जफत भएको सुन राजस्व हुँदै राष्ट्र बैङ्क पुग्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुजन पन्त
सुजन पन्त

पन्त सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप