शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

श्रीधरको संघर्षः जापानको कामदारदेखि आफ्नै फ्याक्ट्रीको मालिकसम्म

विदेशबाट फर्कनेलाई सुझाव : घरघडेरीभन्दा उत्पादनशील क्षेत्रमा लगानी गरौँ
आइतबार, १९ साउन २०७६, १० : २४
आइतबार, १९ साउन २०७६

बुटवल । कुनै समय उनको दैनिकी गाउँमा रहेको खेतमा काम गरेर बित्थ्यो । खेतमा काम गर्दा–गर्दा हैरान भएर कतै सहर बजारको रोजगार पाउन पाए पनि धन्य हुने थियो भनेर प्राथना गर्थे ।

गुल्मी ईस्मा गाउँपालिका–१, जुकेपानीका ३८ वर्षीय श्रीधर घिमिरे यति बेला बुटवलमा करोडौँ लगानी रहेको आफ्नै फ्याक्ट्रीका मालिक बनेका छन् ।

उनले गाउँमा छँदा जुकेपानीदेखि  तल पर्ने  उपल्लोफाँटमा एउटा सानो छाप्रो बनाएर चिया पसल समेत खोले । त्यही चिया पसलले उनलाई २०५६ सालमा पहिलो पटक बुटवल पुर्यायो  ।

बुटवल ट्राफिक चोकमा आएर दाई दीवाकर घिमिरेसँग मिलेर प्रभात बुक्स नामक पसल सञ्चालन गरे । त्यही क्रममा उनलाई बैदेशिक रोजगारको रहर जाग्यो ।

२०६४ सालमा २७ वर्षको उमेरमा जापान पुगे । त्यहाँको एक क्रेन कम्पनीमा करीव ८ वर्षसम्म काम गरे । 

दुई वर्षअघि उनले कम्पन्नी छाडेर जापानमा आफ्नै रेष्टुरेण्ट सुरु गरे । एभरेष्ट फुजी नामक उनको रेष्टुरेण्टमा नेपालीहरुको आवत जावत बढ्न थाल्यो । यसरी जापानमा करिव १० वर्षको दौरानमा राम्रै कमाई गरे श्रीधरले ।

जापानको कमाइ स्वदेशमै उत्पादनशील क्षेत्रमा लगाउनुपर्छ भन्ने उद्देश्य लिएर दुई वर्ष अघि नेपाल फर्किए ।

बुटवल आएर उनले उपभोक्ताहरुको अभाव के छ ? भनेर अध्ययन गरे । उनले  प्रशोधित पिउने पानी उत्पादनको आवश्यकता रहेको पत्ता लगाए ।

फलतः बुटवल उपमहानगरपालिका–१५ को सेमलार भन्ने स्थानमा आफैले १ करोड ८० लाख लगानी गरेर धौलागिरी वाटर ईन्डष्ट्रिज  फ्याक्ट्री सञ्चालनमा ल्याए ।

उनले त्यतिमा मात्र आफुलाई सिमित राखेनन् । यसको साथसाथै गाडीहरुका सिट, सोफा, कार्पेट धुनेदेखि  घर  र कार्यालय सरसफाइको काम समेत गर्दै आएका छन् ।  त्यसबाट उनले १७ जनालाई रोजगार दिई सकेका छन् ।

‘पैसा कमाएको उन्मादमा मात्तिनेभन्दा पनि मैले  समाजका लागि के गरे र गर्न सक्छु भन्ने कुरामा बढि दायित्ववोध गर्छु,’ उनी भन्छन् ।

विदेश गएर फर्किनेहरुका लागि उनको सुझाव छ – घर–घडेरी र तामझाममा पैसा खर्च नगरौँ, उत्पादनशील क्षेत्रमा खर्च गर्दा देश र समाजका लागि पनि हित हुन जान्छ  ।

उनले अहिले आफ्नो फ्याक्ट्रीमा मासिक २० देखि २५ लाख सम्मको कारोवार हुने बताए । ‘अब मेरा लागि जापान, अमेरिका युरोप यही भइसक्यो,’ उनले भने, ‘जापानदेखि युरोप  घुमेर मैले यहि सिके कि आफै मालिक आफै कामदार हुनु पर्दो रहेछ ।’ उनले त्यसो भन्दै गर्दा आफै गाडीका सिट धुँदै थिए ।

‘जापानमा यहि काम गर्न गाह्रो नहुने, लाज पनि नलाग्ने स्वेशमा भने युवाहरु लजाउने गरेको पाउँछु,’ उनको भनाई थियो, ‘काम गरेर खान किन लजाउने ?’

तस्वीरः श्रीधर घिमिरे

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप