बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

धनुषामा नगरपालिकाको केन्द्र सार्ने विषयमा विवाद हुँदा मेयर र उपमेयर पक्षबीच झडप

मङ्गलबार, २१ साउन २०७६, १९ : ०१
मङ्गलबार, २१ साउन २०७६

धनुषा– धनुषाको हंसपुर नगरपालिकाका मेयर रामज्ञान मण्डलले गोप्यरुपमा नगरपालिकाको कार्यालय सारेपछि मेयर र उपमेयर बीचको विवादले उग्ररुप लिएको छ । मेयर मण्डल र उपमेयर रेणु झा पक्षबीच नगरपालिकाको कार्यालय सार्ने सम्बन्धी भएको विवादमा मंगलबार स्थानीयवासी र प्रहरीबीच झडप भएको हो । सो झडपको क्रममा प्रहरीको लाठी चार्जबाट आधा दर्जनभन्दा बढी स्थानीयवासी घाइते भएको छ । 

मेयर मण्डलले प्रहरी परिचालन गरी बघचौडामा रहेको नगरपालिकाको कार्यालयबाट सामाग्रीहरु लग्न खोजेपछि उपमेयर रेणु झाले कार्यालयको सामाग्रीहरु लग्न नदिने पक्षमा उभिएपछि स्थानीयवासीहरुले उपमेयर झालाई सहयोग गर्दै प्रहरीलाई कार्यालयको  सामाग्रीहरु लग्न दिएको थिएन ।

प्रहरीको सहयोगमा मेयर रामज्ञान मण्डल पक्षधरले उपमेयर रेणु झाले सञ्चालन गर्दै आएको कार्यालयबाट बलजफ्ती सामग्री लिन खोज्दा दुवै पक्षबीच झडप भएको थियो ।  झडपको क्रममा मेयर पक्षधरसँगै आएका प्रहरी टोलीले गरेको लाठी चार्जबाट हंसपुर नगरपालिकाका उपमेयर झासहित वडा नम्बर २ का अध्यक्ष उदय साह, तपेश्वर मण्डल, फेकन कापर, पुण्य खत्री लगायत आधा दर्जनभन्दा बढी घाइते भएका छन् । 

तपेश्वर मण्डल गम्भिर घाइते छन् भने उनको थप उपचारको लागि जनकपुर अञ्चल अस्पतालमा पठाइएको जनाइएको छ ।  स्थानीयवासीका अनुसार हंसपुर नगरपालिकाको कार्यालयबाट सामग्री लग्न प्रहरीसँगै मेयर मण्डल पक्षधरहरुले घरेलु हातहतियार बोकेर दुईवटा टयाक्टर सहित ५०–६० जनाको समूहमा आएको थियो । तर उपमेयर पक्षधरबाट स्थानीय प्रतिकार गर्न खोज्दा दुवै पक्षबीच झडप अहिले पनि जारी नै छ । 

झडपले उग्ररुप लिएपछि प्रहरीले लाठी चार्ज गर्न थालेपछि मेयर मण्डल पक्षधरका स्थानीय ज्यान जोगाएर भागेपनि उपमेयर झा पक्षधरले उनको दुवै टयाक्टर नियन्त्रणमा लिएका छन् । उता प्रहरीले २ जना स्थानीयलाई नियन्त्रणमा लिएका छन् । 

प्रहरीले नियन्त्रणमा लिएका स्थानीयलाई छोडाउनका लागि प्रहरीलाई दवाव दिनका लागि ढुंगामुढा समेत गरेको थियो । त्यसपछि दुईतर्फी झडप भएको छ । झडपको क्रममा ६ जना स्थानियवासी र एक प्रहरी जवान समेत घाइते भएका छन् । त्यस्तै प्रहरीको भ्यान र एक सुमो टाटाको समेत शिशा फुटेको छ ।

झपड बढ्दै गएपछि तारापट्टी, बेलही, धनुषाधाम लगायतका प्रहरी चौकीबाट दर्जनौको संख्यामा नेपाल प्रहरी र शसस्त्र प्रहरी परिचालन गरिएको छ । सो क्रममा प्रहरीले ३ अश्रुग्यास प्रहार समेत गरेको छ ।  यता, उपमेयर झाले मेयर मण्डललाई कार्यालय सम्बन्धी विवादका लागि वार्ताबाट समाधान खोज्न पटक–पटक आग्रह गर्दा पनि वास्ता नगरी गोप्यरुपमा कार्यालय सार्दा विवादले उग्ररुप लिएको बताइन् । उनले भनिन्– मेयर मण्डलले मानेनन्, आज आएर उनले बेलही प्रहरी चौकीका इन्चार्ज रामकुमार साहको सहयोगमा दर्जनौ प्रहरी र कार्यकर्ताहरु लगाएर आफ्नो कार्यालय लुट्न आएको थियो । 

हंसपुर नपाको केन्द्र सार्ने विषयमा महिनौँदेखि मेयर मण्डल र उपमेयर झाबीच विवाद चल्दै आएको छ । हंसपुरका मेयर र उपमेयर दुवै राजपाका नेता हुन् । मेयरले गोप्यरुपमा नगरपालिकाको कार्यालय बेल्ही चोकमा ल्याएर सञ्चालन गरेपनि उपमेयरले भने असहमति जनाउँदै साविकको स्थानमा कार्यालय राख्न र न्यायिक समिति सहितका विधान बमोजिम अधिकारका लागि मेयर मण्डलको कार्यको विरोध गर्दै आएको उपमेयर झाले बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण कुमार कर्ण
किरण कुमार कर्ण

कर्ण रातोपाटीकाे प्रदेश नम्बर २ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप