शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जनकपुर विमानस्थलमा रिफ्युलिङ स्टेशनको स्थापना

शुक्रबार, १० साउन २०७६, १७ : १७
शुक्रबार, १० साउन २०७६

जनकपुर - प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुर स्थित विमानस्थलमा हवाई इन्धन रिफ्युलिङ स्टेशनको आज उद्घाटन गरिएको छ ।

जनकपुरधाम विमानस्थलमा आयोजित एक कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री मातृका प्रसाद यादवले सबैको तत्परता र सहयोगमा जनकपुर विमानस्थलमा रिफ्युलिङ स्टेशनको स्थापना सम्भव भएको बताए । उनले प्रदेश नम्बर २ मा ३ स्थलमा विमानस्थल रहेपनि अहिले आएर सबैको पहलमा रिफ्युलिङ स्टेशन स्थापना भएको बताए । विमानस्थलमै रहेको बुद्ध एयरको विमानमा हवाई इन्धन भरेर मन्त्री यादवले रिफ्युलिङ स्टेशनको उद्घाटन गरेका थिए ।

हवाई इन्धन जनकपुर विमान स्थलमै भर्ने व्यवस्था नभएका कारण यात्रुका साथै विमान कम्पनीहरुलाई समेत निकै समस्या हुँदै आईरहेको थियो । जनकपुरधाम विमान स्थल स्थापना भएको ५३ वर्ष पछि मात्रै रिफ्युलिङ स्टेशनको स्थापना गरिएको छ ।

रिफ्युलिङ स्टेशनको उद्घाटन गर्दै मन्त्री यादवले प्रदेशको विकास र जनकपुर विकासका लागि आवश्यक पूर्वाधारहरु मध्ये यो रिफ्युलिङ स्टेशन पनि एक पूर्वाधार रहेको बताए । मन्त्री यादवले रिफ्युलिङ स्टेशनको स्थापनामा एक व्यक्तिको मात्र नभई नेपालका सम्पूर्ण पक्षका साथै भारत सरकारको समेत सहयोग रहेको जानकारी दिए ।

जनकपुर विमानस्थलमा रिफ्युलिङ स्टेशनको स्थापना भएपनि तत्काल स्टकको व्यवस्था भने गरिएको छैन । स्टक गर्ने व्यवस्था नरहेका कारण विराटनगर विमानस्थलबाट डिस्पेन्सरमा हवाइ इन्धन ल्याएर दुई बाउजर स्टक गर्ने व्यवस्था गरिएको जनकपुर विमानस्थलका स्टेशन ईन्चार्ज सरोज कुमार यादवले जनाए । उनले तत्काल ४१ किलोलिटर हवाई ईन्धन मात्रै स्टक गरिएको बताए ।

विमानस्थलमै डिपो स्थापनाका लागि प्रक्रिया समेत अगाडी बढाइएको छ । नागरिक उडड्यन प्राधिकरणले डिपो स्थापनाका लागि नेपाल आयल निगमलाई ५ कठ्ठा जग्गा  उपलब्ध गराएको छ । १ सय ४० किलोलिटर क्षमताको डिपो २ वर्ष भित्रै स्थापना गर्ने लक्ष्यका साथ काम अगाडी बढाइएको स्टेशन ईन्चार्ज यादवले जनाए ।

रिफ्युलिङ स्टेशन जनकपुर विमान स्थलमै स्थापना भएपछि विमान कम्पनीका साथै यात्रुहरुलाई समेत विभिन्न दृष्टिकोणले फाइदा हुने भएको छ । यसले विमानहरुले कमै इन्धनका साथ जनकपुर विमानस्थलमा आए बढीभन्दा बढी यात्रुका साथै बढी लगेज समेत उठाएर लग्न सक्ने नागरिक उडड्यन प्राधिकरणका प्रमुख मोहन ठाकुरले जनाए ।

रिफ्युलिङ स्टेशनका कारण अल्टरनेटिभ लैण्डिंगका लागि काठमाडौँ पछि जनकपुरधाम विमान स्थल प्राथमिकतामा पर्ने उनको भनाई छ । काठमाडौँबाट सबैभन्दा सहज रुट जनकपुरधाम विमान स्थलकै रहेकाले लैण्डिंग तथा टैक अफ चार्ज उठाएर समेत विमान स्थलले अर्थोपार्जन गर्न सक्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण कुमार कर्ण
किरण कुमार कर्ण

कर्ण रातोपाटीकाे प्रदेश नम्बर २ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप