बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

विप्लव कि नेकपामा आउनुपर्छ कि सिद्धिनुपर्छ : प्रचण्ड

‘हेग लगेर मलाई अन्तर्राष्ट्रिय हिरो बनाउँछन् जस्तो लाग्दैन’
सोमबार, १३ साउन २०७६, १४ : १५
सोमबार, १३ साउन २०७६

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संघीय लोकतान्त्रिक गणतन्त्रलाई उल्टाउन विभिन्न प्रकारको चलखेल भइरहेको बताएका छन् ।

यो व्यवस्थालाई उल्टाउन प्रतिक्रियावादी शक्तिहरुले यसलाई ल्याउने पार्टीका नेताहरुलाई अन्तर्राष्ट्रिय अदालतमा उभ्याउने जस्ता प्रचारहरु गरिरहेको बताउँदै आफूलाई अन्तर्राष्ट्रिय अदालतमा उभ्याए पनि केही फरक नपर्ने उनले बताए ।

सोमाबार बिहान आफ्नो निवास खुमलटारमा नेत्र विक्रम चन्द विप्लव नेतृत्वका नेता तथा कार्यकर्तालाई नेकपामा प्रवेश गराउँदै उनले सो कुरा बताएका हुन् ।

उनले राखेको मन्तव्य यस्तो छ :

क्रान्ति भनेको दुई चार जना क्रान्तिकारीलाई क्रान्ति गर्ने रहर लागेर हुने चिज होइन । यसका लागि लाखौँ करोडौँ जनताको सहभागिता चाहिन्छ । जनता बिना त्यो हुन सक्ने कुरा होइन । आजको संसारमा जे–जस्तो स्थिति छ, त्यो सबैलाई विचार गरेर क्रान्तिको बाटो सरल रेखामा हुँदैन ।

यो उपलब्धि जे प्राप्त भयो, हामीले खोजेको त्यो भन्दा धेरै नै थियो । अहिलेको विश्व परिस्थित, देशको परिस्थिति र शक्ति सन्तुलनले गर्दा यति मिले पनि यहाँबाट टेकेर अगाडि जाने भनेर हामी यसमा आएका हौँ ।

यसमा नआउँदा पेरुमा जे स्थिति भयो, फिलिपिन्समा जे भयो, लिट्टेको जे स्थिति भयो, हाम्रो त्यही हुनेवाला थियो । त्यही भएर हाम्रो आन्दोलनको त्याग र तपस्याबा प्राप्त हुनेजति लिइहाल्ने र त्यसलाई उपयोग गर्दै फेरि समाजवादको दिशातिर नयाँ तरिकाले अगाडि जाने बाटो अपनाएका हौँ ।

मैले यो कुरा तपाईंहरुलाई त्यो बेला बुझाउन सकिनँ जस्तो लाग्छ । त्यही भएर तपाईंहरुलाई लाग्यो यो पार्टी बिग्रियो भन्ने लाग्यो । त्यसमा तपाईंहरुको केही दोष छैन । क्रान्ति हुन्छ भनेर लागेको, घाइते छ, शरीर दुःखेको छ, फेरि क्रान्ति हुन्छ भनेर तपाईंहरु लाग्नुभयो । यसमा तपाईंप्रति पनि कुनै आरोप र आलोचना छैन । मैले सँधै भन्ने गरेको छु, मैले नै जिम्मा लिनुपर्छ ।

मात्रिका जी अहिले मन्त्री हुनुहुन्छ । बच्चैदेखि हुर्काएको मान्छे, वहाँलाई त सम्झाउन सकिनँ । बीचमै छाडेर जानुभयो । अहिले मलाई खुसी लागेको छ, वहाँ सबैभन्दा नजिक आएर बस्नुभएको छ ।

ढिलो भए पनि ठीक निर्णय गरेर सही ठाउँमा आउनुभएको छ । ढिलोचाँडो विप्लव पनि यहीँ आउनुपर्छ । वहाँको पनि पेरुको जस्तै हालत हुन्छ । कि त वहाँ सिद्धिनुपर्छ कि यहाँ आउनुपर्छ । तपाईंहरु समयमा नै ब्युझिनुभयो । मैले भन्ने गरेको छु, जो जहाँ ब्युझिँयो त्यहीबाट उठेर हिँड्ने हो ।

समाजवाद धेरैभन्दा धेरै मानिस जम्मा भएर आउने कुरा हो । हामीले नै लडेर संघीय लोतान्त्रिक गणतन्त्र आयो । आज यसलाई उल्ट्याउन पाए हुन्थ्यो भन्नेमा प्रतिक्रियावादीहरु छन् । यसलाई कसरी उल्टाउने भन्दा यसलाई ल्याउने पार्टी र यसका नेताहरुलाई बदनाम गरेर र सिध्याएर । यसका लागि षड्यन्त्र र बढी प्रचारहरु भइरहेका छन् ।

कतिपयले प्रचण्डलाई अन्तर्राष्ट्रिय अदालतमा लाने, हेगमा लाने, एक दिन भएपनि जेलमा हाल्ने कुराहरु एउटा डिजाइन अन्तरगत भइरहेका छन् । यो परिवर्तन नचाहने तत्त्वहरु यसमा लागिरहेका छन् ।

त्यही भएर मैले एक जनालाई भने मलाई हेग लगेर पनि केही फरक पर्दैन । मलाई हेग लग्यो भने म विश्वकै हिरो भएर निस्कन्छु । संसार भरकै जनताले चिन्ने हुन्छु । यो त न्यायको पक्षमा रहेछ, शान्तिको पक्षमा रहेछ भन्ने ठाउँ हुन्छ । त्यो मेरो लागि गर्व कुरा हुन्थ्यो । तर, मलाई लाग्दैन यिनीहरुले मलाई लान्छन् र विश्वकै हिरो बनाउँछन् ।

नेपालमा संघीयता र लोकतान्त्रिक गणतन्त्र रहुन्जेल हामी कोही पनि कमजोर हुँदैनौँ । यो रहँदासम्म हामीलाई जहाँ लगेपनि हामी हिरो । यो उल्टियो भने नेपालीले नै दुःख पाउने, नेपाल नै बर्बाद हुने खतरा हुन्छ ।

त्यही भएर आजको मितिमा जनतालाई माया गर्ने, परिवर्तन रुचाउनेहरु एक ठाउँमा जम्मा भएर यसको रक्षा गर्नुपर्ने हुन्छ । तर, जो साथीहरु अहिलेसम्म ब्युझेका छैनन्, जति उल्टो दिशामा गयो, त्यति क्रान्ति हुन्छ भन्ने ठानेका छन् । त्यो मार्क्सवाद विरोधी कुरा हो । उल्टो दिशामा गएर क्रान्ति हुँदैन । यहाँ फेरि राजा आयो भने क्रान्ति हुन्छ त ? नेपाललाई अरु प्रतिक्रियावादी शक्तिहरु कब्जा गर्यो भन्ने क्रान्ति हुन्छ त ? त्यो प्रति क्रान्ति हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप