केन्द्रीय संस्करण
भाषा बहस

‘नेपालीलाई खास वर्गको भाषा बनाउन खोजिएकाले वितण्डा मच्चिएको हो’

प्राडा हेमाङ्गराज अधिकारीसँगको अन्तरवार्ता

person explore access_timeसाउन १९, २०७६ chat_bubble_outline0
मोहन दाहाल

रातोपाटी

हेमाङ्गराज अधिकारी कोसी अञ्चल, भोजपुर जिल्ला अन्तर्गत दिङ्लामा २००४ असार ७ गते जन्मिएका हुन् । उनले संस्कृतमा आचार्य तथा नेपालीमा स्नातकोत्तर गरी भाषाविज्ञानमा विद्यावारिधि उपाधि प्राप्त गरेका छन् । डाक्टर अधिकारीले  त्रिभुवन विश्वविद्यालयमा धेरै वर्ष प्राध्यापन गरी हाल अवकाश प्राप्त गरेका छन् ।

वक्रोक्तिवाद (२०२८ सालतिर) समालोचना लेख लेखेर सार्वजनिक लेखन तथा सिर्जनामा होमिएका प्राडा. हेमाङ्गराज अधिकारीका पूर्वीय समालोचना सिद्धान्त (२०३०), नेपाली भाषा शिक्षण (२०३९), भाषा शिक्षण ः केही परिप्रेक्ष्य केही पद्धति (२०४६), समसामयिक नेपाली व्याकरण (२०४९), नेपाली कारक व्याकरण (२०५२), प्रारम्भिक नेपाली शिक्षण (सहलेखन २०५५), सामाजिक र प्रायोगिक भाषा विज्ञान (२०५६), समसामयिक सरल नेपाली व्याकरण (२०५७), सजिलो नेपाली माला (सम्पादन र अनुवाद, २०५७), प्रयोगात्मक नेपाली शब्दकोश (सम्पादन, २०६१), प्रयोगात्मक नेपाली व्याकरण (२०६७) आदि कृतिहरु छन् ।

प्राडा. अधिकारीले त्रिभुवन विश्व विद्यालयद्वारा प्रदान गरिने सर्वाेच्च पदक महेन्द्र विद्याभूषण क, सैन्यध्वज नन्दकुमारी विद्वद्वृत्ति लगायतका सम्मान तथा पुरस्कार प्राप्त गरेका छन् ।

नेपाली भाषा व्याकरणका क्षेत्रमा निरन्तर लागिपरेका उनी पछिल्लो समय नेपाली वर्णविन्यासका सम्बन्धमा अत्यन्त आलोचित व्यक्तित्व पनि हुन् । नेपाली वर्णविन्यासमा देखिएका विवाद, समस्या र समाधानका विषयमा केन्द्रित रहेर प्राडा. हेमाङ्गराज अधिकारीसँग मोहन दाहालले गरेको कुराकानी :

आजकल के कार्यमा व्यस्त हुनुहुन्छ ?

–आजकाल त म आराम नै गरिरहेको छु । नेपाल प्रज्ञा प्रतिष्ठानमा अघिल्लो परिषद्मा थिएँ । नेपाली भाषा विभाग नै हेर्थें । पदावधि सिद्धिएपछि केही समय फुर्सदमा भएँ । यस क्रममा केही दिन छोरीको निम्तामा अस्ट्रेलियातिर घुम्न  गएँ । ६, ७ महिना त्यतै बसेँ । एक किसिमले आराम गर्न गएँ । नेपाल आएको दुई महिना जति भयो । खास व्यस्तता छैन । कसैले भाषा साहित्यसँग सम्बन्धित गोष्ठी, मिटिङमा बोलाए भने गइन्छ । यस्तै छ ।

जीवनको ऊर्जाशील समय नेपाली भाषा साहित्यमा बिताउनु भयो, आफैैलाई गर्व महसुस हुने कार्य के के गर्नु भएछ ?

–मैले त्रिभुवन विश्वविद्यालयबाटै संस्कृत साहित्यमा आचार्य गरेको हुँ । शिक्षामा बीएड गरेँ त्यतिखेर । त्यसपछि नेपालीमा एमए गरेँ । अनि विश्वविद्यालयमा अध्यापन गर्न प्रवेश गरेको हुँ । मैले प्रवीणता प्रमाणपत्र तहको अध्यापनका लागि शिक्षाशास्त्रको क्याम्पस नेपालगन्जबाट त्रिविमा प्रवेश गरेको हो । त्यसको एक वर्षभित्रै म कीर्तिपुरको शिक्षाशास्त्रको नेपाली विभागमा आएँ । त्रिभुवन विश्वविद्यालयको सेवामा प्रवेश गरेको भनेको विसं. २०३० सालमा हो ।

त्रिवि प्रवेश गर्नुभन्दा पहिले मैले एउटा किताब लेखेको थिएँ, विद्यार्थीकै वेलामा भनौँ । त्यो पूर्वीय समालोचना सिद्धान्त भन्ने किताब साझा प्रकाशनमा प्रकाशनका लागि दिएको थिएँ । २०३० सालमै त्यो प्रकाशित भयो । त्रिभुवन विश्वविद्यालयमा करिब ४० वर्ष पढाएर निवृत्त भएँ । त्यस वेला मैले बीएडको शिक्षाका लागि २०३९ मा नेपाली भाषा शिक्षण भन्ने किताब लेखेँ । त्रिभुवन विश्वविद्यालय पाठ्यक्रम विकास केन्द्रले नै लेखाएको थियो । त्रिभुवन विश्वविद्यालयले नै त्यो प्रकाशित गर्यो । त्यतिखेर त्रिवि. पाठ्यक्रम विकास केन्द्रमा डा.बल्लभमणि दाहाल अध्यक्ष भएको अनिवार्य नेपाली विषय समिति कार्यरत थियो । म त्यसको सदस्य भई उहाँ र डा. वासुदेव त्रिपाठी, डा. चूडामणि बन्धु जस्ता अग्रज गुरुसँग सँगै काम गर्ने मौका मिल्यो । त्यो नेपाली भाषा शिक्षण धेरै वर्षसम्म प्रयोगमा आयो । अहिले पनि त्यो स्रोत वा क्लासिकल किताब नै मानिन्छ । २०३९ को नेपाली भाषा शिक्षणकै सेरोफेरोमा अहिले बजारमा आएका सबै कितबहरू लेखिएका छन् । मूल स्रोत चाहिँ त्यसलाई मानेर अन्य किताब प्रकाशन हुँदै आएका हुन् । यो किताब अहिले पनि विद्यार्थी पुस्तक भण्डारमा पाइन्छ ।

‘नेपाली कारक व्याकरण’ शीर्षकमा मैले पिएचडी गरेँ । डा.चूडामणि बन्धुको शोध निर्देशन, डा. बल्लभमणि दाहाल र डा. योगेन्द्र प्रसाद यादवको विशेषज्ञत्वमा त्रिभुवन विश्वविद्यालयबाट पिएचडी गरेँ । नेपाली कारक व्यवस्थाको अध्ययन भनेर गरेपछि त्यो किताब नेपाली कारक व्याकरण भनेर प्रज्ञा प्रतिष्ठानले २०५४ सालमा प्रकाशित गरेको छ । पिएचडीपछि पनि नेपालीमा अलिक आधुनिक खालको व्याकरण छैन बनाउनु पर्यो भनेर मैले अध्ययन गरेँ । म एकदुई वर्ष त्यतातिर लागेँ । २०४९ सालमा ‘समसामयिक नेपाली व्याकरण’ कुञ्जल प्रकाशनको नाममा आफैले प्रकाशित गरेँ ।

२०५१ सालभन्दा अघि त्रिभुवन विश्वविद्यालयमा पुरानो पाठ्यक्रम थियो ।  यसमा वर्ण, अक्षर, उच्चार्य वर्णका कुरा थिएनन् । लेख्य वर्णको अध्ययन मात्र हुन्थ्यो । त्यो पुरानो पाठ्यक्रममा परिवर्तन भयो । त्यतिखेर ११ र १२ लाई प्रवीणता प्रमाणपत्र तह भन्थे । त्यसमा हामीले उच्चार्य र लेख्य वर्ण पनि राख्यौँ । त्रिवि. अनिवार्य नेपाली विषय समितिको अध्यक्ष डा. चूडामणि बन्धुको अध्यक्षतामा परिमार्जित पाठ्यक्रम निर्माण भयो । त्यसमा मोहनराज शर्मा, माधव पोखरेल समेत हामी थियौँ ।

त्यसले नेपाली उच्चार्य वर्ण र लेख्य वर्णको भेदको पहिचानका साथै शब्दको अक्षरीकरणको पढाइ सुरु गरायो । त्यसभन्दा अघि मध्यचन्द्रिका व्याकरण पढाइ हुन्थ्यो । त्यसमा वर्णविचार भनेर लिपि विचार पढाइन्थ्यो ।। संस्कृतमा प्रयोग हुने देवनागरी वर्णमाला सबै राखिएको हुनाले त्यसमा संस्कृत अनुसारकै उच्चारण दिइएको थियो । त्यसैले विश्वविद्यालयमा नेपाली भाषाको अनिवार्य विषयको पठनपाठनमा फरक २०५१ देखि आएको हो । नयाँ पाठ्यक्रममा आएपछि पाठ्यपुस्तकहरू पनि त्यहीअनुसार बने । त्यही पाठ्यक्रम अनुसार पाठ्यपुस्तकहरु बन्न थाले । समसामयिक नेपाली व्याकरण त्यसका लागि स्रोत सामग्री बन्न पुग्यो ।

*****

उच्चारणको मानक लेख्य मानकभन्दा कतिपय ठाउँमा फरक हुन्छ । त्यो सिकाउनु आवश्यक हुन्छ । किनभने सर्कार् उच्चारण गर्ने गरिन्छ, अनि सरकार लेख्ने गरिन्छ । कन्या लेख्ने अनि कन्न्या बोल्ने गरिन्छ । यस खालको उच्चार्य स्वरूपका लागि मानक उच्चारण पनि चाहिन्छ भन्ने दृष्टिकोणले हामीले त्यो तयार पार्यौँ । यस कोशमा शब्दहरुको प्रयोग र व्युत्पन्न शब्दहरुको संरचना सम्बन्धी सूचना पनि यथेष्ट छ । 

******

त्रिभुवन विश्वविद्यालयको अनिवार्य नेपाली विषय समितिमा म २०३३ सालदेखि नै थिएँ । यो सुरुको समिति हो । त्यसलाई पहिले पाठ्यक्रम विकास केन्द्र भनिन्थ्यो । नयाँ शिक्षापछि पाठ्यक्रम विकास केन्द्र भन्ने आयो । अनिवार्य विषयहरू त्यसअन्तर्गत पर्थे । पाठ्यक्रम विकास केन्द्र  शिक्षाध्यक्षको कार्यालय अन्तर्गत थियो ।

त्यति वेला अनिवार्य विषयका गोष्ठीहरू हुन्थे । क्याम्पस क्याम्पसमा, क्षेत्रीय र राष्ट्रिय गोष्ठी हुन्थे । त्यसको नेतृत्व बल्लभमणि दाहालले गर्नुहुन्थ्यो । केन्द्रीय विभागको अध्यक्षमा वासुदेव त्रिपाठी हुनुहुन्थ्यो । उहाँहरूको नेतृत्वमा २०३६ मा अनिवार्य नेपाली शिक्षण निर्देशन नामक निर्देशिका निस्कियो । त्यसमा हामीले नै काम गरेको हौँ । त्यसमा पनि शिक्षण पक्ष त सबै मैले नै गरेको हो । पछि समसामयिक नेपाली व्याकरण आएपछि भाषा वैज्ञानिक दृष्टिले वर्णव्यवस्था, उच्चार्य भाषाको कुरा पनि सन्दर्भित भएर आए ।

२०६१ सालमा म र बद्रीविशाल भट्टराई भएर ‘प्रयोगात्मक नेपाली शब्दकोश’ तयार गरी विद्यार्थी पुस्तक भण्डार, भोटाहिटीबाट प्रकाशन गर्यौँ । त्यसमा उच्चारण पनि समावेश गर्यौँ । भाषामा मानक नेपालीको उच्चार्य रूप पनि हुन्छ भन्ने कुरा त्यसमा आयो । त्यसभन्दा पहिले विदेशीलाई पढाउने कोर्सहरूमा त अलि अलि आएको थियो तर नेपाली कोशमा चाहिँ आएको थिएन ।

*****

लेखक हुन इच्छा गर्नेले नेपाली शैली के हो, चिन्नुपर्छ : चूडामणि रेग्मी

'झर्रोवाद भन्दैमा हामीले संस्कृतलाई छोड्ने भन्ने त होइन नि'

अहिलेसम्म नेपाली व्याकरण लेखनको परम्परा फोस्रो ढुटो मात्र हो : प्राडा माधवप्रसाद पोखरेल

नेपाली भाषाका भीष्मपितामह हुन् बालकृष्ण पोखरेल : चूडामणि रेग्मी

नेपाली भाषाको वर्णविन्यासमा शतप्रतिशत एकरूपता हुन सक्दैन : चूडामणि बन्धु

‘आस्थाको धरोहरमा कसैले बन्चरो हान्छ भने हरेक हृदयमा विस्फोट हुन्छ’

कुनै शासकले बन्दुक तेर्स्याएर ल्याउने कुरा होइन वर्णविन्यासमा एकरूपता : डा. बलदेव अधिकारी

*****

सञ्चार माध्यममा जुन किसिमको उच्चारणको मानक चाहिन्छ, त्यो उच्चारणको मानक लेख्य मानकभन्दा कतिपय ठाउँमा फरक हुन्छ । त्यो सिकाउनु आवश्यक हुन्छ । किनभने सर्कार् उच्चारण गर्ने गरिन्छ, अनि सरकार लेख्ने गरिन्छ । कन्या लेख्ने अनि कन्न्या बोल्ने गरिन्छ । यस खालको उच्चार्य स्वरूपका लागि मानक उच्चारण पनि चाहिन्छ भन्ने दृष्टिकोणले हामीले त्यो तयार पार्यौँ । यस कोशमा शब्दहरुको प्रयोग र व्युत्पन्न शब्दहरुको संरचना सम्बन्धी सूचना पनि यथेष्ट छ । यस खालको कोश अहिले हिन्दीमा पनि छैन । एउटा महत्त्वपूर्ण उपलब्धि हो भन्छु । यस कोशको दोस्रो संस्करण २०७० सालमा आएको हो । मैले गरेका मुख्य मुख्य काम चाहिँ यिनै हुन् । अहिलेको विरोध देख्दा धेरै पो गरिएछ कि जस्तो लाग्न थाल्यो ।

अन्य प्रयोगात्मक नेपाली व्याकरण निकालेँ, भाषाशिक्षण केही परिप्रेक्ष्य तथा पद्धति भन्ने किताब लेखेँ । नेपाली कारक व्याकरण पनि निकालेँ । भाषा शिक्षणको प्रारम्भिक नेपाली शिक्षण भन्ने किताब निकालेँ । अनि प्रज्ञा प्रतिष्ठानमा रहँदा अरू केही किताबहरु मेरो सम्पादनमा निस्किए । तीमध्ये साठी वर्षका भाषिक चर्चा र नेपाली व्याकरणको विकास व्रmमिक अनुशीलन उल्लेख्य छन् । मैले गरेका कार्यहरू यिनै हुन् ।

देशविदेश पनि घुमेर आउनुभयो, परदेशका नेपालीको नेपाली भाषाप्रतिको मोह कस्तो पाउनुभयो ?

–विदेश गएपछि भावनात्मक दृष्टिले पनि नेपाली भाषाप्रतिको मोह त अझ बढ्दो रहेछ । अस्ट्रेलियाको ब्रिसवनको एउटा कार्यक्रममा म पनि सहभागी भएँ । बोल्ने अवसर दिनुभएको थियो । त्यहाँ अन्तर्राष्ट्रिय नेपाली समाज भन्ने समूह रहेछ । सप्ताहान्तमा छुट्टीको बेला चाहिँ केही न केही कार्यक्रमहरू गर्दा रहेछन् । चाडपर्वहरूलाई ध्यान दिएर साहित्यिक कार्यक्रमहरू हुने गर्दा रहेछन् । त्यस्तै साहित्यिक कार्यक्रममा मायामोह चाहिँ धेरै हुने तर परिवेश चाहिँ ज्यादै कम हुने अवस्था छ ।

अहिले नेपालबाट गएको पिँढीले नेपाली भाषाप्रति गहिरो प्रेम राखेको पाइन्छ र आफूले गर्न सक्ने जति त्यस खालको समाज भेट्यो भने सम्झने गरेको छ । तर त्यसपछिको पिँढीमा नेपाली चाहिँ विस्तारै हराउँदै गइरहेको छ । किनभने त्यसखालको परिवेश त्यहाँका नयाँ पिढीलाई उपलब्ध छैन ।

विदेशमा मात्र होइन नेपालमा पनि अहिले त्यो अवस्था आउँदै छ । एक त त्यो परिवेश हामीले भत्काउँदै छौँ । घरबाट विद्यालय पठाएपछि त्यो परिवेश भत्कायौँ । एउटा बच्चा घरभित्र नेपाली भाषा बोल्दै थियो, स्कुल गएपछि त्यो छोड्यो । त्यो पनि केजीबाटै मेटाउन सुरु गर्यौँ । पहिले कक्षा १ देखि ४ सम्म त नेपाली पढ्थ्यो, त्यो पनि सरकारले आदेश गरेर १ देखि अङ्ग्रेजी लगायो अनि कसरी हुन्छ ? टिप्पणी र आदेशको भरमा अङ्ग्रेजी लागू गरियो ।

*****

पहिले भारततिरबाट आएका शब्दहरू लखनऊ, पिछलग्गू हिन्दीमा दीर्घ लेख्थे । त्यसैलाई पछ्याएर नेपालीमा पनि सुरु सुरुमा दीर्घ नै लेखेका थिए । हाम्रा गाउँठाउँ पनि स्थानवाचक भएकाले दीर्घ लेख्थे । गाउँ, ठाउँ नै ह्रस्व भएपछि तपाईंले सोलु, मुगु ह्रस्व लेखेपछि अरू दीर्घ लेख्नु परेन । तनहूँ काठमान्डू किन दीर्घ गर्ने ? अब काठमान्डु पनि ह्रस्व, तनहुँ पनि ह्रस्व भयो । विशेषण दीर्घ भने इकारमा हो, हिन्दीलाई देखेर उकारमा पनि दीर्घ गर्दै थिए । अहिले अब त्यो पनि ह्रस्व भयो । 

*****

भाषा परिवर्तनशील हुन्छ भनिन्छ तर नेपाली भाषामा भएको यति छिटो (प्रत्येक २, ३ वर्षमा) भाषाका नियमहरू परिवर्तन हुनु कतिको जायज हो ?

–जुद्ध शमशेरको पालामा १९९१ मा नेपाली शुद्ध कसरी लेख्ने (नेकशुले) भन्ने एउटा सानो पुस्तिका बनेको थियो । त्यसलाई प्रकाशनमा ल्याइयो । नेपाली भाषा प्रकाशिनी समितिको प्रकाशनमा मानक स्थापित गर्न भनेर नेकशुले प्रकाशन गरिएको थियो । त्यति वेला त्यसलाई २ पैसा पथ्र्यो । त्यसैलाई आधार मानेर सबैले २ पैसे व्याकरण भन्थे ।

तर त्यो व्याकरण त होइन किनभने हिज्जे भनेको व्याकरण होइन । तर हामी हिज्जेलाई घिच्याएर ल्याएर जबर्जस्ती व्याकरण भनिरहेका छौँ । ‘सर्वनाम विशेषण पेसा जाति थर, अरी तरी दीर्घ हुन्छन् दीर्घ लेख्ने गर...’ भन्ने श्लोकलाई आधार मानेर व्याकरण भनियो । तर त्यो व्याकरण होइन । अहिले त त्यो सवाई अनुसारको हिज्जे कहीँ पनि मिल्दैन ।

त्यति वेलाको नेपाली भाषा लेखनको भद्रगोललाई १९९१ मा आएको नेकशुलेले एक किसिमको व्यवस्थित गर्यो । सरकारी आदेश भएकाले त्यसैको अनुसरण भयो । यसैमा आधारित भएर गोपाल पाँडे असीमले ह्रस्वदीर्घको सवाई लेख्नुभयो । यो सर्वनाम विशेषण पेसा जाति थर... उहाँकै हो । तर उहाँको सवाई नम्बर ४६ मा ‘अगाडि र बीचमा ह्रस्व र पछाडि ईकार भए दीर्घ, उकार भए ह्रस्व गर्ने’ भन्नुभएको छ । गोपाल पाडेँ पेसाले शिक्षक हुनुहुन्थ्यो । हामीले ४० वर्ष विश्वविद्यालय पढायौँ भने जस्तै उहाँले दरबार हाइस्कुलमा ४०, ४५ वर्ष पढाउनु भयो ।  उहाँले त्यही अनुभवका आधारमा यो सवाई लेख्नु भएको हो । यसमा धेरै नियम बनाउनु भएको छ र सारमा चाहिँ नेपाली शब्दहरूमा अगाडि र बीचमा ह्रस्व र पछाडि इकार भए दीर्घ उकार भए ह्रस्व लेख्ने भन्नुभएको छ । अहिले यही सामान्य नियम लागू छ ।

अहिले लेखनमा मिठो पिठो सबै नै ह्रस्व भएपछि अगाडि र बीचमा ह्रस्व भयो । मलिलो, सुरिलो, ह्रस्व भयो । अब ज्यामिर, अमिर, साँगुरो ह्रस्व भयो अनि अन्तिममा इकार आए दीर्घ पानी, नानी, पापी, फर्सी सबै दीर्घ भए । अनि उकार चाहिँ ह्रस्व भए । खुरुखुरु, लुरुलुरु आच्छु, आत्थु सबै ह्रस्व हुन्छ । जान्नेले दीर्घ लेख्न खोज्दैछन्, सचेत भएर तर स्वतः चाहिँ ह्रस्व हुन्छ ।

पहिले भारततिरबाट आएका शब्दहरू लखनऊ, पिछलग्गू हिन्दीमा दीर्घ लेख्थे । त्यसैलाई पछ्याएर नेपालीमा पनि सुरु सुरुमा दीर्घ नै लेखेका थिए । हाम्रा गाउँठाउँ पनि स्थानवाचक भएकाले दीर्घ लेख्थे । गाउँ, ठाउँ नै ह्रस्व भएपछि तपाईंले सोलु, मुगु ह्रस्व लेखेपछि अरू दीर्घ लेख्नु परेन । तनहूँ काठमान्डू किन दीर्घ गर्ने ? अब काठमान्डु पनि ह्रस्व, तनहुँ पनि ह्रस्व भयो । विशेषण दीर्घ भने इकारमा हो, हिन्दीलाई देखेर उकारमा पनि दीर्घ गर्दै थिए । अहिले अब त्यो पनि ह्रस्व भयो । लडाकु, ठालु, छट्टु, बुद्धु सबै ह्रस्व भइसक्यो । फेरि विशेषण चाहिँ दीर्घ नाम चाहिँ ह्रस्व भनियो । सबै नाम विशेषण पनि हुन्छन् भनेपछि उल्लु कहाँ ह्रस्व लेख्ने कहाँ दीर्घ लेख्ने ? त्यो झमेलामा कोही फस्न सक्छ ? अहिले लेखकहरू सबैले ह्रस्व बनाइसके ।

लेखकहरूको प्रयोेगको सर्वेक्षण गर्दा यी सबै नियमलाई हटाइसके । यो नियम हामीले होइन प्रयोक्ताहरूले परिवर्तन गरिसके । अब त्यसको नियमितता हामीले हेरेका हौँ । प्रयोक्ताको नियमिततालाई हेरिएको हो । हामीले परिवर्तन गरेको होइन । परिवर्तन उनीहरूले नै गरेका छन् । अब अहिले सोलु र मुगु दीर्घ लेख्तैनन्, पत्रिकाले लेख्तैनन् अनि हामीलाई दोष दिने ? केही वर्षअघिसम्म विभिन्न पत्रपत्रिकाले लागू, चालू दीर्घ लेख्तै आएका अहिले ह्रस्व लेख्न थाले, यो हामीले लेख्न लगाएको हो र ? यसर्थ प्रयोक्ताले प्रयोग गरेको कुरालाई हामीले कोशमा समावेश गरेका हौँ, त्यहाँभन्दा बढी केही होइन ।

भाषाको व्याकरण कहाँ हुन्छभन्दा भाषाभित्र हुन्छ, बाहिर त हुँदैन । सुरु सुरुमा हामीले अर्को भाषाको अनुसरण गर्यौँ, बनारसमा पढ्यौँ दार्जिलिङबाट सुरु भयो । त्यसकारण हिन्दी, अरबी, फारसी, अङ्ग्रेजीको प्रभाव रह्यो नै । गोरखापत्र १९५८ को प्रकाशन, दार्जिलिङ र बनारसको संयोजनबाट त्यति वेलाको मानक कायम भयो । त्यो मानकमा क्रमशः परिवर्तन हुँदै गयो ।

एउटा नियम १९९१ सालमा बन्यो, त्यो नियम ८५ वर्षमा त बोलीमा, लेखाइमा परिवर्तन हुनु स्वाभाविक हो । हरू दीर्घ लेख्न भनिन्छ, हरू त अव्यय हो । खुरुखुरु, लुरुलुरु, सुरुसुरु, आत्थु, आच्छु कुनै पनि दीर्घ हुँदैनन् । त्यो पहिल्यैदेखिको नियम हो । हरूको रूप चल्दैन । त्यो प्रत्यय हो । त्यसलाई दीर्घ लेख्नै पर्दैन । तर रूप शब्दको रू त दीर्घ हो, त्यो संस्कृत शब्द हो । संस्कृतलाई हामीले चलाएका छैनौँ । यसका शब्दलाई चलाएका छैनौँ । पदयोग र वियोग चाहिँ नेपाली नियमअनुसार सजिलोका लागि लामा शब्दहरू छोट्याइएको छ । यो कुरा हामीले भन्या होइन, हेर्नुस् नेपाल सरकार पनि समस्त शब्द हो । नेपालको सरकार चाहिँ नेपाल सरकार भई समास भएको शब्द हो । त्यो चाहिँ छुट्याएर लेख्ने, तरकारी पसल छुट्याएर लेख्ने अनि प्रधान न्यायाधीश, प्रधान मन्त्री चाहिँ छुट्याउँदा के बिग्रियो ?  यो कुरा बृहत् नेपाली शब्दकोश २०४० ले नै विशेषण विशेष्य अलग अलग लेखिएको छ भनेको छ ।

तसर्थ यो परिवर्तन हामीले होइन, प्रयोक्ताको प्रवृत्तिलाई हेरेर यस खालको छ भनेर समावेश गरिएको हो । अहिले आएर जुद्ध शमशेरको भूत ल्याएर त्यहीअनुसारको हिज्जेको प्रयोग हुनुपर्छ भन्ने कुरा चाहिँ सुहाउँदो होइन ।

जहाँ जहाँ निर्णायक तहमा पुग्नुहुन्छ त्यहाँ त्यहाँ नेपाली भाषाको वर्णविन्यासलाई भद्रगोल बनाउँदै हिँड्नुहुन्छ भन्ने आरोप तपाईंमाथि छ, तपाईंले त्यस्तै गर्नुभएको हो र ?

–यी सबै सडकका प्रश्न हुन् । यसमा म जस्तो एक जना भाषाको अध्येताले मात्र गर्न सक्छ ? नेपाली भाषा यत्रो करोडौँको बोलीमा छ । साक्षर पनि लाखौँ छन् । विद्वान्, लेखकहरू पनि हजारौँ छन्, त्यस्तो जीवन्त भाषा हो नेपाली । यो कुनै स्थिर भाषा होइन । संस्कृत जस्तो स्थिर भाषा त होइन ।

संस्कृतमा पाणिनिको व्याकरण छ, त्यहीअनुसार भयो भने शुद्ध हुने भन्ने चल्यो । हाम्रो भाषा त त्यस्तो स्थिर होइन । गतिशील भाषामा त्योभन्दा अरू अशुद्ध भन्ने त हुँदैन । नेपाली जीवन्त भाषा भएकाले जनजिब्रोले यसलाई प्रभावित पारिरहन्छ । भाषाको आधार भनेकै जनजिब्रो हो । २०३५ सालदेखि विषय समितिमा बसेर काम गरेँ । तर मैले व्यक्तिगत रूपमा केही परिवर्तन गरेको होइन । नगरेको कुरा मैले मान्नुपर्छ भन्ने छैन ।

पहिलो कुरा, यो परिवर्तन गरेको भने २०३५ तिर विश्वविद्यालयमा भएका गोष्ठीहरूमा जुन किसिमका सुझाव आए । आगन्तुक शब्दहरूका हिज्जेमा अनेकरूपता थियो, कसैले के लेखिदिने कसैले के लेखिदिने भयो । संस्कृतलाई यथावत् राखेर अरू आगन्तुक शब्दहरूलाई एकरूपता दिनुपर्ने अवस्था आएको थियो । त्यसमा भनिएकै छ, तद्भव शब्दहरूमा एउटै पातलो स लेख्ने र त्यस्तै आगन्तुकमा पनि एउटै स लेख्ने निर्णयहरू भए । सिफारिस जस्ता शब्दमा दुईवटै दन्त्य स लेख्ने भन्ने आयो । त्यसैले आगन्तुक शब्दलाई तद्भव नियमअनुसार लैजाने भन्ने कुरा २०३५ सालमै आएको हो । २०४० सालको नेपाली बृहत् शब्दकोशको सम्पादकीयमा पनि त्यही कुरा समेटिएको छ । आगन्तुक शब्दलाई तद्भव नियमअनुसार व्यवस्थित हुन्छ भनेर ।

*****

२०५७ को नेराप्रप्रको गोष्ठी, नेपाली भाषाको एकरूपीकरण गोष्ठी जुन मदन पुरस्कार गुठी र प्रज्ञा प्रतिष्ठान मिलेर २०६२ मा एउटा गोष्ठी भएको छ । नेपाली भाषाको एकरूपीकरण गर्न प्रज्ञा प्रतिष्ठानले २०७३ तिर प्रकाशन गरेको एउटा सानो पुस्तिका पनि छ । म विभागमा हुँदा खेरि प्रकाशित गरेको हो । विशेष गरी त्यो चाहिँ पदयोग र पद वियोगसँग सम्बन्धित छ । त्यो गोष्ठीको निष्कर्ष चाहिँ पद वियोगतिर जानुपर्छ भन्ने छ । धेरै विद्वानहरू संलग्न भएको त्यो गोष्ठी एक दिन प्रज्ञामा, दुई दिन मदन पुरस्कार गुठीमा भएको थियो । त्यसपछि २०६७ को नेपाली भाषा सङ्गोष्ठी गरी प्रज्ञा प्रतिष्ठानकै नेतृत्वमा भएका यी तीनवटा गोष्ठीको निष्कर्ष नेपाली बृहत् शब्दकोश २०७२ ले कार्यान्वयन गरेको हो । 

*****

त्यसपछि पछिल्लो समयमा म त्रिभुवन विश्वविद्यालयको अनिवार्य नेपाली विषय समितिको अध्यक्ष दुई पल्ट भएँ । यो २०६४, ६५ तिरको कुरा हो । त्यतिवेला केही परिवर्ततनहरु भएका थिए । ......

त्यतिखेर के आयो भने, एसएलसीका लागि २०५६ मा डा.दयाराम श्रेष्ठको अनिवार्य नेपालीको किताब आयो । त्यसमा केही परिवर्तन भएर आएको थियो । यस अघि डा. तारानाथ शर्माको किताब थियो । सबभन्दा लामो समय किताब चलेको भनेको शर्माको हो, १५, १६ वर्ष चल्यो त्यो किताब । २०५६ मा एसएलसीका समयमा त्यतिखेर म पाठ्यक्रम विकास केन्द्रमा विषय समितिमा थिइँन ।  त्यतिखेर दयाराम श्रेष्ठको एसएलसीको किताब आउने क्रममा थियो । त्यो विषय समितिमा खगेन्द्र लुइँटेल पनि थिए । तर म कहिलेकाहीँ आमन्त्रित हुन्थेँ ।

शिक्षण गराउँदा हिज्जेको एकरूपताका लागि बृहत् नेपाली शब्दकोश प्रयोग गर्ने भनियो । अनि पाठ्यपुस्तक लेख्दा तथा सम्पादन गर्दा शब्दका सबै विकल्प समावेश गर्ने कुरा भएन । सम्पादक मण्डलबाट पनि शब्दकोशमा दिइएका विकल्पका बारेमा के गर्ने भन्ने प्रश्न आयो । शब्दकोशमा विभिन्न ठाउँमा प्रविष्टि दिइएका हुन्छन् । तर पाठ्यपुस्तकमा विकल्प त राखिँदैन । शैक्षणिक हिसाबले पाठ्यपुस्तकमा त्यस्तो विकल्प राख्न मिल्दैन । यो शिक्षाशास्त्र पढेकालाई थाहा हुन्छ । अनि विकल्प भएकोमा मुख्य प्रविष्टि जुन छ त्यसैअनुसार गर्ने भनियो । त्यो मुख्य प्रविष्ट चाहिँ २०५६ मा अर्थात् नेपाली बृहत् कोश प्रकाशनको १६ वर्षपछि विद्यालयहरूमा लागू भयो ।

तद्भव र आगन्तुक शब्दका नियम त्यतिवेला नै लागू भएको हो । त्यो नियम त २०४० बाट  लागू भएको हो । त्यो दोषको जिम्मा ४० को शब्दकोश निर्माण गर्नेले लिने हो । जवाफ दिने पनि उहाँहरूले हो, दोष दिने पनि उहाँहरूलाई नै हो । हामीलाई किन दिनु ? हामीले त कोश हेरेर मुख्य प्रविष्टिमा जे छ त्यसैअनुसार गर्ने भन्या हाँै ।

२०५६ मा डा. दयाराम श्रेष्ठको किताब आयो । त्यो किताब आउँदा पनि अहिले जस्तो हल्ला त्यतिवेला पनि भएको हो । त्यतिखेर ग्यालेक्सी पब्लिक स्कुलमा प्रतिरोध भेला भएको थियो । त्यो एसएलसीको किताब खारेज हुनुपर्छ भनेर होहल्ला भयो । त्यसपछि प्रज्ञा प्रतिष्ठानले २०५७ मा गोष्ठी गर्यो । त्यस गोष्ठीले सुझाव दिएको ‘नेपाली वर्ण विन्यास अधिगोष्ठी’ भन्ने सानो पुस्तिकामा छ । त्यो गोष्ठीमा विभिन्न प्रतिक्रिया आए । तर मुख्य रूपमा दुईवटा प्रतिक्रिया आए । एउटा, बालचन्द्र शर्माको नेपाली शब्दकोश २०१९ अनुसारको हिज्जे हुनुपर्छ भन्ने थियो । बालचन्द्र शर्माले तत्कालीन नेपाल प्रज्ञा प्रतिष्ठानबाट नै कोश निकाल्नु भएको थियो । अर्को चाहिँ २०४० को नेपाली बृहत् शब्दकोशको हिज्जे कायम हुनुपर्छ भन्ने थियो । त्यतिवेला २०४० कै कोशले जित्यो ।

त्यसपछि एसएलसीको पाठ्यपुस्तकको हिज्जे कुनै उल्टिने सुल्टिने, खारेज हुने कुरा आएन । त्यो गोष्ठीले के निष्कर्षसहित थप कुरा गरिदियो । मीठो, पीठो तद्भव हो, त्यसो हुनाले ह्रस्व लेख्नुपर्छ । शास्त्रीय आधारमा पनि त्यो ह्रस्व हो भन्यो । किनभने त्यो त मिष्ट, मिट्ठ मिठो हो, पिष्ट पिट पिठो हो ।

तारानाथ शर्माले क्षतिपूर्ति दीर्घीभवनको व्याख्या अर्कै गरिदिनुभयो । अलि बढी मिठो भए मीठो भनेर । तर मीठो त उहाँले भनेको ठीक होला मात्रात्मक हिसाबले तर पीठो के गर्ने ? उहाँले त्यो त भन्नु भएको छैन । त्यो स्वर तानिने कुरा हो । त्यसरी तानिने कुरा त त..ल मा पनि तानिन्छ, मा..थिमा पनि तानिन्छ । त्यो तानिने  भनेको त ध्वन्यात्मक विशेषता हो, जोड दिने मात्रै हो । त्यसमा जोड दियाइको अर्थ त होला तर त्यो त व्यक्तिगत तहमा हुन्छ । आँप कसलाई कति मिठो लागेको छ, सोही अनुसार लेग्रो तानिने हो । अर्थ नै फरक छ भन्ने चाहिँ गलत हो ।

नेपाली बृहत् शब्दकोश २०७२ मा ज्यादै विवाद आयो र प्रज्ञाले खारेज नै गर्यो नि, खारेज नै हुनुपर्ने कारण के देख्नुहुन्छ ?

–खारेज हुनुपर्ने कारण चाहिँ थिएन, हेर्नुस् । त्यसको सम्पादकीयबाट पनि त्यसको खारेज हुनुपर्ने कारण थिएन । २०७२ को सम्पादकीयले १० बुँदामा केही परिवर्तन भएका कुरा गरेको छ । त्यो चाहिँ त्यही शब्दकोशमा हेर्न सकिन्छ । त्यसमा २०५७ को नेराप्रप्रको गोष्ठी, नेपाली भाषाको एकरूपीकरण गोष्ठी जुन मदन पुरस्कार गुठी र प्रज्ञा प्रतिष्ठान मिलेर २०६२ मा एउटा गोष्ठी भएको छ । नेपाली भाषाको एकरूपीकरण गर्न प्रज्ञा प्रतिष्ठानले २०७३ तिर प्रकाशन गरेको एउटा सानो पुस्तिका पनि छ । म विभागमा हुँदा खेरि प्रकाशित गरेको हो । विशेष गरी त्यो चाहिँ पदयोग र पद वियोगसँग सम्बन्धित छ । त्यो गोष्ठीको निष्कर्ष चाहिँ पद वियोगतिर जानुपर्छ भन्ने छ । धेरै विद्वानहरू संलग्न भएको त्यो गोष्ठी एक दिन प्रज्ञामा, दुई दिन मदन पुरस्कार गुठीमा भएको थियो । त्यसपछि २०६७ को नेपाली भाषा सङ्गोष्ठी गरी प्रज्ञा प्रतिष्ठानकै नेतृत्वमा भएका यी तीनवटा गोष्ठीको निष्कर्ष नेपाली बृहत् शब्दकोश २०७२ ले कार्यान्वयन गरेको हो । त्योभन्दा बाहिर केही गरिएको होइन । मैले व्यक्तिगत त्यसमा गर्ने कुरै छैन ।

त्यस शब्दकोशमा भएको क्षतिपूरक दीर्घीभवनको नियम हटाउनेबारे २०५७ को गोष्ठीले भन्यो । पदयोग वियोगको कुरा नेपाली भाषा एकरूपीकरण गोष्ठीले भन्यो । त्यो समग्र २०६७ को सङ्गोष्ठीले  भन्यो । थप त्यसमा के छ भने संयुक्त व्यञ्जनलाई भरसक स्पष्ट छुट्टिन सक्ने गरी लेख्न प्रोत्साहन गर्ने भन्यो । २०६७ मा यी सबै कुरा परेका छन् । त्यसमा पदयोग वियोग पनि परेको छ, क्षतिपूरक, मिठो पिठो ह्रस्व गर्ने पनि परेको छ । संयुक्त अक्षरलाई स्पष्ट छुट्टिने गरी लेख्ने भन्ने पनि परेको छ । त्यही कुरा २०७२ को शब्दकोशमा कार्यान्वयन भयो । तर त्यहाँ निर्णयमा चाहिँ नपरेको तर गोष्ठीमा एउटा समूहबाट स्पष्ट रूपमा यो हरू अव्यय भएको हुनाले अव्यय सबै ह्रस्व हुने हुँदा हरू पनि ह्रस्व लेख्नु उचित छ भनिएको थियो । त्यो पनि नेपाली बृहत् शब्दकोश २०७२ ले कार्यान्वयन गर्यो । यति मात्र हो । त्यसको सम्पादकीयमा १० बुँदाले सबै कुरा भनेको छ ।

यो शब्दकोशले २०४० को सम्पादकीयको आधार लिएको छ । विशेषण विशेष्य छुट्याएर लेखिएको छ, कर्मधारय समास छुट्याएर लेखिएको छ  भनेको छ । जस्तै भित्ते घडी, घोडे जात्रा आदि । त्यो मात्रै होइन, बृहत् शब्दकोश २०४० ले शब्दहरुलाई प्रविष्टि र उपप्रविष्टिमा पनि दिएको छ । प्रविष्टिमा भएको कुरालाई उपप्रविष्टिमा राख्दा एउटा घुमेको चिह्न प्रयोग गरी राखिएको छ ।  त्यो चक्रीय चिह्न भनेको चाहिँ वियोग हो, अनि योजक चिह्न भनेको चाहिँ जोडिने भन्ने अर्थमा छ । त्यसैले चक्रीय चिह्न भए जतिलाई हामीले छुट्याएका छौँ ।

त्यसको प्रधान सम्पादकमा म भएँ, त्यसका सदस्यहरूमा जीवेन्द्रदेव गिरी, हेमनाथ पौडेल, बद्रीविशाल भट्टराई लगायत हुनुहुन्छ ।

यत्रो आन्दोलन नै हुनुपर्ने कुरा चाहिँ के गर्नुभयो ?

–मैले भनिहालेँ नि, सडकबाट उठेपछि यो अलि मौलाउने कुरा रहेछ, बढी राजनीतिकरण भयो । राजनीतिकरण भयो भन्ने कुरा त राष्ट्रपतिबाटै आदेश भएर खारेज भएको कुराबाट थाहा भइहाल्यो नि । नभए देवीप्रसाद गौतमले त्रिवि.को अनिवार्य नेपालीको अध्यक्ष हुँदा सही गरेको कागज त्यहीँ छँदै छ । खगेन्द्र लुइँटेलजी २०५८ कै शब्दकोशको सम्पादनमा हुनुहुन्छ । शब्दकोश २०४० मा भएका आगन्तुक शब्दका विकल्प उहाँकै पालामा हटेको हो ।

२०७५ को कोशमा अर्को एउटा प्रमाण निस्केको छ । २०७२ कै कोशमा भएको विद्या÷विद्.या खुट्टो काट्ने विकल्प थियो । हामीले गरेको त्यति नै हो अरू केही होइन । पहिलेको विद्या यथावत् राखी त्यसलाई विकल्प चिह्न राखेर द को खुट्टो काटेर विद्.या गरिएको थियो । त्यति मात्र हो । त्यो त अशुद्ध थिएन । शास्त्रले अशुद्ध भन्दैन । कट्टर संस्कृतविज्ञले खुट्टो काटेकोलाई बरु अझ शुद्ध हो भन्छ । संस्कृतका पण्डितले त्यसलाई अशुद्ध भन्न सक्दैनन् । त्यो मात्र होइन, नेराप्रप्र.बाट नै प्रकाशित बृहत् नेपाली व्याकरणमा विद्वान पनि खुट्टा काटेर ‘विद्.वान’लेखेको म देखाइदिन सक्छु ।

रोहिणी प्रसाद गुरुको २०३३ सालमा निस्किएको त्यो नेपाली व्याकरणमा विद्.वान खुट्टो काटेर लेखिएको छ । त्यो छँदैछ । मैले सुनेको डा.वासुदेव त्रिपाठीले पनि विद्.या खुट्टा काटेर लेख्नुहुन्थ्यो रे । त्यो कुरा उहाँका निकट चेलाहरु भन्छन् । केशव सुवेदीले भन्नुभएको हो । उहाँलाई पहिले यस्तो किन लेख्नुभएछ भन्ने लागेछ, पछि त पछि थाहा पाउनु भएछ । प्रेसले दुरुपयोग गरेर विध्या बनाइदिन्छन्, के के बनाइदिन्छन्, भन्ने रहेछ भन्नुहुन्थ्यो । त्यो मात्र हैन । रत्न पुस्तक भण्डारमा मेरो एउटा पुस्तकका लागि कभर हेर्न गएको थिएँ । सामाजिक र प्रायोगिक भाषाविज्ञान भन्ने मेरो किताबको अर्को संस्करण निस्कनेवाला थियो । त्यहाँ एउटा किताबको कभर हेर्दै रहेछन् । त्यसमा ‘पद्यचन्द्र पौडेल’ लेखेको रहेछ । अनि मैले ए यो त पद्य होइन होला, पद्म होला भनेँ । अनि त्यहाँ सबैले पध्य भएछ भने । मैले लेखेर देखाएँ पद्.य र पद्म शब्दलाई । अवस्था त्यस्तो छ अहिले पनि । त्यसो हुनाले विद्.याको खुट्टो काट्नाले लेखक र पाठकलाई बुझ्न अझ सहज हुन्छ । कुद्.यो, खेद्.यो, खाँद्.यो आदि सबैमा खुट्टो काटिन्छ । तर अब प्रचार गर्नेले खुट्टो काट्नेको खुट्टो काटिन्छ भनेर धम्की दिँदै हिँडेँ । प्रोपोगान्डा त त्यो हिसाबले भयो । खारेज त प्रोपोगान्डावालाले गरे नि त । त्यो खारेजको औचित्य त केही पुष्टि भएन ।

विश्वविद्यालयको एउटा केन्द्रीय विभागको विज्ञप्ति र फर्मानले पनि खारेजको औचित्य देखाउँदैन । २०७५ को शब्दकोशको सम्पादकीय हेर्नुभयो भने पनि त्यो खारेजको औचित्य देखाउँदैन । हाम्रो २०७२ को शब्दकोशले औचित्यका साथ भनेको छ– यो यो कारणले यसो गरिएको छ भनेर । क्षतिपूरक दीर्घीभवन उच्चारणमा नभएको र तद्भव शब्दहरू सबै अगाडि र बीचमा ह्रस्व हुने हुनाले ह्रस्व गरिएको भनेको छ । त्यसको औचित्य दिइएको छ । २०७५ ले यो चाहिँ विकल्प राख्ने, द खुट्टा काटेका सबै मिलाइएको भनेको छ । के मिलाएको छ भने प्रस्ट छैन । कुद्नु, खेद्नु, द् मा य जोडिएको हुन्छ, कुद्.यो खेद्.यो, गोद्.यो पनि त द्+य मै प¥यो नि  । त्यसैले यसको औचित्य सावित गर्न सकेका छैनन् । त्यही कारणले होला २०७२ को कोशको सम्पादकीय २०७५ को शब्दकोशमा हटाइएको छ । अरू सम्पादकीय खगेन्द्र लुइटेलजीहरूको २०५८ को पनि त्यसमा समावेश छ, प्रथम संस्करणको सम्पादकीय पनि छ तर हाम्रो त्यो २०७२ को चाहिँ हटाइएको छ । त्यसले के औचित्य प्रमाणित गर्छ भने त्यो भिडाएर हेरे भने केही औचित्य छैन भन्ने प्रमाणित हुन्छ भनेर डराए । दुईवटा कोशको भूमिका भिडाउनुस् न, त्यो थाहा भइहाल्छ ।

ललितपुर घोषणापत्र २०६९ ले १९९१ को नेकशुलेतर्फ फर्किने कोसिस गरेको छ भनिन्छ,  समसामयिक वर्णविन्यासका लागि यो निर्णय कतिको उपयुक्त हो ?

–त्यो फर्काउन कोसिस मात्र होइन, फर्किने नै भनेको छ । प्रमाण नै छ, १९९१ को हिज्जेतर्फ फर्काउने कुरा त । जुद्ध शमशेरको पालामा नेपाली भाषा प्रकाशिनी समितिले नेपाली कसरी शुद्ध लेख्ने (नेकशुले) बनाएको थियो । अहिले ८०, ८५ वर्षपछि पनि त्यसैअनुसार नेपाली भाषा चल्नुपर्छ भनेर २०६९ मा ललितपुर घोषणापत्र ल्याएका हुन् । त्यस घोषणापत्रको भूमिकामा जुन औचित्य देखाइएको छ, त्यसमा बालकृष्ण समले लेखेको उद्धरण नै त्यहाँ राखिएको छ । त्यसको मुख्य स्रोत भनेर नेकशुलेलाई नै दिएको छ । यसलाई पनि नेकशुले नै भनिएको छ । त्यसले नेपाली बृहत् शब्दकोश २०४० ले व्यवस्था गरेको आगन्तुक शब्दको प्रावधान नै खारेज गर्नुपर्छ भनेको छ । २०४० को नेपाली बृहत् नेपाली शब्दकोशले वर्णविन्यासका सम्बन्धमा गरेको व्यवस्था त्यसको सम्पादकीय अन्तर्गतको वर्णविन्यास खण्डमा दिइएको छ । त्यसले आगन्तुक शब्दलाई तद्भव नियमअनुसार लेख्ने भनेको छ । त्यो कुरालाई ललितपुर घोषणा २०६९ ले मानेको छैन । नेपाली शब्दकोशले आगन्तुक शब्दलाई तद्भव अनुसार गर्ने भन्ने व्यवस्था नै नमानेपछि १९९१ मा पुर्याउने कुरा त भयो नि ।

बालचन्द्र शर्माले नेपाली शब्दकोश २०१९ ल्याउनुभएको थियो । उहाँको कोशको सम्पादकीयमा पनि धेरैजसो नेपाली भाषाको हिज्जे उच्चारण अनुसार नै गरिएको छ भनिएको छ । उच्चारणतिर अभिमुख हुने काम त बालचन्द्र शर्माले २०१९ नै भन्नुभएको देखिन्छ । त्यसैलाई २०३५ का गोष्ठी र २०४० को शब्दकोशले अझ स्पष्टताका साथ निरन्तरता दिएको छ । यति हो त्यसमा धेरै प्रचलित भएका शब्दहरूमा विकल्प दिइएको थियो ।  त्यो विकल्प शहीद, गरीब, कानुन जस्ता शब्दमा थिए । त्यस्तो विकल्प भएका प्रविष्टिहरुको निर्मूल चाहिँ २०५८ को दोस्रो संस्करणमा भएको हो । त्यसको दोष हामीलाई हुँदैन ।

२०५८ को दोस्रो संस्करणबाट पुराना पुस्तकहरूमा प्रयोग भएका हिज्जे शब्दकोशमा भेटिन छाडे । त्यसपछिको हिज्जे उच्चारणको अझ नजिक आउने भयो । अपवादका शब्दहरूका लागि शब्दकोश हेर्नुपर्ने भयो । श, ष, स, र ह्रस्व, दीर्घमा चाहिँ हाम्रा विकल्प छन्, विकल्पमा हेर्नुपर्छ भनेर प्रयोगात्मक शब्दकोशले २०६१ मै भनेको छ । कुनैमा नपाइए अर्कोमा हेर्ने भनेको छ । पञ्चम वर्णमा नभेटिए शिरविन्दुमा हेर्ने भनेको छ । त्यसो हुनाले त्यो एउटा नियमिततातिर जान थालेको कुरा भयो । अनुमेय बनाउने कुरा भयो । अनुमेय बनाउन खोजिएको कुरा भयो त्यो ।

*****

लेखिएका व्याकरणहरु भाषावैज्ञानिक आधारमा छन् कि छैन भन्ने कुरा मुख्य हो । व्याकरणमा नेपाली भाषाको प्रकृति र प्रवृत्ति त्यसमा समेटिएका छन् कि छैनन् मुख्य रूपमा त्यो कुरा भन्नु पर्यो । यदि यी कुरा छैनन् भने भन्नुपर्यो । नभएको कुरा ल्याउनुपर्यो । नभए गफै गर्ने मात्रै कुरा त जे गरे नि भयो । 

*****

पहिले पहिले नेपाली भाषामा भर्खर भर्खर लेखिन सुरु भएको थियो । जे जस्ता शब्दहरु भेटिन्थे त्यस्तै लेख्ने कार्य हुँदै गयो । जब भाषा समृद्ध हुँदै गएपछि नियमिताभित्र पसेर हेर्नुपर्ने हुन्छ । त्यसलाई सजिलो बनाउनु पर्ने हुन्छ । तर प्रत्येक शब्दको हिज्जे घोकाउने, हिज्जे रटाउने भन्ने ताल पुरानो हो । त्यसलाई अहिले क्रमशः व्यवस्थित गर्न खोजिएको हो । त्यो पनि प्रज्ञा प्रतिष्ठानका, विश्वविद्यालयका विभिन्न गोष्ठीहरूबाट त्यो प्रयास भएको हो । यो त्यसै रत्नपार्कको फ्लेक्स÷पोस्टरमा जस्तो शब्दका सबै व्यञ्जन वर्ण खुट्टा काटेर प्रदर्शन गरे जस्तोबाट भएको होइन । त्यो फ्लेक्सको अन्धानुकरण गरेर प्रचारको मसला बनाए जस्तो यो होइन ।

पछिल्लो कुरा चाहिँ कति दुष्प्रचार भयो भने प्रायोजन नै भयो । ठूलठूला पत्रिकाहरू नै लागेपछि त के लाग्यो र ? यसमा सञ्चार गृहहरू, केही व्यापारीहरु लागे, कतिपय पुराना मान्यताका लेखकहरु हाम्रा पुस्तक, कृतिहरू पुरानिने भए भनेर विरोधमा लागे ।  लेखकहरूलाई हामीले लेखेका किताब नमिल्ने भए भन्ने लाग्यो । कक्षा ११ का लागि सबैको नेपाली निस्कियो । यो निस्किएपछि विश्वविद्यालयका शिक्षकहरू नै जलाउन निस्किए । यसको कारण, एउटै किताब प्रयोग हुने भयो, विभिन्न किताबका लेखकहरूलाई पनि मर्का पर्यो, प्रकाशकहरूलाई पनि मर्का पर्यो । त्यही भएर त्यसैको हो हो रे मा गयो । तर नेपाली भाषा त सबैको भाषा हो नि त । बाजे, बराजुहरूको मात्रै भाषा त होइन । अहिलेका नयाँ ठिटाहरूको पनि भाषा हो । यो खास वर्गको मात्र भाषा होइन । वर्गको भाषा बनाउन खोजियो । खास वर्गको भाषा बनाउन खोजिएकाले पनि यो वितन्डा मच्चिएको हो । त्यो रत्नपार्कमा को थियो र त्यो एउटै वर्गका मान्छे त थिए नि !

सबैको नेपाली किताब त नेपाली बृहत् शब्दकोशको हिज्जेसँग बाझिएको थियो नि ? हैन र ?

–सबैको नेपाली त २०६६ मा आएको हो । त्यो प्रज्ञा प्रतिष्ठानको गोष्ठी २०६७ भन्दा पहिले आयो । सबैको नेपाली आउँदा के भएको थियो भने, विश्वविद्यालयका गोष्ठीहरूबाट अनिवार्य नेपाली शिक्षण निर्देशिका २०६६ निकालियो । त्यति वेला रमेश भट्टराई साझामा महाप्रबन्धक हुनुहुन्थ्यो । साझा प्रकाशनको कुनै शैलीपुस्तिका रहेनछ भनेर उहाँले मलाई पनि राख्नुभयो । जीवेन्द्र गिरी, होम भट्टराई र म सहितले एउटा रिपोर्ट दिएका थियौँ । तत्कालीन साझा प्रकाशनका अध्यक्ष भिक्टर प्रधानले त्यो लेखक साहित्यकारको सुझावका लागि गरिमामा प्रकाशित गरिदिनु भयो । पछि उपसमितिका केही साथीहरु सबैको नेपालीका लेखक पनि हुनुभयो । सबैको नेपालीमा  उहाँहरूले यही हिज्जे लागू गर्ने भन्नुभयो, लागू गर्नुभयो । म त सबैको नेपालीको लेखक होइन । मलाई चाहिँ विवादका लागि तानेको मात्र हो । त्यसका लेखक महादेव अवस्थी, केशव सुवेदी, जीवेन्द्र देव गिरी, लेखनाथ गुरागाईंहरू हुनुहुन्छ । त्यसको संयोजक ठाकुरप्रसाद पराजुली हुनुहुन्छ । उहाँहरूले गर्ने, अनि मलाई आरोप लाउने ?

निर्णय चाहिँ पाठ्यक्रम विकास केन्द्रले गर्ने होइन र ?

–त्यतिखेर उच्च माध्यमिक परिषद अन्तर्गत कक्षा ११, १२ पाठ्यक्रम बन्थ्यो । लेखकहरुमध्ये धेरैजसो उहाँहरू त्यहाँको विषय समितिमा हुनुहुन्थ्यो । म त त्यस विषय समितिमा पनि थिइनँ । खाएको विष लाग्छ तर मलाई नखाएकै लाग्यो ।

सबैको नेपाली भन्ने किताब आएपछि फेरि प्रतिक्रिया भयो । २०५६ मा एसएलसीको किताबमा भएको प्रतिरोध हुँदा विरोध भएको थियो । फेरि त्यस्तै भयो । २०६७ मा बैरागी काइँला नेप्रप्रको कुलपति हुनुहुन्थ्यो । वैरागी काइँला र महादेव अवस्थी एक ठाउँमा भेटिनुभएको थियो, अनि मैले काँल्दाइ यो २०६७ को गोष्ठी पनि प्रतिक्रियामुखी चाहिँ नहोस् है भने । हँ के रे भन्नुभयो । पहलेको जस्तै प्रतिक्रियामुखी गोष्ठी नहोस्, एसएलसीको पुस्तकको हिज्जेमा भए जस्तो विवाद अहिले नहोस् है भनेँ । शहीद मोटै र दीर्घ नै हुनुपर्छ भनेर आन्दोलन जस्तै गरिएको थियो । २०५७ मा गोष्ठी भयो तर त्यसमा कुनै परिवर्तन भएन, यथावत् रह्यो । ६७ को गोष्ठीमा पनि ११, १२ को पुस्तकमा गरेको परिवर्तनको प्रतिक्रियामा गरेको गोष्ठीले पनि निर्णयमा परिवर्तन गरेन । त्यो गोष्ठीका निष्कर्ष निर्णयकै रूपमा आएका छन् ।

नेपाली भाषाको अध्ययन अनुसन्धान गरेर व्याकरण लेखिएकै छैन, अहिलेसम्म लेखिएका सबै व्याकरण कि संस्कृत कि अङ्ग्रेजीबाट प्रभावित छ भन्ने आरोप छ । वास्तवमा कसैले पनि नेपाली भाषाको मौलिक अध्ययन गरेर व्याकरण नलेखेकै हुन् त ?

–यो आरोपमा केही सत्यता छ । केही चाहिँ अगाडि भएको कुरालाई स्वीकार नगर्ने हाम्रो मानसिकता पनि हो । पहिले भएको कुरालाई त्यति सहजै नस्वीकार्ने हाम्रो प्रवृत्ति रहेछ । नेपाली भाषाको व्याकरण लेखनको परम्परा भनेको करिब दुई सय वर्ष हुन लाग्यो । नेपाली विद्वानहरूले नै सुरु गरेको पनि अहिले एक सय वर्षभन्दा बढी भयो । १९६९ मा चन्द्रिका व्याकरण नै आएको छ । त्योभन्दा पहिले त वीरेन्द्र केशरी अज्र्यालको आएको भनिन्छ । त्यसभन्दा पहिले अङ्ग्रेजहरूले नै नेपाली व्याकरण लेखेका छन् । त्यसपछि अरू धेरै व्याकरणहरू आएका छन् ।

धेरै लोकप्रिय भएर हिज्जे र रचना समेतको रचना केशर भन्ने गोपाल पाँडेकै व्याकरण आयो । गोपाल पाँडेको व्याकरण निकै प्रचलित भयो । त्यसपछि राम्रो रचना मीठो नेपाली पनि प्रचलित भयो । धेरैको मुुखमा सम्झनामा आउने । तर ती धेरैजसो थप अध्ययन होइनन्, त्यसैको निरन्तरतामा आए ।

प्रज्ञा प्रतिष्ठानले नै २०३३ मा बृहत् नेपाली व्याकरण लेखायो । यी सबै व्याकरणमा एउटा चिन्तन आएको छ । थप चिन्तन पनि आएको छ । त्यो मात्रै होइन प्रज्ञा प्रतिष्ठानले २०७५ मा प्रकाशित साठी वर्षका भाषिक चर्चा नामक ग्रन्थमा पुष्कर शमशेरको नेपाली भाषामा उच्चारण भन्ने २००८ सालमा लेखेको लेखदेखि अहिलेसम्मका २९ जना विद्वानहरूका भाषा सम्बन्धी लेखहरु त्यसमा सङ्कलित छन् । महानन्द सापकोटा, बल्लभमणि दाहाल, चूडामणि रेग्मी, बालकृष्ण पोखरेलको जिउँदो जाग्दो भाषा भन्ने पनि छ । त्यो नेपाली भाषाका उच्चारणगत विशेषतामै आधारित छ । चूडामणि बन्धु, माधव पोखरेल लगायतको पनि छ । त्यसमा मुकुन्दशरण उपाध्यायको, शरच्चन्द्र वस्तीको पनि छ । ६० वर्ष लामो चिन्तन चाहिँ केही पनि हैन भन्ने जुन भनाइ छ, त्यसलाई त कसरी पत्याउनु त ?

हैन, कुनै न कुनै रूपमा संस्कृत र अङ्ग्रेजीबाट प्रभावित छ भन्ने आरोप छ नि ?

–यसमा म केही कुरामा सहमत केही कुरामा असहमत छु । संस्कृत परम्पराबाट व्याकरण लेख्ने भनेको उच्चारणमा आधारित व्याकरण लेख्ने भन्ने हो । भाषावैज्ञानिक व्याकरण पनि त्यही हो । पाणिनिले व्याकरण लेखेको भनेको तत्कालीन प्रचलनमा रहेको संस्कृत भाषाको उच्चारणमा आधारित थियो । जति वर्णहरू उच्चारण हुन्थे तिनलाई समेटेर लेखिएको थियो त्यो व्याकरण ।

पाणिनिले उच्चार्य वर्ण ( स्वर र व्यञ्जन) का १४ सूत्र दिएका छन् । त्यो तत्कालीन संस्कृतको उच्चारणमा आधारित हो । संस्कृत व्याकरण र अहिलेको भाषावैज्ञानिक व्याकरण भनेको उही हो । संरचनावादी दृष्टिले लेखिने व्याकरणमा ब्लुम्फिल्ड र समकालीनका व्याकरणमा त्यही उच्चार्य व्यवस्था, रूप, ध्वनि व्यवस्था, रूपायन प्रक्रिया, व्युत्पादन प्रक्रिया अनि अलिअलि वाक्यको कुरा आउँछ । त्यो व्याकरण आधुनिक व्याकरण हो जुन एसआईएलए (समर इन्टिच्युट अफ लिङ्ग्विस्टिक), भाषा विज्ञान विभागले ठाउँ ठाउँमा गएर थामीको, चेपाङको व्याकरण लेखेका छन् । त्यसमा ध्वनिको व्यवस्था, वक्ताहरुको डिस्कोर्स लिने, पाठहरू सङ्कलन गर्ने अनि त्यसको उच्चार्य रूप र वर्णहरू पहिल्याउने र विभेदक वर्णहरू छुट्याउने र त्यस सामग्रीका आधारमा व्याकरण तयार पार्ने गरिन्छ । यो प्रक्रिया सुरु गर्ने पाणिनि नै हुन्, प्रथम भाषा वैज्ञानिक पाणिनि हुन् ।

पाणिनिको त्यही कुरा अध्ययन गरेर पश्चिमाहरूले आधुनिक भाषाविज्ञान बनाए । ध्वनि विज्ञान, फोनोलोजी÷वर्णविज्ञान, मर्फोलोजी÷रूपविज्ञान, सिन्ट्याक्स÷वाक्यविज्ञानमा तिनीहरूले काम गरे । पछि चम्स्कीले सिन्ट्याक्समा केही थपे । पाणिनिको कुराभन्दा अरू बढी केही थपे, त्यति मात्र हो । त्यो कुरालाई हामीले छोडेर सुरुमा अङ्ग्रेजी परम्परागत व्याकरणको पछि लाग्यौँ ।

पश्चिमाहरूले के गरे भने लर्ड मेकाले भन्छन् नि भारतमा र हामीकहाँ पनि । उनी १८३५ तिर भारतमा आएका थिए । ३ वर्ष जति बसे रे । उनले यहाँका मान्छेहरूको मानसिकता हाम्रोभन्दा उच्च छ, त्यसैले यिनीहरूलाई धेरै उच्च अध्ययन गराउने होइन, सामान्य कारिन्दा टाइपको शिक्षा दिनुपर्छ भन्ने निष्कर्ष निकालेर उनको पार्लियामेन्ट बेलायतमा गएर भनेका थिए भन्ने छ । त्यही अनुसार पाठ्यक्रम पाठ्यपुस्तक उनीहरूले तयार गरिदिए । त्यसैअनुसार विभिन्न विद्यालय विश्वविद्यालयमा पाठ्यक्रम अङ्ग्रेजी ढाँचामा सुरु भयो, त्यही अनुसार पढाइ भयो ।

अङ्ग्रेजले नै लेखिदिए हाम्रो पहिलो व्याकरण जेए एटनले । त्यसपछि टर्न बुलले लेखे । त्यसपछि अरू अरूबाट लेखिँदै आयो । यस्तो हाम्रोमा मात्रै होइन, हिन्दीमा पनि अङ्ग्रेजहरूले लेखे, बङ्गालीहरूको पनि अङ्ग्रेजले लेखे । मराठी पनि अङ्ग्रेजले लेखे । पछि हिन्दी, बङ्गालीवालाले त्यही हेरेर लेख्न थाले । हाम्रो व्याकरण पनि त्यही हेरेर लेखियो ।

मध्यचन्द्रिका, चन्द्रिका हेरियो भने बाहिरी आवरण÷जामा अङ्ग्रेजी मोडलमा छ । नाम, सर्वनाम आदि (पाटर््स अफ स्पिच) नै भनेको कोष्ठकमा पदवर्ग भने पनि जे भने पनि । सुरुका नेपाली व्याकरण त्यसरी अङ्ग्रेजी मोडलमा लेखियो । यो कुरा कमल प्रकाश मल्ल, जयराज आचार्यले पनि भनेका छन् ।  आचार्यले मध्यचन्द्रिकामा एमएको थेसिस गरेका थिए । त्यसैले यो कुरा छँदै छ । त्यसपछि जुन व्याकरण लेखिए त्यो भाषावैज्ञानिक आधारमा लेखिएका छन् । त्यो त प्रत्येक भाषाको आफ्नो व्यवस्थालाई हेरेर त्यसका आधारमा लेखियो । त्यो व्याकरणलाई चाहिँ अहिले वास्तविक अनुसन्धान भएर लेखिएकै छैन भनिन्छ भने कहिले लेखिन्छ त ? मानक त कहिल्यै हुँदैन । मानक त कसैले माने मानक नमाने अमानक हुन्छ ।

त्यसैले पहिलेका व्याकरणका चिन्तनमा अझ थपिँदै जान्छ । अध्ययन अनुसन्धान भनेको एक दिन गरेर मात्रै ठ्याक्कै सधैँ त्यही हुन्छ भन्ने हुँदैन । व्याकरण भनेको जादुको छडी त होइन । मैले समसामयिक व्याकरण लेखेको पनि अहिले २७ वर्ष भयो । २७ वर्षमा खोई त कुनै आएनन् । त्योभन्दा राम्रो र सिङ्गो व्याकरण अरू आएन । अब कता खोज्न जाने त ?

कामता प्रसाद गुरुले हिन्दी व्याकरण लेख्नुभएको छ । उहाँले भूमिकामा हिन्दीको व्याकरणमा पाणिनि परम्पराको व्याकरण लेखिनुपर्ने तर अहिले अङ्ग्रेजी ढाँचा नै प्रचलित भएकाले त्यसको प्रभाव बढी छ भन्ने भयो । संस्कृत, प्राकृत भाषामा जस्तो पाणिनिको परम्पराका आधारमा उच्चार्य वर्णमालामा आधारित भएर व्याकरण लेखिने हाम्रो परम्परा चाहिँ विच्छेद भयो । हामीले पनि यसैलाई अनुसरण गरेका छौँ भनेर बाध्यताको कुरा उहाँले गर्नुभएको छ ।

लेखिएका व्याकरणहरु भाषावैज्ञानिक आधारमा छन् कि छैन भन्ने कुरा मुख्य हो । व्याकरणमा नेपाली भाषाको प्रकृति र प्रवृत्ति त्यसमा समेटिएका छन् कि छैनन् मुख्य रूपमा त्यो कुरा भन्नु पर्यो । यदि यी कुरा छैनन् भने भन्नुपर्यो । नभएको कुरा ल्याउनुपर्यो । नभए गफै गर्ने मात्रै कुरा त जे गरे नि भयो ।

*****

संस्कृतका भारका सम्बन्धमा हाम्रा गुरुहरूले परम्परागत रूपमा भन्दै आए, हाम्रा अग्रजहरूले भाषाका चिन्तन गरेकाहरूले भने, भाषाका भीष्मपितामह (बालकृष्ण पोखरेल) ले पनि त्यसै भन्नुभयो । त्यसो त हामीले भन्न पाउनु पथ्र्यो तर ललितपुर घोषणापत्रले भन्यो भन्ने बनाउन उहाँलाई साक्षी बसाउन त्यहाँ लगियो । नेपाली शब्दभण्डारको विभाजन त उहाँले गर्नुभयो । उहाँले नेपाली भाषाका शब्दभण्डारलाई पहिले मौलिक र आगन्तुक भन्नुभयो । मौलिकभित्र तत्सम र तद्भव भन्नुभयो । अनि तत्सम भनेको संस्कृत, तद्भव भनेको त्यसबाट आएको भन्ने हो, अग्निबाट आगो, धर्मबाट धाम भयो । तत्सम र तद्भव भनेपछि ती मौलिकभित्र परे नि । 

******

२०५६ सालमा एउटा प्रयास भएको थियो रे । नेपाली व्याकरण बिगारे, व्याकरण लेखिएन, लेखिनु पर्यो भनेर संस्कृत धारले चाहिँ ग्यालेक्सी स्कुलकी गीता राणाको आर्थिक सहयोगमा केही विद्वानहरूले प्रयास गरेका थिए रे । गीता राणाको संयोजकत्वमा बैठकहरू बस्थे रे । त्यो कुरा दिनेश राज पन्त, अहिले प्राज्ञ हुनुहुन्छ, ले भनेको मैले सुनेको हुँ । त्यसमा जगन्नाथ त्रिपाठी (सुधा त्रिपाठीका पिताजी) पद्मकन्यामा पढाउनु हुन्थ्यो । उहाँ संस्कृतको धुरन्धर विद्वान हो । उहाँले २०४६ तिर प्रवीणता प्रमाणपत्र तहका लागि एउटा व्याकरण पनि लेख्नु भएको थियो । उहाँलाई लेख्न दिने भनेर समिति बनाएका थिए रे । त्यो समितिमा दिनेश राज पन्त, जगन्नाथ त्रिपाठी, पुष्कर लोहनी, गोपीकृष्णजी, बलदेव अधिकारी लगायत थिए रे । त्यो समितिका २, ४ मिटिङ भए, अनि त्यतिकै सेलाएर गयो । जगन्नाथ त्रिपाठीले पनि त्यति मन दिनु भएन क्यारे । त्यसरी नेपाली व्याकरण बिगारियो भनेर एउटा समूहले २०५६ सालतिर नै आवाज उठाएको पाइन्छ ।

नेपाली पठनपाठनका लागि २०५१ देखि आधुनिक व्याकरणको प्रवेश भयो । २०५१ सालमा त्रिभुवन विश्वविद्यालयको प्रवीणता प्रमाणपत्र तहको पाठ्यपुस्तकमा लेख्य वर्ण मात्र नभएर उच्चार्य वर्ण पनि राखियो । उच्चार्य वर्णको पनि उच्चारण व्यवस्था (स्थान, प्रयत्न, प्राणत्व र घोषत्व) को व्यवस्था राखियो । त्यसभन्दा पुरानो पाठ्यव्रmममा यस्तो थिएन । त्यसपछि अक्षर संरचना पनि राखियो । कोमलता भन्ने शब्दलाई को.मल्.ता. यसरी उच्चार्य रूपमा अक्षरहरु छुट्याएर देखाउन थालियो । यसरी मानक उच्चारणको अभ्यास पनि त्यति वेला राखियो । मानक लेख्य मात्र होइन उच्चारणको पनि मानक रूप हुन्छ भन्ने स्थापित भयो । उच्चारणको नजिक लेख्य हुन्छ भन्ने अवधारणामा नयाँ पाठ्यक्रम आयो ।

यो पाठ्यक्रम निर्माताहरूमध्ये चूडामणि बन्धु अध्यक्ष हुनुहुन्थ्यो, माधव पोखरेल, मोहनराज शर्मा, म थियौँ । त्यसपछि नयाँ पाठ्यपुस्तकहरू आउन थाले । पुराना पाठ्यपुस्तक विस्थापित भए । अनि धेरै रिसाए पनि । अब रमा शर्मा रिसाउनु भयो, किनभने उनका बुबाको किताब पनि परेन । किनभने रचना केशरमा वर्ण भनेको सबै लिपिलाई वर्ण भनेको थियो । संस्कृत वर्णमालालाई सबै वर्ण भनिएको छ । मध्यचन्द्रिका पनि त्यही स्थितिमा भएकाले भ्रम हुन्छ भनेर राखिएन । त्यसपछि नयाँ पाठ्यव्रmम अनुसार अरू व्याकरण आए ।

त्रिवि.ले २०५१ को पाठ्यक्रम ल्याएपछि किताबहरू लेखिन थाले । पाठ्यपुस्तक यी यी हुन् भनेर विश्वविद्यालयको पाठ्यक्रम विकास केन्द्रले त कसैको किताब तोकेन । नतोकेपछि साथीहरूले पाठ्यक्रम हेरेर किताबहरू त लेखे । २०५६ मा नेपाल प्रज्ञा प्रतिष्ठानमा टीकाराम पन्थीले भाषा विभाग हेर्नुहुन्थ्यो । उहाँले त्यही कुनै किताब हेर्दा अभ्यस्त पक्ष देख्नुभएछ । पहिले बानी परेको तर अहिले नभएको कुरा जनाउन आउने पक्ष, खेल्थ्यौँ, जान्थ्यौँ, हेथ्र्यौं आदि । यो संस्कृतमा छैन, त्यसैले यो अशास्त्रीय भयो भनेर कान्तिपुरमा लेख नै प्रकाशन गर्नुभयो । त्यसको दुईतीन दिनपछि कान्तिपुर दैनिकको सम्पादकीयमा नै विश्वविद्यालयमा नै अमानक व्याकरण पढाइन्छ भनेर आयो । त्यस वेला हेमराज ज्ञवाली कान्तिपुरको सम्पादक तथा हर्ताकर्ता हुनुहुन्थ्यो । उहाँ जयतु संस्कृतम्को पनि अध्यक्ष हुनुहुन्थ्यो । त्यसपछि त्यो सबैले पढ्यौँ । बल्लभमणि दाहालले यो हामीले  एउटा स्पष्टीकरण दिनुपर्छ भन्नु भयो । मिटिङ बस्यो । एउटा स्पष्टीकरण लेख्यौँ हामीले त्यो पनि कान्तिपुरमा छापिएको छ ।  हेर्न सकिन्छ । त्यसो हुनाले त्यतिबेलै हो ग्यालेक्सीमा केही व्याकरण चिन्तकहरूको भेला भएको थियो ।

संस्कृतमा नभएको कुरा नेपालीमा भयो भने त्यो अमानक भयो । अब अहिले चाहिँ संस्कृतमा नभएको कुरा नेपालीमा लेखियो भनेर विरोध भएको छ । संस्कृतमा विद्या हलन्त भेटेनन् । लेख्न त कतिले लेखेका छन् । पुराना सामग्री अभिलेखहरू हेर्ने हो भने द हलन्त भेटिन्छन् ।  तर अहिले जसले बढी हल्ला गर्यो त्यही नै पण्डित हुने जमाना छ ।

बालकृष्ण पोखरेलले व्याकरण शारदा भनी व्याकरण लेख्नुभएको छ । त्यो पनि परम्पराकै धारमा लेख्नुभएको छ । उहाँको नेपाली व्याकरण २०५६, ५७ तिर प्रकाशित छ । तारानाथ शर्माको व्याकरण प्रज्ञा प्रतिष्ठानले प्रकाशित गरेको छ । मोहनराज शर्माले २०३६ मा शब्दरचना र वर्णविन्यास लेख्नु भएको हो । त्यसमा वर्ण व्यवस्थाका बारेमा उहाँको व्याकरणमा कुरा गर्नु भएको छैन । २०५४ सालमा चाहिँ उहाँले वर्ण व्यवस्था, वाक्य व्यवस्था समसामयिकमा भए जति सबै समेट्नुभएको छ । माधव पोखरेलको वाक्य व्याकरण २०५४ मा प्रकाशित भएको छ । त्यो भाषावैज्ञानिक नै होला । उहाँ त भाषा वैज्ञानिक हो । यी सबै कुरालाई छैनन् कहाँ भन्न पाइन्छ र ? इतिहास र गौरवका कुरा चाहिँ कसैले नगर्ने कल्पित आरोप मात्र लगाएर मात्र बाँच्ने हामी ?

यसर्थ समसामयिक व्याकरण आएपछि सबै व्याकरण हेर्दा थाहा हुन्छ, कहाँबाट सुरु हुन्छन् व्याकरण भन्दा, सबै व्याकरणमा उच्चारण व्यवस्था, प्रयत्न, प्राणत्व र घोषत्वका कुरा आएका छन् । अक्षर यति किसिमका हुन्छन् भन्ने आउँछ, शब्दहरुमा अक्षर विभाजन आउँछ । शब्दवर्गमा नाम, सर्वनाम, विशेषण भन्ने छ भने अनावश्यक शब्द थपेर नाम पद, सर्वनाम पद, विशेषण पद भनेर लेखेका व्याकरण पनि मैले देखेको छु । त्यसैले परम्परागत व्याकरण नै घुसाउनु भनेको अर्को कुरा हो, मोडल चाहिँ विच्छेद भयो । यी सबै कुरामा ६० वर्षको भाषिक चर्चाले व्याकरण चिन्तनको एउटा ढाँचा दिन्छ । अझ महानन्द सापकोटाले नेपाली भाषाको व्याकरणको प्रस्तावना भन्ने एउटा लेख पनि त्यसमा समावेश भएको छ ।

संस्कृतका वर्ण, शब्द र नियमहरूको भारी नेपाली भाषीले कहिलेसम्म बोकिरहनुपर्छ ? नेपालीका मात्रै वर्ण, शब्द र नियमहरूको प्रयोग गरेर नेपाली भाषामा लेख्न बोल्न सकिँदैन ?

–संस्कृतको व्याकरण, त्यसका नियम र शब्दहरु हाम्रा गुरुहरूले पनि ल्याए, परम्परागत व्याकरणमा पनि सबै त्यही भएर आयो । त्यसपछि हाम्रा अग्रज, आधुनिक व्याकरण र आधुनिक भाषाविज्ञानका अध्येता, अनुसन्धाता, विद्यावारिधि गरेकाहरूले पनि त्यसै गरे । संस्कृतका शब्दहरुको वर्णविन्यासलाई यथावत् राख्ने भने । शब्दको त्यो स्वरूप नबिगार्ने भनियो । देवनागरीमा डिको भन्या त गौण कुरा हो । गुजरातीको त्यही देवनागरीमा डिकै दिँदैनन् । तिनको चलेकै छ  । मराठीले डिको दिन्छन्, हाम्रोमा चाहिँ मराठीबाट डिको दिने चलन आएको हो । टाइप पनि मुम्बईबाट आयो । भट्ट, भड्डु लेख्दा त्यसैको तलमाथि जोडिएर लेखिने चलन त्यतैबाट आयो । सामान्यतः भट्ट लेख्दा ट हलन्त गरेर लेख्दा हुन्थ्यो । तर जोडिएको देखिएपछि उनीहरूलाई त्यो राम्रो लाग्यो । जोडेरै लेख्न थाले । त्यही कुरा कम्प्युटरका फन्टहरूमा पनि आयो । तर ती फन्टमा पनि नम्बर हान्नतिर नलाग्नेहरुले हलन्त गर्न थाले । यो प्रचलन लेटर प्रेसबाट प्रभावित हुँदै आएको हो । अनि कोही संस्कृतमा त्यस्तै लेखिन्थ्यो, त्यस्तै लेख्ने भए । किनभने पुराना लेखमा थोरै कागजमा धेरै कुरा लेख्नुपर्ने हुन्थ्यो नि त । छिटो लेख्दाखेरि दुईवटा वर्णहरु गुजुल्ट्याइए । यसरी गुजुल्ट्याउँदा गुजुल्ट्याउँदै यो विद्याको द को खुट्टा काट्नुभन्दा यसो दोबार्नेे गरिएको हो । लिपिको विकास पनि यस्तै किसिमले हुने गरेको छ । भाषा जसरी परिवर्तन हुन्छ, लिपि पनि त्यसरी नै परिवर्तित हुँदै आएको हुन्छ ।

तर अहिले चाहिँ वैदिकमा जस्तो छ त्यस्तै लेख्ने भनेर एक दुई जनाले हल्ला गर्न थाले । त्यो लागे भनेर हामीले फन्ट बनाउने होइन, युनिकोड बनाउने पनि उतै छन् । सबै बनाउने उतै छन्, अनि उनीहरूको व्यापार हुने भयो । मोबायलमा हेर्नुभयो भने झ चाहिँ अर्कै आउँछ । हामीले पढ्दाको झ अर्कै छ । साझाको झ अर्कै छ । ती त विकल्प हुन् । यीमध्ये कुनै पनि अशुद्ध होइन । तर विद्.यामा चाहिँ अशुद्ध भयो भनेर प्रज्ञा प्रतिष्ठानले छाप लगाइदियो । आफैले विद्वान्हरुको भेला गरेर गरेको निर्णय विनाछलफल उल्टियो भनियो । विडम्बना त यो हो ।

अब नेपाली भाषामा संस्कृतको भारी त यसरी नै बोकाइदिराखेका छन् । मैले भड्डु भने नि । भड्डुको ड लेख्दाखेरि एकैठाउँमा गुजुल्ट्याएर लेख्ने फर्मानको लेख शिक्षक जस्तो पत्रिकामा त्यस खालको लेख छापिन्छ । अनि यो खालको भार त वनारस, बम्बईतिरबाट आयो । हामीले कहाँ बोकाएको हो र ? हामीले त हाम्रो प्रवृत्तिलाई हेरेर स्पष्ट छुट्टिने गरी लेख्न सकिने छ भनेर विकल्प दिएका हौँ । ०७२ को कोशले त्यो विकल्प दिएको छ । विद्.युत लेख्दा विध्युत नहोस् भनेर त्यसो गरिएको हो ।

अर्को कुरा, संस्कृतका भारका सम्बन्धमा हाम्रा गुरुहरूले परम्परागत रूपमा भन्दै आए, हाम्रा अग्रजहरूले भाषाका चिन्तन गरेकाहरूले भने, भाषाका भीष्मपितामह (बालकृष्ण पोखरेल) ले पनि त्यसै भन्नुभयो । त्यसो त हामीले भन्न पाउनु पथ्र्यो तर ललितपुर घोषणापत्रले भन्यो भन्ने बनाउन उहाँलाई साक्षी बसाउन त्यहाँ लगियो । नेपाली शब्दभण्डारको विभाजन त उहाँले गर्नुभयो । उहाँले नेपाली भाषाका शब्दभण्डारलाई पहिले मौलिक र आगन्तुक भन्नुभयो । मौलिकभित्र तत्सम र तद्भव भन्नुभयो । अनि तत्सम भनेको संस्कृत, तद्भव भनेको त्यसबाट आएको भन्ने हो, अग्निबाट आगो, धर्मबाट धाम भयो । तत्सम र तद्भव भनेपछि ती मौलिकभित्र परे नि ।

*****

मौलिकताको मेरो व्याख्या चाहिँ के भने, हाम्रा अग्रजहरूले मौलिक भन्नुभयो, तत्समलाई हामीले पनि मौलिक भन्यौँ । त्यसको एउटा आधार भनेको ७०÷८० प्रतिशत शब्दहरु संस्कृतबाट हामी औपचारिक भाषामा चलाउँछौँ । त्यत्रो अंशियारलाई हामीले अनुसरण गरेका छौँ । विवाद लेख्दा दुईवटै ब चिर्ने, वाक्य लेख्दा ब चिर्ने, वाक्यमा क पनि दुई पटक उच्चारण हुन्छ । यस्तो कुरा त्यति सजिलै परिवर्तन गर्न सकिँदैन । यो कुरो त मौलिक हो, संस्कृत त हाम्रो पुख्र्यौली सम्पदा पनि हो । हामी त्यसलाई जति पनि दोहन गर्न सक्छौँ भन्ने अनि त्यसलाई दुत्कार्ने भन्ने कुरा हुँदैन । 

*****

तत्सम भनेपछि मौलिक भयो । मौलिकताको मेरो व्याख्या चाहिँ के भने, हाम्रा अग्रजहरूले मौलिक भन्नुभयो, तत्समलाई हामीले पनि मौलिक भन्यौँ । त्यसको एउटा आधार भनेको ७०÷८० प्रतिशत शब्दहरु संस्कृतबाट हामी औपचारिक भाषामा चलाउँछौँ । त्यत्रो अंशियारलाई हामीले अनुसरण गरेका छौँ । विवाद लेख्दा दुईवटै ब चिर्ने, वाक्य लेख्दा ब चिर्ने, वाक्यमा क पनि दुई पटक उच्चारण हुन्छ । यस्तो कुरा त्यति सजिलै परिवर्तन गर्न सकिँदैन । यो कुरो त मौलिक हो, संस्कृत त हाम्रो पुख्र्यौली सम्पदा पनि हो । हामी त्यसलाई जति पनि दोहन गर्न सक्छौँ भन्ने अनि त्यसलाई दुत्कार्ने भन्ने कुरा हुँदैन । प्रियतावादी हुन केहीले यो कुरा उठाउँछन् र कसैले निहुँ खोज्न पनि ।

अर्को आधार के हो भने समग्र दक्षिण एसियामा संस्कृत शब्द चाहिँ यथावत् लेखिन्छ । तिनैवटा स लेखिन्छ । यिनीहरूबीच शब्द आदानप्रदान हुन्छ । यस कुरालाई पनि हामीले बेवास्ता गर्न सक्दैनौँ । हामी झर्रेली टर्रेली त भएका छैनौँ । साँच्चै भन्ने हो भने म झर्रोवादी होइन है । झर्रोवादी त हाम्रो चूडामणि रेग्मीहरू हुनुहुन्छ । अहिलेसम्म उहाँहरूले थाम्नुभएको छ । म प्रशंसक हो तर झर्रोवादी होइन । किनभने मेरा लेखहरू झर्रोवादी छैनन्, मैले अभ्यासै गरिनँ । तर हाम्रो प्रयोगात्मक शब्दकोशमा हामीले अत्यधिक झर्रा शब्दहरू भेटिएसम्म राखेका छौँ ।

तेस्रो कुरा, हामी संस्कृतको संरचना लिएर, त्यसको शब्द ढाँचा वा साँचो लिएर शब्द बनाउँदै छौँ । ज्ञानविज्ञानका जति नयाँ शब्द आएका छन्, आउने छन् त्यसका लागि पारिभाषिक शब्द बनाउन संरचना त चाहियो नि । त्यो संरचना चाहिँ संस्कृतले दिन्छ । त्यसो हुनाले यो दक्षिण एसियाका भाषाहरूको साझा सम्पत्ति हो । हिन्दी, बङ्गालीले पनि त्यही साँचो प्रयोग गर्छन्, हामी पनि त्यही साँचो प्रयोग गर्छौँ । म कुनै संस्कृत भक्तभन्दा कम भक्त होइन तर मेरो मातृभाषा नेपाली हो ।

यति हुँदाहुँदै पनि संस्कृतको व्याकरण भनेको व्युत्पादनसँग सम्बन्धित व्याकरण हो । हाम्रो समसामयिक व्याकरण हेर्नुभयो भने व्युत्पादन प्रक्रियालाई सबैभन्दा पछि राखिएको छ । डेढ सय पेज जति वाक्यकै कुरा छन् । तर मैले वाक्य व्याकरण भनेको छैन । शब्द रचनाको अन्तिम अध्याय मात्र छ । किनभने आधुनिक भाषाविज्ञानले शब्दरचनालाई शब्दको आन्तरिक स्वरूप मात्र मान्छ । बाह्य मान्दैन अर्थात् यस्ता व्युत्पादन प्रव्रिmयाको वाक्यसँग प्रत्यक्ष सरोकार हुँदैन । रूपायन प्रव्रिmयाको मात्र वाक्यका अन्य पदसँग प्रत्यक्ष सम्बन्ध रहन्छ ।

कुनै पनि भाषाको मौलिक विषय भनेको उच्चारणमा हुन्छ । अनि रूपायनमा, पदसङ्गति र वाक्य रचनामा हुन्छ । त्यसमा संस्कृतको दाबी छैन । तीनवटा वाच्य हुन्छन् भन्ने संस्कृतको ढाँचा त मिल्छ तर हाम्रो भाववाच्य अर्कै खालको हुन्छ, संस्कृतका भन्दा फरक किसिमको हुन्छ । संस्कृतलाई छोड्न नसकिने आधार यिनै तीनवटा हुन् ।

नेपाली व्याकरणको व्युत्पादन पक्षको ठूलो अंशियार संस्कृत हो । हाम्रा संस्कृतका पण्डितहरूले यो कुरा बुझ्नु भएको छैन । अनि शहीदमा मोटो श नदेखेपछि उहाँहरू तिलमिलाउनु हुन्छ । त्यो त संस्कृत होइन, शिष्टमा मोटो श लगाए कि लाएनन्, पेट चिरेको ष लाए कि लाएनन्, त्यो हेरे त भई हाल्यो नि । कोसिस, सिकार, सहरमा मोटो श आयो आएन भनेर संस्कृतका विद्वानहरूले किन टाउको दुखाउनु ? त्यो त आगन्तुकवादीले गर्ने कुरा हो ।

नेपाली भाषामा पदयोग र पदवियोग निकै नै जटिल देखिएको छ, यसको हल गर्ने उपाय के देख्नुहुन्छ ?

–नेपाली भाषाको एकरूपीकरण २०६२ मा धेरै विद्वानहरूले पदवियोगमा जानुपर्छ भनेका छन् । यथार्थ कुरा पनि त्यही हो । दुईवटा अर्थवान् शब्दहरू छन् भने लामो भएपछि डिको तानिरहने झन्झट पनि पर्दैन । सरल र अनुमेय बनाउने कुरा हो । प्रशासन व्यवस्थापन भन्यो भने त्यहाँ वरदेखि परसम्म डिको दिनुपर्छ भन्ने छैन । किनकि त्यो संस्कृत त शब्द त तर त्यसलाई हामीले प्रयोग गरेको त नेपालीमा हो, संस्कृतका लागि होइन । महानगरपालिका शब्दमा पालिका धेरै चलेको शब्द भइसक्यो । पालिका छुट्टै लेख्दा के बिग्रिन्छ ? अनि पालिका शब्द ता एकदम सार्थक भएर आएको छ । पालिकाबाट, उक्त पालिकाले भने पुग्छ । त्यसमा गाउँ, नगर, उपमहानगर, महानगरसँग पालिका जोड्नु नै पर्छ भन्ने छैन । पालिका शब्द जोड्नुको तुक छैन । अर्थवान् शब्दहरू जोड्नुपर्छ भन्ने कुनै तुक छैन । त्यसमा कुनै पनि संस्कृतज्ञले हाम्रा शब्द हुन् भनी डन्डा लिएर बस्नु आवश्यक छैन ।

संस्कृतका शब्द हामीले लिएका हौँ, हाम्रो अनुकुलतामा प्रयोग गरेका छौँ । अब प्राइम मिनिस्टर अङ्ग्रेजीमा छुट्टिने नेपालीमा जोड्ने भन्ने हुँँदैन ।  चिफ जस्टिस चाहिँ नजोडिने नेपालीमा प्रधानन्यायाधीश चाहिँ जोड्नुपर्ने हुन्छ त ? त्यो २०७५ को शब्दकोशमा हेर्नुहोस् प्रधान न्यायाधीश चाहिँ छुट्याइएको छ, प्रधानमन्त्री चाहिँ जोडिएको छ । समास भएका लामा अर्थवान् शब्दहरू चाहिँ छुट्याएर लेख्ने हाम्रो भाषाको प्रवृत्ति हो । अध्ययन प्रतिवेदन छुट्याएर लेख्छौँ ।

पाँचभन्दा बढी अक्षर शब्दमा आए भने छुट्याउने भन्ने छ नि ?

–हामीले विश्वविद्यालयको र प्रज्ञा प्रतिष्ठानको २०६७ को निर्णयले पाँचवटा लियो । तीनदुईलाई लियो । अनि ललितपुर घोषणापत्रले पनि पाँचभन्दा बढी अक्षर आएमा छुट्याउने भन्यो । यी दुईवटा कुरा नजिक नै छन् । हामीले भनेको चाहिँ अक्षरसँग सम्बन्धित पनि छ । नेपाल सरकार भन्दा नेपाल्, सर्कार् दुई दुई अक्षर ( सिलेबल) का छन् । त्यसमा चाहिँ नेपाल तीन र सरकार चार वर्णको प्रयोग छ भन्ने मानिएको देखिन्छ । तर यो पदवियोगमा स्पष्ट लक्ष्मणरेखा छैन ।

अहिले एउटा अनौठो कुरा आएको छ । पहिले पु¥याउँदोरहेछ, बनाउँदोरहेछ भन्ने पनि छुट्याउँथे अहिले पत्रपत्रिकामा जोडेको भेटिन्छ । यसको रहस्य छ । संयुक्त भन्ने शब्द संस्कृतमा युज् धातुबाट बन्छ । युज् धातुले योगलाई जनाउँछ । अनि शिक्षकले पढाउँदा दुई वा दुईभन्दा बढी शब्दको योगलाई समास भन्छन् । नेपाल सरकार लेख्दा कि योजक दिन्छ कि जोड्न थाल्छ । त्यो गलत हो । समस्त शब्द वा संयुक्त व्रिmयामा स्वतस्फूर्त जे लेखिन्छ त्यो ठीक हो । भनेको हामीले त्यति हो । योग भनेको डिको होइन । योग भनेको अर्थ सम्बन्ध हो । नेपालको सरकार, पशुको पालन, मत्स्य पालन, लालन पालन जस्ता शब्दको अर्थमा योग हो । संस्कृत व्याकरणमा समासहरुलाई पूर्वपदार्थ प्रधान, उत्तर पदार्थ प्रधान र अन्य अर्थ प्रधान भनेको छ । समास अर्थ प्रधान हुन्छ भनिएको छ । अन्य अर्थ प्रधान भनेको बहुब्रीही, दुवै अर्थ प्रधान समास भनेको द्वन्द्व, सङ्ख्या अगाडि हुने द्विगु आदि । विग्रहले देखाउँछ, त्यो समास हो कि होइन भन्ने । तर समास भनेको डिको होइन, अर्थ सम्बन्ध चाहिँ समास हो । त्यही कुरो संयुक्त क्रियामा आउँछ । पण्डितजीहरूले सं+युक्त देखे, युक्त भनेको युज् धातु अनि पढाइरहेको छ, पढाइरहेकोहुँदो हो भन्ने पनि सबै जोडे । पढ्दै छ, तै÷दै छुट्टिने हो, पढ्ने छ त्यो पनि छुुट्टिने हो, क्रिदन्त अंश जति छुट्याएर लेख्ने भनेर हामीले भनेका हौँ । २०६७ को संगोष्ठीमा आएको त्यही हो । कृदन्तअनुसार छुट्याएको त्यही हो । हिन्दीमा जा रहा है छुट्याउँदा हुने, अनि यहाँ चाहिँ पण्डितजीहरूलाई जोड्नुपर्ने कुरो आयो । त्यसो हुनाले यो चाहिँ हामीलाई अनावश्यक भार बोकाएको हो । संस्कृत अनावश्यक भार होइन, यो चाहिँ अनावश्यक भार हो । संस्कृतको ढाचा चाहिँ लिने र शब्दहरूको निर्माण गर्ने हो । संस्कृतमा नबनेका शब्द पनि त्यो ढाँचा अनुसार बनाउँदै जाने हो ।

*****

हिज्जे मात्रै नेपाली भाषा होइन । भाषामा व्याकरण चाहिँ हिज्जेको विषय नभएको हुँदा शब्दकोश हेर्नुपर्ने हुन्छ । व्याकरण भनेको उच्चारण व्यवस्था, रूपायन, व्युत्पादन, शब्दवर्ग, वाक्य व्यवस्था आदि हुन् । अब शब्दकोशको विषय शब्द हो, हिज्जे हो, अर्थ हो, प्रयोग हो।

*****

अर्कोकुरा, यो युज्को दुईवटा उदाहरण दिएँ ः अर्को नामयोगीमा हाम्रा मान्छेहरूले योग देखे । त्यो पनि युज् धातुबाट योग भनेको हो भनेर जोड्न थालियो । त्यो चाहिँ हाम्रा गुरुहरूले नै गरिदिनुभयो, हेमराज पाण्डेहरूले । नामयोगी भनेको प्रिपोजिसनको अनुवाद थियो । हाम्रो पोस्टपोजिसन हुन्छ, त्यो नामसँग जोडिन्छ । द बुक अन द टेबल भन्दा छुट्टियो, नेपालीमा आउँदा टेबलमाथि जोडिएर आयो । पछाडि आएपछि त्यो किन जोडियो ? पदवर्ग भनेपछि ती स्वतन्त्र हुन् । अङ्ग्रेजीकै ढाँचा लिने भनेपछि त नाम, विशेषण, सर्वनाम, क्रिया, अव्यय, क्रियायोगी सबै अलग लेखिन्छन् भने नामयोगी किन जोडिन्छ ? यी पाटर््स अफ स्पिच सबै अलग छन् । त्यसलाई  अलग्गै लेखे के हुन्छ ? निपात पनि एउटै अक्षरको निपात पनि अलग्गै लेखिन्छ । अनि नामयोगी किन जोड्ने ? योगी भएकै आधारमा जोड्न थाले । अनि फेरि क्रियायोगी किन नजोडिने ? एड्भर्बको अनुवाद हो त्यो । त्यसैले यी कुरा हाम्रा लागि बोझिला हुन् ।

तर त्यस्तो पदयोगको बखान गर्ने नै स्वतस्फूर्त जोड्दैन, नियम सम्झियो भने मात्र जोड्छ । हाम्रो भाषा भनेको त हामीले नियम पढेर सिकेको संस्कृत जस्तो त होइन नि । स्वतः सिकेको भाषालाई स्कुलमा यसो डोर्याउने, अलिक एकरूपता दिने मात्र हो । मानक भनेको एकरूपता मात्र हो अरू कुरा होइन । एकरूपता छ भने झ जुन लेखे पनि भयो, विद्या भनेर द खुट्टो काटेर लेखे पनि भयो । त्यो विकल्प हो ।

नेपाली वर्णविन्यासमा के के गरियो भने लेखनमा सबैले एकरूपता कायम गर्न सहज होला ? १, २, ३ गर्दै भनिदिनुस् न ?

–पहिलो कुरा त यो सडकको हल्लाबाट व्याकरण परिवर्तन हुन्छ, भाषा उल्ट्याउन सकिन्छ भन्ने कुरा बन्द गर्नुपर्छ । प्रायोजन हुनुहुँदैन । यसमा विद्वानहरूलाई काम गर्न दिनुपर्छ । अध्ययन अनुसन्धानमा भएका निष्कर्ष उनीहरूले दिन्छन्, त्यही कुरालाई क्रमशः लागू गर्नुपर्छ । त्यसो भएपछि सरल हुन्छ, भाषाको आधुनिकीकरण पनि हुन्छ । नभए त्यो सम्भव छैन । यो विद्वानहरूको अध्ययन, अनुसन्धान, चिन्तनबाट मात्र हुन्छ । अध्ययन चिन्तन नभए विश्वविद्यालय किन चाहियो ? विश्वविद्यालयमा भएका अध्ययन अनुसन्धान र चिन्तनलाई व्यवहारमा उतारेमा जीवन सहज हुन्छ । निरन्तर अध्ययन अनुसन्धानबाट खारिँदै जाने हो सबै कुरा । भाषा शिक्षणका कुराहरू पनि तिनै हुन् । वैज्ञानिक अध्ययनपछि त्यसलाई प्रयोगमा ल्याउँदै गयो भने वर्णविन्यास पनि सरल, सुगम हुँदै जान्छ । नेपाली त सबै नेपालीको भाषा हो ।

२०५८ को दोस्रो संस्करणमा विकल्पहरू हटाउनुका कारण के थियो ? त्यसपछि यो बृहत् शब्दकोशमा कति शब्द थपिए ?

–यो एउटा महत्त्वपूर्ण र दुःखको कुरा पनि हो । अहिले (२०४० देखि २०७५) सम्म ३५ वर्षमा नेपाली बृहत् शब्दकोशमा शब्द थपिएकै छैनन् । म त्यसको प्रमाण दिन्छु । एक दुईवटा शब्द कतै सम्पादकले ए, यो त रहेनछ भनेर थपे छुट्टै हो, नभए थपिएका छैनन् । हामीले पनि २०७२ मा एक दुईवटा हाल्यौँ होला नभए योजनाबद्ध रूपमा शब्द थपिएनन् । त्यसको प्रमाण के हो भने २०४० को कोशको पृष्ठ पल्टाएर हेर्दा १४३१ पृष्ठ छन् । अब २०५८ मा १३५५ पृष्ठको भयो । त्यसमा विकल्पहरू हटाइयो र कतिपय शब्दहरू स्ल्यास गरेर एउटै प्रविष्टिमा राखियो र घट्न गयो ।  जस्तै ठेउको र ठ्यौको एकै ठाउँमा राखियो । देउसी र द्यौता एकैठाउँमा राखियो । त्यसमा पनि शब्द थपिएन ।

त्यसको संयोजकमा केशवप्रसाद उपाध्याय, सम्पादक मण्डलमा शरच्चन्द्र भट्टराई र खगेन्द्र लुइटेल हुनुहुन्थ्यो । त्यसपछि २०६७ मा अर्को कोश आयो । त्यो पनि संस्करण भएर आयो । कति संस्करण त पुनर्मुद्रण मात्र हुन् तर संस्करण भनियो । त्यसमा चाहिँ अलिकति के फरक आयो भने त्यसको प्रविष्टिमा चाहिँ मिठो ह्रस्व छ भित्र चाहिँ दीर्घ नै छ । त्यो गोष्ठी हुनुभन्दा एक हप्ता पहिले प्रकाशनमा आयो । त्यसको तयारीका लागि वासुदेव त्रिपाठी हुँदाखेरि हामीलाई पनि समितिमा राख्नुभएको थियो । तर उहाँपछि आएको टिमले छिट्टै निकाल्ने भन्न थाल्नुभयो, हतारमा त्यो रुजु नगरी निकालियो । अनि २०६७ पछि अहिले १०औँ संस्करण २०७५ को हो र नवौँ संस्करण २०७२ को हो । बीच बीचमा पुनर्मुद्रण भएकालाई पनि संस्करण भनियो ।

नेपाली बृहत् शब्दकोश २०५८ को संस्करणमा १३५५ पेज छ, त्यो ७६ पेज घट्ने भनेको कागजले मात्र घट्दैन १५, २० पेज घट्छ । तर त्यो चाहिँ शब्द घटेरै त्यस्तो भएको हो । केही राजनीतिक शब्द पनि हटाइयो त्यतिखेर । राजनीतिक शब्द पनि शब्दकोशमा हुनुपर्ने हो तर त्यतिखेर सम्पादकहरूले त्यो कुरा विचार गरेनन् । निर्देशन त्यही भयो होला । त्यसपछि २०६७ को कोश हेर्नुभयो भने त्यही १३५५ पेज छ । अब २०७२ को कोश पनि १३५५ पेज छ । २, ४ वटा शब्द हामीले पनि थप्यौँ थप्न त तर त्यो पेज बढेको छैन । अब त्यसपछि दसौँ संस्करण पनि १ पेज मात्र बढेको छ । किन बढ्यो भने त्यसमा केही विकल्पहरू फेरि राखिएको छ । भनौँ न शहर, शिकार, शहीद जस्ता शब्दहरू थपिएका छन् ।

मैले प्रज्ञा प्रतिष्ठानमा ४ वर्ष काम गर्दाखेरी केही शब्दहरू पहिले भाषिकाहरुबाट पनि सङ्कलन भएका रहेछन्, केही चाहिँ अन्य मातृभाषाबाट पनि लिएका रहेछन् । ती सबै हालेर प्रयोगात्मक नेपाली शब्दकोशबाट पनि १० हजार शब्द थपिए, त्यस कोशको २०७० को दोस्रो संस्करणमा बृहत् शब्दकोशमा त्योभन्दा १० हजार बढी शब्द रहेछन् । त्यसमा त्यो पनि हालियो । बालकृष्ण पोखरेलको नेपाली–अङ्ग्रेजी शब्दकोश पनि बजारमा आएको थियो, त्यसबाट पनि शब्द हाल्यौँ । सबै गरी त्यसमा ४९ हजारभन्दा केही बढी शब्द थप गरी मैले प्रज्ञा प्रतिष्ठानमा बुझाएँ । मेरो विभागबाट बुझाएको । अब त्यो चाहिँ कहिले प्रकाशित हुन्छ, मलाई थाहा हुने कुरा भएन । त्यति धेरै शब्द थपिएको यो पहिलो घटना हो, त्यसमा एक लाखभन्दा बढी एक लाख १० हजार जति शब्द त्यो शब्दकोशमा हुन्छन् । मैले भीमनारायण रेग्मी, बद्रीविशाल भट्टराईको सहयोगमा प्रज्ञा नेपाली बृहत् शब्दकोश नाम दिइएको त्यो कोश सम्पादन गरी बुझाएर छोडेको हुँ । तर अहिलेसम्म प्रकाशन गर्ने छेकछन्द थाहा छैन । त्यो चाहिँ अहिले मूल्याङ्कन हुँदैछ अरे । के मूल्याङ्कन हुन्छ र, ह्रस्व र दीर्घ जोड्ने छुट्याउने त्यति होला । दसौँ संस्करणको सम्पादकीयले हालत देखाइसकेको छ ।

हिज्जे मात्रै नेपाली भाषा होइन । भाषामा व्याकरण चाहिँ हिज्जेको विषय नभएको हुँदा शब्दकोश हेर्नुपर्ने हुन्छ । व्याकरण भनेको उच्चारण व्यवस्था, रूपायन, व्युत्पादन, शब्दवर्ग, वाक्य व्यवस्था आदि हुन् । अब शब्दकोशको विषय शब्द हो, हिज्जे हो, अर्थ हो, प्रयोग हो।

शब्दकोश परिमार्जनमा ५, ७ जनाको समिति हुन्छ नि हैन ? तिनीहरूको काम चाहिँ के हो ?

–शब्दकोश परिमार्जनको काम विभागले गर्ने हो । खारेजी गर्ने काम पनि विभागले नै गर्ने हो । विभागले परिषद््मा प्रस्ताव लैजानु पर्ने हुन्छ । विभागका पदाधिकारीको जिम्माको काम हो त्यो । विभागमा जो छ त्यो विभागको सर्वैसर्वा हुन्छ । बजेट अलग्गै हुन्छ । विभागले प्रस्ताव नगरेको कुरा चाहिँ  के हो भने कुलपतिकै संयोजकत्वमा दसौँ संस्करणको समिति बनेको छ ।

समितिमा एक जना सदस्य हुनुहुन्छ, जो मेरो सम्पादन मण्डलमा पनि हुनुहुन्थ्यो, त्यसपछि छानबिन आयोगमा पनि हुनुहुन्छ, बन्धु सरको अध्यक्षतामा २०६७ को गोष्ठीको निर्णय वा कार्यादेश अनुसार २०७२ को कोश छ कि छैन भन्ने हेर्न । यो ठिकै छ भनेर उहाँको रिपोर्ट पनि छ । तर त्यो ठिकै छ भन्ने रिपोर्ट एकातिर आयो । पछि समितिले निर्णय अर्कैतिर गर्यो । ह्रस्वलाई दीर्घ दीर्घलाई ह्रस्व गर्यो ।

हुँदाहुँदै केसम्म गरियो भने सायमि चाहिँ ह्रस्व लिम्बु चाहिँ दीर्घ लेख्ने भनेको छ । लिम्बु, खम्बु सबै उनीहरूको भाषामा ह्रस्व हुन्छ, नेवारी भाषामा पनि सबै ह्रस्व हो, उनीहरूले ह्रस्व चलाए भने पनि त्यही दीर्घका लागि चलाएका हुन्छन् । अचेल कीर्तिपुरको की र पू (नेवारीमा) दुईवटै दीर्घ लेखेको पनि भेटिन्छ । त्यो चाहिँ ह्रस्वका लागि हो । ठिमीमा कहिले थिमि भनेर दुईवटै ह्रस्व लेख्थे अब यो लेखाइको भ्रम त नेवारीभाषीहरूलाई नै परेको छ । हामी नेपालीमा ह्रस्व र दीर्घ उच्चारणका लागि लेख्दैनौँ । त्यो एउटा सजिलोका लागि लेख्छौँ । अगाडि र बीचमा प्रायः ह्रस्व लेख्छौँ, अत्यमा इकार भए प्रायः दीर्घ चलाउँछौँ ।

म त्यो प्रज्ञामा हुँदा ८, ९ वटा किताब प्रकाशित गरेँ । ती किताबहरूमा भाषाविज्ञान शब्दावली, अर्थशास्त्र शब्दावली, नेपाली वर्णविन्यासको इतिहास, नेपाली व्याकरणको इतिहास, किराँती र नेपाली भाषाको व्यतिरेकी अध्ययन, ६० वर्षका भाषिक चर्चा भन्ने छ । अनि एउटा किताब चाहिँ प्रकाशित भएको छैन । प्रेसमा गएको भन्ने छ, त्यो २०७२ सालमै गएको लेखन तथा सम्पादन शैली भन्ने झण्डै ४ सय पेजको छ । त्यो प्रकाशित भएको छैन । अर्को  १ लाख १० हजार शब्द सङ्कलन गरिएको कोश पनि प्रकाशित भएको छैन । त्यसमा के हिसाब छ भने ६० हजार जति शब्द पहिले थिए अनि अब थप ४९ हजार चानचुन शब्द सङ्कलन मेरा पालामा थपिएका हुन् ।

 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...