शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

ग्यारेजमा थन्किए घुम्ती शौचालय

आइतबार, १९ साउन २०७६, १० : ३६
आइतबार, १९ साउन २०७६

नेपालगञ्ज उपमहानगरपालिकाका मुख्य चोकहरुमा सार्वजनिक शौचालय छैनन् । यहाँका मुख्य चोकहरुमा सवारीसाधन र पैदलयात्रुको भीडभाड नै हुन्छ । 

यसैलाई मध्यनजर गर्दै एशियाली विकास बैंक (एडिबी)को सहयोगमा नेपालगञ्ज उपमहानगरपालिकाले रु ५९ लाखमा खरीद गरेर ल्याएका चार घुम्ती शौचालय आजभोलि घुम्न छाडेर उपयोगविहीन भएका छन् । 

करीब तीन महीना चोक–चोकमा राखिएका घुम्ती शौचालयमा शौच गर्न ग्राहकहरु नै नआएको भन्दै ती शौचालय जिल्ला समन्वय समिति, बाँकेको सवारी पार्किङमा थन्क्याइएको छ । खुला शौचको समस्या हटाउन नेपालगञ्ज उपमहानगरपालिकाले चार वटा घुम्ती शौचालय त्रिभुवनचोक, धम्बोझीचोक, विपीचोक, पुष्पलालचोकलगायत सार्वजनिक शौचालय नभएका अन्य स्थानमा राख्ने गरेको थियो ।

ठेकेदारमार्फत सञ्चालन गरिएका घुम्ती शौचालय प्रयोग गरेवापत निश्चित शुल्क दिनुपथ्र्यो । तर शौच गर्न आउने ग्राहकले पैसा तिर्न नमानेपछि ठेकेदार आफैँले शौचालय सञ्चालन गर्न इच्छा देखाएनन् । सञ्चालन खर्च नै नउठ्ने देखिएपछि शौचालय थन्क्याइएका छन् । उपयोग हुने÷नहुने अवस्थाका बारेमा अध्ययन नै नगरेर खरीद गरिएका घुम्ती शौचालय उपयोगविहीन भएपछि स्थानीयवासीले गुनासो  गरेका छन् । 

बाहिर तथा जिल्लाका विभिन्न स्थानबाट काम लिएर आउने सेवाग्राहीलाई शौच गर्न समस्या भएपछि उपमहानगरपालिकाले घुम्ती शौचालय खरीद गरेको थियो । “चोकमा मानिस शौच गर्न नपाएर पैदलयात्री शौचालय खोज्दै होटलमा पुग्ने गर्छन् । तर कतिपय होटल सञ्चालकले शौच गर्न दिँदैनन् । यस्तो अवस्थामा घुम्ती शौचालय उपयोगविहीन बनाउनु राम्रो नभएको नेपालगञ्ज–१ धम्बोझीका मनिराम शर्माले बताए । 

उपमहानगरपालिका–१ कै पद्मा कार्कीले यहाँका चोकमा सार्वजनिक शौचालय नहुँदा कति ठूलो समस्या छ भन्ने सबैलाई थाहा भएको बताए । 

सञ्चालनमा ल्याइएका शौचालयबाट सङ्कलित मलमूत्रलाई प्राङ्गरिक मल बनाएर प्रयोग गर्ने उपमहानगरपालिकाको योजना बीचमै अलपत्र परेको छ । उपमहानगरले तीन महीनाका लागि शौचालय सञ्चालन गर्न रु ७० हजारमा सरसफाइकर्मी भानु भट्टलाई जिम्मेवारी दिएको थियो । सञ्चालन खर्चका लागि ग्राहकसँग पिसाब गरेवापत रु पाँच र दिसा गरेवापत रु १० शुल्क लिइँदै आए पनि ग्राहकले पैसा तिर्न नमान्दा शौचालय बन्द गर्नुपरेको भट्टले बताए । 

शौचालय नहुँदा नेपालगञ्ज आउने अधिकांश यात्रुले दिनहुँ सास्ती खेप्नुपरेको बर्दियाबाट नेपालगञ्ज आएका पदमसिंह थापाले बताए । सार्वजनिक शौचालय अभावमा सबैभन्दा धेरै महिलाले हैरानी व्यहोर्नुपरेको उनको भनाइ छ ।

नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेलले भने उपयोगविहीन भएर शौचालय नथन्क्याएको दाबी गरे । “पैसा नतिर्ने समस्या देखिएकै हो । तर त्यही कारणले थन्क्याउनुपरेको भने होइन”, प्याकुरेलले भने, “अब हामी अलि फरक तरिकाले त्यसको उपयोग गर्छौ ।” 

सार्वजनिक कार्यक्रमका साथै नेपालगञ्ज भन्सार, बसपार्कजस्ता क्षेत्रमा घुम्ती शौचालय राख्ने तयारी छ । 

नेपालगञ्ज बजारमा अहिले पनि ११ सार्वजनिक शौचालय छन् । तीमध्ये चार मात्रै प्रयोगमा छन् । भएका सार्वजनिक शौचालयलाई राम्ररी प्रयोगमा ल्याउन नसकेको उपमहानगरपालिकाले एकै पटकमा छ जनाले शौच गर्न मिल्ने गरी घुम्ती शौचालय खरीद गरेर थालनी गरेको नयाँ काम पनि बीचमै अलपत्र परेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप