शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

स्थलगत अध्ययनपछि मानवअधिकारकर्मीको निश्कर्ष :  कुमार पौडेलको मृत्यु दोहोरो भिडन्तमा भएको विश्वसनीय आधार पाइएन

आइतबार, १९ साउन २०७६, १५ : ३८
आइतबार, १९ साउन २०७६

काठमाडौँ । सर्लाहीमा मारिएका प्रतिबन्धित नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका जिल्ला इन्चार्ज कुमार पौडेलको प्रहरीसँगको दोहोरो भिडन्तमा मृत्यु भएको आधार नपाएको निष्कर्ष मानवअधिकारकर्मीले निकालेका छन् ।

एड्भोकेसी फोरम नेपाल र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले घटनापछि तीन दिन स्थलगत अध्ययन गरेर सो निष्कर्ष निकालेको हो ।

गत असार ५ गते सर्लाहीको लालबन्दी नगरपालिका १ को लखन खेला नजिक ४७ वर्षीय कुमार पौडेलको प्रहरीसँगको मुठभेडमा मारिएको दाबी गरिएपनि मानवअधिकारकर्मीहरुले प्रहरीको उक्त दाबीलाई अस्वीकार गरेका हुन् ।

यता, नेपाल कम्युनिष्ट पार्टी जनकपुर ब्युरोले घटना भएकै दिन जारी गरेको विज्ञप्तिमा कुमार पौडेललाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएर हत्या गरेको जनाएको थियो ।

दुई संस्थाद्वारा संयुक्त रुपमा जारी गरिएको प्रारम्भिक स्थलगत अनुगन प्रतिवेदनमा भनिएको छ, 

प्रहरीले दोहोरो भिडन्त भएको जनाएता पनि यसको विश्वसनीय आधार भने पाउन सकिएन । घटनाको अनुगमन तथा तथ्य संकलनमा गएको टोलीले देखेको घटनास्थलको अवस्था तथा प्रकृति, घटनास्थलमा खिचिएको फोटोहरु, जिल्ला अस्पतालमा राखिएको मृतकको शवको अवलोकन, शव पोष्टमार्टम गर्ने डाक्टरको भनाइ, मृतकको परिवार र आफन्तको भनाइ, स्थानीय व्यक्तिहरूको कथन अनुसार घटना भएको दिन स्थानीयबासीलाई बिहानैदेखि घटनास्थलमा आवतजावतमा रोक लगाइनु,स्थानीय प्रहरीलाई घटनाबारे जानकारी नहुनु, दोहोरो गोली हानाहानको घटना भनिए पनि स्थानीयवासीले दोहोरो भिडन्तमा गोली चलेको आवाज नसुन्नु जस्ता कारणले कुमार पौडेलको दोहोरो भिडन्तमा मृत्यु भएको हो भन्न सकिने विश्वसनीय आधार देखिएन । 

प्रतिवेदनमा कुमार पौडेलको मृत्यु दोहोरो भिडन्तमा नभई नियन्त्रणमा लिएपश्चात् गरिएको हुनसक्ने यथेष्ठ सम्भावना रहेकाले यस घटनाको निष्पक्ष अनुसन्धानका लागि छुट्टै उच्चस्तरीय न्यायिक छानविन समिति गठन गरी सत्य तथ्य बाहिर ल्याउनु पर्ने उल्लेख गरिएको छ ।

‘नेपालको कानुनले व्यक्ति हत्या गर्ने छूट कसैलाई दिएको छैन भने अर्कोतिर सस्तो लोकप्रियताका लोभमा गरिने गैरकानुनी कार्यले नेपाल प्रहरीको साख पनि उचो पार्दैन । आफ्ना कृयालापकाबारेमा प्रश्न उठिरहँदा त्यसको चित्तबुझ्दो जबाफ प्रहरीले दिनुपर्छ,’ प्रतिवेदनमा भनिएको छ ।

स्थलगत अध्ययनपछि निम्न मागहरु पनि अघि सारिएको छ :

१.    कुमार पौडेल हत्या घटनाको न्यायिक छानविन गर्न उच्चस्तरीय संसदीय समिति गठन गरी सत्य तथ्य उजागर गर्न माग गरिएको छ ।

२.   घटनामा संलग्नलाई कानुनी दायरामा ल्याउन तथा दण्डहीनातको अवस्था अन्त्य गर्न माग गरिएको छ ।

३.    नेपालको संविधान, कानुन तथा नेपाल सरकारको अन्तराष्ट्रिय प्रतिबद्धताको स्मरण गराउँदै सो को परिपलानामा गम्भीरता अपनाउन नेपाल सरकारसँग गरिएको छ।

४.   कथित मुठभेडका नाममा व्यक्ति हत्या जस्तो जघन्य अपराधमा संलग्न संस्था वा व्यक्तिलाई उत्तरदायी बनाउन तथा कानुनी दायरामा ल्याउन माग गरिएको छ ।

५.   राष्ट्रिय मानव अधिकार आयोगले यस घटनाका सम्बन्धमा गरेको अनुसन्धान तथा अनुगमन प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप