शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

जानकी मन्दिर सौन्दर्यकरण प्रकरण: पुरातत्व विभागद्वारा सन्त आवास निर्माण कार्यमा रोक

सोमबार, १३ साउन २०७६, १७ : ३६
सोमबार, १३ साउन २०७६

जनकपुर– जानकी मन्दिर परिसरमा निर्माण हुन लागेको सन्त आवास भवनको काम पुरातत्व विभागले रोकिदिएको छ । हिन्दु धर्मावलम्बीहरुको आस्थाको केन्द्रको रुपमा रहेको जानकी मन्दिर परिसरमा भैरहेको सो भवन निर्माणको काम आइतबार एक विज्ञप्ति जारी गरी विभागले रोेकेको हो ।  सो मन्दिरलाई विश्व सम्पदा सूचीमा सुचीकृत गर्नका लागि अभियान समेत चलिरहेको छ ।

भोरद्वारा सम्पूर्ण निर्माण कार्यमा रोक लगाउन माग

यसैबीच विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने अभियानमा लागिरहेको भोर नामक संस्था समेत जानकी मन्दिरमा भइरहेको सौन्दर्यकरणको कार्य गलत रहेको भन्दै सो काम रोक लगाउनुपर्ने माग गर्दै डेलिगेसन गएको थियो ।  अभियन्ता राजकुमार महतोेका अनुसार जानकी मन्दिरको मौलिकतामा असर पर्नेगरी भइरहेको मर्मत सम्भार तथा सौन्दर्यकरणको काममा पुरातत्व विभागले रोक लगाएको नभई सन्त आवास निर्माणमा मात्रै पूरातत्व विभागले रोक लगाएको हो ।

भोरका संयोजक तथा अभियन्ता महतोले पूरातत्व विभागका फोकल पर्सन मन्जुसिंह भण्डारीसँग निर्माण कार्य तत्काल रोक्न माग गरेका थिए । उनले मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत जानकी मन्दिर सौन्दर्यीकरणको कार्यमा पुरातत्व विभागले रोक लगाएको जानकारी दिए ।

संस्थाले एक विज्ञप्ति जारी गर्दै जानकी मन्दिरको मौलिकतामा असर पर्ने गरी सौन्दर्यकरणको नाममा भइरहेको मर्मत सम्भार तथा निर्माण कार्यमा पुरातत्व विभागले रोक नलगाएको स्पष्ट पारेको छ । भोरले जारी गरेको विज्ञप्तिमा भइरहेको काम रोक्न पुरातत्व विभागको औपचारिक पत्र सोमबारसम्म जानकी मन्दिर, जनकपुरधाम उपमहानगरपालिका, प्रदेश २, मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा समेत पुगिसक्ने मन्जुसिंहले जनाएकी छिन् ।

पुरातत्वद्वारा सन्त आवास निर्माणमा तत्काल रोक

पुरातत्व विभागले जानकी मन्दिर सौन्दर्यीकरणको कार्य नभई सामाजिक विकास मन्त्रालयको लगानीमा निर्माण भइरहेको सन्त आवास निर्माण कार्यमा तत्काल रोक लगाएको स्पष्ट पारेको छ । मन्दिरमा सौन्दर्यीकरणको काम प्रदेश सरकारले मर्मत सम्भारको काम पुरातत्व विभागले समेत गराउँदै आइरहेको छ ।

पुरातत्व विभागका फोकल पर्सन मञ्जुसिंहले प्रदेश सरकारलाई तत्कालका लागि मौखिक रुपमा सन्त आवास निर्माण कार्यमा रोक्न भनेको बताइन् । उनले मन्दिरको पश्चिमपट्टी जस्तापाताका केहि घरहरु पहिलेदेखि नै रहेपनि भोली विभागबाट निरीक्षणका लागि टोली समेत खटाइने जानकारी दिइन् । निरीक्षण टोलीले प्रतिवेदन बुझाएपछि मात्रै केही भन्न सकिने उनले स्पष्ट पारिन् ।

उनले सुरुमा मन्दिरमा पुरातत्व विभागसँग सल्लाह नगरी प्रदेश सरकारले सौन्दर्यीकरणको कार्य अगाडी बढाइएको र पछि विभागले सोधखोज गरेपछि सहमतिमै काम अगाडी बढिरहेको बताइन् । उनले भनिन्– ‘सुरुमा प्रदेश सरकारले मन्दिरको सौन्दर्यीकरणका लागि पुरातत्व विभागलाई बिना जानकारी दिइ ग्रेनाइट मार्बल, प्राङ्गणमा रंगरोगन, विद्युतीकरण सहितको टेण्डर निकालेको थियो तर पुरातत्व विभागले जानकारी पाएपछि प्रदेश सरकारलाई बोलाएर गत पुस २२ गते पुरातत्वले भने अनुसार काम गर्न सहमति भएको थियो ।’

पुरातत्वको सहमतिअनुसार टेण्डर भयो र सोहीअनुसार अहिले सौन्दर्यीकरणको कार्य भइरहेको सिंहले बताइन् । मन्दिरको छतमा ढलान गरिएपछि पनि मन्दिर चुहिन थालेको छ । जानकी मन्दिर व्यवस्थापकको आग्रहमा पुरात्व विभाग र भारतका केही इन्जिनियरलाई बोलाएर नयाँ प्रविधिअनुसार क्रेक भएको ठाउँमा केमिकल हालेर डेढ ईन्च सम्मको मार्बल लगाउने सहितको मर्मत सम्भारको काम पुरात्व विभागले नै अगाडि बढाइरहेको छ ।

जानकी मन्दिरमा अहिले प्रदेश सरकारको सहयोगमा मन्दिर सौन्दर्यीकरण कार्य भइरहेको छ । जसका लागि प्रदेश सरकारले ८ करोड, पुरातत्व विभागले मरम्मत सम्भारका लागि २ करोड २३ लाख र सामाजिक विकास मन्त्रालयले जानकी मन्दिर प्राङ्गणमै ९० लाखको लागतमा सन्त आवास निर्माणको कार्य गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण कुमार कर्ण
किरण कुमार कर्ण

कर्ण रातोपाटीकाे प्रदेश नम्बर २ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप