मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

को हुन् संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बनेका योगेश भट्टराई ?

बुधबार, १५ साउन २०७६, १७ : ४१
बुधबार, १५ साउन २०७६

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य योगेश भट्टराईले संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्रीको सपथ लिएका छन् । बुधबार राष्ट्रपति भवन शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई पद तथा गोपनियताको सपथ खुवाएकी हुन् ।

सपथग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री ओली, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभा अध्यक्ष गणेश तिलिम्सना लगायतको उपस्थिति थियो । भट्टराईलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबारै मन्त्रीमा नियुक्त गरेका थिए ।

नवनियुक्त मन्त्री भट्टराईले बुधबारबाटै कार्यभार सम्हालेका छन् ।

को हुन् योगेश ? 
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का युवा नेता योगेश भट्टराईको जन्म विक्रम संवत २०२३ साल भदौ २१ गते ताप्लेजुङको साँघुमा भएको हो । बुबा भिमलाल भट्टराई र आमा महेन्द्रदेवी भट्टराईका कान्छा छोराका रुपमा जन्मिएका योगेशले समाजशास्त्र र मानवशास्त्रमा एमए उत्तिर्ण गरेका छन् । नेता भट्टराईले स्कूल पढ्दा झापा विद्रोहको समय थियो । 

ताप्लेजुङ लगायतका जिल्लामा यसको प्रभाव परेकाले उनलाई पनि स्कूल पढ्ने समयमै बामपन्थी राजनीतिप्रति झुकाव बढ्यो । परिवारका सदस्यहरु पनि वामपन्थी पृष्ठभूमिकै थिए । यही क्रममा उनले २०३७ सालमा अनेरास्ववियुको राजनीति थाले । त्यसबेला बिद्यालयको प्रारम्भिक कमिटी हुँदै क्याम्पस कमिटीमा समेत बसेर भट्टराईले काम गरे । 

२०३९ देखि तत्कालीन नेकपा (माले) सँग राजनीतिक सम्पर्कमा रहेर पार्टी काममा संलग्न भट्टराईले पार्टीको सेल कमिटी हुँदै जिल्ला, अञ्चल र केन्द्रीय कमिटीसम्म कुनै विवादमा नआइ काम गरेका छन् । नेता भट्टराई २०५१ सालमा अनेरास्ववियूको अध्यक्ष भएका थिए । 

यस्तै २०६५ फागुनमा बुटवलमा सम्पन्न नेकपा (एमाले) को आठौं महाधिवेशनबाट अत्याधिक मत ल्याई केन्द्रीय कमिटी सदस्यमा निर्वाचित भएका उनी तत्कालिन एमालेको नवौं महाधिवेशनबाट पार्टीको सचिव पदमा निर्वाचित भए । नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता हुनु अगाडि सम्म उनी प्रचार विभाग प्रमुखको जिम्मेवारीमा थिए ।

नेता भट्टराई यसअघि २०६४ सालको पहिलो संविधानसभा चुनावमा काठमाडौं क्षेत्र नम्बर ६ बाट र २०७० सालको दोस्रो चुनावमा क्षेत्र नम्बर ५ बाट उम्मेद्वार बनेपनि पराजित भएका थिए । तर, २०७४ को प्रतिनिधिसभा निर्वाचनमा उनी ताप्लेजुङबाट निर्वाचित भए । संसदीय सुनुवाई समिति र शिक्षा समितिमा बसेर काम गरिरहेका भट्टराईलाई पार्टी भित्रैबाट मन्त्री बनाउनुपर्ने माग बढ्दो थियो । त्यसबाहेक निर्वाचनका बेला भट्टराईको निर्वाचन क्षेत्रमा पुगेर उनलाई मन्त्री बनाउने हालका प्रधानमन्त्री केपी ओलीले घोषणा नै गरेका थिए । नेता भट्टराई हाल एकीकृत पार्टी नेकपाको स्थायी कमिटी सदस्य छन् । विद्यार्थी आन्दोलनदेखि तत्कालिन एमालेमा लोकप्रिय र प्रष्ट बक्ताका रुपमा आफ्नो छवि बनाएका भट्टराई नेकपाको राजनीतिमा राम्रो भविष्य भएका नेताका रुपमा चिनिन्छन् ।

यूवाहरुमाझ लोकप्रिय योगेश
२०५५ जेठमा काठमाडौंदेखि दार्चुलाको कालापानीसम्म भएको ऐतिहासिक काठमाडौं–कालापानी मार्चको नेतृत्व गरेर यूवाहरु माझ उनले राम्रो छाप बनाएका छन् । कालापानी बचाउने आन्दोलन अघि बढिरहँदा नेपालका ६२ स्थानमा भारतले सीमा अतिक्रमण गरेको प्रमाण सार्वजनिक गरियो । 

पूर्व पाँचथरको च्याङ्थापुदेखि सुस्ता, महेशपुर, टनकपुर हँुदै कालापानीसम्मको सीमासुरक्षा अभियानको अगुवाइ नेता भट्टराईकै नेतृत्वमा भयो । २०४६ सालको जनआन्दोलनमा सक्रिय रूपमा सहभागी भएका नेता भट्टराई २०४६ फागुन ७ गते काठमाडौंको नयाँ सडकमा प्रर्दशन गर्ने तयारी अघिनै उनी पक्राउ परे । उनलाई प्रजातन्त्र आएपछि मात्रै छाडियो । 

त्यस्तै, उनले २०४५ सालमा भारतले नेपालमाथि गरेको नाकाबन्दीविरुद्ध विद्यार्थी नेताका रूपमा आन्दोलनको अगुवाइ गरेका थिए । पञ्चायती व्यवस्था र राजतन्त्रविरुद्ध आवाज उठाउँदा उनले थुप्रैपटक जेलनेल भोगेका छन् । 

जेल बसाइका बेला झापा संघर्षका चर्चित अगुवाहरू केपी ओली, आरके मैनाली, मोहनचन्द्र अधिकारीलगायत राजनीतिक बन्दीहरूसँग नजिकबाट अन्तरक्रिया गर्ने अवसर पाएका थिए, नेता भट्टराईले । आफ्नो राजनीतिमा आरोह–अवरोह पार गर्दै युवाहरुमाझ लोकप्रिय नेता भट्टराईले आज दुई तिहाईको सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको जिम्मेवारी सम्हाल्न पुगेका छन् । पहिलो पटक मन्त्रीको जिम्मेवारी सम्हालेका भट्टराईका लागि आगामी दिनको यात्रा त्यति सहज भने छैन ।

यसअघि मन्त्रालय सम्हालेका आफ्नै घनिष्ट मित्र रविन्द्र अधिकारीको ताप्लेजुङ्मा हेलिकप्टर दुर्घटनामा निधनपछि रिक्त मन्त्रालय नेता भट्टराईले सम्हालेका हुन् । अव भट्टराईले स्वर्गीय मन्त्री अधिकारीले अगाडि बढाएका कामलाई निरन्तरता दिन्छन् वा फरक ढङ्गले मन्त्रालयलाई नेतृत्व गर्छन् त्यसको लागि केही समय कुर्नुपर्ने हुन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप