शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

शशांकको रहस्यमय ‘डिजाइन’ले काँग्रेस बैठक तरङ्गित !

आइतबार, १२ साउन २०७६, १४ : १२
आइतबार, १२ साउन २०७६

काठमाडौँ– नेपाली काँग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठक पार्टीको अन्तरिम संरचना बनाउने वा १४औँ महाधिवेशनमा प्रवेश गर्ने भन्नेमा अल्झिएको छ ।

संस्थापन पक्षले पार्टीका अन्तरिम संरचना गठन गरेर महाधिवेशन प्रक्रियाको थालनी गर्ने बताइरहेको छ । यता इतरपक्षले भने जारी केन्द्रीय समिति बैठकबाटै १४औँ महाधिवेशनको ‘गाइडलाइन’ आउनुपर्ने अडान राखेको छ । साउन ९ र १० गतेको बैठक यही विवादमा अल्झेको छ ।

गत वर्ष मङ्सिर–पुसमा भएको महासमिति बैठकबाट पारित भई फागुन १२ गते केन्द्रीय समितिबाट अनुमोदित सङ्घीय संरचना अनुसारको पार्टी विधानले टोल, वडा, गाउँ र नगर, प्रदेश निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र, जिल्ला, प्रदेश र केन्द्र गरी पार्टीका ८ तहका संरचनाको व्यवस्था गरेको छ । तर यतिबेला काँग्रेसमा केन्द्र र जिल्लाबाहेक तल्लो तहमा पार्टीका कुनै संरचना छैनन् ।

विधानको सङ्क्रमणकालीन व्यवस्थाअनुसार तल्लो तहका संरचना गठन नगरी महाधिवेशन प्रक्रिया अघि बढाउन नसकिने बाध्यकारी व्यवस्था छ ।

काँग्रेसका प्रारम्भिक मतदाता क्रियाशील सदस्य हुन्छन् । त्यही सदस्यता वितरण तथा नवीकरणका लागि कम्तीमा वडा र सङ्घीय निर्वाचन क्षेत्रीय कार्यसमिति बन्नुपर्छ । वडा कार्यसमितिले क्रियाशील सदस्यता वितरण तथा नवीकरणका लागि सिफारिस गर्ने र क्षेत्रीय कार्यसमितिले निर्णय लिने प्रावधान छ । महाधिवेशनका लागि उक्त कार्य अपरिहार्य छ । तर अन्तरिम संरचना बेगर पनि महाधिवेशनमा जान सकिने इतरपक्षको तर्क छ ।

महामन्त्री कोइरालाको ‘ग्रान्ड डिजाइन’

संस्थापन इतरबाट महामन्त्री शशांक कोइरालाका विश्वास पात्र केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले शुक्रबारको बैठकमा आन्तरिम संरचना निर्माणको व्यवस्था गरेको विधानको धारा ७२ नै निलम्बन गर्न प्रस्ताव गरे । जसले थप विवाद सिर्जना गराएको छ भने संस्थापन इतर पक्षभित्रै मतभेद सुरु भएको छ । रिजालले भने, ‘अब हामीसँग साढे ७ महिना छ । एक वर्ष म्याद थपे पनि २० महिना हुन्छ । तर, अहिले नै महाधिवेशनको प्रक्रिया सुरु गर्दा पनि १५ महिना चाहिने भयो । त्यसैले अन्तरिम संरचना होइन, महाधिवेशनको प्रक्रिया थालौँ भन्ने मेरो प्रस्ताव छ ।’ विधान बन्न र लागू गर्न समय लागेकाले अब अन्तरिम संरचना बनाएर १४औँ महाधिवेशनको प्रक्रिया सुरु गर्न समय अभाव हुने तर्क उनको थियो । त्यसैले बाधा अड्काउ फुकाउमार्फत सङ्क्रमणकालीन व्यवस्था निलम्बन गरेर तत्काल महाधिवेशनको प्रक्रिया थाल्नुपर्ने आफ्नो धारणा रहेको रिजालले धारणा राखे ।

काँग्रेसको नयाँ विधानले अन्तरिम संरचना निर्माणको व्यवस्था गरेको थियो । यता इतर निकट केन्द्रीय सदस्य धनराज गुरुङले रिजालको प्रस्तावमाथि सहमत जनाएका छन् । नेता गुरुङले भने, ‘पुसमा महासमिति बैठकले विधान निर्माण गर्ने भन्यो । त्यो बेला वास्ता नगरी बसे । सङ्क्रमणकालीन व्यवस्था भनेर अब लागियो भने महाधिवेशन हुन सक्दैन । एक वर्ष स्थानीय तहका अधिवेशन नगर्ने हो भने विधानमा उल्लेख गर्नुहुने थिएन ।’

क्रियाशील सदस्यता वितरणका क्रममा गुटगत स्वार्थका कारण पार्टीभित्र विवाद उत्पन्न हुने र तोकिएको समयमा सदस्याता वितरण हुन नसक्ने उनको बुझाइ छ । गुरुङले भने, ‘क्रियाशील वितरण जटिल हुन्छ । विवाद हुन्छ । त्यसकै लागि समय बढी लाग्छ । नियमित महाधिवेशनको समयसम्ममा तल्लो तहको अधिवेशन गर्न पनि सकिदैँन ।’

स्रोतका अनुसार सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भागबण्डाका अधारमा कमिटी ल्याउने सङ्केत पाएपछि महामन्त्री कोइरालाले अन्तरिम संरचनाको प्रवधान नै खारेजीको प्रस्ताव अगाडि सारेका हुन् ।

बिहीबारको बैठकमा वरिष्ठ नेता पौडेलका विश्वास पात्र महेश आचार्य र दिलेन्द्रप्रसाद बडुले सहमतिका आधारमा अन्तरिम संरचना निर्माणमा पौडेल राजी भएको सङ्केत दिए ।

शुक्रबारको बैठकमा महामन्त्री कोइरालाले रिजालमार्फत आन्तरिक संरचना निर्माणको व्यवस्था नै निलम्बनको प्रस्ताव राख्न लगाएको स्रोतको भनाइ छ ।

जसले बैठक नै तरङ्गित भएको छ । विधान निर्माणको मसी नसुक्दै निलम्बनको प्रस्तावले आउनुलाई काँग्रेस वृत्तमा रहस्यमय रूपमा हेरिएको छ । पछिल्लो समय कोइराला महामन्त्री शशांकको नेतृत्वमा केन्द्रीय सदस्यद्वय सुजाता र शेखरले संस्थापन इतरमा आफूलाई छुट्टै रूपमा स्थापित गराउने कसरत गरिरेको पनि देखिन्छ । तर उपसभापति विमलेन्द्र निधिले विधानमा सङ्क्रमणकालीन अन्तरिम संरचनाको व्यवस्था गरिनुको कारण नै चार वर्षभित्र महाधिवेशन हुन सक्दैन भन्नेर राखिएको बताए । महासमिति बैठकअघि केन्द्रीय कार्यसमिति बैठकबाट अन्तरिम संरचना राख्ने  सहमति भएको उनको तर्क छ ।

संस्थापन र इतरबीच तर्क वितर्क

संस्थापन इतरपक्ष अन्तरिम संरचना गठन छोट्याएर भए पनि केन्द्रीय महाधिवेशन समयमै गर्नुपर्ने पक्षमा छ । केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले आगामी वैशाख वा जेठभित्र महाधिवेशन गर्ने गरी कार्यतालिका आउनुपर्ने बताए ।

‘अन्तरिम संरचना गठन भइनसके पनि महाधिवेशनको तिथि तोकेर त्यहीअनुसार काम अघि बढाउन सकिन्छ,’ उनले भने, ‘हाम्रो मुख्य प्राथमिकता चाँडै महाधिवेशन होस् भन्नेमै छ ।’

पार्टीमा तेस्रो धारको नेतृत्व गर्दै आएका नेता कृष्णप्रसाद सिटौलाले महाधिवेशन प्रक्रिया चाँडै र व्यवस्थित ढङ्गले अघि बढाउन सुझाव दिए । सभापतिले चाहेपछि मात्रै महाधिवेशन गर्ने प्रचलन भएको प्रसङ्ग उल्लेख गर्दै सिटौलाले आगामी महाधिवेशनको तयारीका बारेमा पदाधिकारीको धारणा माग गरे ।

‘पदाधिकारीहरुको प्रस्ताव के हो ? पहिला त्यो भन्नुस् । पार्टी त तपाईंहरुकै प्रस्तावअनुसार अगाडि बढ्छ । यो विषयमा तपाईंहरुको प्रस्ताव आइसकेपछि त्यो प्रस्ताव कति स्वाभाविक छ, त्यसअनुसार अगाडि कुरा गर्न सकिन्छ,’ उनले भने । तर महामन्त्री कोइरालाको ‘ग्रान्ड डिजाइन’मा आएको अन्तरिम संरचनाको प्रवाधान निलम्बनको प्रस्तावप्रति सिटौला पक्षले विमति जनाएको छ ।

यता संरचना गठनका लागि निर्वाचनमा जाने कि सहमति खोज्ने भन्नेमा पनि विवाद टुङ्गोमा पुगिसकेको छैन । विधानले निर्वाचनबाटै गठन गर्नुपर्ने व्यवस्था गरेको छ । अन्तरिम संरचना गठनलगत्तै अधिवेशनको प्रक्रिया सुरु हुन्छ ।

उपसभापति निधिका अनुसार विधानबमोजिम जाँदा ६ महिनाकै बीचमा दुईवटा अधिवेशन गर्नुपर्ने हुन्छ । यसले पार्टीमा अन्तरकलह बढ्ने, महाधिवेशन समयमा हुन नसक्ने र जटिलता थपिने भएकाले सहमतिमा जाँदा सहज हुन्छ भन्ने उनको तर्क ।

इतरपक्षमा निर्वाचन कि सहमति भन्नेमा एकमत छैन । कतिपय सदस्यले निर्वाचनलाई र कतिपयले निर्वाचनमा जाँदा केन्द्रीय महाधिवेशन ढिलाइ हुने भन्दै सहमतिलाई जोड दिएका छन् । तर रिजालको प्रस्तावले थप समस्या ल्याएको छ ।

आगामी फागुनसम्म सात प्रदेश, नयाँ गठन भएका दुई जिल्ला, १ सय ६५ सङ्घीय र ३ सय ३० प्रदेश निर्वाचन कार्यसमिति, ७ सय ५३ पालिका र ६ हजार ७ सय ४३ वडाको अन्तरिम संरचना गठन गर्ने लक्ष्य पार्टी नेतृत्वले राखेको छ ।

त्यसपछि विधानअनुसार थप एक वर्ष कार्यकाल बढाई महाधिवेशन गर्ने सभापति देउवाको तयारी छ । तर इतरपक्षले जारी बैठकमा महाधिवेशनको गाइडलाइन आउनुपर्नेमा जोड दिएको छन् ।

उसभापति निधिले भने अन्तरिम संरचना बनिसकेपछि मात्र महाधिवेशनको क्यालेन्डर ल्याउने बताए । उनले भने, ‘चार वर्षपछि कहिले महाधिवेशन गर्ने भन्ने तिथि पार्टीको अन्तरिम संरचना गठन नभएसम्म तोक्न सकिन्न । अन्तरिम संरचना गठनपछि मात्रै महाधिवेशनको क्यालेन्डर ल्याउने हो ।’

यसअघि बोलेको संस्थापन पक्षीय नेताहरु एनपी सावद, श्याम घिमिरे, पार्वती डीसी चौधरी, जीवनबहादुर शाही, महेन्द्र यादवसहितका नेताले ६ महिनाकै बीचमा दुई अधिवेशन गर्नेगरी जान नहुने बताए ।

इतरपक्षीय नेता रिजाल र गुरुङले दुई खाले विवादका बीचबाट विकल्प खोज्नुपर्ने भन्दै पुरानै संरचनालाई मान्यता दिएर नियमित अधिवेशन सुरु गर्नुपर्ने बताए । त्यसका लागि बाधा अड्काउ फुकाउनुपर्ने उनको तर्क थियो । केन्द्रीय सदस्य बद्री पाण्डे र रामकृष्ण यादवले पनि केन्द्रीय महाधिवेशनकै कार्यतालिका ल्याउनुपर्नेमा जोड दिए । आइतबार पनि काँग्रेस बैठक जारी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप