मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘पत्रिका पढेर नेपाल–भारत सम्बन्धबारे धारणा बनाउनु हुँदैन’

हिन्दुराष्ट्रबारे नेपालकै जनताले निर्णय विषय हो, भारतको हस्तक्षेप छैन : विजय चौथाईवाले, विदेश विभाग प्रमुख, भारतीय जनता पार्टी
शनिबार, १८ साउन २०७६, १४ : ३०
शनिबार, १८ साउन २०७६

भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाईवाले अहिले नेपाल भ्रमणमा छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले निकट भविष्यमा गर्न लागेको नेपाल भ्रमणको तयारी स्वरुप उनी नेपाल आएका हुन् । यसका लागि उनले एउटा कार्यक्रमलाई बहाना बनाएका छन् । प्रेम लस्करी अध्यक्ष रहेका नेपाल–भारत मित्रता समाजले आयोजना गरेको कार्यक्रममा भाग लिन भनेर उनी नेपाल आएका हुन् । नेपालमा रहँदा उनले विभिन्न व्यक्तिहरुसँग भेटघाट गरेका छन् । सो भेटघाटबाट भारत र प्रधानमन्त्री मोदीप्रतिको मुड मापन गरेर आज फर्केका छन् । शुक्रबार एक कार्यक्रममा भेटभएका चौथाईवालेसँग मोदीको नेपाल भ्रमण र दुई देशबीचको सम्बन्धको बारेमा गरिएको छोटो कुराकानी गरेका छौँ । प्रस्तुत छ उक्त कुराकानीको सम्पादीत अंशः 

तपाईं भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न नेपाल भ्रमणको तयारीका लागि यहाँ आउनुभएको भनेर भनिएको छ । के–के तयारी भइरहेका छन् ?

–होइन, म प्रधानमन्त्री मोदीको नेपाल भ्रमणको तयारीमा आएको होइन । प्रेम लस्कारीजीले आयोजना गर्नुभएको कार्यक्रममा सहभागी हुन मात्र आएको हुँ । कार्यक्रम सम्पन्न भइसक्यो अब फर्किन्छु ।

प्रधानमन्त्री मोदीको नेपाल भ्रमण कहिले हुन्छ ?

–यो कुराको जवाफ त सरकारी पक्षले दिनुहुन्छ । यहाँका राजदूत (राजदूत मन्जिम्भ सिंह पुरीलाई देखाउँदै) लाई सोध्नुस् आधिकारिक जानकारी उहाँहरुले दिनुहुन्छ । मलाई पार्टीको लाइनबाट सोध्नुहुन्छ भने प्रधानमन्त्री मोदीले जसरी अरु देशको भ्रमण गर्ने तयारी गरि रहनुभएको छ । त्यसरी नै नेपालको भ्रमण गर्नुहुन्छ । तर मिति तय भएको छैन । मिति तय भएपछि हामीभन्दा पहिला तपाईंहरुलाई जानकारी हुन्छ ।

प्रधानमन्त्री मोदीको भ्रमणलाई सफल पार्न तपाईंको ठूलो हात रहने गरेको छ । उहाँ जहाँ–जहाँ जानु हुन्छ, त्यहाँ तपाईं पनि पुग्नुहुन्छ ।

–मेरो केही हात हुँदैन । मोदीजी आफै विद्वान हुनुहुन्छ, जानकार हुनुहुन्छ । उहाँले गरिरहनुभएको र गर्दै आउनु भएको काममा हामीले अलिअलि सहयोग पुर्याइ दिने मात्र हो । उहाँ जाने हरेक ठाउँमा म जादिनँ तर धेरै ठाउँमा गएको छु । प्रधानमन्त्री मोदीले जहाँ ठूलो मासलाई सम्बोधन गर्ने कुरा हुन्छ त्यहाँ म जान्छु । खासगरी जहाँ भारतीयहरुको बढी हुन्छ, उहाँ उपस्थिति गराउनु पर्ने हुन्छ त्यस्ता ठाउँहरुमा म जान्छु र त्यसको व्यवस्थापनमा लागेको हुन्छु ।

प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई सहयोग गर्ने र नेपालसँग राम्रो सम्बन्ध बनाउने प्रयासमा हुनुहुन्छ । तर त्यहाँका सञ्चारमाध्यमले भने नेपालमा भारतविरोधी गतिविधि बढ्दैछ, नेपाल चीनको कब्जामा गइसक्यो जस्ता प्रचार गरिरहेका हुन्छन् । त्यहाँको संस्थापक पक्षको बुझाई यसबारेमा के छ ?

–भारतीय मिडियालाई कसैले नियन्त्रण गर्न सक्दैन, हामीले पनि गर्न सक्दैनौँ । उसले जे प्रसेप्सन बनाउनु छ, त्यो बनाउँछ नै । तर तपाईंहरुले भने जस्तै नेपालप्रति मोदीजीको भावना राम्रो छ भनेर भन्नुभयो वा लेख्नुभयो भने त्यो कुरा यहाँ बढी सुनिनेछन् । तर यहाँ पनि भारतीय सञ्चारमाध्यमकै जस्तै अवस्था छ ।

भारतका कतिपय थिंक ट्याङ्कको बुझाई पनि नेपालप्रति त्यति राम्रो छैन नि ?

–भारतमा थुप्रै थिंक ट्याङ्कहरु छन् । कसले के भनिरहेका छन्, कसले के लेखिरहेका छन् भन्ने बारेमा थाहा छैन । तर म यति कुरा भन्छु, आफू ठीक भएपछि  जसले जे भने पनि फरक पर्दैन । नेपाल र भारतबीच जनता र जनताबीच सम्बन्ध हुनु आवश्यक छ । सम्बन्धलाई अझै राम्रो बनाउन सकियो भने यस्ता झिना मसिना कुराले केही फरक पर्दैन । राजनीतिक, समाजिक, आर्थिक, साँस्कृतिक स्तरमा सम्बन्धलाई बलियो बनाउनु आवश्यक छ । जनता र जनताको बीचमा जति संवाद हुन्छ, त्यति नै दुई देशको बीचमा रहेको भ्रमहरु समाप्त हुन्छ । सम्बन्ध नै नभएपछि भ्रमहरु त फैलिन्छ । त्यसैले पहिला जनता–जनताको बीचमा देशलाई जोड्ने काम गर्नुपर्छ । यी सबै कुराको सेटअप गर्न म कोशिश गर्नेछु ।

कम्युनिकेशन ग्यापको कुरा गर्नुभयो कुन तहमा यस्तो ग्याप भएको पाउनुभएको छ ?

–धेरै जना पत्रपत्रिका पढेर आफ्नो धारणा बनाएर आएका हुन्छन् । वास्तविकता के हो त्यो बुझ्ने प्रयास गरेका हुँदैनन् । जनताको सम्पर्कमा गएपछि धेरै कुरा थाहा हुन्छ । वास्तविकता के हो त्यो बुझ्न पाइन्छ । तर भारत होस् या नेपाल, धेरै मान्छे सञ्चारमाध्यमबाट थाहा पाएका कुरालाई विश्लेषण गरेर आफ्ना धारणा बनाउँछन् र त्यही अनुसार कुरा गरिरहेका हुन्छन् । त्यसैले दुई देशको बीचमा के भइरहेको छ त्यो थाहा पाउनका लागि एक अर्काको देशमा आवतजावत गर्नुपर्छ । एक अर्का देशको धारणा बुझेर मात्र धारणा बनाउनुपर्छ । म नेपाल आएपछि यही कुरा महसुस भयो कि व्यक्तिसँग कुरा गर्न धेरै जरुरी हुन्छ । मिडियाको आफ्नो भ्यु प्वाइन्छ हुन्छ तर मिडिया हर हमेशा गलत हुन्छ भन्ने पनि होइन । धेरै कुरा राम्रा पनि भनिरहेका हुन्छन् । 

कतिपय अवस्थामा भारतीय जनता पार्टीका नेताहरु नेपालमा आएर विवादास्पद कुरा बोलिरहेका हुन्छन् । कहिले हिन्दु राष्ट्रको कुरा गरि दिन्छन् भने कहिले राजतन्त्रको कुरा गरिदिन्छन् । वहाँहरु यहाँ आएर जे बोल्नुहुन्छ त्यो भाजपका लाइन हो कि उनको व्यक्तिगत लाइन हो ?

–हेर्नुस् कोही व्यक्ति पार्टीको होस् अरु नै । म कसैलाई यहाँ आउन रोक्न सक्दिन । यदि कुनै नेताहरु यहाँ आएर केही बोल्नुहुन्छ भने उहाँलाई सोध्नुस् कि यो तपाईको व्यक्तिगत धारणा हो कि भाजपाको आधिकारिक धारणा हो ? यो कुरा त उहाँहरुलाई सोध्न सक्नुहुन्छ । यहाँ सयौँ व्यक्ति आउँछन् जान्छन् मलाई सबै थाहा हुँदैन । कोही थिंक ट्यांकको रुपमा आएका हुन्छन् भने कोही स्टडी ग्रुपको रुपमा आएका हुन्छन् । कतिपयले कन्ट्रोभर्सियल अभिव्यक्ति पनि दिएका हुन्छन्, जसले दुई देश बीचको सम्बन्धलाई बिगारिरहेका हुन्छन् ।

नेपाल–भारतबीच अहिले बाढीको समस्या मुख्य समस्याको रुपमा आएको छ । बाढी आउँदा दुवै देशमा क्षति हुन्छ । नेपालको पानीले भारतमा पनि क्षति गरेको हुन्छ भने उताको बाँधले गर्दा नेपाललाई पनि क्षति गरेको हुन्छ । यस अवस्थामा भारतले यसलाई समाधान गर्ने तर्फबाट किन जाँदैन ?

–नेपाल–भारतबीच यो कुनै ठूलो समस्या होइन । दुवै देश गम्भीर भएर यसमा छलफल गर्यो भने समाधान हुन्छ । यसमा ठूलो लगानी पनि लाग्दैन । कुनै हाइड्रो पावरमा लगानीको कुरा आउँछ भने त्यसमा ठूलो लगानी लाग्ने भएकाले त्यसमा समय लाग्न सक्छ तर यो बाढीको समस्या, विद्यार्थीको समस्या लगायत साना साना कुरालाई दुई देश बसेर मिलाउन सकिन्छ । यो कुनै ठूलो कुरा होइन । कुनै ठाउँमा नदीको मुद्दा छ, सडकको मुद्दा छ, बैंक एकाउण्टको मुद्दा छ, कोशी व्यारेजको मुद्दा छ, यस्ता थुप्रै स–साना मुद्दाहरु दुई देशको बीचमा छन् । यसको बारेमा म भारत फर्केपछि त्यहाँका सरोकारवालाहरुसँग कुरा गर्छु ।

भाजपालाई एउटा कट्टर हिन्दु धर्म प्रचारकको रुपमा यहाँ बुझ्ने गरिएको छ । भाजपाको नेपालमा हिन्दुराष्ट्र बनाउने योजना छ भनेर यहाँका बुद्धिजिवीहरु पनि विश्लेषण गर्छन् । नेपालले बुझेको भाजपा र वास्तविक भाजपामा के फरक छ ?

–भाजपा के हो त्यो स्पष्ट छ । यसमा कुनै दुई मत छैन । तर नेपालले के चाहन्छ त्यो उसको कुरा हो । त्यसमा भाजपा मात्र होइन अरु कुनै दल वा संगठनले हस्तक्षेप गर्न मिल्दैन । यहाँका जनताले जे चाहन्छ त्यही हुन्छ । कुनै अमुक पार्टी वा व्यक्तिले केही भन्दैमा हुँदैन ।

भाजपाको समयमा नै यहाँ सबभन्दा बढी भारत विरोधी सेन्टिमेन्ट पैदा भएको छ किन ?

–मलाई यो कुरा थाह छैन । यो त तपाईंहरुलाई थाह होला ।

  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप