शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

रामचन्द्र र चित्रबहादुरले विर्सेको रात्रि स्कुल

बिहीबार, १६ साउन २०७६, ११ : ४६
बिहीबार, १६ साउन २०७६

काठमाडौँ महानगरपालिका–१, नक्सालमा नन्दीरात्रि माध्यमिक विद्यालय अवस्थित छ । यो सहायक शिक्षालय¬ पनि हो । यस विद्यालयमा विसं २००४ देखि रात्रिकालीन पढाइ सञ्चालन भइरहेको छ । यसका संस्थापक हुन्– स्वर्गीय रामजीप्रसाद अर्याल ।

सामान्य विद्यालय समय (बिहान १०–४ बजे)मा विद्यालय जान नभ्याउने विद्यार्थीले पनि शिक्षाको अवसर पाऊन् भन्ने उद्देश्यका साथ यो विद्यालयमा अध्ययन अध्यापन सुरु भएको हो । त्यसैले यस विद्यालयमा साँझ ५ देखि ९ः१५ बजेसम्म कक्षा सञ्चालन हुन्छ । अहिले नन्दीरात्रिमा विभिन्न कक्षामा गरी १ सय ६० विद्यार्थी अध्ययनरत छन् । 

रात्रिकालीन पढाइ सञ्चालन गर्ने नन्दीरात्रि देशकै एक मात्र ऐतिहासिक विद्यालय भएको सोही विद्यालयका प्रधानाध्यापक मोहन शर्माको दाबी छ । 

प्रधानाध्यापक शर्माका अनुसार स्थापनाका केही वर्ष कक्षा ८, ९ र १० सम्म पढाइ हुने गरेको थियो । अहिले कक्षा ६ देखि ११ सम्मका पढाइ सञ्चालनमा छ । 

नन्दीरात्रि विद्यालयले विद्यार्थीसँग पढाइ शुल्क अनिवार्य गरेको छैन । यद्यपि कुनै विद्यार्थीले सहयोग स्वरुप दिएको रकम भने लिने गरेको प्राध्यापक शर्मा बताउँछन् । यस विद्यालयमा अध्ययनरत विद्यार्थी प्रयाजसो गृहणी र जागिरे छन् । प्रधानाध्यापक शर्माका अनुसार पहिले नन्दीरात्रिका अधिकांश विद्यार्थी प्रहरी र सेना हुन्थे । तर अहिले उनीहरुका लागि सरकारले छुट्टै विद्यालय स्थापना गरेपछि त्यसमा केही कमी आएको छ । 

शिक्षक राजेश हुमागाईंका अनुसार जो पढाइ छोडेर पछि म केही पढ्छु र ज्ञान आर्जन गर्छु भनेर पढ्न आएका विद्यार्थी हुन्, बाबु आमाले हातमा डोर्याएर झोला बोकेर स्कुल पुर्याएको स्थिति होइन । नन्दी माविमा पहिले अध्यापन गराइसकेका शिक्षक हुमागाईंले नन्दीरात्रिमा पढाउन सहज भएको बताए । 

उनले भने, ‘नन्दीरात्रिमा सबै विद्यार्थी परिपक्व छन् । सबैमा पढाइप्रति हुटहुटी छ । पढाउन सहज छ । तर जागिरे भएकाले सबै विद्यार्थी नियमित आउन सक्ने अवस्था भने छैन । यसले केही अध्यापन गर्न केही असहज पनि छ ।’

रोचक कुरा    
रोचक त के छ भने पढाइ छोडेको ४५ वर्षपछि पनि पढाइमा फर्किए ५९ वर्षे नवराज न्यौपाने । साथीहरुको लहैलहैमा लागेर १५ वर्षमा पढाइबाट टाढिएका न्यौपाने ४५ वर्षपछि पढाइ नै सबै थोक भन्दै होमिएका छन् । 
यस्तै दिनभर ट्याक्सी गुडाउँदै साँझ ५ बजे पढ्नका लागि आइपुग्छन् फुर्वा शेर्पा । रातोपाटीकर्मी नन्दीरात्रिमा पुग्दा फुर्वाको ट्याक्सी पनि विद्यालयको प्राङ्गणमै थियो । 

‘सिकाइ र शिक्षाका लागि रुचि बनाइराख्यौँ भने तिमीलाई अगाडि बढ्नका लागि कसैले रोक्न सक्दै’ भन्ने लेखक एन्थोनी जेडी एन्जेलाको विचार न्यौपानेको जिन्दगीमा लागू हुन्छ । हेटौँडामा हुर्किएका उनी साथीहरुको लहैलहैका कारण १५ वर्षको उम्मेरमा पढाइबाट टाढिए ।

 त्योबीचको ४५ वर्ष उनले अधुरो शिक्षाको जिन्दगी बाँचे र अहिले असल खराब छुट्याउन सक्ने विवेक प्रदान गर्ने, सही निर्णय लिन सक्षम बनाउने, व्यक्तिको व्यवहारलाई अनुकरणीय र आदर्श बनाउने, मानवता र नैतिकताको प्रस्फुटन गराउने, इच्छा अनुरूपको प्रतिभा विकासमा टेवा पुर्याउने कार्य शिक्षाले मात्र गर्छ भन्नेमा उनी आइपुगे । 

अनि उमेरको प्रवाह नगर्दै न्यौपाने नन्दीरात्रिमा पढिरहेका छन् । शिक्षाले व्यक्तिका विविध पक्षको विकास भई आदर्श नागरिक बनाउने उनी बताउँछन् । कक्षा १० मा अध्ययनरत न्यौपाने अब आफ्नो स्वास्थ्यले साथ दिएसम्म पढाइलाई निरन्तरता दिने सोचमा छन् ।

नन्दीरात्रिबाट गत सालको एसईई परीक्षामा सामेल भएको २२ जना विद्यार्थी मध्य १९ जना उत्तीर्ण भएका थिए । उनीहरु अहिले सोही विद्यालयमा कक्षा ११ मा अध्ययन गरिरहेका छन् । नन्दीरात्रिले यो वर्षबाट कक्षा ११ को पढाइ सुरु गरेको प्रधानाध्यापक शर्माले बताए । 

कक्षा ११ मा रात्रिकालीन पढाइ सुरु भएपछि एसएलसी दिएको १५ वर्षपछि सविना गिरीले पनि पढाइ थालेकी छन् । पारिवारिक समस्याका कारण दिउँसो पढ्ने वातावरण नबनेको सुनाउँदै गिरीले भनिन्, ‘बीचमा छोरो हुर्काउनुपर्ने भएकाले पढाइलाई निरन्तरता दिन सकिनँ । घरधन्दा पनि चलाउनै पर्छ । छोरा पनि १० वर्षको भयो । अहिले नन्दीरात्रिमा कक्षा ११ को  पढाइ सञ्चालन भएपछि पढ्न थालकेकी छु ।’ अहिले छोरासँग बसेर गृहकार्य गर्ने गरेको उनले सुनाइन् । 

यता गत वर्षको वैशाखबाट नन्दीरात्रिमा जोडिएका ललितपुर धापाखेलका सहदेव नेपालीले कक्षा ७ उत्तीर्ण गरिसकेका छन् । उनले कक्षा ७ मा दोस्रो स्थान पनि हासिल गरे । उनी अहिले कक्षा ८ को अध्ययनमा तल्लीन छन् ।

३८ वर्षीय नेपालीले नेटबाट रात्रिकालीन कक्षा खोजे र नजर नन्दीरात्रिमा पुग्योे । अनि पढाइ छोडेको २५ वर्षपछि उनी झोलामा किताब बोकेर नियमिति धापाखेलबाट नक्साल धाइरहेका छन् । 

दक्षिण अफ्रिका पूर्वराष्ट्रपति नेल्सल मन्डेलाले भनेका छन्, ‘शिक्षा यस्तो शक्तिशाली हतियार हो, जसको प्रयोगले तिमीले संसार बदल्न सक्छौँ ।’ यही भनाइ प्रेरणाले समाज सेवामा लागिपरेका नेपाली रातिको समयमा दूरीको प्रवाह नगर्दै शिक्षा आर्जनमा जुटेका छन् ।

नन्दीरात्रिमा पढाइ छोडेका विद्यार्थी मात्र पढिरहेका छैनन् । १३ वर्षीय सुशान्त कुँवर पनि नन्दीरात्रिमा पढिरहेका छन् । उनले गत वर्ष कक्षा ५ नन्दी माविबाट पास गरेका थिए । कक्षा ६ मा अध्ययनरत सुशान्तले बिहानदेखि साँझ ४ बजेसम्म एउटा घरमा काम गर्छन् । ‘नन्दीरात्रि नभएको भए मैले कि त काम छोड्नु पथ्र्यो कि त विद्यालय ?,’ उनले भने । काभ्रेबाट काठमाडौँ आएर दिउँसो कसैको घरमा काम गरेर राति सुशान्तले पढाइ पनि गरिरहेका छन् । 

यातायातको समस्या
नन्दीरात्रिको प्रमुख समस्या भनेको यातायातको हो । राति ९ः१५ बजेसम्म कक्षा सञ्चालन हुने हुँदा त्यो समयमा विद्यार्थीले यातायातको चर्को अभाव खेपिरहेको विद्यार्थी गिरीको अनुभव छ । नेपालीको पनि गिरीको जस्तै गुनासो छ, यातायातको समस्या भयो । 

‘यातायातका साधन भएकाहरुलाई सहज छ तर घर टाढा भएका र यातायातका साधन नभएकाहरुलाई निकै समस्या छ,’ नेपालीले भने, ‘कति दिन मैले समस्या भोगेको छु । साथीहरुलाई पनि समस्या छ । केहीले अभिभावक बोलाउनु हुन्छ ।’ 

प्राधानाध्यापक शर्माले पनि यातायातको समस्या भएको स्वीकारे । उनका अनुसार विद्यालयको तर्फबाट गाडीको व्यवस्था गर्ने अवस्था छैन । 

सरकारले १५ जना शिक्षकको दरबन्दी दिएको छ । उनीहरुको सेवा सुविधाबाहेक विद्यालयले अन्य कुनै सहायत पाउँदैनन् । सरकारले गाडीको व्यवस्था गरिदिए विद्यार्थीको सङ्ख्यामा वृद्धि हुने शर्माको अपेक्षा छ ।

रामचन्द्र– चित्रबहादुरले विर्सेको विद्यालय 
नन्दीरात्रिमै पढेका केही विद्यार्थी मुलुकको उपप्रधानमन्त्रीसम्म भइसकेका छन् भने अहिले पनि राजनीतिको केन्द्रमा जमिरहेका छन् ।

नेपाली काँग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधान तथा गृहमन्त्री रामचन्द्र पौडेल, राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं पूर्वउपप्रधान तथा सहकारी एवम् गरिबी निवारण मन्त्री चित्रबहादुर केसी पनि नन्दीरात्रिको छहारीमा पढेका विद्यार्थी हुन् । यी त उदाहरण मात्र हुन् । नन्दीरात्रिले यस्ता कैयौँ प्रतिभा जन्माएको छ, जसको लेखाजोखा छैन, को कहाँ पुगे ? तर नन्दीरात्रिको हविगत भने पुरानै छ । मुलुककै एउटा ऐतिहासिक विद्यालयमा कसैको नजर पुगेको छैन ।

नन्दी– नन्दीरात्रिबीच स्वामित्व विवाद
यी त केही गुनासाका कुरा भए तर एउटा रोचक र विवादको विषय पनि छ नन्दीरात्रिमा । विद्यालय भवन एउटा तर विद्यालय दुईवटा, नन्दी माध्यमिक विद्यालय र नन्दीरात्रि माध्यमिक विद्यालय । २००४ सालबाट २०३० सम्म नन्दीरात्रि माध्यमिक मात्र थियो । 

०३० मा नयाँ शिक्षा ऐन लागू भएपछि नन्दीरात्रि र नन्दी माध्यमिक विद्यालय सञ्चालनमा आएका हुन् । तर त्यतिबेला एउटै व्यवस्थापन थियो । पछि २०४६ सालमा व्यवस्थापन पनि अलगअलग भएर आएको शिक्षक हुमागाईं बताउँछन् । 

सरकारले नन्दी मावि र नन्दीरात्रि माविलाई हेर्ने दृष्टिकोणमा पनि फरक पाइएको उनको बुझाइ छ । सरकारबाट पाउने सहयोग अहिले नन्दी माविले पाउने तर नन्दीरात्रिले नपाउने अवस्था छ ।  यद्यपि अन्य दातृनियकायले पनि नन्दीरात्रिका लागि दिएको सहयोग नन्दी माविले प्रयोग गर्ने गरेको पाइएको छ ।

त्यसमा सम्बन्धित निकायले पनि चासो नदिएको पाइन्छ । जसले दुई विद्यालयबीच शीतयुद्ध नै चलेको देखिन्छ । 

नन्दी माविले शैक्षिक सामग्रीहरु ताला लगाएर राखेको नन्दीरात्रिमा कार्यरत शिक्षकहरुको गुनासो छ ।

उनीहरु नन्दीरात्रि र नन्दी माविको स्वामित्व अलग हुनपर्ने माग गर्छन् । नन्दीरात्रिमा भवन अभावका कारण प्राधानाध्यापकको कार्यकक्ष, पुस्तकालय लगायत एउटै कोठामा राख्नुपर्ने बाध्यता छ । यता नन्दीरात्रि विद्यालय आफ्नै जग्गामा छैन । यसले कालमोचन गुठीको जग्गा भोगचलन गरिरहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप