बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश नम्बर २ : अझै त्रासमा बाढीपीडित ( तस्बिरहरु)

सोमबार, १३ साउन २०७६, ११ : २१
सोमबार, १३ साउन २०७६

जनकपुर–नेपाल–भारतको दशगजा क्षेत्रमा पर्ने धनुषाको जनकनन्दनी गाउँपालिकाका विभिन्न गाउँमा ३ साताअघिको वर्षाका कारण आएकाे बाढीले अहिलेसम्म पनि जनजीवन सामान्य हुन सकेको छैन । 

इनर्वा वडा नम्बर १ का ८ वर्षीय बालक तीन सातादेखि बन्द रहेको राष्ट्रिय प्राथमिक विद्यालय मल्हनीया खुलेपछि अध्ययन गर्न जानका लागि किताब घाममा सुकाउँदै थिए । केही सातादेखि विद्यालय जान नसक्दा नरमाइलो लागेको उनले बताए ।

सार २७ र २८ गते आएको अविरल वर्षाले निम्त्याएको बाढीको कारण यस क्षेत्रका अधिकांश घरपरिवार दैनिक नित्यकर्मबाट समेत प्रभावित भए ।

जनकनन्दनी गाउँपालिका वडा नम्बर १ स्थित इनर्वा बस्ने ५५ वर्षीय श्रवण सदायले भने, ‘वर्षाको मौसममा सधै पानी पथ्र्यो, बाढी आउथ्यो, तर धेरै समयसम्म बाढीले समस्या गर्दैनथ्यो, एकाध दिन समस्या हुन्थ्यो, तर यसपालि कहिल्यै नचिताएको कुरा भयो । अहिलेसम्म पनि हामी कष्टपूर्ण जीवन व्यतित गर्न बाध्य छौँ ।

बाढीको त्रासमा अहिले पनि बाढी पीडितहरुको मनबाट हटिसकेको छैन । धनुषाको पूर्वी इलाका बाढीबाट सबैभन्दा बढी प्रभावित रह्यो । 

कमला नदी क्षेत्रमा बसोवास गर्दै आएका दर्जनौं परिवार बाढीकै कारण घरबारविहीन भएका छन् ।  केही राहत समग्री आएपनि कसैले घर बनाउन सहयोग गरिदिए हुन्थ्यो जस्तो लाग्छ उनीहरुलाई ।  
मुख्यतः दलित समूदायका बाढीपीडित अहिलेपनि त्रासदी जीवन जीउन बाध्य छन् ।

बाढीले घरबार नै तहसनहस बनाएपछि बाढीबाट प्रभावितहले एकाध पक्की घर रहेको स्थलमा आश्रय लिएका थिए । ‘बाढीले छाप्रो बगायो, खाने अन्न छैन,  पकाउने भाँडाकुँडा र लगाउने लुगा समेत बगाएर लग्यो’, सदायले भने, ‘सहयोगी दाताहरुले सुरुमा चिउरा, दालमोट, त्यसपछि त्रिपाल टेन्ट लगायतका सामाग्रीहरु पनि उपलब्ध गराए । अब घर कसरी बनाउने भन्ने चिन्ताले सताएको छ । उनले घर बनाइदिन सरकारसँग आग्रह पनि गरे । 

भारतीय सीमावर्ती क्षेत्रमा पर्ने इनर्वास्थित दशगजा नजिकैको क्षेत्रमा बसोबास गर्दै आएका दलित मुसहर समुदाय बाढीबाट सबैभन्दा बढी प्रभावित छन् । कमलाको तटबन्ध नजिकै बसोवास गर्दै आएका उनीहरुको ४२ घर हेर्दाहेर्दै भेलले बगायो । जसोतसो उनीहरुले ज्यान त जोगाए तर अब कसरी बस्ने भन्ने चिन्तामा छन् ।  

स्थानीय ४० वर्षिया सीता सदाय अहिले पनि त्रसित छिन् । नदी नजिकै पालमा बस्दै आएकी उनले फेरि वर्षा भएर बाढी पो आउने होकि भन्ने चिन्ताले रातभर निदाउन नसकेको उनी बताउँछिन् । 

राहतमा पाएको चामल, दाल तरकारीले कति दिन धान्ने हो त्यसकै चिन्ता अर्का पीडित किसन सदायलाई छ । ‘यहाँ शौचालय जान पनि समस्या छ, स्वास्थ्यको पनि अवस्था ठिक छैन’,  किसनले भने ‘घर बाढीले बगाएपछि एउटै पालमा पूरै परिवारलाई बस्नु परिरहेको छ ।’ 

इनर्वा गाउँमा रहेको प्रहरी चौकी समेत बाढीले प्रभावित बनेको छ । अहिले प्रहरी रेल्वे लिक नजिक बस्दै आएको छ । 

गाउँमा रहेका अधिकांश पसलहरुमा समेत पानी पसेपछि सम्पूर्ण सामाग्रीहरु नष्ट भएको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण कुमार कर्ण
किरण कुमार कर्ण

कर्ण रातोपाटीकाे प्रदेश नम्बर २ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप