केन्द्रीय संस्करण
मेरो जीवन

निर्देशक रमेश बुढाथोकीको जीवन : एक जग पानी र नुन चाटेर निदाएका कैयौँ रात छन्

person explore access_timeसाउन १८, २०७६ chat_bubble_outline0
कुवेर गिरी

रातोपाटी

नेपाली कलाक्षेत्रका सफल निर्माता, निर्देशक, कलाकार हुन्– रमेश बुढाथोकी । ४ दर्जनभन्दा बढी चलचित्र अभिनय गरेका बुढाथोकीसँग १४ सयभन्दा बढी टेलिशृङ्खला अभिनय गरेको अनुभव पनि छ ।

चलचित्र क्षेत्रका हठी निर्देशक भनेर चिनिएका बुढाथोकीको निर्देशन रहेका १२ चलचित्र प्रदर्शनमा आइसकेका छन् । युवा अवस्थामा धेरैले जीवनको तीतामीठा अनुभूति सँगाल्छन् । यो अवस्थामा धेरै रमाउँछन् । प्रेममा हराउँछन् । साथीभाइसँग घुम्छन् । तर कलाकार रमेश बुढाथोकीले भने आफ्नो जीवनको युवा अवस्था कहिले आयो र गयो केही अनुभूति नभएको बताउँछन् । ‘कलाक्षेत्रमा रमाउँदा रमाउँदै आफ्नो जवानी चिप्लिएछ’ उनी भन्ने गर्छन् । यी नै कलाकार रमेश बुढाथोकीसँग रातोपाटीको मेरो जीवन स्तम्भका लागि गरिएको कुराकानी ।

पहिले रेस्टुरेन्ट धेरै जान्थे

ननभेज पनि खाने गर्छु । तर मेरो मनपर्ने खाना नेपाली दालभात, तरकारी नै हो । त्यसमा सिम्पल खालको अचार चाहिन्छ । मानिसहरू तामा धेरै मीठो मान्छन् । मलाई भने तामा र आलु मनपर्दैन । पहिले पहिले रेस्टुरेन्ट धेरै जान्थे । अहिले थोरै जान्छु । रेस्टुरेन्टमा मैले खाने भनेको सिम्पल खालको सुप हो ।

म १७, १८ वर्षदेखि एक्लैछु । त्यसैले पकाउन नजानेर र रुचि नभएर पनि भएन । एक्लै मानिसले पकाउन जानेन् भने भोकै पर्छन् । सबै प्रकारका परिकार पकाउन सक्छु । साथीभाइ बोलाएर कहिले काहीँ खाना खुवाउँछु । सो समय उनीहरूले दाल मीठो पकाउनु हुन्छ भन्छन् । 

पहिरनमा खर्च ५० हजार 

क्याजुअल, त्यो पनि लुज खालका पहिरन मनपर्छ । सर्ट, पाइन्ट र टिसर्ट नै बढी प्रयोग गर्छु । पहिले ट्र्याकसुट पनि मनपथ्र्यो । अचेल कम मनपर्छ । विशेष समारोह, कार्यक्रम पर्दा त्यसको ओझन हेरे कोट पाइन्ट र दौरा सुरुवाल लगाउँछु ।

लाइटपिङ्क मेरो फेबरेट कलर हो । तर प्रयोग पनि सेतो र लाइटपिङ्क नै गर्छु । पहिले पहिरनमा धेरै खर्च हुन्थ्यो । अहिले साथीभाइले पनि दिन्छन् । त्यसको अलवा वर्षमा ४०, ५० हजार मात्र खर्च छ । 

योग गर्छु 

दैनिक नियमित आधा घन्टा योगा गर्छु । चाइनिज एउटा टाइची भन्ने सामान छ । त्यो एक्सरसाइज गर्छु । यसको अलवा नियमित एक घन्टा दैनिक हिँडेकै हुन्छु । योग गर्न थालेका धेरै भयो । तर रेगुलर छैन । कहिले काहीँ कामको कारणले छुट्छ ।

अध्ययनको कुनै समय र सीमा छैन 

म अध्ययन गर्न रुचाउने मानिस हुँ । मेरो अध्ययनको कुनै समय र सीमा छैन । पढ्ने भनेको प्राय साँझ नै हो । कार्यक्रमबाट घर फर्कंदा साँझमा ढिलो भयो भने अध्ययन गर्दिनँ । नत्र दैनिक साँझ पढ्न रुचाउँछु ।

बजार निस्किएको बेला राम्रा किताब आएका रहेछन् भने किनेर फर्कन्छु । अहिले पढिरहेको पुस्तक ‘योगीको आत्मकथा’ भन्ने हो । बायोग्राफी, इतिहासका किताब पढ्न मनपर्छ । पहिले पहिले साहित्य, उपन्यास, नाटक र कथाहरू धेरै पढ्थेँ ।

बाहिर घुम्न निस्किन्छु 
सबैभन्दा बढी रुचिको विषय घुमफिर हो । सुटिङ नभएर लामो समय काठमाडौँमै रहनुपर्यो भने बाहिर घुम्न निस्किन्छु । केही अगाडि गनेको देशको ६४ जिल्ला घुमेको रहेछु । अब १३ जिल्ला पुग्न बाँकी रहेछ ।

विदेशमा युरोप, अमेरिका, क्यानडा, मोरक्को, एसियन राष्ट्र ४, ५ वटा गरेर भए होला २० देश । म्युजियम, ऐतिहासिक भूभाग, देशका प्रसिद्ध ठाउँ, विश्वप्रसिद्ध ठाउँ, वल्ड हेरिटेजमा परेका ठाउँहरू घुम्न मनपर्छ । समुद्री किनारहरू पनि मनपर्छ ।

फुर्सदै छ 
पहिले पहिले जस्तो अहिले व्यस्त छैन । फुर्सदै छ । फुर्सदको समय फिल्म हेर्छु, किताब पढ्छु, साथीभाइ भेट्छु ।   

फुटबल खेल हेर्छु 
खेलकुदमा रुचि छैन भन्न मिल्दैन । अन्तर्राष्ट्रिय स्तरका फुटबल खेल हेर्छु । क्रिकेट पनि हेर्छु । सानोमा फुटबल खेल्थेँ हल्काफुल्का । थिएटरमा आएदेखि त्यो पनि छुट्यो ।

ग्यालेक्सी एट छ
सुरु सुरुका दिनमा नोकिया मोबाइल राम्रो लाग्थ्यो । पछिल्लो समय सामसुम ब्रान्डको मोबाइल प्रयोग गर्दै आएको छु । अहिले मसँग सामसुम ग्यालेक्सी एट मोबाइल छ । मोबाइल अनलाइन समाचार हेर्न, फेसबुक, इमेल लगायतका एप्स प्रयोग हँुदै आएको छ । मोबाइल भरसक फेर्न नपरोस् भन्ने लाग्छ । बिग्रने, हराउने र फुट्टे कारणले फर्नुपर्ने हुन्छ ।

कमेडी सो मन पर्दैन
टीभी कम हेर्छु । टीभीमा फिल्म, डिस्कभरी र जोग्राफी च्यानल मनपर्छ । मानिसहरू कमेडी सोहरू रुचाउँछन् । मलाई त्यो मन पर्दैन । पहिले १४ इन्चको टीभी थियो । पछिल्लो समय सोनी ब्रान्डको २६ इन्चको ल्याएको छु ।

हलमै फिल्म हेर्छु 

फुर्सद भयो कि फिल्म हेर्छु । धेरैजसो फिल्म हलमै गएर हेर्छु । घरमा पनि कहिलेकाहीँ हेर्छु । टीभीमा आएको हेर्छु । चर्चित चलचित्र हेर्ने गरेको छु । हलिउडको एभेन्जर इन्ड गेम, नेपालीमा जात्रैजात्रा र हिन्दीमा सन्जु पछिल्लो समय हेरेको फिल्म हो ।

सामाजिक विषयवस्तु बोकेका, बायोपिक, ऐतिहासिक विषयवस्तु समेटिएका फिल्मले मलाई आनन्द दिन्छ । कहिले काहीँ एक्सन र रोमान्टिक पनि राम्रै लाग्छ ।

गीतमा दर्द हुन्छ

गीत सङ्गीत मनपर्छ । प्रशस्तै सुन्छु । नेपाली गीतसङ्गीत बढी सुन्छु । त्यसमा पनि इमोसनल, क्लासिक खालका मनपर्छ । मनछुने, पुराना जुन गीतमा दर्द हुन्छ, मायाको वर्णन गरेको, प्रकृतिको वर्णन गरेका, सम्बन्धका कुरा गरेका सुमधुर र कालजयी खालका गीत सुन्छु र मनपर्छ । 

४ दशकदेखि कलामा

करिब ४ दशक अगाडि अर्थात् २०३७, ०३८ सालदेखि कलाक्षेत्रमा क्रियाशील छु । नाटकबाट सुरु भएको मेरो कलायात्रा टेलिभिजनको टेलिफिल्म हुँदै फिल्मसम्म आएको छ ।

कलाकारितको यो क्रममा अनेक दुःख झेलेको छु । दुःख केलाई भन्ने कुरा आउन सक्छ । अभावलाई भन्ने हो भने, अभावमा धेरै समय बिताएको छु ।

स्टेजमा राजा, करोडपतिको भूमिका निर्वाह गरेर घर पुगदा खानेकुरा नहुँदा एक जग पानी र नुन चाटेर पनि निदाएका कैयौँ रातहरू छन् । त्यो क्षणले पनि मलाई विचलित बनाएन । कहिलेकाहीँ कामको सही मूल्याङ्कन भएन कि भन्ने लाग्थ्यो । बेकार यो फिल्डमा लागिए छ भन्ने लागेर नैराश्यता पनि पलाउँथ्यो । तर पनि एक दुई जनाको हौसलाले प्रेरणा मिल्थ्यो । भोलि त मूल्याङ्कन हुन्छ भनेर फेरि काममा फर्कन्थे । 

पछिल्लो समयमा पनि म कलाका केही विधामा क्रियाशील छु । अहिले मन्डला नाटक घरको प्रस्तुति अनुप बरालको निर्देशनमा मञ्चन हुन लागेको नाटक महाभोजको रियलसनमा छु । यसमा कलाकारका रूपमा अभिनय गरिरहेको छु ।

यो नाटकपछि आफ्नै निर्देशन र अभिनयमा एक फिल्म गर्ने तयारी भइरहेको छ । आफूले फिल्म निर्देशन नगरेको ३, ४ वर्ष भयो । आफैलाई पनि एक फिल्म गर्नुपर्छ भन्ने लागेको थियो । अरूले पनि किन नगरेको गर्नुपर्यो भनिरहेका छन् ।

सुरुमा म अभिनेता थिए । त्यसपछि निर्देशक भए । अरूले मलाई कलाकारका रूपमा बुझ्लान् । निर्देशनले मलाई आनन्द दिन्छ । अभिनय मेरो पहिचान हो । 

मेरो सपना
सपना नभएको मानिस हँुदैन । म पहिलेदेखि नै ठूलो ठूलो सपना देख्ने मानिस पनि होइन । म जहिले पनि जीवनमा एक वर्षको सपना देख्छु । त्यो पूरा गर्न योजना बनाउँछु । सपना साकार गर्न लागिपर्छु । कुनै वर्ष यसरी देखेको सपना पूरा भएका छन् । कुनै वर्ष भएका छैनन् ।

अहिले पनि विशेषखालको, विशेष विषयवस्तुमा राम्रो चलचित्र बनाएर विश्वमा फैलिएका नेपाली समुदायमा देखाऊँ, त्यसलाई अन्तर्राष्ट्रिय पहिचान दिलाऊँ भन्ने सपना छ ।

पहिलो प्रेम प्रस्ताव
मैले बिनासँग प्रेम विवाह गरेको हो । उनीसँग विवाह गर्दा लामो समयको प्रेम थियो । करिब दुई वर्षको प्रेममा हामीले विवाह गरेका थियौँ । निमित नायक, राप भन्ने सिरियल गर्ने क्रममा भेट भयो थियो । विचार मिल्यो, कुरा मिल्यो यसलाई सम्बन्धको नाम दिने सोचले विवाह गर्यौँ ।

विवाहका लागि पहिलो प्रस्ताव मैले नै राखेको थिएँ । उनी लामो समयदेखि अहिले विदेशमा छिन् । सुरुका केही समय उनको अभावमा निकै गाह्रो हुन्थ्यो । एक्लोपनको फिल हुन्थ्यो । एक किसिमले म भाग्यमानी मान्छु । किनभने एक्लो भए पनि म काममा एकदमै व्यस्त भएँ । त्यसले एक्लोफिल हुन दिएन । 

मानिसको मन न हो । तैपनि पिरोलिँदो रहेछ । एक्लोपनले सताउँदो रहेछ । कहिलेकाहीँ चाहना हुन्छ । मेरो पनि घरमा हल्लाखल्ला होस् । घरमा चाँडो पुग्दा आउनु भयो भनेर खुसी हुने र ढिलो पुग्दा किन ढिलो भनेर घुर्की लाउने हुन् । 

तर मैले बुझिसकेको छु । त्यो कुरोमा कल्पिएर दुःखी भएर बस्नुको कुनै अर्थ छैन । 
 
मेरो भूल 
जीवनमा भूलहरू हुन्छन् । जीवन भनेको भूल र प्रयत्नले अगाडि बढ्ने हो । अगाडि बढ्दा भूल पनि हुन्छन् । त्योबाट पाठ सिकेर अगाडि बढ्ने हो । जानी नजानी भूल प्रशस्तै भएको छ । पछुतो लाग्ने भूल पनि केही छन् । ती भूल सम्झँदा कहिले मलाई रमाइलो दिन्छ । कहिले पश्चताप बनाउँछ । त्यो मेरो नितान्त व्यक्तिगत कुरो हो । अहिले सार्वजनिक नगरौँ होला ।   

मेरो रोग
त्यस्तो ठूलो रोग केही छैन । विगत २२ वर्षदेखि ब्लड प्रेसरको औषधि खाइरहेको छु । अन्य केही रोग छैन । कहिलेकाहीँ युरिक एसिडले समेत दुःख दिन्छ । तर अहिले लामो समय भयो यसले सताएको छैन । 

मापसे गर्छु
मापसे गर्छु । सधैँ भन्ने छैन । सातामा एक दुई पटक गर्छु । एक्लै खाँदिनँ । पार्टीमा पनि अचेल खान्न । मापसेमा जुनै पनि  खाने मेरो बानी छैन । ब्रान्डेड नै खान्छु । पहिले एक समय म ह्विस्की खान्थेँ । अहिले नेपालकै ८८४८ खान्छु । त्यो राम्रो लाग्छ । पहिला घरमा बार बनाएर रक्सी सजाएर राखेको थिएँ । अहिले भने छैन । जुन घरमा म १५, १६ वर्षदेखि एक्लै बस्थेँ त्यो अहिले भाडामा दिएर म अन्तै भाडामा बस्छु । अर्काको घरमा बार बनाएर राख्न मिल्दैन । 

मेरो राशि
राशि मेरो तुला हो । तर म राशिमा विश्वास गर्दिनँ । लाग्दैन र कहिल्यै पनि विश्वास गरेको पनि छैन । सबैले मन पराएका छन् । विश्वास गरेका छन् । त्यसको सम्मान गर्छु । तर मलाई त्यसमा रुचि छैन ।

मेरो मृत्यु
जन्मिएपछि मर्नुपर्छ । यो स्वभाविक प्रक्रिया हो । संसारका केही कुरो सत्य छ भने त्यो मृत्यु हो । मृत्यु निश्चित छ । त्यसैले बाँचुन्जेल सत्कर्म गारौँ, निष्ठासँग काम गरौँ, इमानदारिताले सबैको प्रिय बनौँ, कसैको चित्त नदुखाई सबैको मनमा बास बस्न सकौँ भन्ने लाग्छ । भोलि त जानु नै छ । मरेपछि पनि अभाव खट्कियोस् त्यो काम गर्ने चाहना सधैँ रहन्छ ।

 

 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...