केन्द्रीय संस्करण

विगत होइन, भविष्य देखाऔँ

person explore access_timeसाउन २३, २०७६ chat_bubble_outline0

अक्सर मान्छे अतीतमुखी हुन्छ । हामी झन् बढी अतीतमुखी छौँ । हामी विगतका कुरामै रमाउँछौँ । विगतको विरासत, विगतको इतिहास जोकोहीलाई गर्विलो लाग्छ । आज पनि हामी इतिहासको कालखण्डमा हाम्रा वीर पुर्खाहरुले देखाएको बलिदानीकै गाथा गाइरहेका छौँ । आफूलाई अब्बल प्रमाणित गर्न हामी अनेकन इतिहासका फुर्काहरु समात्छौँ । ज्ञानी प्रमाणित गर्न गौतम बुद्धको सहारा लिन पुग्छौँ त बहादुर अनि निडर प्रमाणित गर्न पृथ्वीनारायण शाह, जङ्गबहादुरदेखि भक्ति थापासम्मलाई पुकार्छौं । यस्तै केही समयअघि प्रधानमन्त्री केपी ओलीले उपचार पद्धतिमा हाम्रो ज्ञान प्रमाणित गर्न हाम्रा पुर्खाहरुमा भएको प्रयोगवादी औषधीय ज्ञान र चेतना खोतल्दै थिए ।

‘नेपालीका पुर्खा विद्वान भएका थुप्रै प्रमाण छन्, उनीहरुले प्रयोग र अनुभवबाट जडीबुटीलाई औषधिका रूपमा प्रयोग गरे । त्यतिबेला कुनै प्रयोगशाला थिएनन् । जडीबुटीलाई आफ्नै शरीरमा प्रयोग गरेर उनीहरुले औषधि र विष छुट्याइदिए ।’ प्रधानमन्त्रीको यो अभिव्यक्ति सुन्दा रमाइलै लाग्छ । यसले खास बेफाइदा पनि गर्दैन किनकि हाम्रा पुर्खाहरु सक्षम, ज्ञानी र सिपालु थिए भन्ने कुरा सुन्दा सबैलाई रमाइलो लाग्नु स्वाभाविक हो । तर यी इतिहासकै कुरा भए । के यस्तै अतीतमुखी रोमाञ्चक अभिव्यक्तिले भविष्यको मार्ग पहिल्याउन सकिएला त ? यो निकै गम्भीर प्रश्न हो ।

*****

राजनीतिक कर्मीहरुको अक्सर समय विगतकै कथा अनि किस्सामा बित्ने रहेछ । झन् कम्युनिस्ट पृष्ठभूमिबाट आएकाहरु बढी नै विगतमुखी देखिन्छन् । अनि ती अतीतका कथा र किस्सा सुनाउन हाम्रा प्रधानमन्त्रीलाई कसैले जित्न सक्दैन । लोकका कथा कुथुरी, उखान टुक्का, इतिहासदेखि शास्त्रार्थसम्मका अतीतमुखी किस्सा र विगतका विरासतबारे कथा हाल्न हाम्रा पीएमलाई कसले भेटोस् ! त्यसैले उनको अक्सर समय यस्तै कथानक निर्माणमै बित्ने गरेको देखिन्छ । 

*****

हामी र हाम्रो समाज अतीतमुखी भएका थुप्रै दृष्टान्त छन् । हामीलाई अतीत प्रिय लाग्छ किनकि त्यो भोगिएको समय हो । अतीतसम्बन्धी धेरै सूचना अनि जानकारी हुन्छ, त्यसैले अतीतका कुरा गर्न मजा आउँछ । फेरि त्यो जानकारी एवं सूचनालाई सिलसिलामा उन्ने शैली भयो भने त अब्बल कथानक बन्नेछ । हामी त्यही कथानकको व्यापारले वर्तमान धान्ने चेष्टा गरिरहेका छौँ । यसरी बितेको वर्तमानले कस्तो भविष्य अजमाउला ? 

राजनीतिक कर्मीहरुको अक्सर समय विगतकै कथा अनि किस्सामा बित्ने रहेछ । झन् कम्युनिस्ट पृष्ठभूमिबाट आएकाहरु बढी नै विगतमुखी देखिन्छन् । अनि ती अतीतका कथा र किस्सा सुनाउन हाम्रा प्रधानमन्त्रीलाई कसैले जित्न सक्दैन । लोकका कथा कुथुरी, उखान टुक्का, इतिहासदेखि शास्त्रार्थसम्मका अतीतमुखी किस्सा र विगतका विरासतबारे कथा हाल्न हाम्रा पीएमलाई कसले भेटोस् ! त्यसैले उनको अक्सर समय यस्तै कथानक निर्माणमै बित्ने गरेको देखिन्छ । 

सायद यो संसारको सृष्टिमध्ये मानव जाति मात्रै यस्तो जाति हो, जसले इतिहास, वर्तमान र भविष्य बुझ्छ । विश्व इतिहासका अध्यापक युभल नोअ हरारीले आफ्ना पुस्तकहरुमा मानवजाति (सेपियन्स्) को डीएनएमा रहेको तर्क गर्ने, चिन्तन गर्ने, कल्पनाशील कथानक एवं आख्यानहरुको सिर्जना गरी धेरैलाई एकै पटक विश्वस्त पार्न सक्ने गुणकै कारण यो जातिले यो पृथ्वीमाथि नै विजयी प्राप्त गरेको तर्क गरेका छन् ।  

सायद अरू प्राणीमा त्यो स्तरको चेतना हुँदैन र नै उनीहरुलाई इतिहासको बोझ पनि छैन र भविष्यको चिन्ता पनि । तर मानव जातिमा इतिहासको गर्व, वर्तमानको सङ्घर्ष र भविष्यको सुन्दर सपना छ । त्यही भएर मानव जातिलाई संसारकै सबैभन्दा सुन्दर सृष्टि मानिन्छ । 

तर कथा भन्न जानियो भन्दैमा कथैमा रमाउनु उचित नहोला नै । त्यसैले इतिहासकै व्याख्यामा रुमल्लिएर मात्रै हामी भविष्यको गन्तव्यमा पुग्न सक्दैनौँ । इतिहास हिजो भोगिएको कुरा हो, त्यो तथ्य हो । तर त्यही हिजोकै गाथामा आनन्दित भएर मात्रै वर्तमानको जटिलता खोतल्न सकिँदैन । यसै सवालमा रुसी लेखक म्याक्सीम गोर्कीले भनेका छन्, ‘इतिहासको बग्गी चढेर कहिल्यै पनि गन्तव्यमा पुग्न सकिँदैन ।’ 

अब प्रश्न उब्जिन्छ– उसो भए इतिहास केही पनि होइन ? अनि वर्तमानमा इतिहासको काम छैन ? भविष्यको निर्धारण इतिहासले गर्छ कि वर्तमानले ? मान्छेलाई इतिहासले सिकाउँछ कि मान्छेले आफै सिकेर इतिहास बनाउँछ ? निश्चित रूपमा इतिहास विगतको तथ्य हो । अनि इतिहास खासमा आफू हिँडेको बाटो हो । जीवनको यात्रामा जुन बाटो फेरि हिँड्नु पर्दैन । किनकि जीवन अगाडि बढ्छ, पछाडि हुत्तिँदैन । अनि जीवनको मार्ग पनि अगाडि नै हो पछाडि होइन । 

यसो भन्दै गर्दा हिजो हिँडेको बाटो भत्काइहाल्नुपर्छ ? त्यो पनि किमार्थ होइन । बरु हिजो हिंडिसकेको बाटोको धेरै व्याख्या जरुरी हुँदैन । किनकि हामीलाई त आजको बाटो हिँड्नु छ अनि भविष्यका लागि सुन्दर र सुरक्षित बाटो पहिल्याउनु छ । विगतको बारेमा धेरै सोच्दा आगामी बाटो तय गर्ने समय गुज्रिन्छ । 

नेपाली राजनीतिको विडम्बना भनौँ वा नियति, इतिहासमा जसरी दलहरुको निर्माण भयो, त्यो राजनीतिक उद्देश्यका लागि नै थियो । कुनै पनि राजनीतिक एजेन्डा स्थापित गर्नका लागि राजनीतिक दलहरुको निर्माण भएको छ । अझ साँच्चिकै भन्नुपर्दा राज्य सत्तासँगको सङ्घर्षका दौरान दलहरुको निर्माण भएको हामी पाउँछौँ । १९९३ सालमा गठन भएको प्रजा परिषद्देखिको इतिहासलाई केलाउने हो भने यो देशमा राजनीतिक दलहरूको निर्माण राजनीतिक सङ्घर्षकै क्रममा भएका छन् । 

तत्कालीन प्रजा परिषद्ले राणा शासनको अन्त्यलाई आफ्नो राजनीतिक उद्देश्य बनाएको थियो । राणा शासनको अन्त्यका लागि सशस्त्र सङ्घर्षको आवश्यकता महसुस गरेरै जनमुक्ति सेनाको निर्माण भयो र नेपाली काँग्रेसको नेतृत्वमा सशस्त्र क्रान्ति पनि भयो । क्रान्तिको एउटै उद्देश्य १०४ वर्षीय जहानियाँ राणाशाहीको अन्त्य र प्रजातन्त्रको स्थापना थियो । 

*****

हो, इतिहासको समीक्षाले पनि प्रष्ट पारेको कुरा के हो भने, विभिन्न कालखण्डमा जन्मिएको नेतृत्व, राजनीतिक एजेन्डा अनि राजनीतिक शक्ति अर्को कालखण्डमा पुग्दा उसको सान्दर्भिकतामा केही कमी पक्कै आउँछ । मात्रात्मक रूपमा धेरथोर हुने आफ्नो कुरा हो । जस्तो कि जतिसुकै आधुनिकता र परिवर्तनको कुरा गर्ने किन नहोस्, नाति पुस्ताको आवश्यकता हजुरबा पुस्ताको मान्छेले पक्कै पनि पूरा गर्न सक्दैन । यो प्रामाणिक कुरा नै हो । 

*****

नेपाली काँग्रेसपछि कम्युनिस्ट नामधारी पार्टीहरुको प्रादुर्भाव भयो । उनीहरुले २०४६ सालसम्म आइपुग्दा स्थानीय रूपमा सामाजिक, राजनीतिक र सांस्कृतिक जागरण पैदा गर्ने काम गरे । यी सबै राजनीतिक उद्देश्य नै थिए । २०५२ सालमा माओवादी जन्मियो र माओवादीले आमूल परिवर्तनको उद्घोष गर्यो । उसले राज्यसत्ताको परिवर्तनसँगै मुलुकको संरचनागत परिवर्तनको मागलाई घनीभूत बनायो र त्यसका लागि सशस्त्र जनयुद्धसम्म गर्यो । १० वर्षको जनयुद्धपछि शान्तिपूर्ण राजनीतिमा अवतरण भएसँगै २०७२ सालसम्म आइपुग्दा मुलुकमा नयाँ संविधान जारी भयो । यसैबीच २०६३ यता क्षेत्रीय मुद्दाहरुलाई उठाउँदै केही क्षेत्रीय दलहरु पनि राजनीतिमा देखा परे र उनीहरुले हक, अधिकार र पहिचानको सवाललाई राष्ट्रिय मुद्दा बनाए । 

अहिले राजनीतिक रूपान्तरण र परिवर्तनका लागि भए गरेका सम्पूर्ण सशस्त्र वा निरस्त्र सङ्घर्षहरुको एकमुष्ठ उपलब्धिका रूपमा नयाँ संविधान देखा परेको छ । त्यो संविधानले गणतन्त्र, धर्मनिरपेक्षता, सङ्घीयता अनि समावेशी समानुपातिक पद्धतिलाई संस्थागत गरेको छ । यद्यपि त्यो संविधानमा धेरै कुरा समेटिन बाँकी नै छ तर पनि त्यो संविधानले अहिलेसम्मको राजनीतिक सङ्घर्षलाई केही हदसम्म टुङ्गोमा पुर्याएको छ । 

यदि राजनीतिक दलहरुको निर्माण र विकासको ऐतिहासिक तथा वस्तुगत आवश्यकता र सङ्कटको आकस्मिकतालाई हेर्ने हो भने अब नेपालमा राजनीतिक परिवर्तनका मोटा मुद्दाहरु सकिए भन्न सकिन्छ । अनि यो विन्दुमा राजनीतिको परिभाषा र त्यसको ध्येय परिस्कृति हुनुपर्छ । यदि त्यसो गर्न सकिएन र हामीले फेरि पनि पुरानै शैलीमा राजनीतिक सङ्घर्षका कार्यक्रम तय गर्दै गयौँ भने हामी पक्कै पनि सन्दर्भहीन हुनसक्ने खतरा उत्पन्न हुनसक्छ । 

हो, इतिहासको समीक्षाले पनि प्रष्ट पारेको कुरा के हो भने, विभिन्न कालखण्डमा जन्मिएको नेतृत्व, राजनीतिक एजेन्डा अनि राजनीतिक शक्ति अर्को कालखण्डमा पुग्दा उसको सान्दर्भिकतामा केही कमी पक्कै आउँछ । मात्रात्मक रूपमा धेरथोर हुने आफ्नो कुरा हो । जस्तो कि जतिसुकै आधुनिकता र परिवर्तनको कुरा गर्ने किन नहोस्, नाति पुस्ताको आवश्यकता हजुरबा पुस्ताको मान्छेले पक्कै पनि पूरा गर्न सक्दैन । यो प्रामाणिक कुरा नै हो । 

यसै परिदृश्यमा अबको राजनीतिलाई जोडेर हेर्ने हो भने अहिलेका सबैजसो राजनीतिक दलहरु परिक्षित (टेस्टेड) छन् । यी टेस्टेड पार्टी र नेतृत्वले अब गर्ने भनेको इतिहासकै व्यापार मात्रै हो । उनीहरुको चिन्तन, शैली, संस्कार अनि हाउभाउ हेर्दा लाग्छ, अब उनीहरुले त्यही आफ्नो विगतको फ्ल्यासब्याकमै आफ्नो राजनीति धान्ने चेष्टा गर्नेछन् । उनीहरुले आफ्ना ‘गौरवमय’ भनी परिभाषित गरिएका विगतकै चर्चा गर्नेछन् र ऐन मौकामा त्यही विगतको व्यापार गरेरै आफ्नो राजनीति चलाउनेछन् । 

यहीँनेर एउटा हिन्दी सिनेमाको संवाद याद आउँछ, ‘विगत तिमीसँग छैन, भविष्य तिम्रो नियन्त्रण बाहिर छ, अनि त तिमीसँग भएको वर्तमानलाई सुन्दर बनाउन किन नखोज्ने ?’ 

हो, खासमा हामीले आफ्नो विगतलाई सन्दर्भकै रूपमा लिएर वर्तमानको आवश्यकतालाई ठीक ढङ्गले ग्रहण गर्दै भविष्यको योजना बनायौँ भने मात्रै सही गन्तव्यमा पुग्न सक्छौँ । नत्र, विगतको विरासतले मात्रै भोलि चल्ने छैन । अबको पार्टी र राजनीति विगत होइन, वर्तमान र भविष्य चिन्ने हुनुपर्छ । विगतको गाथाले वर्तमान बनाउन सक्दैन । जब वर्तमान बन्दैन भविष्यको आधार खडा हुँदैन । त्यसैले वर्तमानका जटिल अन्तरविरोधहरु हल गर्दै वैचारिक, सैद्धान्तिक अनि कार्यक्रमिक रूपमा सुन्दर भविष्यको खाका कोर्ने राजनीति अबको आवश्यकता हो । सायद यो भन्नु नपर्ला कि– इतिहासको गाथाले मात्र देश बन्दैन ।
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...