बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

एनआरएन युरोप बैठक : नेपालमा लगानी गर्न कानुनमन्त्री ढकालको आह्वान

शनिबार, १८ साउन २०७६, १७ : ०३
शनिबार, १८ साउन २०७६

रोम (इटाली)– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले सरकारले अघि सारेको सुखी नेपाली समृद्ध नेपालको नारालाई मूर्तरुप दिन विदेशी लगानी अपरिहार्य रहेको बताएका छन् । 
स्वदेशी पुँजीले मात्रै देश विकास सम्भव नभएको भन्दै उनले लगानीका लागि विदेशी लगानीकर्ता र गैरआवासीय नेपाली संघ( एनआरएन) सँग आह्वान गरे । 
शनिबार एनआरएन युरोप क्षेत्रको १२ औं बैठकको उद्घाटन सत्रलाई इटालीको रोममा सम्बोधन गर्दै ढकालले नेपालको समृद्धि र विकासको अभियानमा सरकारले एनआरएनसँग सहकार्य गरेरअघि बढ्न चाहेको पनि बताए । 
‘स्वदेशी पुँजीले मात्रै समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य हाँसिल गर्न सकिँदैन’ ढकालले भने, ‘यसमा एनआरएनको भूमिका सहयोगी हुन्छ । लगानीमात्रै नभएर विदेशमा सिकेको सिप र ज्ञान पनि नेपालको विकासका लागि उपयोगी हुन्छ ।’
उनले नेपालमा विदेशी लगानी आवश्यक रहेको भन्दै त्यसमा सरकार र प्रमुख राजनीतिक  एकमत रहेकाले ढुक्क भएर नेपालमा लगानी गर्न आह्वान गरे ।
कृषि, ऊर्जा, पर्यटन र पूर्वाधार लगायतका क्षेत्रमा नेपालमा लगानीको पर्याप्त सम्भावना रहेको पनि उनले बताए ।
गतवर्ष सरकारबाट आयोजना गरिएको लगानी सम्मेलनमा १५ वटा परियोजनामा लगानी प्रतिबद्धता आएको जानकारी दिँदै उनले त्यसमा  प्रगति भइरहेको पनि जानकारी दिए । उनले एनआरएनले खडा गरेको लगानी १० अर्बको लगानी कोषले नेपालमा लगानीका लागि वातावरण तयार गरेको समेत बताए । 
यस्तै उनले नेपाली नागरिकताको विषयमा एनआरएनको माग पूरा गर्न सरकार तयार रहेको पनि सम्बोधनका क्रममा बताए ।  उनल भने, ‘एकपटकको नेपाली सँधैको नेपाली, यसका लागि कानुन बनाउन पहल भइरहेको छ।’
यस्तै काँग्रेस नेता डा शेखर कोइरालाले प्राप्त उपलब्धिको रक्षाका लागि गैरआवासीय नेपालीले पनि दवाव दिनु जरुरी रहेको बताए । 
उनले अब सरकारमा रहेकाहरु निःस्वार्थरुपमा आर्थिक र सामाजिक विकासमा होमिने बेला आएको पनि बताए ।  


कार्यक्रममा एनआरएन अध्यक्ष भवन भट्ट, पूर्वअध्यक्षहरु उपेन्द्र महतो, जीवा लामिछाने, शेष घले, पर्यटन सचिव मोहन कृष्ण सापकोटा,स्वीटरल्याण्डका लागि नेपाली राजदूत तीर्थराज घिमिरेलगायतले एनआरएनको महत्व र नेपालको विकासमा संघले खेल्नसक्ने भूमिकाका विषयमा चर्चा गरेका थिए । 
शुक्रबारदेखि सुरु भएको एनआरएन युरोप क्षेत्रीय बैठकको औपचारिक उद्घाटन इटालीको राजधानी रोममा शनिबार गरिएको हो । 
बैठकमा विश्वभरका एनआरएन नेताहरुको सहभागिता रहेको एनआरएन युरोपका अध्यक्ष शिव कुमार बरुवालले जानकारी दिए । 
स्थानीय इर्गिफ होटलमा  भएको औपचारिक उद्घाटन प्रमुख अतिथि एवम् कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले पानसमा बत्ती बालेर गरेका थिए। 


युरोप क्षेत्रीय अध्यक्ष बरुवालको अध्यक्षतामा भएको कार्यक्रममा विशेष अतिथिको रुपमा काँग्रेस नेता डा शेखर कोइराला, संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सचिव मोहन कृष्ण सापकोटा, युरोपमा रहेका विभिन्न देशका राजदूतहरु जसमा अष्ट्रियाका लागि प्रकाश कुमार सुवेदी, बेल्जियमका लागि लोकबहादुर थापा, डेनमार्कका लागि युवनाथ लम्साल, फ्रान्सका लागि दीपक अधिकारी, जर्मनीका लागि रमेश प्रसाद खनाल, रसियाका लागि ऋषिराम घिमिरे, स्वीट्जरल्याण्डका लागि तीर्थराज घिमिरे, स्पेनका लागि हिराकान्त पौडेल, बेलायतस्थित नेपाली दूतावासका द्धितीय सचिव लव सुवेदी, प्रदेश नम्बर १ का बसन्त बानियाँको सहभागिता रहेको छ । 
यसैगरी एनआरएन अध्यक्ष भवन भट्ट, पूर्वअध्यक्षहरु उपेन्द्र महतो, जीवा लामिछाने, शेष घले, संरक्षक रामप्रताप थापा, भिजिट नेपाल २०२० का संयोजक सुरज बैद्य, होटल एसोशिसन अफ नेपाल हानका अध्यक्ष श्रृजना राणा, उपाध्यक्षद्वय कुमार पन्त, कुल आचार्य, महासचिव बद्री केसी, सल्लाहकार हेमराज शर्मासहित एनआरएनका विभिन्न तह र तप्का नेताहरुका साथै सञ्चारकर्मीहरुको सहभागिता रहेको छ । 


राष्ट्रिय गानबाट सुरु भएको औपचारिक कार्यक्रममा  स्वागत मन्तव्य एनआरएन इटालीका अध्यक्ष दीपेश कुमार रेग्मीले दिएका थिए । यस्तै युरोप क्षेत्रीय अध्यक्ष बरुवालले कार्यक्रम सफल पार्न सहयोग गर्ने सबै एनआरएन नेता तथा अतिथिलाई धन्यवाद दिए । 
‘एनआरएनए यूरोपको उद्देश्य देश विकासको लागि लगानी र पर्यटन प्रवर्द्धन गर्ने लक्ष्य’ भन्ने मुल नाराका साथ आयोजित बैठकको मुख्य एजेण्डा लगानी र पर्यटन प्रवर्द्धन रहेको छ । 
यसैगरी नेपालमा लगानीका लागि उपयुक्त वातावरण बनेको सन्देश प्रवाह गर्नुका साथै सरकारले घोषणा गरेको भिजिट नेपाल २०२० को प्रचारप्रसार गर्नेपनि उद्देश्य रहेको छ । 

यसैगरी बैठकमा गैरआवासीय नेपाली नागरिकताको विषयमा रहेका द्विविधा सम्बन्धी विशेष सेसन, नेपालमा लगानीका लागि नेपालको मौजुदा नियम र कानूनबारे जानकारी, युरोप क्षेत्रका लागि छुट्टै वैदेशिक रोजगार राहत कोषको अवधारणा लगायत एजेन्डामा समेत छलफल केन्द्रित रहनेछ ।

 यसका साथै बैठकमा यूरोपेली क्षेत्रमा रहेका गैरआवासीय नेपाली समुदायले भोग्नुपरेको समस्या र त्यसको समाधान, यहाँ रहेका नेपालीका ज्ञान सीप र क्षमता नेपालमा भित्र्याउने सरकारको रणनीति र त्यसमा एनआरएनएको भूमिकाबारे पनि घनीभूत रुपमा छलफल गरिनेछ । 
बैठक आइतबाररोम घोषणापत्र जारी गर्दै सकिने अध्यक्ष बरुवालले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप