शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

डरलाग्दो सवारी दुर्घटना : प्रदेश ५ मा एक वर्षमा ६ सय ३२ मृत्यु

मङ्गलबार, १४ साउन २०७६, १७ : ०४
मङ्गलबार, १४ साउन २०७६

बुटवल । सवारी दुर्घटना दैनिक भइरहेको छ  । रोक्न लागि  विभिन्न पहल भए पनि प्रदेश ५ मा दैनिक दुई जनाको दरले मृत्यु भएको तथ्याङ्कले देखाउँछ ।

प्रदेश नं. ५ मा एक वर्षमा सवारी दुर्घटनाबाट ६ सयभन्दा बढीको मृत्यु भएको छ । ५ नंं प्रदेश ट्राफिक कार्यालय बुटवलका अनुसार आर्थिक वर्ष २०७५/०७६ मा प्रदेश नं. ५ मा ६ सय ३२ जनाको दुर्घटनाबाट मृत्यु भएको  छ ।

 १ हजार ४ सय ४० सवारी दुर्घटनामा परी ६ सय २३ जनाको मृत्यु भएको ट्राफिक कार्यालयले जनकारी दिएको छ । सबैभन्दा बढी रुपन्देहीमा ३ सय ८६ वटा दुर्घटना भएका छन् । यी दुर्घटनामा परी १ सय ४३ जनाले ज्यान गुमाएका छन् ।

त्यसैगरी, दाङमा २ सय ५० दुर्घटना हुँदा १ सय ४ जनाले ज्यान गुमाएको कार्यालयको भनाइ छ । मृत्यु हुनेमा ४ सय ४२ पुरुष, १ सय १९ महिला, ३२ बालक र ३० बालबालिका छन् ।

गत एक वर्षको अवधिमा ५ नम्बर प्रदेशमा कुल १ हजार २९ सवारी दुर्घटनामा परी ५ सय ९२ जनाको मृत्यु भएको ५ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी उपरीक्षक मधुसुदन लुइटेलले बताए  । यो अवधिमा ५ नम्बर प्रदेशभरका १२ वटै जिल्लामा १ हजार ४ सय ४० वटा सवारी दुर्घटना भए भने जिल्लागत रूपमा भने प्रदेशको अस्थायी मुकाम रहेको रुपन्देही जिल्लामा सबैभन्दा बढी सवारी दुर्घटना भएको जनाइको छ ।

१२ जिल्लामध्ये रुपन्देहीमा सबैभन्दा धेरै दुर्घटना : टिपर आतङ्क
पाँच नम्बर प्रदेशभरिमा रुपन्देहीमा सबैभन्दा बढी दुर्घटना भएका छन् । वर्षको अवधिमा रुपन्देही जिल्लामा टिपर आतङ्कसहितका सवारी दुर्घटनाले  धेरैको ज्यान गएको छ ।
यो प्रदेशको अस्थायी राजधानीसमेत रहेको रूपन्देही जिल्लामा गत एक आर्थिक वर्षको अवधिमा प्रदेशमै सबैभन्दा बढी सवारी दुर्घटना भएको हो । रुपन्देहीमा मात्रै ३ सय ८६ सवारी दुर्घटना भएका थिए । तीमध्ये १ सय ३७ जनाको ज्यान गएको ट्राफिक प्रहरी कार्यालय बुटवलको तथ्याङ्कले देखाएको छ । तीमध्ये २१ वटा टिपर दुर्घटना भएका छन् । यस जिल्लामा सवारी दुर्घटनाबाट १ सय १० पुरुष, १६ महिलासहित ८ बालक र ३ महिलाको मृत्यु भएको तथ्याङ्कमा उल्लेख छ । 

कपिलवस्तुमा पनि उस्तै त्रास
 पूर्व–पश्चिम राजमार्गमा पर्ने कपिलवस्तु तराईको जिल्लाको हो । जहाँ  आर्थिक वर्ष ०७५/७६ मा सवारी साधन दुर्घटनामा परी ज्यान गुमाउनेको सङ्ख्या हेर्दा डरलाग्दो अवस्था देखिएको छ ।
अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष २०७५/०७६ मा कपिलवस्तु जिल्लामा १ सय ५८ दुर्घटनामा ७८ जनाको ज्यान गएको छ । प्रत्येक वर्ष विभिन्न कारणले हुने सवारी दुर्घटनामा बालबालिकादेखि युवायुवती र वृद्धवृद्धाले अनाहकमा ज्यान गुमाउनुपरेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुको तथ्याङ्कलाई हेर्दा गत चार वर्षयताकै सबैभन्दा बढीले यसै वर्ष दुर्घटनामा परी ज्यान गुमाएका छन् । यस वर्ष सबैभन्दा बढी दुर्घटनामा पर्ने सवारी साधन मोटरसाइकल रहेको छन् । जसमा १ सय १४ वटा दुर्घटनामा परेका छन्

 त्यसपछि क्रमशः साना सवारी साधन २६ वटा, ट्रक तथा ट्याङ्कर २५, कार, जिप २२, बस २१, टिपर १२, ट्याक्टर १०, अटो ८ वटा दुर्घटना भएका छन् भने अन्य सवारीसाधन ३ वटा दुर्घटना हुँदा माइक्रो भने एउटा दुर्घटनामा परेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ । उक्त दुर्घटनामा परी सबैभन्दा बढी ६२ जना पुरुषले ज्यान गुमाएका छन् भने १० जना महिला, ३ बालक र ३ बालिका गरी कुल ७८ जनाले ज्यान गुमाएका हुन् ।

गत आर्थिक वर्षमा सबैभन्दा बढी असोज, फागुन र असार महिनामा समान १७/१७ दुर्घटना भएको ट्राफिक प्रहरीको तथ्याङ्कमा रहेको छ । सबैभन्दा कम चैत महिनामा ८ वटा दुर्घटना भएका छन् । यस्तै विभिन्न खाले दुर्घटनामा परी १ सय ५९ जना मानिस गम्भीर घाइते भएका छन् । सामान्य घाइतेहरुको सङ्ख्या ६७ रहेको छ । आर्थिक वर्ष २०७२/०७३ मा ५४ जनाले दुर्घटनाम परी ज्यान गुमाएका थिए । त्यस्तै २०७३/०७४ मा ७६ जना दुर्घटनामा परेकामध्ये ६१ जनाको मृत्यु भएको थियो । आर्थिक वर्ष २०७४/०७५ मा १ सय २३ वटा दुर्घटना हुँदा जिल्लामा ६५ जनाको मृत्यु भएको थियो भने १ सय ६ जना घाइते भएका थिए । यसरी ट्राफिक प्रहरीको तथ्याङ्कमा पछिल्लो चार वर्षलाई हेर्दा आर्थिक वर्ष २०७५/०७६ मा सबैभन्दा बढीले मृत्युवरण गरेका छन् ।

दाङको अवस्था पनि भयावह
 प्रदेश ५ को तराईको अर्काे जिल्ला दाङमा गत एक वर्षको अवधिमा भएका सवारी दुर्घटनाको अवस्था पनि भयावह देखिएको छ । उपत्यका  र विभिन्न सहर रहेको यो जिल्लामा एक आर्थिक वर्षको अवधिमा २ सय ५० वटा सवारी दुर्घटनाभएका छन् । ती दुर्घटनामा परी १ सय १ जनाको मृत्यु भएको प्रहरी तथ्याङ्कले देखाएको छ ।

यस समयमा दाङ जिल्लामा मात्रै भएका दुर्घटनालाई हेर्दा प्रदेश पाँचमा दोस्रो बढी दुर्घटना हुने जिल्ला देखिएको  छ ।

 दाङ जिल्लामा २ सय ३१ जना गम्भीर घाइते हुने गरी १ सय ९१ वटा दुर्घटना भएका छन् ।

उता प्रदेशको पूर्वी जिल्ला नवलपरासी पश्चिमको अवस्था पनि १ सयभन्दा माथि सवारी दुर्घटना हुने जिल्लाका रूपमा रहेको छ । १ सय ६ वटा दुर्घटना भएको नवलपरासी पश्चिममा एक वर्षको अवधिमा १ सय ५१ सवारी साधन दुर्घटना हुँदा ६६ जनाको मृत्यु भएको छ भने ६८ मानिस गम्भीर घाइते भए ।

यता बाँके जिल्लामा १ सय ४२ वटा सवारी साधन दुर्घटनामा परेको तथ्याङ्कले देखाएको छ । जसमा ४१ पुरुष, १३ माहिला र ५ बालक गरी कुल ५९ जनाले ज्यान गुमाए । यो अवधिमा बाँके जिल्लामा दुर्घटनामा परी ७७ जना गम्भीर घाइते भए भने ७७ जना नै सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

त्यस्तै; बर्दिया जिल्लामा ४९ दुर्घटनामा ३३ जनाले ज्यान गुमाएका छन् भने एक वर्षको अवधिमा ७६ सवारी साधन दुर्घटनामा परेका छन् । तराईका जिल्लाहरु सँगसँगै प्रदेश ५ को पहाडी जिल्लामा सबैभन्दा बढी दुर्घटना पाल्पा जिल्लामा ७५ सवारी दुर्घटनामा परेका छन् । जसका कारण ५४ दुर्घटना भई ४० जनाले ज्यान गुमाउनुपरेको तथ्याङ्क छ । हरेक वर्ष जस्तै बढ्दै जाने सवारी दुर्घटना र यसले निम्त्याउने भयावह स्थितिले बर्सेनि सयौँ नागरिकले अकालमै ज्यान गुमाउनु पर्ने बाध्यता छ । 

उता पहाडी जिल्ला गुल्मीमा २९ वटा सवारी दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । त्यस्तै २० वटा दुर्घटना भएको अर्घाखाँचीमा यो एक वर्षको अवधिमा २१ वटा सवारी दुर्घटनामा परे । जसका कारण १६ जनाको मृत्यु भयो ।

३२ सवारी साधन दुर्घटना भएको प्युठान जिल्लामा ३० दुर्घटना भए भने १४ जनाको मृत्यु भयो । त्यस्तै २८ वटा सवारी दुर्घटना भएको रोल्पामा यो वर्ष १५ जनाको ज्यान जानेगरी २६ दुर्घटना भएका छन् । त्यस्तै ५ नम्बर प्रदेशको सुदूर पश्चिमको जिल्ला रुकुमपूर्वको अवस्था पनि सवारी दुर्घटनामा कम देखिएन । रुकुमपूर्वमा यो एक वर्षको अवधिमा ९ वटा सावरी दुर्घटनामा १५ जनाको ज्यान गयो ।

प्रदेश नं. ५ मा १४ करोड राजस्व सङ्कलन 
नियमविपरीत काम गर्नेमाथि निगरानी पनि बढाएको छ । जसबाट ५ नंं प्रदेश ट्राफिक कार्यालय बुटवल माताहातका १२ जिल्लाले आर्थिक वर्ष २०७५/०७६ मा १४ करोड रुपैयाँ राजस्व सङ्कलन गरेका छन् ।
 २ लाख ४३ हजार ७ सय ५६ सवारी साधनलाई कारबाही गर्दा १४ करोड ४१ लाख ९४ हजार ५ सय राजस्व सङ्कलन भएको ५ नं. प्रदेश ट्राफिक कार्यालय बुटवलले जनाएको छ । सवैभन्दा बढी राजस्व जिल्ला ट्राफिक प्रहरी कार्यालय रूपन्देहीले उठाएको छ । ४९ हजार ६ सय सवारी साधन कारबाही गर्दा ३ करोड  ५१ लाख २ हजार राजश्व सङ्कलन गरेको छ । त्यसैगरी दोस्रोमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ रहेको छ । उसले ३४ हजार ५ सय ९ सवारी साधन कारबाही गर्दा २ करोड १३ लाख ५ हजार ५ सय राजश्व सङ्कलन गरेको छ । यसैगरी ५ नंं प्रदेश ट्राफिक कार्यालय बुटवलले १ करोड ५६ लाख ३३ हजार ५ सय राजस्व सङ्कलन गरेको छ ।

ट्रक धेरै कारबाहीमा 
५ नंं प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले सार्वजनिक गरेको आर्थिक वर्ष २०७५/०७६ को प्रगति प्रतिवेदनमा सबैभन्दा बढी ट्रकहरू कारबाही परेको देखाएको छ । कार्यालयका अनुसार एक वर्षको अवधिमा १२ जिल्लामा ९१ हजार ८ सय ४६ ट्रक कारबाहीमा परेका छन् । “यसरी कारबाही पर्नेमा ओभर लोड नै हो” लुइटेलले भने । त्यसैगरी १२ जिल्लामा २३ हजार ८ सय २९ बस, ३६ हजार ८ सय ४५ जिप तथा कार, २९ हजार ३ सय ३० ट्याक्टर, ५५ हजार ८४ मोटरसाइकल र ६ हजार ८ सय २२ टेम्पो कारबाहीमा परेको कार्यालयको भनाइ छ ।

दुर्घटना न्यूनीकरणका कार्ययोजना
जसरी दुर्घटना भयावक अवस्था छ त्यसै गरी न्यूनीकरण लागि पनि काम भएका छन् । सरकारी तथा गैरसरकारी संस्थाहरुले दुर्घटना रोक्न लागि विभिन्न काम गरेका छन्  ।
दुर्घटना न्यूनीकरणका लागि प्रदेश नं. ५ ट्राफिक प्रहरी कार्यालयले १४ बुँदे कार्ययोजना बनाएर लागू गरेको छ ।

 यसले दुर्घटनामा कमी आउने विश्वास पनि कार्यालयले गरेको छ । कार्ययोजनामा सामुदायिक प्रहरी साझेदारी, ब्याल्क स्पोटसम्बन्धी जानकारी दिने, ट्राफिक चेकिङ तथा अनुगमन, पार्किङ व्यवस्था रहेका छन् । त्यसैगरी हिट एन्ड रन क्यास पनि कार्ययोजनामा प्राथमिकतामा परेको छ । सवारी दुर्घटना गरी भाग्ने सवारी सधानलाई नियन्त्रणमा गर्ने उद्देश्यसहित हिट एन्ड रन क्यास कार्ययोजना बनाइएको छ ।

त्यसैगरी ट्राफिक व्यवस्था, नागरिक यात्रु सहायकता कक्ष, रिफरेन्स सेन्टरको सञ्चालन तथा थप, रेकर्ड म्यानेजमेन्ट, सडक, फुटपाथ अतिक्रमण, छाडा चौपाया नियन्त्रण, ट्राफिक प्रहरी, कर्मचारीहरुको आचरण व्यवहारमा सुधार र दैवी प्रकोप उद्धार तथा व्यवस्थापन गर्ने कार्ययोजनामा समेटिएको कर्यालय प्रमुख एसपी मघुसुधन लुइटेलले बताए  ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप