बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

रातोपाटी फलोअप : २५ दिन मै सम्पन्न भएको ६० लाखको सभाहलको छानविन गर्न अख्तियारको टोली पुग्यो

मङ्गलबार, २१ साउन २०७६, १६ : २७
मङ्गलबार, २१ साउन २०७६

बुटवल । गुल्मीको ईस्मा गाउँपालिकाले असारको मुखमा निर्माणको सभाहलको गुणस्तरमाथि प्रश्न उठेपछि अख्तियार दुरुपयोग अनुनसन्धान आयोगले अनुसन्धान शुरु गरेको छ ।

६० लाखको सभाहल २५  दिन मै सम्पन्न गरेको बारे समाचार रातोपाटीमा प्रकाशित भए लगत्तै बुटवलस्थित अख्तियारको टोली आज उक्त स्थानमा मूल्याङ्कन गर्न पुगेको हो ।

६० लाखको सभाहल २५ दिनमै सम्पन्न, पर्‍यो छानविनको दायरामा

गाउँपालिकाको वडा नम्बर–३ दर्लामचौर ठाडुङ्गामा गत जेठ २८ गते सभाहल निर्माण गर्ने उपभोक्ता समितिबाट निर्णय गराइएको थियो । निर्णयपछि निर्माण शुरु गरिएको सभाहल २५ दिनभित्र सम्पन्न गरिएको उपभोक्ता समितिका अध्यक्ष शेरबहादुर खत्रीले बताएका छन् ।

भवन निर्माणको जिम्मा विष्णुप्रसाद अधिकारीलाई  दिइएको थियो । उनीबाट  पारिश्रमिक  पाउने गरि कोषाध्यक्ष खड्कबहादुर खत्रीलाई समेत रेखदेखका लागि नियुक्त गरिएको निर्णय गरिएको थियो ।

यता, विपक्षी दलले भने उक्त भवन निर्माणमा अनियमितता भएको र खर्च भएको रकमको तुलनामा गुणस्तरहीन भवन निर्माण भएको आरोप लगाएपछि छानविनका लागि अख्तियारको टोली गुल्मी पुगेको हो ।

अख्तियारको टोली आज त्यस स्थानमा अनुसन्धान गर्न पुगेको बुटवलस्थित अख्तियार  अनुुसन्धान आयोगका  प्रबक्ता सुरेश भुसालले जानकारी दिए ।

‘अख्तियारको टोलीले नाप जाँच गरि फर्किएको छ,’ विपक्षी राजनैतिक दल नेपाली कांग्रेसको तर्फबाट सहभागि भएका रामप्रसाद पन्थले भने ।

अख्तियार टोलीसंगै ईस्मा गाउँपालिका उपप्रमुख तथा अनुगमन समितिकी संयोजक विमला खत्री र वडा नम्वर ३ का वडाध्यक्ष तोयनाथ सापकोटा पनि पुगेको बताइएको छ ।

ईस्मा गाउँपालिका प्रमुख लक्ष्मण विष्टले भने, ‘पारदर्शीताका सवालमा कोही कसैलाई नछाड्ने भन्दै छानविन समिति गठन गरेको बताएका छन् ।

कमजोरी भए–नभएको अनुसन्धान पछि मात्र खुल्ने आयोगका प्रबक्ता भुसालले रातोपाटीलाई बताए ।

उक्त गाउँपालिका भवन बिना टेन्डर हतार जेठ २८ गते उपभोत्ता  समितिले स्थानीय विष्णु अधिकारीलाई जिम्मा दिएको थियो ।

भवन निर्माणको जिम्मा पाएका अधिकारी त्यसै वडाका वडाध्यक्ष सापकोटाका आफ्नै छोरी ज्वाइँ हुन् । विपक्षी राजनैतिक दल नेपाली काँग्रेसका नेता कार्यकर्ताले आफ्नै ज्वाइँलाई सभाहल निर्माणको जिम्मेवारी दिइएको र पारदर्शी हुन नसकेको भन्दै  आलोचना गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप