शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

१२ मासे आन्दोलनको चपेटामा पोखरा विश्वविद्यालय, भर्नादेखि परीक्षासम्म रोकिने खतरा

विद्यार्थी संघ–संगठनको ‘बार्गेनिङ’ कि शैक्षिक मुद्दा ?
शुक्रबार, १७ साउन २०७६, ११ : २१
शुक्रबार, १७ साउन २०७६

पोखरा – विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजबाट लिइँदै आएको प्रवेश परीक्षा केन्द्रिकृत गर्न माग गर्दै पोखरा विश्वविद्यालयका विद्यार्थीहरु आन्दोलनमा उत्रेका छन् । माग पुरा गर्न स्वतन्त्र विद्यार्थी युनियनले साउन ९ गते ४८ घण्टे अल्टिमेटमसहित प्रशासनलाई ज्ञापनपत्र बुझाएको थियो । ज्ञापनपत्रलाई बेवास्ता गरेको भन्दै युनियनले गत साता डिन कार्यालयमा ताला लगाए ।

स्वतन्त्र विद्यार्थी युनियनका विद्यार्थी नेता नरेश खनाल पोखरा विश्वविद्यालयको हितका लागि नै प्रवेश परीक्षा केन्द्रीकृत गर्न माग उठाएको बताउँछन् । ‘पोखरा विश्वविद्यालयमा गुणस्तरीय शिक्षा छ, गुुणस्तरीय विद्यार्थी मात्र पोखरा विश्वविद्यालयमा पढ्छन् भनेर नै हामीले परीक्षा सेन्टर केन्द्रीकृत गर्नुपर्छ भनेर माग उठाएका हौ’ उनले भने ।

तालाबन्दी अघि प्रशासनलाई जानकारी गराएपनि सुनुवाइ नभएको उनले बताए । ‘वार्ताबाट समस्या समाधान गर्नुपर्ने पक्षमा विद्यार्थीहरु भएपनि सरहरुले रेस्पोन्स गर्नु भएन । त्यसैले चारवटै डिन कार्यालयमा ताला लगायौँ,’ उनले भने ।

दुई–तीन वर्ष अघिदेखि नै परीक्षा केन्द्रिकृत गर्ने कुरा उठेपनि प्रशासनले बेवास्ता गरेको उनको आरोप छ । अनशनमा बस्दा परीक्षा केन्द्रिकृत गर्न राजी भएपनि वार्तामा बस्दा कुरा फेरेको विद्यार्थीको भनाई छ ।

अनेरास्ववियुका विद्यार्थी नेता प्रदीप भट्ट परीक्षा केन्द्रिकृत गर्नु पर्ने माग आफूहरुले विगतबाटै उठाउँदै आएको बताउँछन् । विश्वविद्यालयले परीक्षा केन्द्रीकृत गर्न लिखित प्रतिबद्धता जनाएपनि कार्यान्वयन नगरेको उनको आरोप छ । ‘बैठक बसेर उहाँहरुले तत्काललाई मास्टर लेभलको परीक्षा केन्द्रीकरण गरौं । त्यसपछि क्रमश ब्याचलरको पनि नयाँ विद्यार्थी भर्नाबाटै सुरु गर्ने ४ वटै डिन कार्यालयले प्रतिबद्धता गरेका थिए । तर, त्यो पूरा भएन,’ विद्यार्थीको सङ्ख्यामा भन्दा पनि गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने भट्टको भनाई छ ।

लगातार ६ महिनादेखि विभिन्न माग राख्दै विद्यार्थीहरु आन्दोलनमा उत्रिएपनि प्रशासनले वेवास्ता गरेको विद्यार्थीको गुनासो छ । पछिल्लो समय विद्यार्थीले ४ वटै डिन कार्यालयमा ताला लगाएर विश्वविद्यालयका काम ठप्प बनाउँदा उपकुलपति प्राध्यापक चिरञ्जीवी प्रसाद शर्मा र रजिष्ट्रार गोविन्दप्रसाद शर्मा दुबैजना २ महिने बिदामा छन् । निमित्त प्रमुखको भरमा चलेको विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रार विदामा बस्दा वार्ता निष्र्कषमा पुग्न नसेको प्रशासनको भनाई छ ।

बिगत लामो समयदेखि निरन्तर आन्दोलनको चपेटामा परेको छ, पोखरा विश्वविद्यालय । यो विश्वविद्यालयमा गएको आर्थिक वर्षमा पनि निरन्तर आन्दोलन भएको थियो । विश्वविद्यालयले प्रवेश परीक्षा लिने अवस्था नभएपछि अहिले सम्बन्धनप्राप्त क्याम्पस आफैले प्रवेश परीक्षा लिएर विद्यार्थी भर्ना गर्न थालेका छन् ।

देशको अग्रिणी विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयले समेत केन्द्रीय प्रवेश परीक्षा लिन सुरु गरेको अवस्थामा पोखरा विश्वविद्यालयमा पनि प्रवेश परीक्षाको व्यवस्था लागू हुनुपर्ने भन्दै विद्यार्थी संघ र संगठनहरुले एक सुत्रीय माग राखी सुरुमा ज्ञापन र पछि तालाबन्दीसम्म गरेका हुन् ।

स्नाकोत्तर तहमा विश्वविद्ययालयले २ वटा सेमेस्टरमा केन्द्रीय प्रवेश परीक्षा लिइसकेको अवस्थामा स्नातक तहमा पनि लागू गर्नुपर्ने विद्यार्थीको माग छ । तर विश्वविद्यालय प्रशासन भने ४० हजार विद्यार्थीको प्रवेश परीक्षा लिन आवश्यक तयारी पूरा नभएको हुँदा तत्काल सम्भावना नरहेको बताउँदै आएको छ ।

कार्यविधि बनाएर एकेडेमिक काउन्सिलले पास गरेपछि मात्र केन्द्रीय प्रवेश परीक्षा लिने बाटो खुल्छ । उपकुलपति काउन्सिलको अध्यक्ष रहने व्यवस्था छ ।

‘उपकुलपति नभएको अवस्थामा काउन्सिलको बैठक बस्न सक्ने अवस्था हुन्न । यस्तो अवस्थामा विद्यार्थीका माग पूरा गर्न सकिँदैन’ निमित्त उपकुलपति बुद्धिराज जोशीले भने । ‘कतिपय कुराको नीति निर्माण नै बनेको छैन । यस्तो अवस्थामा विद्यार्थीको माग तत्काल पूरा गर्न सकिने अवस्था छैन,’ निमित्त उपकुलपति जोशीको भनाई छ ।

स्नाकोत्तर तहका विद्यार्थीको परीक्षा केन्द्रीकृत गरिसके पछि क्रमश अन्यको गर्दै जाने पूर्व सहमति भएपनि तत्कालै त्यो कार्यन्वयनमा आउन सम्भव नभएको निमित्त उपकुलपति बताउँछन् ।

तर आन्दोलन र तालाबन्दीले दैनिक प्रशासनिकभन्दा पनि शैक्षिक गतिविधिमा असर पुराएको उनी बताउँछन् ।

‘चाहे त्यो भर्नाको विषय होस्, चाहे स्वतन्त्र विद्यार्थी युनियन लगायतका संगठनका माग होस्,’ उनले भने, ‘विद्यार्थीका बीचमा विभिन्न समस्या आएर विश्वविद्यालय सन्तुलित हुन सकेन । यसले हाम्रो शैक्षिक क्यालेन्डर पनि प्रभावित हुन पुगेको छ ।’

विद्यार्थीहरुको आन्दोलनका कारण विश्वविद्यालयले निर्माण गर्नुपर्ने नीति निर्माणमा पनि ढिलाइ हुन पुगेको छ । आफ्ना काम कारबाहीमा प्रभाव परे पनि बिस्तारै सुल्झाउँदै लैजाने विश्वविद्यालयको योजना छ । तर केन्द्रिकृत परीक्षा लागू गर्न सजिलो भने छैन, जसले विश्वविद्यालयलाई थप समस्या पारिरहेको छ ।

‘केन्द्रिकृत परीक्षा तत्कालै लागू गरौं भने चालिसौं हजार विद्यार्थीको प्रवेश परीक्षा लिनुपर्छ, पूर्वाधार तयार पार्नुपर्छ’, उनले भने, ‘यो त्यति सजिलो काम होइन ।’ सबै विश्वविद्यालयले केन्द्रिकृत परिक्षा प्रणाली लागू गरे पनि पोखरा विश्वविद्यालय भने नीतिगत रुपमा त्यो प्रणालीमा नभई सकेको उनले सुनाए । विश्वविद्यालयको कार्यकारी परिषद्ले निर्णय गरेको खण्डमा सबै विश्वविद्यालय त्यो नियमको पालना गर्न बाध्य हुने उनले बताए । परीक्षा प्रणाली केन्द्रिकृत गरिरहँदा यसका खराब पाटो पनि बाहिर ल्याउनु आवश्वक रहेको निमित्त उपकुलपति जोशीले बताए । ‘यो प्रणाली लागू गर्नै नहुने भन्ने त होइन’ तथापि ब्यालेन्स गरेर लै जानु पर्ने आवश्यकता छ ।’

२०७५ असार ३२ गते बसेको काउन्सिल बैठकले स्नातक तहका सबै संकायमा केन्द्रीय परीक्षा लिई भर्ना लिन आवश्यक तयारी गर्न डिनको कार्यालयलाई निर्देशन दिएको थियो । तर ६ महिना यता आन्दोलनका कारण कामै गर्न नपाउँदा कार्याविधी तयार गर्न नसकेको उनले सुनाए । विद्यार्थीले उठाएका माग प्रति विश्वविद्ययालय सकारात्मक रहेको पनि निमित्त उपकुलपति जोशी बताउँछन् ।

पोखरा विश्वविद्यालयमा २०६४ साल देखि नै केन्द्रीय प्रवेश परीक्षा प्रणालीको कुरा उठ्दै आएको छ । तर पनि यस विषयमा बृहत छलफल भने हुन भने सकेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

श्याम राना मगर
श्याम राना मगर

राना गण्डकी प्रदेशका विशेष प्रतिनिधि हुन् । 

लेखकबाट थप