शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

घरको कौसीमा तरकारी खेतीदेखि लटरम्म फलेको खुर्सानीबारी (भिडियो)

बुधबार, २२ साउन २०७६, १३ : ५८
बुधबार, २२ साउन २०७६

तपाईंको घर सहरमा छ र तरकारीबाली लगाउन जमिनको अभाव छ भने कौसीमा तरकारी लगाउने अर्को विकल्प छ । सहरका पक्की घरको कौसीमा यसरी तरकारी लगाउने अभ्यास धेरैले गर्दै आएका छन् । उनीहरुको अनुभवले कौसीको खाली ठाउँको सदुपयोगबाट आर्गानिक तरकारी खेती गर्न सकिने सानो परिवारलाई वर्षभरि पु¥याउन सकिन्छ ।

सहरका तरकारी खेतीका लागि जग्गा जमिनको अभाव, तरकारीको बढ्दो मूल्यवृद्धि, विषादीयुक्त तरकारीको बिगबिगी भइरहेको सन्दर्भमा सिजन अनुसार कौसीमा उत्पादन गरेको तरकारीबाट फाइदा लिन सकिने देखिएको हो ।

कौसीमा तरकारी लगाउँदा एकातिर हरियालीले घरको सौन्दर्यता हुन्छ भने अर्कोतिर घरबाट उत्पादन हुने कुहिने फोहोरको पनि व्यवस्थापनमा पनि सहज हुन्छ । दैनिक भान्साबाट निस्किने फोहोरलाई कम्पोस्ट मल बनाएर तरकारी बालीका प्रयोग गर्न सकिन्छ ।

पछिल्लो समय काठमाडौँमा कौसीमा सानो परिवारका लागि पुग्नेगरी तरकारी बाली लगाउन थालिएको छ ।

सानो परिवारलाई वर्षभरि पुग्ने रिताको कौसीको तरकारी

ललितपुर इमाडोलकी रिता महर्जनले आफ्नो कौसीमा खुर्सानी, गोलभेँडा, भिन्डी, साग लगायतका तरकारी लगाएकी छिन् । उनले कौसीमा लगाएको खुर्सानीले १ वर्षलाई पुग्ने बताइन् । ४ जनाको परिवारलाई बेला बेला कौसीमा फलेको ताजा तरकारीले पुग्ने गरेको छ ।

उनको घरको कौसीको ३ तर्फको घेरामा तरकारीका सानो क्षेत्र बनाइएको छ । कौसीमा मूला, खुसार्नी राम्रो हुने तर फर्सी भने राम्रो नहुने उनले बताइन् । उनले कौसीमा रोपेको सिमी वर्षभरि नै पुग्ने बताइन । बाहिरको भन्दा स्वस्थकर हुने भएकाले कौसीको तरकारी राम्रो हुने उनले भनाइ छ ।

रिताले यसरी कौसीमा तरकारी लगाउन थालेको ७ वर्ष भइसकेको छ । उनले भनिन्– ‘जाँगर भयो भने कौसीमा पनि तरकारी फलाउन सकिन्छ । कौसी खेतीको महत्त्व बढ्दै गएको छ । सबै जग्गामा घर बनिसके, रोप्ने ठाउँ छैन, अब कौसीमा खेती गरेर खाने ।’

रामलालको कौसीमा कागती, अम्बादेखि विभिन्न जातका तरकारी 

ललितपुर ग्वार्कोका रामलाल महर्जनले पनि कौसीमा तरकारी खेती गर्ने गरेका छन् ।

उनको कौसीमा बोडी, सिमी, खुर्सानी, भेडे खुसानी, गोलभेँडा, साग लगायतका तरकारीसहित कागती, अम्बा जस्ता फलफूल पनि छन् ।

उनले भने– ‘धेरै मिहिनेत गर्नुपर्दैन, बिहान बेलुका फुर्सदको समयमा काम गरे हुन्छ । अर्को वर्ष धेरै मात्रामा तरकारी खेती गर्ने विचार गरेको छु ।’

रामलालले गमलाहरुमा फूलको बोटसँगै तरकारी पनि लगाएका छन् । माछा प्याकिङ गर्ने बाकसमा कागतीको बोट छ । त्यसमा कागती फलेको छ भने फलामको ड्रममा अम्बाको बोट छ । अम्बा पनि लटरम्म चिचिला लागेको छ ।

बोरा, गमला, माछाको बाकस, फलामको बाकस लगायतमा माटो हालेर उनले तरकारी लगाएका हुन् । हरेक वर्ष माटो र कम्पोस्ट मल परिवर्तन गर्ने गरेको बताए ।

मिहिनेत गरेर कौसीमा तरकारी लगाउने हो भने सानो परिवारका लागि बाहिर तरकारी किन्न नपर्ने उनले बताए ।

घरबाट निस्किने कुहिने फोहोरबाट कम्पोस्ट मल बनाउन २ वटा कम्पोस्टबिन राखेका छन् ।

उनले ४ वर्षअघि कौसीमा ड्रमका रोपेको अम्बाको रूख अहिले ठूलो भएको छ । जसमा ५ किलोसम्म अम्बा फल्ने गरेको उनले बताए ।

मिना लामाको कौसीमै खुसार्नी बारी

छिमी लामा, ८८ वर्षको पुगिन् । काभ्रेकी लामा २० वर्षदेखि काठमाडौँमा बस्दै आएकी छिन् । नातिनातिनाले कौसीमा गरेका खुसार्नी खेतीमा उनले पनि सहयोग गर्दै आएकी छिन् ।

घरको पूरै छतभरि नै खुसार्नीको साथै गोलभेडा लगाइएको लगाइएको छ ।

कुखुराको मल, माछा पखालेको फोहोर पानी हाल्ने तर रासायनिक मल नहाली खुुर्सानी फलाउने गरेको लामाले बताइन् ।

झन्डै आठ दस वर्षअघिदेखि  खुर्सानी खेती गर्ने गरेको उनले बताइन् । आफन्तलाई, चिनेको मान्छेलाई पनि खुर्सानी दिएर पठाउने उनले बताइन् ।

उनको कौसीमा अछामे, अकबरे, डल्ले लगायतका विभिन्न जातका खुर्सानी लटरम्म फलेको छ । माघमा बीउ राखेर चैत वैशाखमा लगाएको खुर्सानी असारदेखि कात्तिक मङ्सिरसम्म फल्ने उनले सुनाइन् ।

वर्षातको बेला पानी पर्ने भएकाले खुसार्नी सप्रिएको उलने बताइन् । उनले भनिन्– ‘पानी नपरेको बेला बिहान बेलुका खुर्सानीमा पानी दिनुपर्छ ।’

छिमी लामाकी नातिनी मिनाले यसरी घरको छतमा फलेको पाकेको खुसार्नी सुकाएर राख्ने र पछि पिसेर प्रयोग गर्ने बताइन् । आफन्त छिमेकीलाई बाँढेर पनि वर्षभरी घरमा खान तथा होटलमा प्रयोग गर्न पुग्ने उनले बताइन् ।

उनले भनिन्– ‘सुरुमा थोरै मात्रामा गमलामा खुसार्नी लगाउने गरेका थियौँ । अचेल माछाको बाकसमा लगाउने गरेका छौँ । खाजा होटेल पनि चलाएकाले आफूलाई खान तथा होटलका लागि वर्षभरिलाई पुग्छ । होटलबाट निस्कने चियापत्ति, फोहोरबाट मल बनाएर राख्ने गर्छौैं, रासायनिक मल हाल्दैनौँ ।’

खुर्सानीका साथै स्थानीय जातको गोलभेँडा, सिमी लगायतका तरकारी उनले लगाएकी छिन् । 

उनको परिवारले असोज कात्तिकदेखि साग, लसुन, धनियाँ लगायतका तरकारी लगाउने गरेका छन् ।

उनले भनिन्– ‘साग पनि राम्रो हुन्छ, आफूले खाएर मात्र सकिँदैन । छिकेकीहरुलार्ई बाँढ्ने गर्छौं । कौसीमा मिहिनेत गरेर तरकारी लगायो भने एउटा परिवारलाई वर्षभरि किन्नु पर्दैन ।’

कसरी गर्ने तरकारी खेती

कौसीमा तरकारी खेती व्यावसायिक रूपमा भन्दा पनि धेरैले फुर्सदको समय सदुपयोग गर्न सौखका रूपमा गरिरहेको पाइन्छ । माछाको बाकस, गमला, ड्रम, बोरा तथा प्वाल परेका बाल्टिन लगायतका सामग्रीमा कम्पोस्ट मल  र माटो भरेर तरकारी लगाउन सकिन्छ । अहिले बजारमा कम्पोस्ट मल बनाउनका लागि कम्पोस्टबिन पनि पाइन्छ । त्यसमा दैनिक घरबाट निस्कने कुहिने फोहोर जम्मा गरेर कम्पोस्ट मल बनाउन सकिन्छ ।

अहिले आधुनिक प्रविधि जस्तै पीभीसी पाइपमा नरिवलको जटा तथा कम्पोस्ट मलको प्रयोग गरी पनि तरकारी खेती गरिन्छ । कौसीमा तरकारी लगाउने सामग्री जस्तै गमला, ड्रम लगायतका सामग्री कौसीमा राख्दा भूकम्पका बेला क्षति पु¥याउने गरी राख्नु भने हुँदैन ।

हेर्नुहोस् भिडियो :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप