शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

चीन–अमेरिका व्यापार युद्ध : अवश्यम्भावी जोखिम

सोमबार, २० साउन २०७६, १६ : ४८
सोमबार, २० साउन २०७६

चीन र अमेरिका अहिले व्यापारिक युद्धको अवस्थामा छन् । यो लडाइँ यी दुवै मुलुकले आपसमा विनिमय गर्ने वस्तुमाथि लगाएका व्यापारिक करका कारण सुरु भएको हो । केही चिनियाँ वाणिज्य कानुनमा वैदेशिक कम्पनीले चिनियाँ कम्पनीसँग साझेदारी नागरी चिनियाँ बजारमा आफ्ना वस्तु बेच्न नपाउने प्रावधान छ । ती कानुन अनुसार चिनियाँ साझेदार संस्थाले विदेशी उत्पादनलाई प्रयोग गर्न, परिमार्जन गर्न तथा त्यस्तै प्रविधि प्रयोग गरी उही वस्तुको उत्पादन गर्न छुट पाउने व्यवस्था पनि किटान गरिएको छ ।

विदेशका वैधानिक वस्तु उत्पादनका आधारलाई मान्यता नदिने चिनियाँ नीतिविरुद्ध अमेरिकाले निरन्तर सिकायत गरिरहेको छ । साथै चीनले आफ्नो अर्थतन्त्रलाई असर पार्ने खासखास क्षेत्रमा विदेशी उत्पादनसँगको प्रतिस्पर्धाले कुनै असर नपार्ने गरी आवश्यक कानुनी प्रावधानको कवचले सुरक्षित तुल्याएको पनि छ ।  

चीनले व्यापार—वाणिज्यका अन्तर्राष्ट्रिय मूल्य मान्यतालाई उल्लङ्घन गरिरहेको अमेरिकाको  आरोप छ । विश्व व्यापार सङ्गठनमा चीनको यस्तो रवैयाविरुद्ध उसले फिराद पनि गराएको छ । अमेरिकाले बौद्धिक सम्पत्ति अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय व्यापार ऐनको खण्ड ३०१ मा टेकेर यस्तो सिकायत अर्जी गरेको कानुनी आधार बताउँछ । यस्तो कानुनी प्रावधानका आधारमा अमेरिकी राष्ट्रपतिले आफ्नो अर्थतन्त्रलाई बचाउन आफ्ना वस्तुहरूको विश्व बजारमा रहेको परिमाण र सोको बेरोकटोक वितरण प्रक्रियालाई संरक्षणका जुनसुकै कदम चाल्न पनि सक्ने अधिकार रहेको छ । त्यसको अलावा, एकतर्फी ढङ्गले अर्को पक्षविरुद्ध आवश्यक जरिवाना लगाउन पनि सक्ने अधिकार रहन्छ ।  अमेरिका लगायत अन्य मुलुक तथा अन्तर्राष्ट्रिय संस्थाले पनि विश्व व्यापार प्रणालीमा चीनको शङ्कास्पद भूमिका बारे सम्बन्धित निकाय समक्ष आफ्ना उजुरी दिएका छन् ।

एक अनुसन्धानका अनुसार, सन् २०१६ को अन्त्य सम्म आइपुग्दा अमेरिकाले २,२४८,२०९  मिलियन अमेरिकी डलर बराबर चिनियाँ वस्तु आयात गरेको थियो । अर्कोतर्फ चीनले जम्मा १,४५०,४५७ मिलियन अमेरिकी डलर बराबरको अमेरिकी वस्तु आयात गरेको तथ्याङ्क छ । यो क्रम सन् २०१७ सम्म आइपुग्दा झनै बढेर गएको छ । यसरी चीनको अमेरिकासँगको व्यापारमा अतिरिक्त व्यापार २७५.८१ अर्ब अमेरिकी डलर पुगेको छ । यो मात्रा चीनले विश्वभरि गर्ने अतिरिक्त व्यापारको ६८ प्रतिशत हो । यसले समग्र अमेरिकी सार्वभौम अर्थतन्त्रमाथि नै ठूलो नकारात्मक असर पर्ने प्रबल सम्भावना रहेकाले आन्तरिक रूपमा ट्रम्प प्रशासन चौतर्फी घेराबन्दीमा पर्न गएको हो । जसले गर्दा बाध्यकरी ढङ्गले चिनियाँ वस्तुविरुद्ध थप करको मात्रा थोपर्नुपर्ने बाध्यता आइपर्न गएको हो ।    

अर्को कुरा आर्थिक रूपले सबल चीन सैन्यबल तथा प्रतिरक्षा प्रणालीमा पनि उत्तिकै शक्तिशाली बन्दै जाने भयले अमेरिका ग्रसित छ । चीन विश्वको  आर्थिक महाशक्ति भएर अमेरिका पछि परेमा संसारभरी रहेका अमेरिकी सैन्य बेसहरूलाई धान्न गाह्रो पर्दै जानेछ । त्यसले क्रमशः विश्वव्यापी अमेरिकी प्रभुत्व कमजोर पार्दै लानेछ । रणनीतिक हिसाबले पेचिला क्षेत्रहरूमा गतिलो अमेरिकी दबदबा घट्ने छ । जसले गर्दा सर्वत्र भूराजनीतिक समीकरण बदलिन जान्छ । विस्तारै एउटा भयानक सङ्क्रमणकाल र शक्ति शून्यताबाट विश्व गुज्रिन पुग्छ । प्याक्स–अमेरिकीकानाको अन्त्य नजिकिँदै जाँदा सम्भावित महाशक्तिहरूका बीच शक्ति सङ्घर्ष बढ्न थाल्छ ।     

सन् २०१७ मा अन्तर्राष्ट्रिय मुद्राकोषको विश्लेषण अनुसार चिनियाँ अर्थतन्त्र झन्डै १२ हजार पन्ध्र अर्ब अमेरिकी डलर बराबरको रहेको थियो भने सन् २०१८ मा हालसम्मको स्थिति झन्डै १३ हजार पाँच सय अर्ब अमेरिकी डलर बराबर कायम रहने अनुमान छ । उसको आर्थिक वृद्धिदर सन् २०१७ को विश्लेषणका आधारमा  ६.९५ रहेको थियो भने प्रतिव्यक्ति आय ९,६३३ अमेरिकी डलर कायम रहने अनुमान छ ।   

यसको तुलनामा अमेरिकी अर्थतन्त्र लगभग २१ ट्रिलियन अमेरिकी डलर बराबर मात्रै रहेको देखिन्छ । पछिल्लो तथ्याङ्कअनुसार यसको वार्षिक वृद्धिदर जम्माजम्मी ३.५ प्रतिशतमा सीमित रहने अनुमान छ । हुन त हरेक अमेरिकीको प्रतिव्यक्ति आय चिनियाँको भन्दा धेरै नै छ तर चिनियाँ अर्थतन्त्रको वृद्धिदरको प्रवृत्ति हेर्दा निकट भविष्यमा नै आर्थिक मापनका सबै सूचकहरूमा चिनियाँ स्थिति ज्यादै बलियो बन्दै जाने निश्चित छ ।                                             

विकसित हुँदै गएको यस्तो अवस्थालाई सक्दो नियन्त्रण गर्न आफ्ना सबै उपलब्ध उपायहरूको प्रयोग गर्न लागिपरेको छ ।

भर्खरै अजेन्टिनाको बुएनस आयर्समा सम्पन्न समूह सात (जी सेभेन) को बैठकमा चीन र अमेरिका बीच चलेको व्यापारिक द्वन्द्वले प्रमुखता पाएको थियो  । गत वर्षबाट  व्यापारिक द्वन्द्व  चर्किन थालेपछिको चिनियाँ राष्ट्रपति र अमेरिकी राष्ट्रपति बीचको यो नै पहिलो भेटघाट थियो । 

आफ्नो चुनावको प्रचारका क्रममा आफ्ना मतदाता माझ राष्ट्रपति ट्रम्पले अमेरिकी अर्थतन्त्रलाई सबल पार्ने बलियो नारा दिएका थिए । चिनियाँ वस्तुले आम अमेरिकीको जीवनमा प्रत्यक्ष असर पारेको र स्वदेशी वस्तु बजार अत्यन्तै कमजोर भएका कारण ट्रम्पले आर्थिक पक्षलाई प्राथमिकतामा राखी चुनावी दौडमा होमिए । अमेरिका प्रथम, अमेरिकालाई फेरि महान बनाऔँ जस्ता चुनावी नाराले उनलाई जित दिलाउन सफल भएको मानिन्छ ।    

सन् २००७ देखी सुरु भएको विश्वव्यापी आर्थिकमन्दीले नराम्रोसित थालिएको अमेरिकी अर्थतन्त्र सन् २०१४ सम्म आइपुग्दा धेरै उत्पादनशील क्षेत्रहरू कमजोर बनिसकेका थिए भने सवल बन्दै गएको राज्य नियन्त्रित चिनियाँ अर्थतन्त्रले नजिकबाट पछ्याइरहेको थियो । सो बखत चीनमा नयाँँ नेतृत्वले शासन सम्हालिसकेको थियो । नयाँँ राष्ट्रपति सी जिनपिङले विश्व समुदाय समक्ष प्रस्ताव गरेका बेल्ट एन्ड रोड अवधारणामा अधिकांश मुलुक प्रभावित भइसकेका थिए । चीनले विकास र समृद्धिमा साझेदारी गर्दै जाने वाचा अघिसार्दै गर्दा अमेरिकी अर्थ व्यवस्था भने अन्य मुलुकलाई दिँदै आएका सम्पूर्ण सहयोग पनि रोक्नुपर्ने बाध्यतामा पुगेको थियो ।    

अवश्यम्भावी जोखिम 

चीन र अमेरिका बीचको वर्तमान असमझदारी नियन्त्रणभन्दा बाहिर गएको खण्डमा अन्तर्राष्ट्रिय व्यापारको प्रणालीमै ठुलो हलचल हुनजाने खतरा रहन्छ । त्यसले विश्व व्यापारका उत्प्रेरकका रूपमा लिइने आपूर्ति र विनिमयका समग्र शृङ्खलालाई नै भत्काइदिनेछ ।                  

त्यसबाट पैदा हुनजाने घातक परिणाम अमेरिकी र चिनियाँ अर्थतन्त्रमा मात्रा सीमित रहँदैन । यसले विश्वव्यापी स्वरूप धारण गर्छ र विश्वका सम्पूर्ण अर्थतन्त्रलाई प्रत्यक्ष नकारात्मक असर पुर्याउन थाल्छ ।

अर्थ राजनीतिक विज्ञहरूका अनुसार त्यस बेलाको अवस्था ज्यादै भयावह हुनेछ । वित्त निगमहरू जस्तै अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व व्यापार सङ्गठन, विश्व बैङ्कलगायत अन्य थुप्रै सङ्घसंस्थाहरूले आवश्यक प्रत्यक्ष हस्तक्षेपकारी भूमिका निर्वाह गर्नुपर्ने हुन्छ । हालको विश्व व्यापार प्रणालीको निर्माण र त्यसलाई नियमन गर्ने अवयव संस्थाहरूको निर्माण तथा परिचालन गर्न दशकौँ लागेको थियो । हालको विश्वव्यापी वित्त प्रणाली कैयौँ असफल वार्ता र शिखर सम्मेलनले निकै कष्टका बाबजुद पैदा भएको थियो ।

हुन त कुनै पनि प्रणाली अन्तिम र पूर्ण हुँदैन । समयचक्रमा अर्को नयाँँ विकल्पले स्थान लिने छ । तथापि हालको व्यवस्था कमजोर हुँदै गएको र नयाँँले परिपक्वता हासिल नगरी सकेको सङ्क्रमणकालीन अवस्था अनिर्णित रूपले लम्बिन पुग्छ । एउटा सुचारु जीवनशैलीमा बानी परेका विश्वका मानव समुदायहरू त्यस डरलाग्दो शून्यतामा कसरी दैनिक जीवन सञ्चालन गर्लान् भन्ने कुरा अड्कल मात्र लगाउन सकिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मातृका पौड्याल
मातृका पौड्याल

लेखक नेकपा माओवादी केन्द्र, विदेश विभाग सदस्य एवम् परराष्ट्र मामिलाका अध्येता हुनुहुन्छ ।
 

लेखकबाट थप