बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

संकटमा अर्थतन्त्र : बजेटको आकारभन्दा ठूलो व्यापार घाटा

नेपालको सबैभन्दा बढी व्यापार घाटा यी १० देशसँग
बुधबार, १५ साउन २०७६, ०९ : २९
बुधबार, १५ साउन २०७६

गत वर्ष २०७५/०७६ मा झण्डै १५ खर्बको हाराहारीमा नेपालको वैदेशिक व्यापार भयो । जसमा १४ खर्ब १८ अर्ब ५३ करोड ५३ लाख ४३ हजार रुपैयाँ बराबरको समान मात्रै आयात भएको छ । यता, ९७ अर्ब १० करोड ९५ लाख २१ हजार रुपैयाँ बराबरको सामान मात्र निर्यात भएको छ । आयातको तुलनामा निर्यात कमजोर हुँदा देशको व्यापार घाटाले अर्थतन्त्र समस्याग्रस्त बनाएको छ ।

बजेटको आकारभन्दा ठूलो व्यापारघाटा हुन थालेको प्रति  विज्ञहरुले चिन्ता व्यक्त गर्छन् । हुनतः धेरै आयात हुनुलाई व्यापार घाटासँग जोड्न सकिने भएपनि के–कस्ता सामान आयात भएको छ सोले दिने परिणामका विषयलाई पनि बुझ्न अर्थमन्त्रीले पटक–पटक सार्वजनिक फोरममा भन्दै आएका छन् । इन्धन बढी आयात हुनुमा विकास निर्माणको काम अघि बढेको र खपत धेरै भएको उनको तर्क छ । यद्यपि, यही तर्कले मात्र देशको अर्थतन्त्र संकटमा छैन भन्ने आधार भने छैन । व्यापारघाटा चुलिँदा विदेशी मुद्राको सञ्चितीमा धक्का पुगेको छ ।

अर्थविद् तथा नेपाल राष्ट्र बैंकका पूर्व गर्भनर दीपेन्द्र बहादुर क्षेत्री विलासिताका सामानमा सबैको ध्यान गएकाले व्यापार घाटा झन् बढेको बताउँछन् । उनले भने,  ‘अहिले धेरै भित्र्नेमा इन्धन छ । हरेक स्थानीय तहका प्रतिनिधी सबैलाई मोटर चाहिएको छ । मोटर बिना कोही हिँड्नै नसक्ने भए । मोटर भित्र्दा सरकारले सय दुई सय प्रतिशतसम्म राजस्व लिन पाउँछ । यसले आयात बढाउने नै भयो ।’

आयात निर्यातबाट ३ खर्ब ६२ अर्ब ५७ करोड ४८ लाख ७४ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

‘तर, व्यापार घाटा कम गर्न सरकारले प्रभावकारी काम गर्न सकेन,’ क्षेत्री भन्छन् । विदेशी विनिमयको सञ्चिती घटेको छ । आयात धान्न सक्ने अवस्था खुम्चदै छ ।

नेपालले सबैभन्दा बढी व्यापारघाटा बेहोर्नुपर्ने यी १० देश

नेपालले वर्षेनी वैदेशिक ब्यापार घाटा खेप्दै आएको छ । सबै भन्दा बढी व्यापार घाटा भारतसँग छ । भारत र चीन नेपालका छिमेकी देश हुन् । यीनै देशबाट खर्बौको सामान नेपाल भित्रदा देशलाई ठुलै व्यापार घाटा भइरहेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार गत बर्ष  भारतसँग ८ खर्ब ५ अर्बको व्यापार घाटा भएको छ । ९ खर्ब १७ अर्ब ९२ करोड रुपैयाँको सामान यस देशबाट आयात हुँदा ६२ अर्ब ७३ करोडको मात्र निर्यात हुन सकेको छ ।

यता चीनसँग नेपालको व्यापार घाटा २ खर्ब ३ अर्ब ४० करोड रुपैयाँ छ । यस देशबाट २ खर्ब ५ अर्बको ५१ करोड ८६ लाखको सामान आयात हुँदा निर्यात २ अर्ब १० करोड ९७ लाखको मात्र भएको छ ।

युनाइटेड अरब इमिरेट्स, फ्रान्स, इण्डोनेसिया, थाइल्याण्ड, क्यानडा, युनाइटेड स्टेट्स, स्वीटजरल्याण्ड, मलेसिया लगायतका देशसँग नेपालको सबैभन्दा बढी व्यापार घाटा छ ।

नेपालको वैदेशिक व्यापार यी देशसँग छ नाफामा

हरेक पटक वैदेशिक व्यापार घाटा मात्र भनिरहँदा केही यस्ता देश छ जुनसँग नेपालको व्यापार नाफामा छ  । आइसल्याण्ड, इस्तोनिया, गुइनिया, इआइ साल्भाडोर, सेन्ट्रल अफ्रिका रिपब्लिक लगायतसँग छ । भन्सार विभागको तथ्याङ्क अनुसार सेन्ट्रल अफ्रिका रिपब्लिक सँग २७ करोड ५८ लाख ५० हजार रुपैयाँ व्यापार नाफामा छ । यस देशबाट १७ लाख १९ हजारको सामान आयात हुँदा २७ करोड ७५ लाख ७९ हजार रुपैयाँ बराबरको निर्यात भएको छ । आइसल्याण्डसँग ५९ लाख ६९ हजार व्यापार नाफामा छ । 

यस्तै सुडान, मोनाको, माल्दिभ्स, न्यु क्यालेडोनिया, मौरीसस लगायतका मुलुकसँग व्यापार नाफामा छ । यद्यपि, यी देशसँग एकदकै कम मात्र समान आयात निर्यात भएको छ ।

वीरगञ्ज भन्सारबाट मात्रै झण्डै ५ खर्बको सामान भित्रियो

वीरगञ्ज भन्सार नाकाबाट मात्रै मात्रै ४ खर्ब ९२ अर्ब ६६ करोड ८१ लाख ४५ हजार रुपैयाँ बराबरको वस्तु तथा सामान आयात भएको छ ।

देशको सबैभन्दा बढी आयात हुने नाका नै वीरगञ्ज भन्सार हो । कुल आयातको ३४.७३ प्रतिशत सामान त यहीबाट आयात हुन्छ । यो नाकाबाट २१ अर्ब ६८ करोड बराबरको स्वदेशी सामान बाहिरिएको छ ।

यता, भैरहवा नाकाबाट २ खर्ब ४० अर्बको वस्तु तथा सामान भित्रदा ३ अर्ब ८३ करोड ८२ लाख रुपैयाँ बराबरको सामान बाहिरिएको छ । यो नाकाबाट कुल आयातको १६.९२ प्रतिशत आयात हुन्छ ।

विराटनगर, त्रिभुवन अन्र्तरािष्ट्रय विमानस्थल, ड्राइपोर्ट, नेपालगंज, रसुवा लगायतका नाकाबाट पनि ठूलो परिणामको सामान भित्रिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एलिजा उप्रेती
एलिजा उप्रेती

एलिजा उप्रेती राताेपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छिन् । 

लेखकबाट थप